बुधबार, असार ४ गते २०८२    
बुधबार, असार ४ २०८२
images
images

धनुषाका गाउँमा खानेपानी समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २३ २०८०
images
images
धनुषाका गाउँमा खानेपानी समस्या

बैशाख सकिन लाग्दा पनि राम्रो वर्षा नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेको बताइएको छ। वनजंगल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र बेमौसममा अतिवृष्टिका कारण पानीका मुहान सुक्दै गएको बुढापाकाको कथन छ।

images
images

धनुषा- गर्मी प्रचण्ड बढ्दा र समयमै वर्षा नहुँदा धनुषाको पूर्व-पश्चिम राजमार्ग छेउछाउका उत्तरी तथा पूर्वी भेगका दर्जनौँ गाउँमा खानेपानीको हाहाकार भएको छ।

images
images
images

बढ्दो खडेरीसँगै भूमिगत पानीको स्रोत सुक्न थालेपछि यस क्षेत्रमा खानेपानी अभाव भएको हो। नक्टाझिज, ढल्केवर, जमुनिवास, भुचक्रपुर, लक्ष्मीनिवास, पुष्पवलपुर, बेंगाडावर, धारापानी, राधापुर, गोदार, लवटोली, दिगम्बरपुरसहित दर्जन बढी गाउँमा पानीको समस्या चर्किँदै गएको छ।

images
images

यहाँका मुहान सुकेका छन्। धारा, कुवा र इनारमा रातभर लाइन बस्न बाध्य छन्। इनार, बोरिङ, हाते पम्प र पोखरीलगायतका अधिकांश पानीका स्रोत सुकेको स्थानीय बताउँछन्। 'पिउने पानीको जोहो गर्न पनि मुस्किल पर्न थाल्यो', पुष्पवलपुरका श्याम लामाले भने, 'नुहाउने र सरसफाइ त टाढाको विषय भयो।'

images
images
images

नुहाउनका लागि तीन घन्टा टाढासम्म पुग्न बाध्य भएको उनले बताए। लामाका अनुसार पानी अभावकै कारण खुला शौच बढेको छ। लुगा धुन र नुहाउन भनेर कमला नदी पुग्नुपर्ने बाध्यता निम्तिएको छ। 'यस ठाउँमा झण्डै १० इनार छन्, तर सात इनारमा हिजोआज पानी पाउन छाडिसक्यो, तीन इनारमा मात्र पानी छ, त्यो इनार पनि छिट्टै सुक्ने छाँटकाँट देखिन्छ, ती इनारमा दिनभरि पानी भर्न महिला र पुरुषको लाम लाग्ने गर्छ', लक्ष्मी निवासका दीपेन्द्र सिंहले भने।

मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धान विज्ञ नागदेव यादवका अनुसार अत्यधिक चुरे दोहनले यस क्षेत्रमा पानीको समस्या उत्पन्न भएको हो। यादवले भने, 'अत्यधिक दोहनले चुरे क्षेत्र विनाशका कारण पानीका मुहान सुक्न थालेको हो, यसले गर्दा राजमार्ग आसपासका बस्तीमा पानीको हाहाकार नै मच्चिएको छ।'

त्यसैगरी जनकपुरको पीडारीचोक, रमानन्दचोक, किशोरी नगर र आनन्द नगरलगायतका क्षेत्रमा बैशाखको पहिलो सातादेखि नै अधिकांश कल सुक्न थालेका छन्। एक सयदेखि दुई सय फिटसम्म कल पूरै सुकेको छ भने दुईसय ५० फिट र त्यसभन्दा बढी गाडिएका कलमा समेत दिनभरि पानी नआउने समस्या देखिएको मुजेलियाका सतिशलाल कर्णले बताए।

विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा विरलै यस्ता समस्या देखिन्थ्यो। पछिल्लो तीन-चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्न थालेपछि ठूलो संख्यामा सर्वसाधारण समस्यामा परेका छन्।

जनकपुरधाम किशोरीनगरका स्थानीय बासिन्दा तथा पत्रकार शैलेन्द्र झाका अनुसार १५-२० वर्ष अगाडि एकसय ५० फिटको गहिराइमा जडान गरिएका चापाकलमा सहजै पानी आउने गर्दथ्यो। अहिले चार सय फिटको गहिराइमा पनि पानी आउन छाडेको छ। चापाकल सुक्नुका साथै विद्युतीय मोटरले समेत पानी तान्न छाडेको झाको भनाइ छ।

मोटरले पनि तान्न छाडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौँतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका पुलचोकका विनोद साहले बताए। 'दिनको समयमा मोटरले पानी तान्न छाडेको छ, मध्यरातमा मोटर चलाउँछौँ, तर छरछिमेकका सबैले मोटर चलाइदिँदा पानी नै आउँदैन', साहले भने, 'जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धित निकायले चासो देखाएका छैनन्।'

बैशाख सकिन लाग्दा पनि राम्रो वर्षा नभएकाले पानीका स्रोत चाँडै सुक्न थालेको बताइएको छ। वनजंगल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र बेमौसममा अतिवृष्टिका कारण पानीका मुहान सुक्दै गएको बुढापाकाको कथन छ। गर्मी मौसममा जनकपुरसहित धनुषाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु रहेको मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर विश्वनाथप्रसाद यादवले बताए। खानेपानीको समस्याबाट बच्न पानी सञ्चितितर्फ ध्यान दिनुपर्नेमा यादवको जोड छ।

चुरेविज्ञ डा. विजयसिंह दनुवारले चुरे जंगलको फडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननजस्ता कार्यले पानीको समस्या निम्त्याएको बताए। उनले भने, 'पानीको अत्यधिक माग रहेकाले त्यसलाई नियन्त्रण गर्न जमिनमा पानीको रिचार्ज बढाउनुपर्ने हुन्छ।'

सिंहका अनुसार यदि सागरनाथ वन परियोजना यस क्षेत्रमा नभएको भए यतिखेर पानीका सबै मुहान सुकिसकेको हुने थिए।'यस्तै किसिमको चुरे क्षेत्रमा दिगो वन परियोजनाको आवश्यकता छ', उनले भने।

उनले पानी सञ्चित गर्न चुरे क्षेत्रमा जलाशय बनाउन सकिए खानेपानीको समस्या धेरै हदसम्म समाधान गर्न सकिने जानकारी दिए। 'यदि चुरेलाई दोहन गरिरहने हो भने पानीको हाहाकारले द्वन्द्व सिर्जना हुन्छ, भावी पुस्तामा पानीका लागि झगडाको बीउ रोपेर मर्नुभन्दा आजैदेखि चुरे उत्खनन हुन नदिने, बोटबिरुवा रोप्ने, आफू बसेको क्षेत्रलाई हराभरा राख्ने र पानीका मुहान तथा स्थानको वातावरणीय संरक्षण गरौँ', सिंहले भने। रासस 


प्रकाशित : शनिबार, वैशाख २३ २०८००९:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend