सोमबार, असोज ८ गते २०८०    

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

images
बिजनेस न्युज
मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

टीकाराम तिमिल्सिनाले वर्षमा तीनसय घारसम्म बिक्री गर्छन्। मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ।

images

पर्वत- घर वरिपरि मौरीका घारैघार। घर अघि ठूलो सुन्तलाको बगैँचा। बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी-२ देउपुरस्थित कोरुंगाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो।

images

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन्। दुई दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख रुपैयाँसम्म कमाएको बताउँछन्। उनको घरमा अहिले सय मौरीका घार छन्। मौसममा यसको संख्या थपिन्छ। 

images

एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए। सुरुमा चिसोले ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए। उनले वर्षमा दुई पटक मह निकाल्छन्। विसं २०५७ बाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो। तिमिल्सिना भन्छन्, ' मह घरबाटै बिक्री हुन्छ। गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन। मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन।' उनले मह मात्र हैन मौरीको घार र गोलासमेत बिक्री गर्छन्।
      
उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए। उनी भन्छन्, 'कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटबललगायतका क्षेत्रबाट व्यवसायी घरमै आएर लैजान्छन्।'

images

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए। उनले वर्षमा तीनसय घारसम्म बिक्री गर्छन्। मौरीसहितका घार प्रतिगोटा नौ हजार र मह प्रतिकिलो एक हजारमा बिक्री हुन्छ। विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ। उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए।

images

तिमिल्सिनाले सोही स्थानमा तीनसय सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा पनि बनाए तर सुन्तला मर्दै गए। सुन्तलामा भविष्य नदेखेपछि उनी माहुरीपालनतर्फ आकर्षित भएका हुन्। तरकारी खेती, पशुपन्छी तथा कुखुरापालनमा जस्तो निरन्तर खट्न नपर्ने भएकाले मौरीपालनमा किसानको आकर्षण बढेको अर्का अगुवा कृषक उमाकान्त शर्मा बताउँछन्।

उनका अनुसार अहिले पर्वतका देउपुर, मल्लाज, भंगरा, कुर्घा, ठानामौला, पाङराङ, बाच्छा, लुङ्खुलगायत व्यावसायिक मौरीपालक किसानले बर्सेनि सय बढी मौरीसहितका घार उत्पादन गरेर बिक्री गर्दै आएका छन्। सोही अनुपातमा महसमेत उत्पादन भइरहेको छ। रासस 

images

प्रकाशित : शनिबार, वैशाख २३ २०८०११:४४
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ