मंगलबार, असोज १ गते २०८१    
images
images

बुद्ध जयन्तीमा लुम्बिनीमा विशेष समारोह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २२ २०८०
images
images
बुद्ध जयन्तीमा लुम्बिनीमा विशेष समारोह

समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ।

images
images

रुपन्देही- २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ। प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ। 

images
images
images

बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ। समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ। बुद्ध जयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ। शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिए।

बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति  सक्रिय छन्। गौतमबुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ। इसापूर्व ६२३ बैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा गौतमबुद्धको जन्म भएको थियो। पहिलो सन्तानको माइतीमा जन्म दिने तत्कालीन परम्पराअनुसार मायादेवी आफ्नो माइती देवदह जान लागेका बेला लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको थियो। 

राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएको दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किसकेका थिए। बैशाख शुक्ल पूर्णिमाकै दिन उनले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गरेका थिए। बैशाख शुक्ल पुर्णिमाकै दिन उनको महापरिनिर्वाण भएको थियो। त्यसै वर्षदेखि बुद्ध जयन्ती मनाउन थालिएको हो।

images

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन्। सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन दिएका थिए। जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय रहेका थिए।

बुद्धले आर्य अष्टांगिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन्। बुद्ध दर्शनअनुसार मध्यम मार्ग भनेकै आर्यअष्टांगिक मार्ग हो र यो मार्ग नै दुःख मुक्तिको उपयुक्त मार्ग हो। यसमा सम्मिलित आठ मार्गको इमान्दारीपूर्ण अभ्यासबाट नै दुःखलाई अन्त्य गरी निर्वाण प्राप्त गर्न सकिने बौद्ध ग्रन्थमा उल्लेख छ। आर्य अष्टांगिक मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन्।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन्। मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ। हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतार मान्दछ। यसैकारण बैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन्। रासस


प्रकाशित : शुक्रबार, वैशाख २२ २०८००५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend