बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

बैंकहरू हच्किँदा कर्जा विस्तारमा ‘ब्रेक’,  नयाँ ऋण दिने भन्दा उठाउनमा केन्द्रित

असार मसान्त सम्म खराव कर्जामा सुधार ल्याउने गरी वित्तीय क्षेत्र आक्रामक

बिहीबार , वैशाख २१ २०८०
बैंकहरू हच्किँदा कर्जा विस्तारमा ‘ब्रेक’,  नयाँ ऋण दिने भन्दा उठाउनमा केन्द्रित

काठमाडौं- अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग नै ठप्प भएको छ। जसका कारण बैंकमा पैसा थुप्रिएको छ। बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन्। 

खराब कर्जा बढेसँगै बैंकहरूले ऋण प्रवाहमा कडाइ गरेका  छन्। एकातर्फ चर्को ब्याजदरका कारण ऋणको माग नै कम हुने तथा अर्कोतर्फ खराब कर्जा अत्यधिक बढेका कारण ऋण लगानीमा बैंकहरू हच्किँदा कर्जा विस्तार सुस्त बनेको छ।
एकवर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब ३ खर्ब रुपैयाँ रकम हुँदा पनि माग भने नभएको हो। 

नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा बुधवार साँझसम्म कुल निक्षेप ५४ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब ४५ अर्ब रुपैयाँ छ। राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको सीडी रेसियो ८५.३७ प्रतिशत रहेको छ। भने अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ।

बाणिज्य बैंकले घटाउँदै ऋण 

ऋणनै नतिर्नेसम्मका अभियान चलेपछि बैंकर्सहरुले ऋण प्रवाह कम गराएका छन्। यता निष्कृय कर्जा (एनपीएल) समेत बढ्न थालेपछि नयाँ ऋण प्रवाह भन्दा उठाउनमा केन्द्रित गरेका छन्। बैंकर्सहरुले असार मसान्तसम्म खराव कर्जाको बढ्दो दरलाई स्थिर र कम गर्ने प्रयास गरेका छन्।

जसका कारण ऋण विस्तार ठप्प जस्तैछ। ‘अहिले वाणिज्य बैंकहरु पर्ख र हेरकको अवस्थामै हो,’ नेपाल बैकर्स संघका उपाध्यक्ष तथा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले भने। चैतपछि भने ऋण उठ्ने ट्रेण्ड बढेको समेत कोइरालाले बताए। 

निष्कृय कर्जा (एनपीएल) पछिल्लो ९ माहिनामा गतवर्षको तुलनामा १९८.२३ प्रतिशतले बढेको छ। गत वर्ष यो अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो। बैंकका ऋणीले ऋणको ब्याज र किस्ता नतिर्दा बैंकहरूको खराब कर्जा बढ्दै गएको छ। असार मसान्तसम्म यो अंक सुधार हुदै सहजततिर जाने संकेतहरु देखिएको समेत सीइओ कोइरालाले बताए। 

वाणिज्य बैंकहरुले चैत अन्त्यमा ४३ खर्ब ९ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकहरूको वैशाख १५ गतेसम्ममा कर्जा लगानी मात्रै ४२ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ। पछिल्लो १५ दिनमै १४ अर्ब ऋण घटेको हो। ‘नयाँ ऋणको माग पनि आउन थालेको हो तर बैंकहरु अहिले ऋण विस्तारमा पर्ख र हेरको नीतिमा रहेको पक्का हो,’ कोइरालाले भने। 

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.६ प्रतिशतले बढ्ने लक्ष्य राखेको थियो। राष्ट्र बैंकको गत फागुनको तथ्यांक अनुसारमा यो मात्रै ४.५५ प्रतिशतले वृद्धि भएको छ। 

गत असारमा ४६ खर्ब ८८ अर्ब कर्जा लगानी भएकोमा फागुनमा ४९ खर्ब २ अर्ब रूपैयाँ पुगेको छ।  ब्याजदर घटेसँगै बैंकहरूको निक्षेप संकलन समेत यो अविधमा २० अर्ब रूपैयाँले घटेको छ। 

 


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००१:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend