शुक्रबार, असोज ४ गते २०८१    
images
images

रामपुर नगरपालिकामा मजदूरका लागि बीमा कार्यक्रम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १९ २०८०
images
images
रामपुर नगरपालिकामा मजदूरका लागि बीमा कार्यक्रम

हालसम्म रामपुरभित्र कार्यरत ५ सय ४३ मजदूरको दुर्घटना बीमा गरिएको छ।

images
images

पाल्पा- मजदूरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदूर खुसी छन्। घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदूरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदूर बीमा कार्यक्रम सुरु गरेको हो।

images
images
images

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदूर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागत रुपमा मजदूरको बीमा गरिदिएको छ। बीमा कार्यक्रमले मजदूरलाई धेरै राहत पुगेको रामपुर-५ कृषिटोल बस्ने श्यामकुमार श्रेष्ठ बताउँछन्। उनी यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आएका छन्। केही समय अघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते भए। 

श्रेष्ठको सबै उपचार खर्च नगरपालिकाले बीमामार्फत व्यहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी छन्। 'काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदूरवर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदूर गरेर परिवारको पालनपोषण गर्नैपर्‍यो, बीमा गरेपछि उपचार खर्च मजदूरले व्यहोर्न परेन, नगरपालिकाले ल्याएको बीमा कार्यक्रम हामी मजदूरको लागि अत्यन्तै राम्रो छ, बीमाले ढुक्कको अनुभूति भएको छ' उनले खुसी हुँदै भने। 

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत ५ सय ४३ मजदूरको दुर्घटना बीमा गरिएको बताए। निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदूर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बताउँछन्।
 
घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूरलाई २०७९ को जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति तीन लाख बराबरको दुर्घटना बीमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउँछन्।
     
'जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदूरको सुरक्षाका लागि गतवर्षदेखि दुर्घटना बीमा सुरु गरेका छौँ'उनले भन्नुभयो-'नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदूरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ'। मजदूरको हकहित र अधिकारको लागि विसं २०७२ मा पूर्वी पाल्पा मजदूर व्यवस्थापन समिति स्थापना गरी मजदूरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन्। 

images

यस कार्यले मजदूर सङ्गठित हुन थालेका छन्। संस्था स्थापना भएपछि समितिले मजदूरको जोखिम कार्यलाई मध्यनजर गर्दै एक लाखसम्मको दुर्घटना बीमा कार्य सुरु गरेको थियो। भवितव्य हुने ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदूरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर तीन लाख बराबरको बीमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउँछन्।
 
उनी भन्छन्, 'सानातिना दुर्घटनाका उपचारखर्च समितिले रु एक लाखसम्म गरिदिएको बीमाले पुग्ने गरेपनि ठूला घटनालाई बाँकी रकम मजदूर आफैले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँधौँ पर्ने मजदूर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ।'

समितिले सुरु गरेको दुर्घटना बीमा कार्यक्रममार्फत हालसम्म ७० जना मजदूरले लाभ लिएका छन्। कामको आधारमा एक दिनको न्यूनतम ६५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ। तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ।

समितिले कोभिड-१९ को महामारीमा चार सय जना मजदूरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ-ठाउँमा मजदूरको हकहित सहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदूरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्ने लगायतका विभिन्न कार्य गरिरहेको छ। 

समितिमा स्थापनाका समय एक सय १७ मजदूर आबद्ध रही संस्था सुरुवात गरिएको हो। समितिमा आबद्ध पाँच सय ४३ मजदूरमध्ये हाल करिब चालिस प्रतिशत महिला कामदार छन्। महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइखर्च धान्दै आइरहेका छन्। अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेका छन्। रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदूर घर तथा भवन निर्माणको क्षेत्रमा काम गरिरहेको पाइएको छ। यस क्षेत्रमा नेपालका विभिन्न जिल्ला तथा भारतीय मुलुकका मजदूर छन्। रासस


प्रकाशित : मंगलबार, वैशाख १९ २०८०१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend