मंगलबार, असोज १ गते २०८१    
images
images

औपचारिक रुपमा सुरू भयो २ अर्ब रूपैयाँमा निर्माण भएको मौलाकाली केबलकार

शिथिल अर्थतन्त्रमा गति दिन निजी क्षेत्रलाई प्रवर्द्धन गर्न प्रतिवद्ध रहेको प्रधामन्त्रीको भनाइ 

images
सोमबार, वैशाख १८ २०८०
images
images
औपचारिक रुपमा सुरू भयो २ अर्ब रूपैयाँमा निर्माण भएको मौलाकाली केबलकार

करिब १,२०० मिटर लम्बाइको केबलकारमा १४ वटा गोण्डोला रहेका छन्। फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ। 

images
images

काठमाडौं- करिब २ अर्ब रूपैयाँमा निर्माण सम्पन्न भएको मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट-१ मा रहेको मौलाकाली केबलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केबलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्।

images
images
images

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए। तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको बताउँदै उनले यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्ने पनि प्रधानमन्त्री दाहालले बताए।

त्यसैगरी गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केबलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे।

images

उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताए। मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने  अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुँदै जाने अध्यक्ष ढकालले उल्लेख गरे। 

मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तिब्र पारेको बताउदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी पनि  अध्यक्ष ढकालले दिए।  

मौलाकाली केबलकार सहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्व बारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहूँ र नवलपुरको संगम क्षेत्र  नेपालकै धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी रहेको बताए। 

मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ। यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो। नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएको पनि अध्यक्ष ढकालले उल्लेख गरे।  

पर्यटनको विकासमार्फत् स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाइ निरन्तरता दिने प्रतिबद्धता पनि अध्यक्ष ढकालले व्यक्त गरे। स्थानिय सांस्कृतिक महत्वका संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै अध्यक्ष ढकालले नवलपुरको गहनाका रुपमा निर्मित मौलाकाली केबलकार सहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारि स्थानीय समुदायको अधिकतम सहभागिता गराएको पनि बताए। 

अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन् घट्दो छ। यसलाइ बढाउनु पर्ने चुनौती छ। पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्ने छ। 

यहाँको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक भूगोलको ज्ञानका लागि नेपालमा पर्यटक आउने गर्छन्। त्यसैले थप पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्ने र यसमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुने पनि अध्यक्ष ढकालले बताए।

अध्यक्ष ढकालले भने 'हामीलाई प्रकृतिले अपार सम्पदा बरदान दिएको छ। पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना असंख्य छन्। त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ। मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ। हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका पनि छौँ।'

धेरै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ र त्यसका लागि लगानीकर्ताहरुलाई आह्वान मात्र गरेर पुग्दैन ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताए। 

समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ भन्नेमा आफु दृढ रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे। 

उनले मौलाकाली केबलकार तथा पर्यटकीय पुर्वाधार  निर्माणमा  सहयोग गर्ने संघ, प्रदेश तथा स्थानीय सरकार, राजनैतिक दल, स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति, वन उपभोक्ता समिति लगायत अन्य सबै सरोकारवालाहरुप्रति धन्यवाद व्यक्त गरे। 

करिब १,२०० मिटर लम्बाइको केबलकारमा १४ वटा गोण्डोला रहेका छन्। फेदिबाट केबलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ। 

माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन्। परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, वैशाख १८ २०८००७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend