शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

प्रभावकारी हुँदै विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा

images
बिजनेस न्युज
images
images
प्रभावकारी हुँदै विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा
images
images

काठमाडौं- वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ। सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।

images
images
images

त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्वास्थ्य सेवा लिएका वैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिए। मध्यपूर्व र मलेसियामा काम गर्दै आएका श्रमिकले टेलिमेडिसिनमार्फत सेवा लिएका छन्। चार जनालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ।

images

वैदेशिक क्षेत्रमा रहेका श्रमिकका लागि सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवाको प्रभावकारिता विस्तारै बढ्दै गएको पौडेलको भनाइ छ। बोर्डले वीर अस्पतालसँग समन्वय गरेर सो सेवा सञ्चालन गर्दै आएको छ। साताको दुई दिन विशेषज्ञ सेवा र सार्वजनिक बिदाका दिनबाहेक सामान्य चिकित्सकीय सेवा प्रदान हुँदै आएको छ। 

images

हरेक आइतबार र शुक्रबार विशेषज्ञ चिकित्सकले श्रमिकलाई स्वास्थ्य सेवा दिनेछन् भने अन्य दिन एमबिबिएस गरेका चिकित्सकले सेवा दिँदै आएका बोर्डले जनाएको छ। एमबिबिएस चिकित्सकले श्रमिकका लागि विशेषज्ञ सेवा आवश्यक परे विशेषज्ञ चिकित्सकसमक्ष सिफारिस गर्ने गरेका छन्। आइतबार र शुक्रबार श्रम गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ।

images
images

टेलिमेडिसनमार्फत सेवा लिने श्रमिकलाई विभिन्न स्वास्थ्य समस्याको उपचार, औषधिको सिफारिस र मनोपरामर्श प्रदान गरिँदै आइएको छ। बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए। बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ। 

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको थियो। 

टेलिमेडिसिन सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ नम्बरको भाइवर र ह्वाट्सएपलगायत सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन्। वैदेशिक रोजगारीको सिलसिलामा हाल एक सय ५० भन्दा बढी मुलुकमा नेपाली श्रमिक रहेका छन्। रासस

images

प्रकाशित : शुक्रबार, वैशाख १५ २०८००६:२१
प्रतिक्रिया दिनुहोस