शुक्रबार, असोज ४ गते २०८१    
images
images

फेवातालको बाराही मन्दिर पुनःनिर्माण सुरू, काम सक्न एक करोड ४० लाख लाग्ने

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
फेवातालको बाराही मन्दिर पुनःनिर्माण सुरू, काम सक्न एक करोड ४० लाख लाग्ने

बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनःनिर्माण कार्य सुरु गरिएको हो। मन्दिर पुनःनिर्माण सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर जानकारी अध्यक्ष कुँवरले दिए।

images
images

लेखनाथ- अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा। पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै कारण, बाराही भगवती मन्दिर नपुग्ने स्वदेशी तथा विदेशी कमै होलान्। दर्शन र पूजाआजा गर्न मन्दिरमा भक्तजनको दैनिकरूपमा भीड लाग्ने गर्छ।

images
images
images

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुनःनिर्माण कार्य सुरु गरिएको छ। फेवातालको बीच अर्थात् पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्कँदा झनै जोखिम देखिएको छ। जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुनःनिर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुनःनिर्माणको कार्य अगाडि बढाएका हुन्। 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि ती कोठा हटाइसकेको जानकारी दिए। विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गरेका थिए।

पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुनःनिर्माण गर्न लागिएको हो। मन्दिर पुनःनिर्माण सम्पन्न गर्न एक करोड ४० लाख रूपैयाँ खर्च लाग्ने जानकारी अध्यक्ष कुँवरले दिए। प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरूपमै मन्दिर पुनःनिर्माण गर्न लागिएको उनले बताए।

images

बाराही देवीको मूर्ति सुरक्षित राखिएको र त्यहाँ पुरातत्व विभागका कर्मचारीको समेत निगरानी रहिरहेको छ। कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए। यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ। कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ। प्राचीनकालमा माटाको ढिस्कोमा एउटा शिला थियो। त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी पर्शुराम पहारीले सुनाए। पर्यटकीयरूपमा प्रसिद्ध मानिएको मन्दिरमा सबै धर्मका व्यक्तिले पूजाआजामा प्रवेश पाउँछन्।  

'मन्दिर पुनःनिर्माण गर्नका लागि पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच सम्झौता भई एक महिनायता मन्दिरको पुनःनिर्माणको कार्य सुरु भएको छ', अध्यक्ष कुँवरले भने। मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागले २५ लाख र बाराही मन्दिर व्यवस्थापन समितिले एक करोड १५ लाख रूपैयाँ जुटाउने सम्झौतामा उल्लेख छ।

मन्दिर पुनःनिर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले ६५ लाख रूपैयाँ रहेको र अपुग रकम पोखरा महानगरपालिका र अन्य सहयोगदातासँग सङ्कलन गरिने जानकारी तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सहसचिव महेश्वर पहारीले जानकारी दिए। मन्दिर पाँच महिनाभित्र नै पुनःनिर्माण गरिसक्ने योजनाका साथ काम अगाडि बढाइएको छ। 

पर्यटकीय सुन्दर नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ। मन्दिरमा पर्यटकको दैनिक घुइँचो लागिरहन्छ। माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ। कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ।

तालको बीचको भाग अर्थात मन्दिर भएको ठाँउको क्षेत्रफल कम तर स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीको भीड बढी हुनुका साथै असिना पानी आउँदा मन्दिरमा पुग्ने मानिसले दुःख कष्ट पाउने गरेका कारण मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्नेबारेमा १५ करोड रूपैयाँको गुरु योजनासमेत अगाडि सारिएको सहसचिव पहारीले जानकारी दिए।

स्थानीय प्राडा भरत पहारीको संयोजकत्वमा इन्जिनियरसहितका विज्ञ टोली गुरुयोजनामा विभिन्न संरचनालाई समेटेर अगाडि बढ्ने छ। विज्ञ टोलीका संयोजक पहारीका अनुसार मन्दिर पुनःनिर्माणको कार्यसम्पन्न भएपछि मन्दिर वरपरको भागलाई सदुपयोग गर्न र एक सय वर्षसम्म मन्दिर पुग्ने भक्तजनलाई ठाउँको अभाव हुन नदिन भइरहेको प्राकृतिक संरचनालाई असर नपर्ने गरी भूमिगत भौतिक संरचना निर्माण गरिनेछ। भौतिक संरचनादेखि  बगैँचा र धार्मिक अनुष्ठान गर्ने ठाउँ बनाइनेछ।

फेवाताल आफैमा प्रसिद्ध गन्तव्य हो। २३ दशमलव ३० मिटर गहिराइ, चार दशमलव ४६ किमी लम्बाइ तथा दुई किलोमिटर चौडाइको नेपालको पर्यटकीय ताल हो फेवाताल। त्यही तालको एक धेरै पुरानो मन्दिर हो ताल बाराही भगवतीको मन्दिर। यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ देखि नित्य पूजाआजा सुरु भएको पाइन्छ। सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो। हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो। तालको किनाराबाट पाँच मिनेटभित्रै डुंगा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ। प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ। कुल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षणरगुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताए। तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने अन्नपूर्ण मिहालको शृङ्खला, सारांकोट, विश्वशान्ति स्तूप, काँहुडाँडा, पुम्दीकोट, जस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जंगलसमेत रहेको छ। 

‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो। ‘बैदाम’ गाउँको छेउमा पर्ने हुँदा बैदाम ताल पनि भनिने गरिन्छ। यसको बीचमा ‘बाराही मन्दिर’को अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सकिन्छ। 

यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो। फेवा ताल समुन्द्रको सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ। यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ। यस तालको औसत गहिराइ आठ दशमलव छ मिटर (२८ फिट) रहेको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रहेको छ। यस तालको अधिकतम जल क्षमता लगभग चार करोड ३० लाख क्युविक मिटर (३५ हजार एकड फिट) रहेको छ। यस तालको उत्तर दिशामा अन्नपूर्णा हिमशृङ्खला रहेको छ, जुन २८ किमीको दूरीमा छ। यो ताल माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिविम्बका लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ।

यस्तो छ मन्दिर स्थापनाको इतिहास

तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीयवासी ७७ वर्षीय रमेशबहादुर भट्टराईका अनुसार अग्रज पुर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती थियो। एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा। कसैले बास नदिएपछि उनी एक वृद्धाकहाँ पुगे। वृद्धाले बास बस्न दिइन्। तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन्। वृद्ध जोगी तयार भएर त्यही खाएर सुते  घर बाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने- 'यो गाउँ चाँडै जलमग्न हुनेछ। तपाइँ भने अग्लो ठाउँमा चाँडै जानू।' जोगी हिँडेको केही समयलगत्तै स्वाँ... आवाज आयो। स्वाँ... सँगै पानी बढेर आयो। बस्तीमा पानी आउन थाल्यो। जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन्। 

फेरि एक दिन विशाल वर्षा आयो। वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो। तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ। कास्कीका राजा कुलमण्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो। उनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए। क्रमशः विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो। त्यहीँ ढिस्कोमा तालवाराही देवीको शिला राखी पुजिँदै आएको किंवदन्ती छ। रासस 


प्रकाशित : सोमबार, वैशाख ११ २०८०१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend