शनिबार, साउन १२ गते २०८१    
images
images
images

बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ११ २०८०
images
images
बर्दिया निकुञ्जमा पर्यटकको चलपहल बढ्दै

अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन्।

images

नेपालगञ्ज- बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चलपहल बढ्न थालेको छ। निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिंगेलगायत वन्यजन्तु हेर्न पर्यटक त्यहाँ पुग्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।

images
images

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बाघको संख्या बढेर एकसय २५ पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढदै गएको जानकारी दिए। करिब ९० प्रतिशत पर्यटकले बाघ अवलोकन गरेको जानकारी दिँदै उनले अघिल्लो आर्थिक वर्षमा एक हजार विदेशी पर्यटक आएकामा अहिले चार हजारको हाराहारीमा पुगेको उल्लेख गरे।

images

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १२ हजार पुगेका छन्। गत आर्थिक वर्षमा चारसय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर ८०० पुगेका छन्। बाघ हेर्नकै लागि गत वर्षभन्दा यसवर्ष पर्यटकको संख्या बढेको प्रमुख संरक्षण अधिकृत भण्डारीले जोड दिए।

पर्यापर्यटनका लागि यो निकुञ्ज केन्द्रको रुपमा स्थापित भएको उल्लेख गर्दै उनले भने, 'हामीलाई विश्वास छ यस वर्ष करिब २० हजार पर्यटकले निकुञ्ज भ्रमण गर्नेछन्, यसको मुख्य कारण बाघको संख्या बढेकाले त्यसलाई प्रत्यक्ष रुपमा देख्न पाउनु नै हो।'

images

प्रमुख संरक्षण अधिकृत भण्डारीले विदेशी पर्यटक खास गरेर अमेरिका, जर्मन, फ्रान्स, न्यूजिल्याण्ड, चीन, भारतलगायत मुलुकका पर्यटकले निकुञ्ज अवलोकन गरेकामा तीमध्ये अमेरिकी पर्यटकको संख्या बढिरहेको छ। 

उनीहरु बाघ हेर्न नै मन पराउने हुनाले यहाँ आउँछन्, त्यसबाहेक डल्फिन पनि अवलोकन गर्छन्, बाघको आहारको रुपमा रहेको चित्तल, बाह्रसिंगेको हेरेर पनि पर्यटकले आनन्द लिएका छन्। सुन्दर घाँसेमैदान, नदी र जैविक विविधताले निकुञ्जको सौन्दर्य बढाएको छ। 'निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन्। अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको संख्या बढाउन सकिन्छ', प्रमुख संरक्षण अधिकृत भण्डारीले भने, 'वन्यजन्तु र मानव बीचको द्वन्द्व व्यवस्थापनका लागि बाघको आहारा बढाउनेलगायत काम गर्नाका साथै तिनलाई निकुञ्जभित्रै सीमित बनाउने गरी केही प्रयास भएको छ।' 

उनले बाघ र हात्तीबाट हुने क्षति कम भएकाले मानवीय व्यवहारलाई परिवर्तन गर्न आवश्यक भएको धारणा व्यक्त गरे। निकुञ्ज आसपास बस्ती रहुञ्जेल वन्यजन्तु र मानवबीच द्वन्द्व बढिरहने भएकाले मानव वन पैदावरको खोजीमा जाने र कहिलेकाहीँ वन्यजन्तु विशेष गरी बाघ त्यो पनि बिरामी वा घाइते बाघ आहाराको खोजीमा जंगलभन्दा बाहिर जाँदा द्वन्द्व बढेको जस्तो देखिए पनि ठूलो समस्या भने नभएको प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए। निकुञ्जले सकेसम्म मानव र वन्यजन्तुबीचको द्वन्द्व शून्य रहोस् भनेर काम गरिरहेको छ।

वन्यजन्तुको आनीबानी र व्यहार परिवर्तन गर्न सकिदैन तर उसमाथि देखाउने व्यवहार परिवर्तन गर्न सकिन्छ। यो निकुञ्ज भावर क्षेत्रमा पर्ने भएकाले करिब पाँच स्क्यावार किलोमिरटको दूरीमा एउटा पोखरी बनाउनाका साथै सोलार जडित बोरिङको प्रबन्ध गरेर पानीको व्यवस्था गरिएको छ। बाघका लागि पाँच वर्षमा चार स्क्वायर किलोमिटरको ग्रिड बनाइएको र प्रत्येक ग्रिडमा एउटा पोखरी र घाँसे मैदान बनाउने लक्ष्य राखिएको छ।

यस कार्यले बाघको आहारा जातीको जन्तुको संख्या बढाउन सहयोग गर्ने विश्वास लिइएको छ। घाँसे मैदान राम्रो भए बाघको आहार जातीको संख्या बढाउन सकिने भएकाले आहारा प्रजातिको लागि पोषण खानामा जोड दिइएको छ। अहिले घाँसे मैदान कम छ पुराना घाँसे मैदान वन पैदावर पाउने ठाउका रुपमा रुपान्तरण भएको छ।

पुरानो घाँसे मैदानलाई पुनः घाँसे मैदानकै रुपमा ल्याउन बजेट अभावले समस्या देखिएको बताइएको छ। निकुञ्जभित्र रहेका लम्कौलीलगायत विभिन्न घाँसे मैदानका फाँटालाई व्यवस्थापन गरिएको छ। 

पुराना घाँसे मैदानको गुणस्तर बढाउन निकुञ्जले जोड दिएको छ। निकुञ्जमा १०० स्क्वायर किलोमिरटमा सात बाघ छन्। अझै पनि यसको पक्षमा राम्रो काम गर्ने हो भने बाघको संख्या बढाउन सकिन्छ। बढेको बाघको संख्यालाई कसरी अवसरको रुपमा लिने र त्यसबाट आयआर्जन कसरी गर्ने भन्ने विषयमा पनि छलफल हुनु आवश्यक छ। 

बर्दियाको ठाकुरद्वारास्थित गैँडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढेको जानकारी दिँदै बाघको संख्या बढेपछि यहाँ रहेका करिब ३२ साना तथा ठूला होटेल र होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ बढ्न थालेको बताए। त्यसमा पनि बाह्य पर्यटकमा अमेरिका, फ्रान्सलगायत मुलुकको पर्यटक भएको उल्लेख गर्दै उनले बाघ हेर्नका लागि बाह्य पर्यटक तीन दिनदेखि एकसातासम्म यहाँबस्ने गरेकोे जनकारी दिए। 'कतिपय पर्यटक त एक महिनासम्म पनि बस्ने गर्छन्', सञ्चालक थापाले भने।

स्थानीय उमंग खडकाले बाघ हेर्नकै लागि पर्यटकको संख्या वढिरहेको र उनीहरूले हात्ती, गैँडा र आहार प्रजातिका अन्य वन्यजन्तु देखेर फर्किने गरेको बताए।

पाटेबाघ, एक सिंगे गैँडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगे र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन्। जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्। निकुञ्जमा चारसय ३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको बताइएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ११ २०८००८:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend