शुक्रबार, असोज ४ गते २०८१    
images
images

दुनाटपरीलाई आम्दानीको स्रोत बनाउँदै घोराहीका महिला

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
images
images
दुनाटपरीलाई आम्दानीको स्रोत बनाउँदै घोराहीका महिला

वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एकजनाले मासिक ६ हजारसम्म आम्दानी गर्ने गरेका छन्।

images
images

देउखुरी- घोराही उपमहानगरपालिका- १७ डवरीका महिलाहरुले दुनाटपरी बनाइ बिक्री गरेर आम्दानी गर्दै आएका छन्। जंगलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाउँदै आएका महिला आम्दानी हुन थालेपछि निकै खुसी भएका छन्। समूहमार्फत चार वर्ष अघिदेखि दुनाटपरी बनाएर बिक्री गर्न थालेदेखि आम्दानी हुन थालेको उनीहरु बताउँछन् ।

images
images
images

विसं २०७४ मा ईपीआरसी नेपालले गाउँका महिलालाई टपरी बनाउने तालिम दिएको थियो। सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको त्रिशक्ति दुनाटपरी समूहकी अध्यक्ष उमा रावतले बताइन्। तालिम लिएपछि दश महिलाको समूह बनाएर काम थालेको अध्यक्ष रावतले बताइन्।

'तालिम सकिएपछि गाउँका महिला मिलेर समूह गठन गर्दै दुनाटपरी उद्योग घरेलुमा दर्ता गर्‍यौँ, उद्योग दर्तागरेपछि घरेलु तथा साना उद्योगले ८० प्रतिशत अनुदानमा दुनाटपरी बनाउने मेसिन समूहलाई प्रदान गरेको थियो', उनले भनिन्, 'मेसिनको दुनाटपरी हातले बनाएको जस्तो भरपर्दो नभएको भनेर ग्राहकले किन्न मानेनन्।' 

गत वर्षदेखि हातले बनाउन थालेको उनले बताए। पछिल्लो समयमा दाङमा हातले बनाएको दुनाटपरीको माग बढेको छ। साल र पालुकाको पातको दुना टपरी बनाउने गरिएको उनले जानकारी दिइन्।

images

'जिल्लामा घोराही, तुलसीपुर, नारायणपुर र लमही बजारबाटसमेत माग आउन थालेको छ। बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन् उता बिक्री नभएको आफैले समन्वय गरेर बिक्री गर्ने गरेको छ, यसको माग बाह्रैमहिना आउने गर्दछ,' उनले भनिन्, 'चाडपर्व, पूजा, बिहे मृत्यु संस्कारमा पनि हरियो, सुकेको दुना टपरीको माग हुने गर्दछ, मौसमको समयमा माग धान्न मुस्किल हुन्छ। एउटा टपरीको मूल्य चार रूपैयाँ रहेको छ।'

दुना एक मालाको एकसय कायम गरिएको समूहकी अध्यक्ष रावतले बताइन्। मालामा सयवटा दुनाटपरी हुने उनको भनाइ छ। हरियो दुना टपरीको माग गर्नेका लागि तुरुन्तै वनबाट पात ल्याएर तयार गरिन्छ।

विभिन्न सञ्चारमाध्यमले महिला उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेर दुनाटपरी बनाएका समाचार सुनेपछि गाउँका दिदीबहिनीले सल्लाह गरेर काम सुरु गरेको समूहकी सदस्य शोभा घिमिरेले बताइन्।

मेसिनबाट बनाएको भन्दा हातले बनाएको मानिसले मन पराउने भएका कारण हातले बनाएको धेरै बिक्री हुने गरेको समूहकी सदस्य घिमिरेले बताइन्। उनले भनिन्, 'बजारका चाट पसल, पूजा सामग्री पसलमा सम्पर्क गर्छौँ, उत्पादन भएको दुनाटपरी बिक्री गर्न समस्या छैन।' उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको उनले बताइन्।

'पहिले घरखर्चका लागि दुनाटपरी बनाउने काम गर्दे आएका थियौँ, तालिम पाएपछि भने व्यावसायिक रुपमै अगाडि बढेका छौँ', उनले भनिन्। दुनाटपरी बनाउने काम सुरु गरेसँगै आर्थिकरुपमा सबल बन्दै गएको उनको भनाइ छ। वनमा खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक ६ हजारसम्म आम्दानी गर्ने गरेको उनले बताइन्। 

'बजारमा बाह्रैमहिना दुनाटपरीको माग हुने गरेको छ', घिमिरेले भनिन्, 'पहिले बसेर दिन बित्ने गरेका थिए, अहिले दिदीबहिनी जम्मा हुँदा पनि आम्दानी हुने काम गरेका छौँ, आम्दानी भएपछि आफ्ना इच्छा पूरा भएका छन्।'

बजारमा पाइने प्लास्टिकका सामान विस्थापित गर्ने प्लास्टिकले स्वस्थ्यमा पर्ने असरका बारेमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको धारणा छ। पातबाट बनेको जैविक सामानको महत्वका बारेमा सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाको धारणा छ।

घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलाले  खेर गएको समय र पातको सदुपयोग गरेर उत्पादनमूलक काममा लागेकामा प्रशंसा गरिन्। उनले त्यहाँ उत्पादन भएका सामग्री बिक्री गर्न असहज भएमा बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताइन्। अरु महिलालाई पनि घर वरिपरी खेर गइरहेको पातलाई सदुपयोग गरेर आयआर्जनमा जोडिन आग्रह गरिन्। दुनाटपरी प्रयोग गरेर प्लास्टिकका सामान किन्ने पैसा बाहिर जाने रकम रोक्न सकिने उनको धारणा छ। रासस


प्रकाशित : आइतबार, वैशाख १० २०८००७:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend