शुक्रबार, जेठ ११ गते २०८१    
images
images

मधुवाको समस्याले किसान हैरान

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
मधुवाको समस्याले किसान हैरान

मधुवाले आँपका मज्जर तथा बोट भसक्क डढाएपछि किसान निराश छन्।

images
images

महोत्तरी- आँपका मज्जर नै मधुवा (आँप र लिची फलका मञ्जरी र पातमा लाग्ने एक प्रकारको किरा) ले डढाएर सखाप पारेपछि बगैँचा खेतीका किसान निराश बनेका छन्। 

images
images
images

आँपका बोटमा पात, हाँगा नदेखिने गरी मज्जर (मञ्जरी, फूल) खिल्दा यसपालि बगैँचा खेतीबाट राम्रो आम्दानी लिने आश बोकेका किसान गर्मी चर्कदै गएसँगै मधुवाले मज्जर भसक्क डढाएपछि निराश भएका हुन्। नयाँ वर्ष लागेयता बगैँचा पुग्दा वीरक्त लाग्ने गरेको किसानको गुनासो छ।

images

'यतिखेर हाँगैपिच्छे आँपका टिकोला (चिचिला) का झुप्पा देखिन्थे, तर यसपालि मज्जर डढेको कालो खरानी पो छ', महोत्तरीको भंगाहा-४ का बगैँचा खेतीका किसान हरिदेव साहले भने, 'यो त होला भनेर आश गर्‍यो, त्यो आश पनि मरेपछि के हेरेर चित्त बुझाउनु?' बगैँचाका आँपका बोटमा अहिले मधुवाले डढाएर कालो ढुसी परेका पात देखिने गरेको साह बताउँछन्। 'मज्जर त डढेर कालो खरानी भइहाल्यो, पातचैँ रुखमै कालो ढुसी परेको देखिँदैछ',उनले भने, 'यी रोगव्याध र अभावचैँ हामी किसानकै रहेछन्।'  

images
images

साहजस्तै उनकै बस्तीका अरुण गिरी, गंगाराम महतो, सत्यनारायण यादव र वीरेन्द्र महतो पनि आँपको मज्जर मधुवाले भुसुक्कै डढाएपछि पिरोलिएका छन्। 'आँप फुलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनिएको थियो' फलफूल किसान वीरेन्द्र महतो भन्नुभयो, 'राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरमै डढ्यो।' मज्जरलाई जेलेर मधुवाले डढाएपछि त्यसमा टिकोला नलाग्ने किसान बताउँछन्। समस्या बढेपछि मज्जरमात्र नभएर पातै पनि डढाएर मधुवाले कालो बनाउँछ।

images
images

मधुवाको समस्याले व्यावसायिक रुपमै फलफूल खेती गर्ने यहाँका किसान निराश भएका छन्। फलफूल खेतीलाई नै गुजाराको मुख्य पेसा बनाएका किसानमा मधुवा रोगको समस्याले यसपालि चिन्ता बढाएको हो। 'खै केही वर्ष पहिले त फलफूल खेती हेर्ने जेटी बाबु (कृषि सहायक) आएर यस्तो गर्नोस भनेर परामर्श दिन्थे' बर्दिवास नगरपालिका-९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, 'अचेल त केही वर्षयता कोही सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन।'

समयसमयमा कृषि परामर्श नपाउँदा पनि आफूहरु पछि परेका फलफूल किसानको गुनासो छ। खासमा पहिलेका जिल्ला कृषि विकास कार्यालयको बागवानी शाखा र  जिल्लाका अन्य भेगका कृषि सेवा केन्द र उपकेन्द्रबाट पाइने सल्लाह, सुझाव अब ती कार्यालय नै नरहेपछि पाउन छाडिएको किसानको भनाइ छ।

नयाँ संविधान लागू भएयता जिल्ला कृषि विकास कार्यालय छैन। त्यसअघिका इलाका र गाविस केन्द्रमा रहेका कृषि सेवा केन्द्र र उपकेन्द्र सम्बन्धित स्थानीयतहमा गाभिएका छन्। कानूनले पहिलेका यी निकाय स्थानीयतहमा गाभिए पनि जिल्लाका कुनै स्थानीयतहले आआफ्ना कार्यालयमा कृषि शाखा व्यवस्थित नगर्दा आम किसानले खेतीपातीसम्बन्धी राय सल्लाह लिन नपाइएको गुनासो गरेका छन्।

'सम्बन्धित स्थानीयतहले आफ्नो कार्यालयमा दक्ष कृषि प्राविधिकसहितको कृषि शाखा व्यवस्थित गर्नपर्ने हो, तर खै यी काममा नगर नेतृत्वको चासो देखिन्न', भंगाहा-९ हरिहरपुरका किसान सुनिल यादवले भने, 'कृषि कुनै स्थानीयतहको प्राथमिकतामा देखिँदैन।' उनको भनाइमा सही थाप्दै कृषि क्षेत्रको सरकारी सेवाबाट अवकास लिएका भंगाहा-६ सग्रामपुरका बासिन्दा बागवानीविज्ञ राजकिशोर यादवले जिल्लाका १५ स्थानीयतहमध्ये कुनैले व्यवस्थित कृषि शाखा सञ्चालन गरेका नदेखिएको बताए।

जिल्लामा बर्दिबास, गौशाला, भंगाहा, मनराशिश्वा, मटिहानी र जलेश्वर नगरपालिका क्षेत्र एवं पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै आँप बगैँचा लगाइएको छ। सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि केही लागेका टिकोला पनि चाउरिएर नबढेका किसान बताउँछन्।

'यसपालि अब आँपबाट आम्दानी लिने आश मर्‍यो', मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरकै अर्का फलफूल किसान सुरजसिंह कुशवाहाले खिन्न हुँदै भने।

उनको दुई बिघा क्षेत्रफलमा आँप बगैँचा छ। जसमा २० प्रतिशत रुखमामात्र टिकोला अडेका उनको भनाइ छ। 'मधुवा नियन्त्रणका लागि उपचार गरिएपनि रोग नियन्त्रण हुन सकेको छैन', उनले भने। सुरुमा मज्जर खिलेदेखि नै पानीको फोहरा चलाएर प्राकृतिक उपचार गरिए पनि त्यसले मधुवा रोक्न नसकेको किसान बताउँछन्।

यसपालि मङ्सिरयता फागुन मसान्तसम्मै पानी नपरेपछि मधुवाले गाँजेको आम किसानको भनाइ छ। 'हिउँदे वर्षा भएन, बाल्टीनबाट पानीको फोहराले कति धान्नु?' किसान भोला महतोले भने, 'राम्ररी हिउँदे वर्षा भएको भए मज्जर धोइएर मधुवा बढ्ने थिएन।' यसपालि हिउँद सकिएपछिमात्रै चैत लागेपछिमात्रै हलुका पानी पर्‍यो, यसले मधुवा रोक्न ढिलो भएको पाका किसानको भनाइ छ।

आँपमा मधुुवाले गाँजेपछि यसपालि आँपको उत्पादन स्वात्तै घट्ने चिन्ताले किसानसँगै उपभोक्ता पनि पिरोलिएका छन्। 'आँप प्रचुर फल्दा सस्तो हुने र गरिबले पनि आफ्नो सावगासअनुसार खान पाँउछन्', महोत्तरीको बर्दिबास-१ का बासिन्दा एबं उपभोक्ता हकहित संरक्षण मञ्च महोत्तरीका अध्यक्ष दीपेन्द्र पराजुलीले भने, 'यसपालि भने मधुवाले मज्जर नै डढाएपछि उत्पादन कम हुनेहुँदा गरिब उपभोक्ताले आँप राम्ररी खान पाउँने छैनन्।'

फलफूल विज्ञले भने मज्जर खेल्नासाथै उपचार नगरिदा मधुवाको समस्या बढेको बताएका छन्। समयमा उपचार नगरिँदा मधुवाको समस्या बढेको लामो समयसम्म कृषि विज्ञका रुपमा सरकारी सेवामा रहेर अवकास लिएका बर्दिबास-९ पशुपतिनगरका ज्ञानेन्द्रसिंह कुशवाहाको भनाइ छ। अहिले पनि लगातार उपचार सघन गरिदै लगिए रुखका अहिलेका टिकोला भने अड्याउन सकिने उनले बताए।

आँपको रुखको जरा वरिपरि खनेर सिँचाइ  गरिनसँगै फेदमा चुन दल्ने र मज्जरमा पानीका फोहरा चलाएर प्राकृतिक उपचारले नै मधुवा रोक्न सकिने उहाँको भनाइ छ तर मधुवा लागिसकेपछि भने मज्जर बचाउन विषादी उपचार नै गर्नुपर्ने उनले बताए।

पानी लगातार फूलमा छर्किएसँगै जरामा पर्याप्त सिँचाइ  गरिए मधुवा नलाग्ने र फूलमा दाना राम्रो लाग्ने फलफूल विज्ञ बताउँछन्। यसपालि हिउँदमा  पानी नपरेको र किसानले आँपको जरा वरिपरि खनेर किरा मार्ने उपचार राम्ररी नगर्दा मधुवाले पिरोलेको कृषि सेवाकै सहसचिव पदबाट अवकास लिनुभएका भंगाहा-५ सीतापुरका रामबहादुर भुजेलको भनाइ छ।

जिल्लामा सात हजार हेक्टर जग्गामा व्यावसायिकरुपमै आँप खेती रहेको स्थानीयतहको तथ्यांकले देखाएको छ। पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलफूल लगाउने क्रम जिल्लामा  ह्वात्तै बढ्दै गएको छ। फलफूल खेती बढ्दै गएसँगै तीनै तहका सरकारको चासो र सहयोग पाउनपर्ने किसान बताउँछन्। रासस


प्रकाशित : शनिबार, वैशाख ९ २०८०१२:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend