आइतबार, कात्तिक २५ गते २०८१    
images
images

बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप, ओखलढुंगामा एक हजार हेक्टरमा डढेलो

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
बागलुङमा डढेलोले ४५० हेक्टर वन सखाप, ओखलढुंगामा एक हजार हेक्टरमा डढेलो

जंगली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ। खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ।

images
images

काठमाडौं- सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ। पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो। 

images
images
images

गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो। चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्यांक छ। गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन।

images

बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए। जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्यांक छ। केही तथ्यांक भने आउनै बाँकी छ।

images

यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ। बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो। जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक/एक वनमा आगलागी भएको छ।

जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ। जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ  दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताए।

गत वर्ष हिउँदमा वर्षा हुँदा बागलुङका वन क्षेत्रमा आगलागी भएको थिएन। एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए। यस वर्ष हिउँद सुक्खा हुँदा अधिकांश वन क्षेत्र आगलागीको जोखिममा परेको वन अधिकृत अधिकारीले बताए। वर्षा नभएसम्म बाँकी रहेका वन क्षेत्रसमेत आगलागीको जोखिममा छन्।   

'गत वर्ष डढेलो नलागेकाले वनमा कुहिएका काठ र पात पतिंगर संकलन भएर बसेका थिए', उनले भने, 'थुप्रो लागेका काठ, पात र झाडीका कारण यो वर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो।'

डढेलोको सम्भावित जोखिम भएका ठाउँमा सचेतनामूलक कार्यक्रम गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरण उपलब्ध गराउनेलगायतका काम गरिएको उनले बताए। वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानूनी व्यवस्था छ तर वनमा आगो लागउनेको पहिचान हुन सकेको छैन।

जंगली जनावरबाट बच्न, वर्षायाममा मल हुने लोभलगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाइन्छ। खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई  क्षति हुने गरेको छ। वनजंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइप पोलिएर कयौँ ठाउँमा खानेपानीको समस्या छ भने कतिपय जंगल क्षेत्रमा रहेका महत्वपूर्ण जडीबुटी जलेका छन्। 

यस्तै ओखलढुंगामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ। यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो। 

जिल्लामा हिउँदयाम लागेसँगै भएका डढेलोका घटनाबाट नौ सय २५ हेक्टरभन्दा बढी जंगलमा क्षति भएको विवरण प्राप्त भएको र थप विवरण आउनेक्रम जारी रहेकाले करिब एक हजार हेक्टरमा क्षति पुगेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सत्यनारायण यादवले बताए। जिल्लाका छ सब डिभिजन वन कार्यालयअन्तर्गतका जंगलमा लागेको आगोका कारण वन्यजन्तु, काठपात, घाँस, बुट्यान, जडीबुटीलगायत क्षति पुग्दा लाखौँको क्षति भएको उनको भनाइ छ।

'स्थानीयका अनुसार नयाँ घाँस पलाउने आशा र हेलचेक्र्याइँले वनमा आगो लगाएको पाइन्छ, तर त्यो आगो लगाउने व्यक्तिको पहिचान नहुँदा कारबाहीको दायरामा ल्याउन सकिन्न, यस वर्ष पनि करिब नौ सय २५ त हाम्रो तथ्यांकले देखाउँछ, केही विवरण छुटेको हुनसक्छ त्योसमेत गर्दा हजार हेक्टर वन डढ्यो', उनले भने, 'आगलागीका घटना न्यूनीकरण गर्न अपिल गर्दागर्दै पनि गाउँगाउँका वनमा आगो लगाउने क्रम रोकिएन, त्यसरी वनमा आगो लगाउने व्यक्तिको पहिचान भएका खण्डमा कडा कानूनी कारबाही गर्छौं।'

आगलागी सुरु हुनासाथ नियन्त्रणको प्रयास गरिए पनि कतिपय वनमा लागेको आगो एक सातासम्म नियन्त्रणमा आउन नसक्दा ठूलो क्षति भएको उनको भनाइ छ। जिल्ला सदरमुकाम नै जोखिममा पर्ने गरी लागेको आगो नियन्त्रणमा आएको छ। सिद्धिचरण नगरपालिका-१२ को बकुन्दे सामुदायिक वनमा लागेको आगो एक सातापछि नियन्त्रणमा आएको हो।

यही बैशाख ३ गते सिद्धिचरण-९ को ज्यामिरे सामुदायिक वनबाट लागेको आगो अनियन्त्रित हुँदै सदरमुकाम नजिकैको बकुन्दे सामुदायिक वनसम्म आइपुगेको थियो। नेपाली सेनाको अरिदमन गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि, स्थानीय नागरिक र ओखलढुंगा युथ फाउन्डेसनका युवाको संयुक्त प्रयासमा आज बिहानदेखि डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको सिद्धिचरण-१२ का वडाध्यक्ष उमंग श्रेष्ठले बताए।

आगोका कारण सदरमुकाम बजार जोखिममा रहेको थियो । सबैको प्रयासमा आगो नियन्त्रणमा आएकाले ठूलो जनधनको क्षति हुनबाट बचेको उनको भनाइ छ। शुक्रबार साँझ पानी परेकाले पनि आगो पूर्णरुपमा निभाउन सजिलो भएको थियो। 

जिल्लाका अन्य सात स्थानमा लागेको आगो पनि नियन्त्रणमा आएको छ। जिल्लामा भौगोलिक कठिनाइ, आगो नियन्त्रणमा आवश्यक पर्ने स्रोतसाधनको अभाव, सबै स्थानीय तहमा दमकल नहुनु, भएका ठाउँमा पनि सबै स्थानमा दमकल नपुग्नु र आगो नियन्त्रणमा सबै नजुट्नुले आगलागी नियन्त्रणमा चुनौती देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपकबहादुर केसीको भनाइ छ। रासस


प्रकाशित : शनिबार, वैशाख ९ २०८००८:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend