मुगु- रारा आउने पर्यटकका लागि यसक्षेत्रमा बसाइको अनुभव पहिलेभन्दा नौलो हुने भएको छ। निकुञ्ज क्षेत्रका भौतिक संरचना हटाउने काम चलिरहँदा नजिकैका स्थानहरूमा नयाँ रिसोर्टहरू पनि बनिरहेका छन्। यसले रारामा पर्यटकको बस्ने समय बढ्नुका साथै खर्च गर्ने विकल्पहरू पनि थपिँदै छन्।
राष्ट्रिय निकुञ्जको हरियालीभित्र लुकिरहेको ताल हो रारा। नेपालको सबैभन्दा ठूलो तालका रुपमा परिचय बनाएको राराको बखानमा यसको आकारभन्दा समग्र सुन्दरताको स्थान बढी छ।
राराको क्षेत्रफल १०.६५ वर्ग किलोमिटर छ। लम्बाइ ५ किलोमिटर छ। चौडाइ ३ किलोमिटर। राराको गहिराइ १६७ मिटर छ। सन् २००७ मा रामसार सूचीमा सूचीकृत भएर अन्तर्राष्ट्रिय रुपमा थप महत्वपूर्ण बन्यो रारा। पछिल्ला वर्ष भ्याइनभ्याइ स्थानीय पर्यटकको चाप खेपिरहेको रारा प्रकृतिमा रमाउन चाहने बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य हो।
वरपरको जंगलसँगै आँखा उठाएर हेर्दा देखिने हिमालले राराको सुन्दरतामा मुस्कान थपेको छ। रारा तालको दक्षिणतर्फ ४०८७ मिटरको चुचेमारा टाकुरा, उत्तरतर्फ ६७३१ मिटरको रुम काँध र ३४४४ मिटरको मालिका काँध चुचुराहरू छन्।
रारा ताल र वरिपरको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरेर आउने विभिन्न चराचुरुङ्गीको उपयुक्त बासस्थान बनेको छ। जहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पनि पाइन्छ।
निकुञ्ज क्षेत्रका भौतिक संरचना हटाइँदै
रारा राष्ट्रिय निकुञ्ज क्षेत्रका भौतिक संरचना हटाउने तयारी भएको छ। तालनजिकका संरचना हटाउने तयारीसँगै बफर जोन क्षेत्रमा होमस्टेको आकर्षण देखिएको छ। तालछेउका रिसोर्टहरूसमेत हट्ने भएपछि बफर जोनमा होमस्टेहरूको संख्या बढ्न थालेको छ।
रिसोर्टसहित ताल किनारमा नै रहेको नेपाली सेनाको ब्यारेकसमेत हटाइने छ। तालसँगै जोडिएका दुईवटा रिसोर्ट पनि हटाइने छ। निकुञ्जको कार्यालयसँगै डाँफे गेष्ट हाउस हटाउने प्रक्रिया सुरू भइसकेको छ।
निकुञ्जका वार्डेन विश्वबहादुर श्रेष्ठका अनुसार निकुञ्जको कोर क्षेत्रमा रहेका सबै भौतिक संरचना सार्ने तयारी सुरू भइसकेको हो। सेनासँगै निकुञ्जको कार्यालय सार्न कोर क्षेत्रबाहिर भौतिक संरचना निर्माणको काम सुरू भइसक्यो।
'ताल वरिपरि अब कुनै भौतिक संरचना रहँदैन, सबै सर्छन्,' वार्डेन श्रेष्ठले भने, 'तालनजिक रहेको गेष्ट हाउस पनि अब रहन्न।'
बढ्दो पर्यटक, तर बस्नकै चिन्ता
वार्डेन श्रेष्ठका अनुसार यसअगाडि आन्तरिक पर्यटकको संख्या पातलो भए पनि पछिल्लो समय भने एकैदिन तीनसयसम्म नेपाली पर्यटक ताल क्षेत्रमा पुगेका छन्। तर सो क्षेत्रमा खानाका साथै बस्नकै चिन्ताले पर्यटकहरू ताल क्षेत्रमा पुगेर भ्याए बोटिङसम्म गर्ने, नभ्याए तालमा पुगेको तस्बिर खिचेर फर्किहाल्ने गरेका छन्। त्यसमा ताल पारि रहेको एकमात्र गेष्ट हाउस पनि हट्ने भएको छ।
श्रेष्ठले निकुञ्जको कोर क्षेत्रमा कुनै भौतिक संरचना नरहे पनि त्यसको बिकल्पमा बफर जोन क्षेत्रमा होमस्टेहरू बढेको बताउँछन्। अहिले रारा क्षेत्रमा खान र बस्न समस्या नभए पनि जानकारीको अभावमा राराको प्राकृतिक सुन्दरतामा रम्नै नपाइ पर्यटकहरू फर्किने गरेको उनले बताए।
'तालबाट देब्रेतिर बफर जोन छ। त्यहाँ पर्यटकको आर्थिक योजनाअनुसारका रिसोर्ट र होमस्टे छन्', श्रेष्ठले भने 'तर धेरैलाई यो थाहा नहुँदा रारामै बस्ने योजनासहित आउने पर्यटकको संख्या कम छ।'
बफर जोन रहेको छायाँनाथ रारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष बिर्खबहादुर रोकाया रारा आउने हो भने दुईतीन दिनको योजना बनाएर आउन सुझाव दिन्छन्।
'रारा ताल नजिकैबाट जति सुन्दर देखिन्छ मुर्माकोटबाट त्यो भन्दा सुन्दर देखिन्छ', रोकायाले भने 'जसलाई मुर्माकोट थाहा छ उहाँहरू आउनुहुन्छ। धेरै तालको फोटो खिचेर फर्किहाल्नुहुन्छ।'
कोर क्षेत्रमा भौतिक संरचना नरहने पक्का भएसँगै बफर जोनमा व्यवसायीहरू पनि आउनेक्रम बढेको उनले बताए। रोकायाका अनुसार अहिले नै आधा दर्जन बढी रिसोर्ट र होमस्टे सञ्चालनमा छन्।
मुर्माकोट क्षेत्रमा यसअगाडि नै रारा इको रिसोर्ट, रारा कल्चरल होमस्टे लगायत सञ्चालनमा छन्।
सो क्षेत्रको अधिकांश स्थानीयको जमिन व्यवसायीहरूले किनिसकेको र पर्यटन क्षेत्रमा कहलिएमा व्यवसायीहरू समेत आएर रिसोर्ट खोल्ने तयारीमा रहेको रोकायाले बताए।
अब बढ्दैछन् रिसोर्ट
यसैसाता पाँच करोड लगानीमा रारा भिलेज रिसोर्ट सञ्चालनमा आएको छ। रारा ताल, छायाँनाथ हिमाल क्षेत्र प्रष्ट देख्न सकिने स्थानमा खुलेको रिसोर्ट पूर्ण हुन २५ करोड लाग्ने रारा भिलेज रिसोर्ट प्रालिका अध्यक्ष अनुपविक्रम शाहले बताए।
'रारामा बस्नै पाइँदैन, चाहेजस्तो खानै पाइँदैन भन्ने सन्देश फैलिएको छ', शाहले भने 'अब रारा आउँदा खाने बस्ने चिन्ता नलिए हुन्छ। रारामा आउँदा तालमा फोटो खिचेर फर्किहाल्नु पर्दैन। हामीसँग एकैदिन ५० पर्यटकलाई राख्नसक्ने क्षमता छ। हामी जस्तै अन्य होमस्टे पनि छन्। ढुक्क भएर रारा आए हुन्छ।'
रारा क्षेत्रको समस्या नै पर्यटकको बसाइ लम्ब्याउन नसक्नु रहेको शाहको अनुभव छ। तालसँगैका मुर्मा गाउँ, मुराकोटको भ्रमण गराउन सके पर्यटकको बसाइ लम्बिने उनले बताए।
आन्तरिक र बाह्य पर्यटकको बसाइ लम्ब्याउने योजनासहित आफूहरू जोखिम लिएर लगानी गर्न आएको उनले बताए। 'रारा क्षेत्रको सम्पत्ति भनेको प्रकृति हो। रिसोर्ट, होटल जे बने पनि आँखामा नबिझ्नेगरि बनाउनै पर्छ', उनले भने 'आन्तरिक पर्यटकलक्षित मूल्यसहितको सुविधा दिनसके रारा आउने धेरैको सपना पूरा गर्न सकिन्छ। त्यसैका लागि २० रोपनी क्षेत्रफलमा परम्परागत बस्तीकै शैलीमा रिसोर्ट बनाएर क्षमता बढाउछौँ।'
रारा पुग्ने पर्यटक कमै पुग्छन् मुर्माकोट
ताल क्षेत्रबाट पैदल नै करिब साढे दुई घण्टामा मुर्माकोट पुग्न सकिन्छ। जहाँबाट राराको सबै क्षेत्रसहितको सुन्दर दृश्यसँगै छयाँनाथसहितका हिमाली दृश्य हेर्न सकिन्छ। तालको देब्रेतिर करिब आधा घण्टा तेर्सो हिँडेपछि मुर्मा क्षेत्र आइपुग्छ। त्यहाँबाट दुई घण्टा उकालो चढेपछि मुर्माकोट पुगिन्छ।
हिँड्न सक्नेका लागि लोठसल्लाको जंगल हुँदै जान रमाइलो हुन्छ। हिँड्न नसक्नेका लागि घोडाको सुविधा पनि पाइन्छ। पछिल्लो समय मुर्माकोट पुग्ने पर्यटक बढिरहे पनि यसले आशातित रुपमा अझै पर्यटक ल्याउन सकिरहेको देखिँदैन। अब रारासम्म आउने पर्यटकको बसाइ लम्ब्याउनेगरी कामहरू भइरहँदा मुर्माले पनि नयाँ परिचय पाउने देखिन्छ।