बिहीबार , वैशाख १३ गते २०८१    
images
images

बगरमा खेती : बालुवामा सुन फलाउने प्रयासमा किसान, खरबुजा र तरकारीबाट गर्छन् मनग्य आम्दानी

images
बिजनेस न्युज
images
images
बगरमा खेती : बालुवामा सुन फलाउने प्रयासमा किसान, खरबुजा र तरकारीबाट गर्छन् मनग्य आम्दानी
फाइल तस्बिर
images
images

दाङ- कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ। त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन्।

images
images
images

त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन्। बगरे खेतीबाटै लखपति बनेका किसानहरूमा अहिले ठूलो जोस र जाँगर पलाउनाका साथै आफूलाई आर्थिक रुपमा सफल र सबल पनि बनाएका छन्।

images

लमही नगरपालिका-४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो। बलरामपुरको दक्षिणतर्फ भएर बगेको राप्तीको उत्तरतिरको बालुवाले भरिएको जमिन अहिले हरियाली भएको छ। हेर्दा बालुवामाथि फलेको देखिने खरबुजाले त्यहाँका ग्राहक मात्र होइन त्यो बाटो भएर हिँड्ने सबैलाई लोभ्याउने गरेको छ।

images

यतिखेर टिप्न ठिक्क भएका केही बोट खरबुजा छन् भने केहीमा भर्खरै बतिला लाग्दैछ। बोटमै गएर किन्ने ग्राहकले यसबाट आनन्द महसुस गरेका छन्। उनीहरु आफूहरुले नै टिपेर किन्नका लागि त्यहाँसम्म पुगेको बताउँछन्।

images
images

बलरामपुर गाउँका अरू दुईसय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन्। राप्ती नदीले कटान गरेको केही ठाउँमा उनीहरुले बेमौसमी तरकारीको पनि खेती गरेका हुन्। उनीहरुमध्ये केहीले सामूहिक र केही व्यक्तिगत रुपमा खेती गरिरहेका छन्। 

पौरखी किसानमध्येकी लमही नगरपालिका-४ को सिम्रहवामा बस्दै आएकी ४९ वर्षीया सनकुमारी चौधरीले अहिले दुई बिघा जमिनमा खरबुजा रोपेकी छिन्। उनी भन्छिन्, 'पहिला नदीले हाम्रो सबै जमिन कटान गरेर हामीलाई बिचल्ली नै पार्‍यो। अहिले हामीले त्यही जग्गामा तरकारी र खरबुजा खेती गरेर परिवार पाल्न र घरखर्च चलाएका मात्र होइन छोराछोरी पढाउन र केही मात्रामा बचत गर्न पनि सफल भएका छौँ।'

'बीस वर्षपहिले राप्ती नदीमा ठूलो बाढी आयो, घर बगायो, अन्नपात, गाई, भेडा सबै बगायो। हामी घर छोडेर सिम्रहवामा गयौँ। पछि राप्ती नदीले आफ्नो धार परिर्वतन गर्‍यो। त्यही बाढीले लगेको जमिन करिब दश वर्षसम्म त बगर नै थियो। पछि सबै गाउँलेहरुले सल्लाह गर्‍यौँ र यो खेती गर्ने  कार्यक्रम बनायौँ', कृषक चौधरी भन्छिन्।

ती किसानलाई एउटा संस्थाले बीउ मल सहयोग पनि गरेको छ। सुरुको सो सहयोगले बगरमै खेती सुरु गरेका किसान अहिले भने आफैँ लखपति भएका छन्। उनीहरु आफैले मनग्ये आम्दानी गरेपछि अहिले सहयोगको त्यति अपेक्षा पनि गरेका छैनन्।

तीन वर्षसम्म खासै आम्दानी नभएको र अहिले पाँचौँ वर्षमा आफूहरुले मनग्ये आम्दानी लिन सफल भएको उनीहरूको भनाइ छ। कृषक चौधरीको दुई बिघामा खरबुजा खेती छ भने केही जमिनमा भन्टा, लौका, करेला, बोडी आदि बेमौसमी तरकारीको खेती छ।

बगर सुनसान ठाउँमा छ। बस्ती नभएको यस ठाउँमा गरिएको खेती चोरी हुने डरले प्रत्येक किसानले त्यहाँ फुसको छानो भएका घर निर्माण गरेका छन्। प्रचण्ड गर्मीको ठाउँमा तल बालुवा भएकाले त्यहाँ निकै तातो भए पनि फुसको घरमा रातको समयमा सुत्ने गरेका छन्।

आम्दानीको स्रोत नै यही भएकाले चोरी हुने डरले श्रीमान् रातको समयमा यहीँ सुत्ने सनकुमारी बताउँछिन्। 'बेमौसमा पानीको समस्या हुने भएकाले राप्ती नदीबाट पानी बोकेर सिँचाइ गर्नुपर्ने बाध्यता छ भने नजिकमा बजार नपाउँदा उत्पादित वस्तु बिक्रीका लागि उत्तिकै समस्या हुँदै आएको छ।

किसानहरु भन्छन्, 'खरबुजा खेतीका लागि यो जमिन राम्रो छ। स्वास्थ्यका लागि फाइदासमेत हुने यस फलको उत्पादन र बजारका लागि सरकारले पनि केही गरिदिए हुन्थ्यो। यस्तै  मल र बीउको पनि  व्यवस्था गरिदिए राम्रो हुन्थ्यो।'

अहिले यहाँका किसानले खरबुजा बारीबाट प्रतिकेजी ७० रूपैयाँमा बिक्री गर्छन् भने र बजारमा प्रतिकेजी ८० रूपैयाँमा फुटकरमा बिक्री हुने गर्दछ। स्थानीय उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगर खेतीका लागि २५ प्रतिशत छुटमा बीउ दिने गरेको छ तर त्यो पर्याप्त नभएकाले मल तथा बीउ किनेर खेती गरिरहेको र दुःख भए पनि बालुवामा सुन फलाउन सकेको महसुस गरेको ती किसानको भनाइ छ।

सोही ठाउँकी ३५ वर्षीया रीता चौधरी पनि बगरमा गरिएको खरबुजा तथा तरकारी खेतीबाट आफूहरुले राम्रो आम्दानी लिन सकेको बताउँछिन्। उनी भन्छिन्, 'सुरुआतमा त निराशा पनि आयो किनभने हामीले यो बालुवामा के फलाउन सकौँला जस्तो पनि लागेको थियो। राम्रो भएन अहिले आम्दानीबाट घरपरिवार पाल्न, पढाउन र आम्दानी बचत गर्न पाउँदा खुसी लागेको छ।'

राप्ती नदीले जग्गा कटान गरेर लगेपछि  गाउँमा मजदुरी, ज्यालादारी गरेर घर खर्च चलाएका उनीहरु अहिले भने आफैले उद्यमी बन्न सफल छन्। दुःख त छ तर पनि खुसी छौँ, रीताको भनाइ छ। उनले पनि एक बिघा जमिनमा खरबुजा र केही जमिनमा बेमौसमी तरकारी खेती गरेकी छिन्।

तरकारी र खरबुजा तुलसीपुर, घोराही बजारमा बिक्रीका लागि श्रीमान्‌लाई पठाउने गरेको र सबै खर्च कटाएर एक मौसममा एक लाखदेखि डेढ लाखसम्म बचत गर्ने गरेको उनको भनाइ छ। 

लमही नगरपालिका-४ की ३७ वर्षीय माया चौधरी पनि बगर खेतीले नै आफ्नो घरपरिवार पाल्न सफल भएको बताउँछिन्। राप्ती नदीले बितण्डा मच्चायो, आफूहरुको धान हुने खेत सबै बगाएर बगर बनायो। अहिले त्यही बगरलाई हामीले मिहेनत गरेर तरकारी बारी बनाएका छौँ। खरबुजा र तरकारीको उत्पादन राम्रै छ तर बजार पाउन सकेका छैनौँ, उनको गुनासो छ।

देउखुरीको लमही नगरपालिका, राप्ती गाउँपालिका र राजपुर गाउँपालिकामा रहेका केही किसानले व्यक्तिगत रुपमा र दुई हजार १८ जना किसानहरुले एक सय दुईवटा समूह बनाएर सामूहिक रुपमा बगरमा तरकारी खेती गरिरहेको उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले जनाएको छ। उक्त संस्थाले तालिम तथा प्रशिक्षणसमेत दिँदैछ।

त्यस्तै सो संस्थाले किसानहरुलाई बिना धितो सामूहिक जमानामा ऋणसमेत दिँदै आएको छ। एक नगरपालिका र दुई गाउँपालिकाका दुई हजारभन्दा बढी किसानले बगर खेतीबाटै एकै याममा प्रतिकिसानले ८० हजारदेखि चार लाख रूपैयाँसम्म आम्दानी गर्न सफल भएको उनीहरु बताउँछन्।

राप्ती नदीले कटान गरेर एकसय हेक्टरभन्दा बढी जमिनलाई बगर बनाइदिएको थियो। त्यसैमा खरबुजा र तरकारी खेती गरेर त्यहाँका विपन्न समुदायका किसानहरुले यति बेला राम्रो कमाइ गरिरहेको स्थानीयवासी शान्ता गुरुङ बताउँछिन्। राप्ती नदीले पटक पटक कटान गरी बगर बनाएको जमिन किसानहरुकै पौरखले गर्दा अहिले हरियाली हुनाका साथै आम्दानीको मुख्य स्रोत बन्न सफल भएको समेत उनी बताउँछिन्। रासस

images

प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०१०:२८
प्रतिक्रिया दिनुहोस