सेयर बजारको वास्तविक विस्तार पछिल्लो समय देखिँदै छ। यो अर्थतन्त्रका लागि एउटा राम्रो टुल हो जुन वर्षौंदेखि भनिँदै आएको हो। अहिले आएर यसप्रति समाजमा सकारात्मक धारणा बनेको छ।
एउटा निश्चित वर्ग वा समूहले कमाइरहेको सम्पत्ति वा नाफा आमरुपमा वितरण हुने माध्यम हो सेयर। तर पहिला यस्तो अवसर थिएन। यो सत्यको नजिक नेपाली बजार पुगेको थिएन। १० कित्ता सेयर नबाँड्ने वा सबैलाई भर्ने अवसर नदिँदासम्म ८/१० हजार मान्छेको मात्र यसमा पकड थियो।
अहिलेको अवस्था आउनु पहिले १० हजार मानिसले बढी कमाउथे। १० कित्ता पाउने ठाउँमा २० कित्ता, २० कित्ता पाउनेले ५० कित्ता, ५० कित्ता पाउनेले सय कित्ता पाउँथे होला। आज एउटै व्यक्तिले त्यो सय कित्ता पाउने अवसरबाट झारेर १० कित्तामा छन्। अर्को ९० कित्ता १० जनालाई दिँदा नाफा त १० जनामा पुगको छ। यसरी कम्पनीहरूले बनाएको अर्ब रुपैयाँ एउटा मासमा पुर्याउन सक्नु पर्छ। यो भएको अवस्थामा नाफाको वितरण पनि बढ्छ। एउटा व्यक्तिको आम्दानी पनि बढ्छ। लगानीको आकर्षण बढ्छ।
अब सबै किसिमका लगानीहरू नाफा हुने हिसाबले बढ्ने खालको पनि हुँदैन। त्यसका लागि सेयर बजार के हो भन्ने विषयमा ज्ञान चाहिँ हुनु पर्छ। कसरी चल्छ? कम्पनीहरूले कसरी नाफा बनाउँछन्? कस्ता कम्पनीहरू घाटामा गएका छन् त्यसको मूल्यमा भोलिको दिनमा कस्तो प्रभाव पर्छ। यसको अर्थ यस्तो प्रणालीलाई लगानीकर्ताले पनि बुझ्नु पर्छ।
अहिले आईपीओ भर्ने सबै लगानीकर्ताहरू दोस्रो बजारमा नआए पनि केही मात्रामा आउन सक्छन्। कतिपय किनेर होल्ड गरिराखौँ र पछि बिक्री गरौँला भनेर बसेका छन्। कतिपयले सेयर खुलिरहेको छ भने भर्ने काम गर्दै जाउँ, सिक्दै जाउँ भन्ने उद्देश्यले पनि आएका छन्।
तर जुनसुकै उद्देश्यबाट मार्केटमा छिरे पनि यो बजारको आधारभुत प्रणालीलाई बुझ्ने कोशिस गर्न पर्छ। त्यसका लागि पनि अहिले सजिलो छ। मिडियाको पनि विकास भएको छ। सामाजिक सञ्जालको विकास भएको छ। यसले सूचनाहरू धेरै सम्प्रेषण भइरहेका छन्। एउटा सस्तो मूल्यमा इन्टनेरटको माध्यमबाट लाखौँ लाखको सूचना पाइरहेका छौँ। हाम्रो लागत भनेको खाली एउटा समय हो। यो सस्तोमा पाउने सूचना हो।
यसलाई जतिसक्दो बढी प्रयोग गर्ने हो। दुनियाँमा सेयरमा लगानी गर्नेले नै आफै निर्णय गर्ने हो। आज फलानाले यसो भनेका थिए मैले सेयर खरिद गरेँ। घाटा भयो। यसले यसो भन्यो, यसले यसो लेख्यो, यो ग्रुपले यसो भन्दा मलाई नाफा भयो, घाटा भयो भनेर बोल्न चाहिँ स्वतन्त्र छ। यो प्रजातन्त्र हो।
तर कसैले फेसबुकमा केही लेख्यो भने तैले किन यसो लेखिस् भन्ने विषय आउँदैन। हरेकले आफै विशलेषण गर्न सक्छन्, अनुमान लगाउन सक्छन्। आफ्नो क्षमताअनुसार आफूले गर्ने लगानीको निर्णय आफै गर्ने हो। तर, सिक्ने कुरा चाहिँ हरेक दिन नै गर्नु पर्छ। आईपीओमा १० कित्ता सेयर परेकै भरमा सबै कुरा चाहिँ जानिदैन।
बुझ्ने सिक्ने र विश्लेषण गर्ने कुरा आफैले हो। लगानीकर्ताको तर्फबाट सबै काम गर्नुपर्छ। तर राज्यको तहबाट संरचना निर्माणको काम हुनुपर्छ। संस्थागत क्षमता बढाउने तथा वातावरण निर्माण गर्ने काम हुनुपर्छ। बजारलाई आधुनिक र सहज बनाउने कुरामा राज्यले काम गर्नुपर्छ।
तर यसबीचमा भएका केही सुधारको सवालमा गतल प्रवृत्ति देखिएका छन्।
बुक बिल्डिङको विषय जुन आएको छ। एउटा निश्चित कम्पनीहरूको पहिलै देखिको इच्छा हो। अहिलेसम्म हामीले जुन दुःख गरेर नेटवर्क बनाएको छ। कम्पनीको सम्पत्तिको भ्यालु भएको छ। त्यो भ्यालु अनुसारको मूल्य पनि पाउनु पर्यो भन्ने एउटा साेचाइ हाे। सोचाइ गलत होइन।
बजारमा आईपीओ भरेर नाफा कमाउनेहरूका लागि यो नकारात्मक विषय पनि होला। बजारको दायरा फराकिलो बनाउन र सबै खालका कम्पनीहरूको सहभागिता गराएर मिक्स बनाउने वा राम्रो पोर्टफोलियो भएको कम्पनी भित्र्याउनका लागि पनि बुकबिल्डिङबाट ल्याउन आवश्यक छ।
तर अहिले जुन बुक बिल्डिङको नियम कानून आयो र एउटा सिमेन्ट कम्पनी बुक बिल्डिङमा जाने प्रक्रियाहरू अपनाएर जाने भएको थियो। तर यसमा काण्डहरू आए। यसलाई म फ्रन्ट रनिङ भन्छु। फ्रन्ट रनिङ भनेको कुनै राम्रो कुरा हुँदैछ भने मान्छेहरू पहिले लाइनमा बसको छन्। त्यसमा पनि आफै पहिलो नम्बरमा गएर लाइन बसेर लिने प्रवृति वा अरुले पाउनेभन्दा पहिले आफूले लिने प्रवृतिले नियामकमा हुन्छ भने त्यो नराम्रो पक्ष हो।
नियामक निकायका नेतृत्वहरूले नै त्यो व्यवहार देखाएपछि बुक बिल्डिङ प्रतिको अविश्वासले गर्दा यो सहि हैन रहेछ भन्ने गलत बुझाइ स्थपित हुँदै गएको छ।
कम्पनीले नियामकलाई सेयर बेच्ने तथा बिक्री प्रबन्धक र ठूला लगानीकर्तालाई सेयर बेच्ने जुन गलत वातावरण बनायो। यसले गर्दा यो गलत रहेछ भन्ने किसिमको सन्देश दिएको हो। यो जुन काम भयो त्यो अपराधिक हिसाबले काम गरे। कानूनमा उल्लेख भएको भए पनि यो अपराधिक गतिविधिको काम हो। लेखिएको रहेनछ भने पनि यो अपराधिक काम नै हो।
जसरी सिमेन्ट कम्पनी बुक बिल्डिङमा प्रक्रियागत रुपमा अगाडि बढ्न खोजको थियो अब त्यो सजिलै नआउन सक्ने सम्भावन भएर नै यो सबै वातावरण बनाएको हुन पर्छ। तर बुक बिल्डिङ राम्रो कुरा हो। तर पारदर्शीता र पब्लिकले विश्वास गर्नसक्ने वातावरण चाहिँ बनाउनु पर्छ। त्यो वातावरण बनाउन समय लाग्ला।
यसले गर्दा ठूला कम्पनीहरू बजारमा आउने यो घटनाले अझै पछि धकेलिने हो कि जस्तो छ। बुक विल्डिङमा जानेवित्तिकै अत्याधिक नाफा कमाइरहेका कम्पनीहरू सूचीकृत हुने छन्। जसका कारण नेपालको सेयर बजारले नयाँ उचाइसमेत लिनेछ।
(कुराकानीमा आधारित)