शुक्रबार, असोज ४ गते २०८१    
images
images

सेनाले ट्रयाक खुलाएर ८ महिनाभित्र सिमकोटमा सडक पुर्‍याउने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
सेनाले ट्रयाक खुलाएर ८ महिनाभित्र सिमकोटमा सडक पुर्‍याउने

सेना र विभाग मिलेर चालू आवभित्रै ट्रयाक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुनेछ। सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो।

images
images

काठमाडौं- जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ। ट्रयाक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम सुरु गर्ने भएको छ। 

images
images
images

राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्रयाक खोल्न बाँकी रहेकामा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो। सतहत्तर जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन। सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो। 

ट्रयाक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ। विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले जनाएको छ। सेनाले ट्रयाक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए। सेना र विभाग मिलेर चालू आवभित्रै ट्रयाक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए । सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो।

सेनाले तिहार लगत्तै काम सुरु गर्ने भएको छ। 'सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौँ', प्रमुख लामाले भने। केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरुले चालू आवमासमेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए।  

images

केही वर्ष पहिलेसम्म सो ट्रयाक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए। अहिले अरु कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ। उनले भने, 'कोभिड वा वर्षा र हिमपातका कारण ढिलाइ हुन सक्छ, अन्यथा जसरी पनि असारसम्म सडक बन्छ।' 

यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो। बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए। सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ। अहिलेसम्म ट्रयाक खुलिसकेको सडक आठ मिटर चौडाइको छ। यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ। सेनाले ट्रयाक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए।

सेनाले खुलाएको ट्रयाक पनि विस्तार गरेर आठ मिटर नै चौडा बनाइनेछ। सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए। चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ। सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन। उनले भने, 'नेपाल सरकारको बजेटबाट नै स्तरोन्नति गर्न लागिएको हो।' सरकारले निर्माण गरेको सडकमा मुआब्जा नदिइने हुँदा समस्या आउने गरेको प्रमुख लामाले बताए। 

स्थानीयवासीलाई मनाएर ट्रयाक  खुलाइने गरिएको छ। हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५/१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ। अधिकांश ट्रयाकमा ठूलाठूला चट्टान भएकाले निर्माण कार्यमा ढिलाइ भएको योजनाले जनाएको छ। विष्फोटक पदार्थ ल्याउन बढी समय लागेको प्रमुख लामाले बताए। उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाई भएको थियो। 

उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण कार्य बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए। उनले भने, 'सिमकोट बजार क्षेत्रमा पाँच किमी रेखाङ्कन विवाद र क्षतिपूर्ति मुअब्जा माग भई निर्माण कार्य अवरुद्ध भएको थियो।' सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्रयाकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ। लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ। सो खण्डको ट्रयाक खुलाउनुपर्नेमध्ये पनि अफ्ठ्यारो भाग सेनाको कर्णाली करिडोर विकास निर्माण दलले खुलाउनेछ।

सेनाले खुलाउने बाहेकको बाँकी रहेको सडक र अस्थायी बेलिब्रज योजना कार्यालयले निर्माण व्यवसायीमार्फत निर्माण गर्नेछ। कर्णाली करिडोरमा हिल्सादेखि सिमकोट ९५ किमी र सिमिकोट–सरिसल्ला खण्ड ५० किमिमा सडक निर्माण भइरहेको छ। हिल्सा सिमकोट सडक खण्ड ९५ किमीको ट्रयाक खोलिसकेको छ। सोही सडकखण्डको च्याछारा भीरको ग्रेड मिलाइसकेपछि सिमकोटबाट सोझै चीनको सिमाना हिल्सा पुग्न सकिनेछ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend