बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

गण्डकीको बेरुजु दुई अर्ब बढी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
गण्डकीको बेरुजु दुई अर्ब बढी

आव २०७८/७९ मा मात्र सरकारी कार्यालयले बेरुजु ४५ करोड ५६ लाख ९० हजार र समिति/संस्थातर्फ तीन करोड ७८ लाख ६७ हजार रूपैयाँ छ।

images
images

गण्डकी- गण्डकी प्रदेशको बेरुजु दुई अर्ब रूपैयाँ नाघेको छ। महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८/७९ सम्मको बेरुजु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार रूपैयाँ पुगेको हो। 

images
images
images

अघिल्लो आवमा फछ्र्योट भई एक अर्ब ६५ करोड नौ लाख १३ हजार बेरुजु बाँकी रहेकामा आव २०७८/७९ मा ४९ करोड ३५ लाख ५७ हजार रूपैयाँ बेरुजु थप भएको प्रतिवेदनमा उल्लेख छ। आव २०७७/७८ सम्म एक अर्ब ७८ करोड ९८ लाख ५१ हजार रूपैयाँ बेरुजु देखिएको थियो।

लेखापरीक्षणबाट औँल्याइएको पछिल्लो बेरुजु प्रदेशका सरकारी कार्यालय, समिति र संस्थाहरुको हो। 

images

सरकारी निकायतर्फ दुई अर्ब ९६ लाख दुई हजार, समिति तथा संस्थातर्फ १३ करोड ४८ लाख ६८ हजार गरी कुल बेरुजु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो। आव २०७८/७९ मा मात्र सरकारी कार्यालयले बेरुजु ४५ करोड ५६ लाख ९० हजार र समिति/संस्थातर्फ तीन करोड ७८ लाख ६७ हजार रूपैयाँ छ।

images

प्रतिवेदनमा उल्लेख भएअनुसार आव २०७८/७९ मा प्रदेश मातहतका एकसय ७३ कार्यालयको लेखापरीक्षण गरिएकामा ८९ कार्यालयमा लगती बेरुजु देखिएको छैन। यस्तै, १४ समिति र संस्थामध्ये तीनवटामा लगती बेरुजु नदेखिएको हो।

गत आवमा सबैभन्दा बढी बेरुजु हुनेमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, ऊर्जा, जलस्रोत, तथा खानेपानी मन्त्रालय, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेका छन्। 

भौतिक पूर्वाधारमा ५६ दशमलव ०५ प्रतिशत, ऊर्जामा १४ दशमलव ५४ प्रतिशत, शिक्षामा १० दशमलव ५९ प्रतिशत, भूमि व्यवस्थामा सात दशमलव ३० प्रतिशत र मन्त्रिपरिषद्को कार्यालयमा तीन दशमलव ९४ प्रतिशत बेरुजु देखिएको हो।

प्रतिवेदनमा प्रदेशसभाले पारित गरेको बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च दक्षता बढाउनुपर्ने, आवश्यक कानूनी प्रबन्ध गर्नुपर्ने, सङ्गठन संरचना र कर्मचारीको यथोचित व्यवस्थापन गर्नुपर्नेलगायतका सुझाव दिइएको छ।

कर तथा शुल्क असुली प्रक्रियामा पनि सुधार ल्याउनुपर्ने प्रतिवेदनले औँल्याएको छ। गत आवमा विभिन्न कर तथा शुल्कबाट १४ अर्ब १२ करोड ७० लाख रूपैयाँ असुली गर्ने अनुमान गरिएकामा जम्मा ११ अर्ब २९ करोड ७९ लाख ७३ हजार रूपैयाँ असुल भएको प्रतिवेदनमा उल्लेख छ।

४३ दशमलव ५४ प्रतिशत मात्र आन्तरिक आय प्राप्त भएकाले प्रभावकारी रुपमा असुली हुन नसकेको जनाइएको छ। प्रदेश सरकारअन्तर्गत सञ्चालित ४२ प्रतिशत आयोजनाहरुको भौतिक प्रगति ९० प्रतिशत, १३ प्रतिशत आयोजनाहरुको भौतिक प्रगति ४० प्रतिशतभन्दा कम र १३ प्रतिशत आयोजनाहरु सुरु नै हुन नसकेको प्रतिवेदनले औँल्याएको छ। 

महालेखा परीक्षकको उक्त प्रतिवेदन सोमबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङसमक्ष महालेखा परीक्षक कार्यालयका उपमहालेखा परीक्षक राममाया कुँवरले पेस गरेका थिए।

नेपालको संविधानको धारा २९४ को उपधारा ३ मा प्रदेशको कामकारबाहीका सम्बन्धमा महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश प्रमुखसमक्ष पेस गरिएको प्रतिवेदन लेखा परीक्षण ऐन २०७५ को दफा १९ को उपदफा ५ बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेशसभामा पेस हुनेछ।

आव २०७८/७९ मा गण्डकी प्रदेश मातहतका एक सय ७३ सरकारी निकायको ३७ अर्ब चार करोड ५१ लख पाँच हजार र १४ समिति तथा अन्य संस्थाको दुई अर्ब ८६ करोड ४१ लख ८१ हजार गरी कुल ३९ अर्ब ९० करोड ९२ लाख ८६ हजार रूपैयाँको लेखापरीक्षण गरिएको हो। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००८:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend