बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

अण्डाले पाउन थाल्यो मूल्य, प्रतिक्रेट ३७० पुग्यो 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
अण्डाले पाउन थाल्यो मूल्य, प्रतिक्रेट ३७० पुग्यो 

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ।

images
images

चितवन- अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी ६ महिनाअघि संगठित भए। देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे।

images
images
images

उनीहरू नेपाल लेयर्स कुखुरापालक संघ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए। यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) दुईसय ४० हाराहारीमा झरेको थियो।

विसं २०७९ असोज २९ गते पहिलो भेला भएर संगठन गरेका उनीहरूले बितेका ६ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे। अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य ३ सय ७० पुगेको छ।

images

संघका अध्यक्ष विनोद पोखरेले यस बीचमा झण्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए। उनले भने, 'तीन-चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ। कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल गर्‍यौँ।'

images

व्यवसायीले अवैध भित्रने कुखुराजन्य पदार्थ रोक्न सम्बन्धित निकायसँग अनुरोधसमेत गर्दै आएका छन्। व्यवसायीलाई मूल्यमा एकरुपता कायम गर्न उनीहरूले आग्रह गरेका छन्। किसानका अरु समस्या समाधानका लागि पहल गर्दै आएका छन्।

'पोल्ट्री व्यवसाय बचाउनका लागि अन्तिमपटकको हाम्रो यो प्रयास सफलतातिर गएको छ', अध्यक्ष पोखरेलले भने। किसानकोमा झण्डै आधा कुखुरा घटेको जनाउँदै उनले लागत मूल्य अझै पाउन नसकेको गुनासो गरे। देशभर ३० हजारभन्दा बढी कुखुरा पाल्ने ५० व्यवसायी यो संघमा आबद्ध छन्। अझै १५ जना जति संघमा आवद्ध नभएका बताइएको छ।

नेपालको पोल्ट्री क्षेत्रमा परिचय कमाउनुभएका गुणचन्द्र विष्टलाई संरक्षक बनाएर आफूहरू देशव्यापी अभियानमा जुटेको अध्यक्ष पोखरेलको भनाइ छ। व्यवसायी सुरेश वैद्य, त्रिलोचन कँडेल र शिभाजी साह पनि अभियानमा जुटेका छन्।

व्यवसायीको बीचमा सहमति, सहकार्य र एकता कायम गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन सक्रिय भएको उनको भनाइ छ। संघका महासचिव शोभाकान्त ढकालका अनुसार १० वर्ष पहिले एक क्रेट (३० वटा) अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो। उनले भने, 'पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अण्डा प्रतिक्रेट तीनसय रूपैयाँमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो ६५ पर्दा अण्डाको मूल्य उस्तै छ।'

निजी क्षेत्रको सक्रियताले खपत बढेपछि अहिले अण्डाको मूल्य प्रतिक्रेट तीनसय ७० रूपैयाँ पुगेको छ। ढकालको भनाइमा अहिलेको लागतमूल्य प्रतिक्रेट चारसय ५० रूपैयाँको हाराहारी छ। पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने उत्पादक र सप्लायर्सबीचमा साझेदारी कायम गर्दै बजारलाई व्यवस्थित गर्न लागिपरेको बताउँछन्। सरकारले समयमा सम्बोधन नगरेमा व्यवसाय समाप्त हुने उनको भनाइ छ।
 
औषधिलगायत अन्यमा पनि मूल्य दोबर भएको उनले बताए। एक वर्ष ६ महिनाअघि अण्डाको मूल्य प्रतिक्रेट चारसय पाँच रूपैयाँ पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्र मूल्य प्रतिगोटा १६ रूपैयाँ थियो। लागत मूल्यसम्म पाउन सके किसान बच्न सक्ने उनी बताउँछन्। हाल नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुन्छ। अण्डाको महत्व बुझाउन सकेमा अण्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन्।

सरकारले मूल्य निर्धारण, गुणस्तर नियमन, रोगको नियन्त्रण, क्षतिपूर्तिको प्रत्याभूति, बोर्ड गठन गर्नुपर्ने व्यवसायीको माग छ। अहिलेसम्म कुखुराको दानाको अनुमतिपत्र र नियमित खाद्यमार्फत हुँदै आएको छ। संघका सचिव मदन पोखरेल भारतीय क्षेत्रबाट अवैधरूपमा भित्रिने अण्डा नियन्त्रण गर्नुपर्ने बताउँछन्। बैंकको ऋणको ब्याजदर घटाउनुपर्ने र राज्यले समयमै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले भने, 'सरकारले हेरेन भने यो व्यवसाय धराशायी भएर जाने अवस्थामा पुगेको छ।'

आधाभन्दा बढी व्यवसायी पलायन भइसकेको जनाउँदै उनले उत्पादन घट्दै गएको बताए। उत्पादन घट्दासमेत खपत अझै बढ्न नसकेको भन्दै उहाँले निजी क्षेत्रको प्रयासले मात्रै नपुग्ने भएकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए। व्यवसायीहरू आफ्नो व्यवसाय छाडेर सामूहिक बजारीकरणका लागि जुटेको उनको भनाइ छ। राष्ट्र बैंकको मौद्रिक नीतिका कारण व्यवसायीहरू थप मर्कामा परेको गुनासो गरेका छन्। रासस 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend