मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

किसानलाई बाली बीमाको भुक्तानी दिन आलटाल, पन्छिन खोज्दै बीमा कम्पनी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
किसानलाई बाली बीमाको भुक्तानी दिन आलटाल, पन्छिन खोज्दै बीमा कम्पनी

बीमा गर्न उनको बगानमै पुगेका कम्पनीका प्रतिनिधिलाई कयौं पटक फोन गरे। तर, न त बीमा रकम पाए, न त बगान सफा गर्न पाएका छन्। बीमा कम्पनी प्रभु इन्स्योरेन्सले बेवास्ता गरेका कारण धनीश्वर पीडित छन्।

बलेवा- बरेङ गाउँपालिका-२ ठूलो दलेङका धनीश्वर पौडेलले २० रोपनी जमिनमा अलैँची लगाएका छन्। हिउँद र वर्षा दुवै याममा देखिनसक्ने क्षतिको खतरालाई कम गर्न उनले बालीको बीमा पनि गरेका छन्। तर, क्षति बहन गर्छ भनेर गरेको बीमा अहिले धनीश्वरलाई निल्नु न ओकेल्नु भएको छ। 

प्रभु इन्स्योरेन्समा बीमा गर्नुभएका धनीश्वर सदरमुकाम र पोखरा कयौं पटक धाए। बीमा गर्न उनको बगानमै पुगेका कम्पनीका प्रतिनिधिलाई कयौं पटक फोन गरे। तर, न त बीमा रकम पाए, न त बगान सफा गर्न पाएका छन्। बीमा कम्पनी प्रभु इन्स्योरेन्सले बेवास्ता गरेका कारण धनीश्वर पीडित छन्।

गाउँमा रहेका २४ परिवारले अलैंँचीको खेती गरेका छन्। नमूना अलैँची समूहमा आबद्ध किसानमध्ये धनिश्वर धेरै जमिनमा अलैँची लगाउने किसान छन्। अन्यबाली प्रतिस्थापन गरेर व्यावसायिक अलैँचीमा लागेका उनको खेतीमा अहिले खरानी मात्रै छ। आगलागीपछि अलैँचीका मुनाको धनीश्वरले व्यवस्थापन गर्न पाएका छैनन्।

विसं २०७८ वैशाख १३ मा उनको अलैँची बगानमा आगो लाग्यो। नजिकैको जङ्गल हुँदैआएको आगो निभाउने प्रयास गर्दागर्दै बगान पस्यो।

उनले निभाउने प्रयास गरे तर आगोले अलैँचीको बगान सकेपछि मात्रै निभ्यो। बगानमा आगो लाग्दा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक सबैले देखे। बीमा गरेकाले प्रहरी मुचुल्का, कृषि प्राविधिक तथा वडाध्यक्षको सिफारिस सबै तयार गरे। बीमा कम्पनीलाई फोन गर्दा जवाफ आयो, 'अहिले कोभिडको बेला छ, बगान नछुनस्, हामी आएर हेर्छौं।' वैशाखमा आश्वासन दिएका प्रभु इन्स्योरेन्सका प्रतिनिधि अहिलेसम्म पौडेलको बगान पुगेका छैनन्। 

जिल्लामा कोरोनाको त्रास नगन्य भएर सबै क्रियाकलाप सञ्चालनमा आउँदासमेत इन्स्योरेन्स कम्पनीले उनको बगानमा प्रतिनिधि पठाएको छैन। 'कहिले फाइल बनाएर ल्याउनुस् भन्छन् कहिले नछुनुस् भन्छन्,' पौडेलले भने, 'मैले खरानी सफा गर्न समेत पाइनँ। इन्स्योरेन्स त समयमा दिएनन् दिएनन्, आफ्नै बगानमा काम गर्नसमेत पाइनँ।' 

पौडेलले नौ लाख ९६ हजार रुपैयाँको बीमा गरेका थिए। आगलागी भएको सात महिनासम्म पनि बीमा रकम नपाएकोमा उनी आक्रोशित छन्। नेपाल सरकारले प्रिमियममा दिएको ७५ प्रतिशत अनुदान लिएका पौडेलले कृषि ज्ञान केन्द्र बागलुङलाई जानकारी गराएका थिए। 'उनको गुनासो धेरै आएको छ। हामीले ताकेता मात्रै गरेका छैनौँ। मन्त्रालयबाट बीमा कम्पनीसँगै कुराकानी भएको खबर छ,' कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भने, 'यस्तै घटना देखेर किसानले बीमा गर्नै मान्दैनन्।' बीमाको प्रिमियम शुल्क शतप्रतिशत सरकारले व्यहोर्दा भुक्तानी नपाइने भन्दै उनले किसानले बाली तथा पशुपक्षी बीमा गर्न चासो नदेखाएको बताए। 

अघिल्लो आर्थिक वर्षमा किसानको प्रिमियम भुक्तानीको लागि आएको ६ लाख रुपैयाँमध्ये केही रकममात्रै खर्च भएको थियो। इन्स्योरेन्स कम्पनीको लापरवाहीकै कारण यसवर्ष पनि एकजना किसानले मात्रै बाली बीमा गरेका छन्। अरु किसानको बीमामा चासो छैन। किसानको मात्रै होइन, प्रभु इन्स्योरेन्समा कोरोना बीमा गरेका बागलुङका पत्रकारले पनि बीमा रकम पाएका छैनन्। बीमा पोलेसीमा उल्लेखित अवधिभित्रै कोरोना सङ्क्रमण भएका ६ जना पत्रकारको दाबी पेश भएको भए पनि प्रभु इन्स्योरेन्सले बहनाबाजी गरेर भुक्तानी नदिएको पत्रकार महासङ्घ बागलुङ शाखाका सचिव विजय रानाले बताए। 

'प्रक्रिया पुगेको एकदेखि दुई सातासम्म भुक्तानी पाउनुपर्ने हो तर अहिले त फोनसमेत उठ्न छोडिसक्यो', उनले भने, 'भुक्तानी दिन नसक्नेले किन अभियान चलाएर बीमालेख भराएका होलान्?'

‘किसानले फाइल ढिलो ल्याउँछन्’

प्रभु इन्स्योरेन्सले भने आगलागी भएका किसानले नै फाइल ढिलो पठाएका कारण भुक्तानीमा ढिलाइ भएको जवाफ दिने गरेको छ। 'हामी बगानमै पुग्नुपर्दैन, फोटो भिडियो भए पनि पुग्छ', प्रभु इन्स्योरेन्सका बीमा दाबी हेर्ने अधिकारी बतशल ढकालले भने, 'उनको फाइल ढिला आएको हो, हामीले रोकेको हैन।' रासस


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०९:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend