बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द, बेनी-पाखापानीमा लक्ष्यअघि नै सकियो कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ५ २०८०
images
images
बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द, बेनी-पाखापानीमा लक्ष्यअघि नै सकियो कालोपत्र

पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ।

images
images

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घण्टा यातायात सेवा बन्द हुन थालेको छ।

images
images
images

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० बैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिए।

यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो। पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ।

images

निर्माण व्यवसायीले बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए। म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ।

images

एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ।

लक्ष्यअघि नै सडक कालोपत्र  

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेमा सञ्चालित सडक कालोपत्र (पिच) योजना लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सकिएको छ। ढिलासुस्तीले अधिकांश विकास आयोजना थला परेको अवस्थामा अर्थुङ्गेमा भने लक्ष्यअघि नै सडक निर्माण भएको हो।

गण्डकी प्रदेश सरकारको बेनी-अर्थुङ्गे-घतान-तोरीपानी हुँदै पाखापानी सडक योजनाअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत कालोपत्र भएको हो। अर्थुङ्गेमा दुई सय १७ मिटर सडक कालोपत्र, नाली, पर्खाल निर्माण गर्न श्रमजिवी निर्माण सेवाले विसं २०७९ मङ्सिर १९ गते ठेक्का सम्झौता गरेको थियो।

पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माका अनुसार ३२ लाख ६२ हजार नौ सय ५१ मा ठेक्का सम्झौता भएको आयोजनाको म्याद २०८० असार १५ गतेसम्म थियो। निर्माण कम्पनीले लक्ष्यभन्दा साढे तीन महिनाअघि नै सडक निर्माण गरेको अधिकृत शर्माले बताए। 

सरदर पाँच दशमलव पाँच मिटर चौडाइका दरले कालोपत्र गरिएको छ। यसअघि गत वर्ष पनि पूर्वाधार विकास कार्यालयमार्फत २८ लाख ५२ हजारमा अर्थुङ्गे-देउराली देखि एक सय ७० मिटर सडक कालोपत्र गरिएको थियो। निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले समयमै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्यअघि नै सडक निर्माण गरेको बताए। 

सडक कालोपत्र भएपछि हिउँदमा धुलो र बर्खामा हिलाम्मे हुने समस्या हटेको अर्थुङ्गेका बासिन्दाले बताएका छन्। प्रदेश  सरकारले कालोपत्र गरेको भन्दा अगाडिदेखि एक्लेपिपल, जामुनाखर्क, जम्रेनी खण्डमा बेनी नगरपालिकामार्फत नाली निर्माण र ढलानको काम अन्तिम चरणमा पुगेको छ।

यो सडक बेनी नगरपालिकाको ६, ९, १०, रघुगङ्गा गाउँपालिकाको ५, ६ र ८ नं वडाका बासिन्दाले सदरमुकाम बेनी आउन जान प्रयोग गर्छन्। बेनीबाट अथुङ्गे म्मको तीन किलोमिटरमध्ये अधिकांश खण्डमा ढलान र कालोपत्र भए पनि यातायात भाडा भने कच्चीसरह तिर्नुपरेको अर्थुङ्गेका मुक्ति ढुङ्गानाले गुनासो गरे। रासस


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend