बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

बाटो खुलेपछि खच्चड बेचेर ट्र्याक्टरबाट व्यापार

images
सोमबार, वैशाख ४ २०८०
images
images
बाटो खुलेपछि खच्चड बेचेर ट्र्याक्टरबाट व्यापार

हिउँदयाममा भने ट्र्याक्टर, ट्रक एकतर्फी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने यातायात व्यवसायी तिलक पुनले बताए। उनका अनुसार दुईतर्फी यातायात सञ्चालनका लागि बाटो साँघुरो भएकाले समस्या हुँदै आएको हो। 

images
images

जाजरकोट- डोल्पा त्रिपुरासुन्दरी-५ का ललित घर्ती दुई वर्षअघि नौवटा खच्चडको सहयोगमा जाजरकोटको तल्लुबाट दुनैसम्म खाद्यान्नलगायत वस्तु ढुवानी गर्थे। दिनरात खच्चडसँग हिँडेर सदरमुकाम पुग्ने घर्ती अहिले ट्र्याक्टर मालिक भएका छन्। 

images
images
images

उनले छ महिनाअघि मात्रै खच्चड बिक्री गरी ट्र्याक्टर किनेका थिए। अहिले तल्लुबाट सदरमुकामसम्म खच्चड हिँड्ने बाटोमा उनले ट्र्याक्टर चलाउँछन्। 'ट्र्याक्टर चलाउन थालेपछि तल्लुबाट दुनै एकै दिनमा पुगिन्छ', घर्तीले भने। दिनमा दुईपटकसम्म दुनै-तल्लु आउने जाने गर्दा आम्दानी पनि राम्रो भएको छ भने ढुवानी गर्न निकै सहज भएको उनले बताए। 

अहिले निर्माणका सामग्रीदेखि अन्य दैनिक उपभोग्य वस्तु ढुवानी गर्नका लागि घर्तीको मोबाइलमा दैनिक फोन आउने गर्दछ। ढुवानीका काम पहिलेभन्दा बढी पाउन थालेको उनको भनाइ थियो। जाजरकोट सदरमुकामबाट तल्लुसम्म दुईतर्फी रूपमा ठूला यातायातका साधन सञ्चालन भइरहेका छन्।

images

हिउँदयाममा भने ट्र्याक्टर, ट्रक एकतर्फी रूपमा मात्रै सञ्चालन गर्न मिल्ने यातायात व्यवसायी तिलक पुनले बताए। उनका अनुसार दुईतर्फी यातायात सञ्चालनका लागि बाटो साँघुरो भएकाले समस्या हुँदै आएको हो। 

images

ठूलिभेरी नगरपालिका-७ रत्नबहादुर भण्डारीले १६ वटा खच्चड बिक्री गरेर ट्र्याक्टर खरिद गरेको बताए। 'गाउँगाउँमा सडक पुगिसकेको छ। अधिकांश ठाउँमा ट्र्याक्टरबाट सामान ढुवानी हुन्छ। माग पनि बढेकाले पहिलाको तुलनामा आम्दानी पनि राम्रो हुन्छ', उनले भने। खच्चडका लाइन लाग्ने तल्लो तथा मध्ये डोल्पामा अहिले सवारी साधनका आवाज बज्ने गरेको छ। 

खच्चडबाट ढुवानी गर्दा महँगो पर्ने दैनिक उपभोग्य तथा निर्माणका सामग्री अहिले सवारीसाधनमार्फत ढुवानी गर्दा सस्तो भएको त्रिपुरासुन्दरी नगरपालिका बगरका रामचन्द्र न्यौपानेले बताए। उपल्लो डोल्पामा भने अझैँ पनि घोडा, खच्चड र चौँरीको भरमा ढुवानी हुँदै आएको छ। डोल्पोबुद्ध, शे फोक्सुण्डो, छार्काताङसुङ गाउँपालिकाका साथै काइकेमा घोडा, खच्चड र चौँरीकै भरमा ढुवानी हुँदै आएको छ। त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिकाले भने एम्बुलेन्स सेवासमेत सञ्चालन गरेका छन्। 

जुफाल विमानस्थलसँगको निर्भरता कम हुँदै गएको छ। जिल्लामा खाद्यान्न आपूर्तिलगायत अन्य अत्यावश्यक सामग्री ढुवानीमा सहजता आएको छ। जिल्लामा उत्पादन भएको जडीबुटी, खाद्यान्नबाली, फलफूललगायत वस्तु बाहिर जिल्लामा निर्यात गर्न थालिएको यहाँका किसानले बताएका छन्। पालिकाले समेत आन्तरिक सडक निर्माणलाई तीव्रता दिएको छ। 

अस्थायी रुट निर्माण गरेर सवारी साधन चलाउने गरिएको भन्दै स्थायी रूपमा सडक निर्माणलाई तीव्रता दिइएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए। उनले भने, 'त्रिवेणीबाट नर्क-भालुलेखहुँदै जुम्ला जोड्ने सडक निर्माण जारी छ। अन्य वडामा सडक निर्माणलाई तीव्रता दिएका छौँ। संघीय र प्रदेश सरकारसँग समन्वय गरी काम अगाडि बढेको छ।'

उनले भेरी करिडोरमा जाजरकोटको पासागाडबाट डोल्पाको दुनैसम्म यातायातका साधन सञ्चालनमा भएकाले आवागमन सहज भएको बताए। नेपाली सेनाका प्रमुख सेनानी विश्वबन्धु पहाडी नेतृत्वको टिमले झन्डै १४ वर्ष लगाएर उक्त क्षेत्रमा अस्थायी सडक निर्माण गरेको थियो। 

सेनाले सरकारलाई सडक हस्तान्तरण गरेसँगै अहिले जाजरकोटको पासागाडदेखि तल्लुसम्म सडक कालोपत्र गरिँदै छ भने बेलिब्रिज पुल निर्माण भइरहेको छ। पक्की पुल निर्माणमा भने निर्माण व्यवसायीले ढिलासुस्ती गरेकाले समस्या भएको बताएको छ।

पक्की पुलको ठेक्का क्याराभान निर्माण कम्पनीले लिएको छ। अहिले बेलिब्रिजबाट यातायातका साधन भेरी नदी पार गर्दछन्। पूर्वी जाजरकोटका साथै तल्लो र मध्य डोल्पामा समेत यातायातको सहज पहुँचले गर्दा दैनिक यहाँका सर्वसाधारणको भान्सा पनि सस्तो भएको छ। रासस


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend