बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

गोदाममा थन्किए काठका भाँडाकुँडा

images
सोमबार, वैशाख ४ २०८०
images
images
गोदाममा थन्किए काठका भाँडाकुँडा

उद्योगमा उनीसहित अन्य सातजनाले रोजगारीसमेत पाएका छन्। आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा रहेको यो पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उनी चिन्तित छन्।

images
images

वालिङ- स्याङ्जाको चापाकोट-९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा भए। आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्। साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उनले आफ्नै बाबुबाजेहरुहरुबाट सिकेका हुन्। 

images
images
images

आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउएका छन्। आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि उनले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्छन्। आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उनले पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्छन्।

‘कुशल भाँडा उद्योग’ दर्ता गरी व्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने उनको दैनिकी हो। पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको उनी बताउँछन्। 'पहिला-पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्', उनले भने, 'प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन्।'

images

पछिल्लो समयमा काठका भाँडाको महत्वका बारेमा थाहा नभएकाले पनि उपभोगमा कमी आएको हुनसक्ने उनको दाबी छ। गाउँघरमा पहिला गाईभैँसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैँसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो। बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगका कारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो। 

images

'आफूले उत्पादन गरेका विभिन्न काठका भाँडाहरु काठमाडौं, पोखरा, बुटवललगायत ठूला बजार तथा गाउँमै माग धेरै हुँदा पुर्‍याउन सकिन्नथ्यो', उनले भने, 'अहिले भने उत्पादन गरेर राखिएका काठका विभिन्न भाँडाकुँडा मात्रै झन्डै पाँच लाख मूल्यको गोदाममा थन्किएको छ।' 

उद्योगमा उनीसहित अन्य सातजनाले रोजगारीसमेत पाएका छन्। आफ्नो आम्दानीको मुख्य स्रोतका रुपमा रहेको यो पेसा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसक्दा उनी चिन्तित छन्।

युवा पुस्ताहरु रोजगारीका लागि विदेश जाने वा अन्य पेसामा लाग्ने गरेकाले पनि सीप पुस्तान्तरण हुन नसकेको उनले बताए। उत्पादन भएका सामग्रीहरु बिक्री नभएपछि अहिले चाडपर्व लाग्ने मेलाहरु, महोत्सवहरुमा लगेर प्रदर्शन तथा बिक्री गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, वैशाख ४ २०८००६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend