बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख २ २०८०
images
images
सगरमाथाको ७०औँ वर्षगाँठ मनाइँदै

तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीकाे आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठ मनाइने भएको छ।

images
images

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुगेका थिए।

images
images
images

सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ। आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण संघ (एनएमए) ले जनाएको छ।

प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ, होटल संघ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन्।

images

समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ। समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए। 'सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको प्लाटिनम जुब्लीलाई सफल बनाउन कार्यक्रम तालिका बनाइरहेका छौँ, विदेशी पाहुना बोलाउनेलगायतका तयारी गरिएको छ', उनले भने।

images

महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ।

एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ। त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ।

खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण संघले काठमाडाैंमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ। आरोहीको सम्मानमा र्‍याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने संघले जनाएको छ।

हिमालबारे जानकारसमेत रहनुभएका शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न उपयोगी हुने बताउँछन्। उनले भने, 'सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरु राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ।'

नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन्। हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन्। कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। उनी वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्किएका छन्।

पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन्।

सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाएका थिए। पासाङ ल्हामु शेर्पा  सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन्। एक तथ्याङक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन्।

सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहवर्द्धक हुने अनुमान गरिएको छ। पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोही आउने विश्वास छ। एनएमएका महासचिव मोहन लम्साल पनि यो सिजनको सगरमाथा आरोहण उत्साहवर्द्धक हुने बताए।

सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले पनि वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने संकेत देखिएको बताए। शेर्पाको कम्पनीबाट मात्रै अहिले ८० भन्दा बढी आरोही सगरमाथा आरोहणको तयारीमा छन्।

विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि यस वर्षको यस सिजनमा मात्रै २० आरोही समूहका एक सय ९७ जनाले सगरमाथाआरोहण अनुमति लिएका छन्। यद्यपि, वसन्त ऋतुको सगरमाथा आरोहणको सँघारमा आधार विविर माथितिर भएको हिम पहिरोको घटनाले आरोहणलाई प्रभावित तुल्याउने होकी भन्ने पर्वतारोहीमा चिन्ता थपिएको छ।

चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प-१ को बीचमा ‘आइसफल’ क्षेत्रको दाम भन्ने स्थानमा गत चैत २९ गते बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन्। उनीहरुका खोजीकार्य जारी रहेको जनाइएको छ।

'यो सिजनको सगरमाथा आरोहण ठीकै होला, तर, आरोहणको शुरुमै तीन आरोही हिम पहिरोमा परी बेपत्ता भएको घटनाले आरोहणलाई झस्काएको छ', एनएमका पूर्वअध्यक्ष शेर्पाले भने।

उनका अनुसार जलवायु परिवर्तनले विश्वतापमान वृद्धि भएकाले हिमालमा ढिलोगरी हिउँ पर्ने भएकाले हिमाल आरोहणका सिजनमा पनि परिवर्तन भइरहेको छ। सन् २०७० देखि ८० सम्म सगरमाथा आरोहण शरद ऋतुमा उपयुक्त मानिन्थ्यो। पछिल्लो पटक वसन्त ऋतुमा सगरमाथा आरोहण सर्वाधिक हुने गरेको छ।

शेर्पाको भनाइमा शरद ऋतुमा आठ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले आरोहण कठिन हुन्छ। सगरमाथा, कञ्चनजंघा, ल्होत्से र मकालु हिमाल आरोहण गर्न कठिन हुन्छ। चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण हिमाल आरोहणका लागि दुवै सिजन आरोहणका लागि सहज हुन्छ।

नेपालमा हाल पाँच हजार आठ सय मिटरभन्दा अग्ला चार सय तीन हिमाल आरोहणका लागि खुल्ला गरिएको छ। रासस 


प्रकाशित : शनिबार, वैशाख २ २०८०१२:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend