कोशी- कोशी प्रदेश सरकारले पर्यावरणीय गन्तव्यको सूचीमा १३ वटा र ट्रेकिङ ट्रेलको रुपमा १० वटा स्थान समावेश गरेको छ। सरकारको तथ्यांकअनुसार ३२ हजारले पर्यटन क्षेत्रमा रोजगारी पाएका छन्।
पर्यटनमार्फत प्रदेशको कुल ग्राहस्थ उत्पादनमा दुई प्रतिशत योगदान भएको तर यस क्षेत्रले आकर्षक 'प्याकेज' प्रस्तुत गर्न नसकेको सरकार आफैले स्वीकार गरेको छ।
सगरमाथाको कारण ४३ प्रतिशत बाह्य र ५७ प्रतिशत आन्तरिक पर्यटक छन्। बाह्य पर्यटकको तथ्यांक हेर्दा औसतमा एक सातामा भारतीय पर्यटकहरू २ लाख १९ हजार आउने गरेका छन्। तेस्रो देशका पर्यटकको संख्या ४८ हजारमा सीमित हुने गरेको देखिन्छ। तर प्रतिव्यक्ति खर्चको हिसाबमा भने भारतीय पर्यटकको क्रयदर कमजोर रहेको छ। भारतीय पर्यटकले प्रतिदिन १९ अमेरिकी डलर खर्च गर्दा अन्य देशका पर्यटकहरू ५४ डलर खर्च गर्ने गरेको पाइन्छ।
कोशी प्रदेशको पूर्व र दक्षिणमा भारत, पश्चिममा मधेश र बागमती प्रदेश साथै उत्तरमा तिब्बत रहेको छ। सर्वोच्च शिखर सगरमाथादेखि नेपालकै होचो भूभाग कचनकवल पनि कोशी प्रदेशमै अवस्थित छ। सूर्योदय हेर्ने श्रीअन्तु डाँडादेखि सूर्यास्त हेर्ने कोशीटप्पु यही प्रदेशमा छन्।
कन्याम भेडेटार, पाथिभरा मन्दिर, हलेसी, बराहक्षेत्रलगायत आन्तरिक पर्यटनका चर्चित क्षेत्र हुन्। सगरमाथा, मकालु, कञ्चनजंघा, ल्होत्से र चोयु हिमालले कोशी प्रदेशको पर्यटकीय सम्भावनालाई थप बढाएको छ। सगरमाथा, मकालु र कञ्चनजंघा बेस क्याम्पसम्मको ट्रेक साहसिक र रोचक मानिन्छन्। त्यससँगै फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल, सभापोखरी ट्रेक पर्यवरणीय पर्यटनको बलियो सम्भावना भएका क्षेत्र हुन्। तामोर रिभर र्याफ्टिङ पूर्वको सबैभन्दा साहसिक र रोचक मानिन्छ।
सगरमाथा बेस क्याम्प जानका लागि काठमाडौंबाट आधाघण्टाको हवाई यात्रापछि लुक्ला पुगिन्छ। लुक्लाबाट पैदल यात्रा गर्दे नाम्जेमा बास बस्ने र नाम्जेबाट ७ दिनको पैदल यात्रापछि सगरमाथा आधार शिविर पुग्न सकिन्छ। हिमाली बनस्पती, जीवनशैली र दृश्यले यात्रुलाई लोभ्याउँछ। नाम्जेबाट अर्को बाटो थामे, नाङपालासम्म यात्रा गरेर रेन्जोला पास कटेपछि अत्यन्तै सुन्दर हिमताल क्षेत्र पुगिन्छ। ५ हजार ३ सय ६० मिटरको उचाइमा रहेको गोक्यो पुगेपछि सगरमाथामा सूर्यास्तको दृश्य हेर्नेको घुइँचो लाग्ने गरेको छ। ५ हजार २ सय मिटरको आधारशिविर धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ। कतिपय यात्रुहरू ५ हजार ६ सय मिटरमा रहेको कालापत्थरसम्म पुग्ने गरेका छन्। यो नेपालको मात्र होइन विश्वकै आकर्षक र ऐतिहासिक पर्यटकीय गन्तव्य हो।
सोलुखुम्बुकै तेङबोचे गुम्बा अर्को महत्वपुर्ण क्षेत्र हो। सगरमाथा जाने बौद्ध धर्मावलम्बी मात्र होइन सबै समुदायले समेत आस्थाका साथ पूजापाठ गर्छन्। सन् १९१६ देखि सुरु भएको गुम्बा खुम्बु क्षेत्रको आस्थाको केन्द्र बनेको छ।
सोलुखुम्बुकै पाँचपोखरी अर्को आकर्षक पर्यटकीय गन्तव्य हो। नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले निकालेको नेपालका एकसय महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा पाँचपोखरी परेको छ। श्रावण शुक्ल पूर्णीमाको दिन धार्मिक पर्यटकहरूको बढी रुचीमा पर्छ पाँचपोखरी। ४३ सय मिटरको उचाइमा रहेको पोखरी अत्यन्तै आकर्षक र मनोरम गन्तव्यमध्ये एक हो।
ओखलढुङ्गाको पोकली झरनालाई प्रदेश सरकारले नेपालकै देस्रो अग्लो झरनाको रुपमा परिचित गराएको छ। लिखु खोलाको उत्तरपूर्वमा पर्ने पोकली झरना घना जंगल (गौरि वन) को समिपमा पर्छ। दम्बाडाँडा पनि अर्को आकर्षक गन्तव्य बन्दै गएको छ। स्थानीय पर्यटकको घुइँचो लाग्ने दम्बेडाँडालाई नेपाल सरकारले पनि घुम्नुपर्ने सूचीमा राखेको छ। ३ हजार ३ सय मिटर उचाइको डाँडाबाट सगरमाथालगायत हिमालको दृश्य प्रष्ट देख्न सकिन्छ। दम्मे डाँडाबाट १५० मिटरको दुरीमा रहेको पोखली झरना अर्को आकर्षणको केन्द्र हो।
ओखलढुङ्गाकै समिपमा छन् खोटाङका हलेसी महादेवको मन्दिर र बराहपोखरी। नेपालको प्रसिद्ध तिर्थस्थल मध्येपर्छ हलेसी महादेवको मन्दिर। सदरमुकाम दिक्तेलनजिकै रहेको मन्दिरमा बाह्रैमास धार्मिक पर्यटकको घुइँचो लाग्ने गर्छ। मुख्यत: किराँत बौद्ध र हिन्दू धर्मावलम्बीको रोजाइमा पर्छ हलेसी। हलेसीसँगै बराहपोखरी पनि अर्को धार्मिक केन्द्र हो। बाह्रैमास समान अनुपातमा पानी रहने भएकाले दैवी शक्तिको प्रभावको रुपमा बराहपोखरी चिनिएको छ।
खोटाङ, उदयपुर र ओखलढुङ्गाको पर्यटन सर्किट जोड्न सके धेरै प्रभावकारी हुने बताउँछन् खोटाङका स्थानीय युवन राई। खोटाङबाट फर्किंदा उदयपुरगढीको अवलोकन झनै रोचक हुने राईको भनाइ छ। इतिहासअनुसार पृथ्वी नारायण शाहले पूर्वको बाइसे राज्य एकीकरण गर्दा चौदण्डीगढी कब्जा गरेका थिए। त्यसबखत तत्कालीन राजा कर्णशेनले उदयपुरगढीबाट राज्य चलाएका थिए। पछि २००७ सालको क्रान्तिमा कृष्णप्रसाद भट्टराई नेतृत्वको टोलीले उदयपुरगढी कब्जा गरेको थियो। बारम्बार पराजयको शिकार भएको उदयपुरगढी पुरानो जिल्ला सदरमुकाम समेत हो। हाल उदयपुरको सदरमुकाम गाईघाट सारिएको छ।
सुदूरपूर्वमा ताप्लेजुङको पाथिभरा मेची करिडोरको सबैभन्दा चर्चित पर्यटकीय गन्तव्य हो। नेपालकै होचो स्थान कचनवकलदेखि कञ्चनजंघासम्मको करिडोमा पर्छ पाथिभरा। मेची करिडोडरको सुरुवातमै चारआलीमा सानो पाथीभराको मन्दिर अवस्थित छ। इलामको हर्कटेनजिकै अर्को पाथीभराको मन्दिर दर्शन गर्न सकिन्छ। इलामको कन्यामले जो कोही पर्यटकलाई लोभ्याउने नै भयो। केही समय अगाडिदेखि सुरु भएको स्काई वाकले पर्यटकको ध्यान खिचेको छ।
चिसो मौसममा घोडसवारदेखि स्थानीय उत्पादनको स्वादले पर्यटकलाई लोभ्याएको छ। कन्याम पुगेपछि माइपोखरी जान रुचाउँछन् पर्यटक। वनस्पती, वन्यजन्तु र धार्मिक हिसाबमा माइपोखरी चिनिएको छ। २ सय ३१ प्रजातीका वनस्पती पाइने सो स्थान जलचर र उभयचर जीवका लागि उपयुक्त मानिन्छ। माइपाखरी पुगेपछि सूर्योदय हेर्न नजाने प्राय कमै पर्यटक हुन्छन्।
श्रीअन्तुबाट देखिने सूर्योदयको दृश्यले हरेक पर्यटकलाई दोस्रोपटक आमन्त्रण गर्छ। सूर्योदय दर्शनको लागि अघिल्लो दिन नै धेरै पर्यटक अन्तु पुग्छन्। अन्तुको आतिथ्यता सत्कार झनै लोभलाग्दो छ। इलामेलीको पर्यटकीय व्यवहारले सबैलाई आकर्षित गर्छ। इलामले चिया मात्र हैन छुर्पीलगायत दुग्धपदार्थ उत्पादन र निर्यातको नेतृत्व गरिरहेको छ।
इलामको प्राकृतिक सौन्दर्यतापछि ऐतिहासिक क्षेत्रलाई पनि स्मरण गराउँछ फाल्गुनन्द सर्किटले। पाँचथरमा रहेको फाल्गुनन्द पथलाई नसम्झिरहन सकिँदैन। राष्ट्रिय विभूति फाल्गुनन्दको सम्झनामा निर्माण गरिएको फाल्गुनन्द सर्किटले सामाजिक रुपमा लिम्बुवान् र किँरातलाई जोडेको छ। समाजसुधारक फाल्गुनन्दको सम्झनामा इलामको चुचीनाम्बा, लारुम्बा हुँदै लुब्रेकुटी र सिलौटलाई जोडेर फाल्गुनन्द सर्किट तयार पारिएको छ।
थकाइ मेट्ने गरि प्राकृतिक छटाले भरिपूर्ण स्थान हो ताप्लेजुङको फुङफुङे झरना। घना जंगलको बीचमा रहेको झरनाको दृश्य अत्यन्तै आनन्ददायी छ। आकर्षक झरनामात्र होइन ताप्लेजुङको पहिचान बनेको छ पाथिभर मन्दिर। ३ हजार ७ सय मिटरको उचाइमा रहेको पाथिभरा माताको मन्दिर प्राकृतिक र दैविक हिसाबले महत्वपूर्ण मानिएको छ। धार्मिक पर्यटकको पहिलो रोजाइमा रहेको पाथिभरा दर्शनको लागि ४ घण्टाको पैदल यात्रा चाहिन्छ। ताप्लेजुङ बजारदेखि तल्लो फेदीसम्म ट्याक्सीमा जान सकिन्छ। तल्लो फेदीदेखि पैदल माथिल्लो फेदीमा पुगेर बास बसेर भोलिपल्ट पाथिभरा दर्शन गर्न सहज हुने होटेल व्यवसायी रोहित लिम्बु बताउँछन्। अहिले होटेलहरू व्यवस्थित बन्दै गएको कारण ताप्लेजुङमा पर्यटकको आकर्षण थपिएको उनले बताए।
ताप्लेजुङले पाएर पनि गुमाएको पर्यटकीय क्षेत्र हो तिम्बुङ पोखरी। खासै प्रचार नभएको र बाटोमा खानेबस्ने व्यवस्था नभएको कारण पोखरी ओझेलमा परेको हो। ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको पोखरी कञ्चनजंघा हिमालको काखमा पर्छ। कञ्चनजंघा बेसक्याम्पसम्मको यात्रा तय गरेर पोखरीको भ्रमणमा जाँनु उपयुक्त हुने स्थानीयहरू बताउँछन्। साउनदेखि कात्तिकको महिना सबैभन्दा उत्कृष्ट हुने व्यवसायी लिम्बु बताउँछन्।
मध्य पहाडी लोकमार्गको कारण ताप्लेजुङदेखि सिधै तेह्रथुम आउन सकिने भएको छ। भर्खरै निर्माण सम्पन्न भएको तमोर करिडोरले मेची र कोशी करिडोरलाई एक आपसमा जोडेको छ। जसको कारण पूर्व-पश्चिम राजमार्गकै भरपर्नुपर्ने बाध्यता हटेको छ।
ताप्लेजुङ पुगेका पर्यटक तमोर करिडोरबाट सिधै धनकुटाको भेडेटार आउन सक्छन्। सँगै रहेको नाम्जेको होमस्टेमा बास बसेर स्थानीय उत्पादनको स्वाद लिने अवसर पर्यटकले पाउँछन्। बिहानै उठेर कोशी करिडोरको यात्रामा धनकुटे बिस्कुट र चिया खान धनकुटा बजार पुगिन्छ। धनकुटे बिस्कुट धनकुटाको स्वादिलो कोसेली हो।
धनकुटाले दुईवटा पैदल मार्गको विकल्प दिएको छ। भोजपुरतर्फ जाँदा मुन्दुम ट्रेलको पदयात्रा गर्न सकिन्छ। जुन पछिल्लो समय चर्चित बन्दै गइरहेको छ। ८ हजार मिटर अग्ला ५ वटा हिमालको दृश्य यस ट्रेलबाट देख्न सकिन्छ। चखेवा भन्ज्याङबाट सुरु भएको पदयात्रा धोत्रे, मैयुङ, हाँसपोखरी, रावाधाप, साल्पा भञ्ज्याङ हुँदै सिलिचुङसम्म पुग्छ।
अर्कातर्फ छुटाउनै नहुने गन्तव्य हो तिनजुरे-मिल्के-जलजले (टिएमजे)। ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगम स्थल हो टिएमजे। २८ प्रजातिका गुँरास पाइने यो स्थान ४ हजार ५ सय मिटरको उचाइसम्म फैलिएको छ। पैदलयात्रुको लागि यस क्षेत्र उपयुक्त मानिन्छ। टिएमजेको भ्रमणसँगै गुफापोखरीसम्म गाडीमै पुग्न सकिन्छ।
गुफा पोखरीको अवलोकन पछि दुईदिनको पैदल यात्रामा पुगिन्छ संखुवासभाको सभापोखरी। दैविक र प्राकृतिक हिसाबमा महत्वपूर्ण मानिएको सभापोखरी एडभेन्चर टुरिजमको लागि उपयुक्त गन्तव्य हो। सभापोखरीको भ्रमणपछि गुफापोखरीमा फर्किएर अरुण भ्याली पुग्न सकिन्छ। अरुण उपत्यकाको नामले चर्चित अरुण भ्याली संखुवासभाको सदरमुकाम खाँदबारी आसपासको क्षेत्रमा पर्छ। अरुण भ्यालीबाट मकालु बेसक्याम्पसम्मको यात्रा तय गर्न सकिन्छ। साहसिक पर्यटकको लागि १५ दिनको मकालु बेसक्याम्प उपयुक्त गन्तव्य हो।
यातायातको सुगमताको हिसाबले झापा, मोरङ र सुनसरीका पर्यटकीय स्थालहरू बढी प्रचलित छन्। सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा दुर्लभ मानिएको अर्ना देख्न सकिन्छ। त्यससँगै ४ सय ५० भन्दा बढी प्रजातिका चराहरू यस क्षेत्रमा अवलोकन गर्न सकिन्छ। सुनसरीकै बर्जु ताल पनि चरा अवलोकनको गन्तव्य स्थापित बन्दै गएको छ। चरासम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूको लागि आरक्ष महत्वपूर्ण गन्तव्य बन्न सक्छ। सूर्यास्तको दृश्यावलोकनको लागी कोशी टप्पु झनै आकर्षक मानिन्छ।
कोशी टप्पु सँगै रहेको बराह मन्दिरले धार्मिक आस्थालाई थप उजागर गरेको छ। चतरा धामसँगै बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली मन्दिरले सुनसरीको धार्मिक पर्यटनको सम्भावनालाई बलीयो बनाएको छ।
मोरङ राजनीतिक शक्तlको सदावहार केन्द्रमा रह्यो। तर पर्यटकीय हिसाबमा केही सिमसार र मानवनिर्मीत संरचनाबाहेक अन्य सम्भावनाहरू ओझलमा परेका छन्। तथापी प्रदेशमा आउने पर्यटकलाई स्वागत गर्ने विराटनगर विमानस्थल मोरङमै पर्छ। विराटनगरमा खुलेका सुविधासम्पन्न होटेलले पर्यटकलाई हार्दिकताका साथ निमन्त्रणा गरिरहेका छन्।
झापाले पनि पर्यटकीय गतिविधिमा भरोसा दिलाउन सकेको छैन। केही वर्षदेखि सञ्चालनमा आएको होटेल मेची क्राउनले केही आशाको सञ्चार गरेको छ। भारतीय पर्यटकलाई भित्र्याउने काम मेची क्राउनले गरेको छ। झापामा खुल्दै गरेका नयाँ स्टार होटेलले पूर्वमा आएका पर्यटकलाई गुणस्तरीय सेवा दिन सक्छ। सुनसरीको इटहरीमा पनि पछिल्लो समय स्टार होटेल खुल्ने क्रम बढ्दै गइरहेको छ।
नेपाल पर्यटन बोर्डका कार्यकारिणी सदस्य कृष्ण शाह कोशी प्रदेशको पर्यटनलाई सिलगुढी, पटना, बिहारसँग जोड्नुपर्ने अवस्था आएको बताउँछन्। ‘पोखराबाट पर्यटकहरू विस्तारै पूर्वतर्फ सर्ने सम्भावना छ। त्यसको फाइदा लिन सक्नुपर्छ। त्यही गुणस्तरका होटेल र हस्पिटालिटी पनि दिन सक्नुपर्छ। पूर्वका विमानस्थलमा आन्तरिक उडानलाई व्यवस्थित गर्ने र हिमाली दृश्य देखाउन सकियो भने धेरै राम्रो हुन्छ', उनले भने, जातीय कला भाषाअनुसारको होमस्टेलाई व्यवसायिक हिसाबमा अगाडि बढाउनुपर्छ। फार्ममा आधारित पर्यटन प्रवर्द्धनको सम्भावनालाई उजागर गर्नुपर्छ।’
कोशी प्रदेशमा धार्मिक पर्यटकीय क्षेत्रहरू धेरै भएको तर त्यसलाई आध्यात्मिक पर्यटनको हिसाबमा विकास गर्न नसकिएको उनले सुनाए। भारतीय पर्यटकलाई धार्मिक, आध्यात्मिक हिसाबमा स्वागत गर्नुपर्ने उनले बताए। तराई क्षेत्रमा क्यासिनो र अल्कोहल टुरिजमलाई विकास गर्नुपर्ने उनको भनाइ छ। नेतृत्वको निर्णय क्षमताको अभावमा धेरै पर्यटकीय क्षेत्रहरू ओझेलमा परेको उनले सुनाए।
पर्यटन व्यवसायी बासुदेव बराल सम्भावना भएर पनि उठाउन नसकेका धेरै पर्यटकीय क्षेत्र रहेको बताउँछन्। मकालु र कञ्चनजंघा हिमाललाई नेपाली र विदेशीसामु जसरी चिनाउनपर्ने हो त्यसरी चिनाउन नसक्नु र त्यसमा पर्यटकीय नजर नपर्नु दु:खद रहेको उनले बताए। हिमाली क्षेत्रमा पर्यटक पुर्याउनेगरि कसैले पहल नगरेको उनको भनाइ छ।
‘अहिले अधिकत दुई दिनको लागि बस्ने र खर्च एकदमै कम गर्ने पर्यटकमात्र आउने गरेका छन्। यसलाई न्यूनतम १० देखि १५ दिन बसाउन सक्नेगरि व्यवस्थापन गर्न सक्नुपर्छ। भारतीय पर्यटकलाई सुहाउँदो हस्पिटालिटी भयो भने केही पर्यटकीय चाप बढाउन सकिन्छ। हाम्रो सबल पक्ष भनेकै भारतसँगको खुल्ला सिमाना हो। यसलाई पर्यटकीय दृष्टीकोणबाट हेरिनुपर्छ,’ उनले भने।