काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएकाे निर्वाचनपछि मतगणना सुरु भएकाे छ। केहीबेर अघि सुरू भएकाे मतगणना राती अबेरसम्म जिल्ला नगर र वस्तुगतर्फकाे मतपरिणाम आउने निर्वाचन समितिले जनाएकाे छ।
महासंघको ५७औँ साधारणसभा सोमबारदेखि काठमाडौंमा सुरू भएको हो। महासंघमा जिल्ला/नगरतर्फ, वस्तुगत र एसोसिएट गरि तीन क्लस्टरमा मतदान भएको थियो।
महासंघको एसोसिएटतर्फ १ हजार १ सय ३२ मत, जिल्ला/नगरतर्फ १ सय १७ र वस्तुगततर्फ १ सय २३ मत खसेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए। उनका अनुसार जिल्ला/नगरतर्फ र वस्तुगततर्फ सतप्रतिशत मत खसेको छ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार छन्।
त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाले उमेद्वारी दिएका छन्। महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदका लागि १ सय १६ जनाले उमेद्वारी दिएका हुन्।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिने उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउनु पर्ने छ।
३ जना उमेद्वार रहेकाले पहिलो चरणमा एकजनाले पनि ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुने गरि तय गरिएको निर्वाचन कार्यालयले जनाएको छ।