आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

‘हाइकिङ’ लाई उत्कृष्ट गन्तव्य बेलढुंगा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २९ २०७९
images
‘हाइकिङ’ लाई उत्कृष्ट गन्तव्य बेलढुंगा

दुईवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुन्निँदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहज भएको छ।

images
images

गलेश्वर- चारैतिर घनाजंगल। जंगलकोबीच भागमा चेप्टो बेल आकृतिको विशाल चट्टान। चट्टानको शिरसम्म पुग्न ढुंगा विछ्याइएको दुईसय ६० मिटर लामो पदमार्ग। उत्तरतर्फ चाँदीझै टल्कने सेता हिमाल।

images
images
images

चैत-बैशाखमा राताम्यै फूलेका लालीगुराँस। नागबेली परेको म्याग्दी नदी जंगलको एकान्तमा चिटिक्क परेको स्वर्गाश्रम। धवलागिरि क्षेत्रका दर्जनौँ ग्रामीण बस्ती। बेलढुंगाको शिरमा चढेपछि आँखै अगाडि देखिने दृश्य हो यो। 

images
images

म्याग्दीको बेनी नगरपालिका- ३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका- ३ ओखलेको शिरमा छ बेलढुंगा। समुद्री सतहदेखि दुई हजार ६ सय १४ मिटर उचाइको बेलढुंगा वसन्तऋतुसँगै आन्तरिक पर्यटकको भीड लागेको छ। गतवर्ष सात हजार आन्तरिक पर्यटक बेलढुंगामा पुगे।

images
images

यस वर्ष चैत २६ गतेसम्म १२ हजार बढी आन्तरिक पर्यटक आएका स्थानीय गणेश श्रीषले बताए। पदमार्ग र साइकल लेन बनेपछि हाइकिङलाई बेलढुंगा गन्तव्य बनेको स्थानीय रत्न जिसीले बताए।

टाढाटाढाबाट बास बस्ने गरी आएका पर्यटकका लागि नजिककै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) बनेपछि खाना र बासको समस्या नहुँदा हाइकिङलाई दैनिक सय हाराहारी पर्यटक आउँछन्।

बेलढुंगाबाट अन्नपूर्ण र धौलागिरिका १२ हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका गाउँ, वनजंगल, जंगली जनावर र पक्षी देख्न सकिन्छ। साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेनी नगरपालिका- ३ का वडाअध्यक्ष पदम पुनले बताए।

बेलढुंगामा पर्यटकीय पूर्वाधार निर्माणका लागि बेनी नगरपालिका-३ र बागलुङको काँठेखोला गाउँपालिका- ३ ओखलेको ४० लाख बढी खर्च भएको वडाअध्यक्ष पुनले जानकारी दिए। सडक निर्माणका लागि प्रदेश सरकारले लगानी गरेको छ। अहिले गुलजार बनेको बेलढुंगा एक दशक अघिसम्म गुमनाम थियो। सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, साइकल लेन, होमस्टे, पार्किङलगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन्। आन्तरिक पर्यटक बढेपछि पूर्वाधार निर्माणको होडबाजी चलेको छ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ। यसवर्ष हिउँ परेन। तर सूर्योदय र दृश्यावलोकन गर्नेको कमी भने भएन।

सामाजिक सञ्जालमा यहाँका तस्वीर-भिडियो देखेर घुम्न आएको तोराखेतकी सरस्वती सापकोटाले बताए। 'यो ठाउँ साँच्चिकै स्वर्गजस्तो रहेछ। हिमाल पनि आँखै अगाडि देखिने, डाँडाकाँडा, वनजंगल, पशुपक्षी सबै देख्न पाइने। २२ जनाको टिम आएको रमाइलो भयो', उनले भने

बेलढुंगा प्राकृतिक सौन्दर्या अवलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान भएको बेलढुंगा घुम्न आउनुभएका बेनीका दुर्गाराम सुवेदीले बताए। चैत, बैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकोले यसको प्रचारप्रसारमा अझै जोड दिनुपर्ने धौलागिरि पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँले बताए।

दुईवर्ष अघिसम्म बेलढुंगाको फेदमा रहेको बेँसी चौतारीदेखि बेलढुंगाको शिरमा पुग्न निकै जोखिम थियो। अक्करे भीरमा बुट्यान र लहरामा झुन्निदै बेलढुंगाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुन्थ्यो। तर अहिले सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि निकै सहज भएको बेलढुंगामा हरेक वर्ष पुग्ने गरेका नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपकोषाध्यक्ष शिव बानियाँले बताए।

म्याग्दीको सीमाना तर्फ स्वर्गाश्रमदेखि बेँसी चौतारीसम्म बेनीनगरपालिका-३ को करिब चार लाख र त्यहाँदेखि बेलढुंगासम्म दुवै वडाको दुई/दुईलाखको गरी करिब आठ लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ। ढुंगा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुंगा पुग्न सकिन्छ। रासस 


प्रकाशित : बुधबार, चैत २९ २०७९०७:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend