पोखरा- सधैँ देखिइरहेकाभन्दा फरक अनुहार। आफै टेन्ट बोकेर आउँथे। तालको किनारतिर बरालिएर गाँजा तान्थे। कोही किताब पढेर दिन कटाउँथे। केही दिन बिताउँथे र हराउँथे। सन् १९५५ तिर नयाँ अनुहारका मान्छे फाट्टफुट्ट आउन थाले। भाषा बुझिँदैनथ्यो, हाउभाउबाट स्थानीयसँग कुरा गर्थे। टेन्ट नल्याएकाहरू फेवा किनारमा भएका धन्सारहरूमा पराल ओछ्याएर सुते।
विस्तारै यस्ता नौला मान्छेको आगमन बढ्दै गयो। ८/१० वर्षमा उनीहरू पोखरामा निकै झाँगिए। रैथानेहरूले साना घरका झुप्रामा तिनै हिप्पीहरूलाई खाना बनाएर खुवाउन थाले। पोखराबाट फर्किने बेला गाउँलेलाई नौलो पैसा दिएर जान्थे।
करिब दुईदशकपछि पोखरेलीले थाहा पाए, उनीहरू पर्यटक थिए। उनीहरूले दिएको पैसा डलर थियो। पोखरामा पहिलो पुस्ताका पर्यटक उनै ‘हिप्पी’ हरू हुन्।
हिप्पीहरू आउनुअघि नै सन् १९५० मा फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए। संसारमै पहिलोपटक मानवले हिमालमा पाइला टेकेको त्यही क्षण पोखराको पर्यटनको ‘गेट वे’ बन्यो। हिमाल चढेर फर्केपछि हार्जोगले ‘दी अन्नपूर्ण’ नामको किताब लेखे। उनकै किताबलाई पछ्याएर विस्तारै पर्यटकका पाइला पोखरा मोडिएका हुन्।
पोखराको औपचारिक पर्यटन बुझ्न अझै अगाडि पुग्नुपर्छ। सन् १८९९ मा जापानी भिक्षु कावागुची तिब्बत जाने क्रममा पोखरा भ्रमण गरेका थिए। उनैलाई पोखराले पहिलो विदेशी पर्यटकको रुपमा अर्थ्याउने गर्छ। कावागुचीले लेखेको पुस्तक ‘थ्रि इयर्स इन टिबेट’ मा पोखराबारे लेखेका छन्, ‘मेरो यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य देखेँ, त्यस्तो स्वर्ग जस्तो दृश्य अन्यत्र मैले कतै पनि देखिनँ।’
आजको पोखरा बन्नुमा कुनै एउटा घटना वा कोही एकजनाको यात्राले मात्रै सहयोग पुगेको छैन। धेरथोर धेरैको योगदान छ। हार्जोगको अन्नपूर्ण आरोहणसँगै नेपालको हिमाल आरोहण र आधार शिविरसम्म पुग्ने पदयात्राको सुरुवात भयो। घुमफिर र मनोरञ्जनको लागि सन् १९५७ मा पोखरामा पदयात्रा गर्न १ सय ६२ पर्यटक आएका थिए। विस्तारै विदेशी पर्यटकको रोजाइमा पर्दै गएको पोखरा सन् १९६० को दशकसम्म पदयात्रीहरूको प्रमुख गन्तव्य बन्न थाल्यो। जानेबुझेकाहरू सन् १९७० को दशकसँगै यहाँ पर्यटनको व्यावसायिक सुरुवात भएको बताउँछन्।
‘पोखरा निर्माणमा पोखरेलीको मात्र होइन, विदेशीहरूको पनि योगदान छ। जतिबेला विश्वभर हिप्पीहरूको लहर चलको थियो। त्यो बेला पोखरामा पनि त्यसको प्रभाव पर्यो,’ जानकार विश्व सिग्देल भन्छन्, ‘पोखराको पर्यटन क्षेत्रको विकासमा उनीहरूको राम्रो योगदान छ। त्यो बेला होटलहरू थिएनन्। पर्यटकहरू स्थानीयको घरगोठमा नै बसेर पनि राम्रो सन्देश प्रवाह गरिदिएका थिए। उनीहरूले गरेको बयान सुनेरै पर्यटकहरू बढेका हुन्।’
अहिले पोखरामा मात्रै ५ खर्ब रूपैयाँभन्दा बढी लगानी पर्यटनमा छ। वार्षिक ४ लाख ८० हजारभन्दा बढी विदेशीले पोखरा र यस क्षेत्रको भ्रमण गर्छन्। आन्तरिक घुमन्ते जोड्दा १० लाख पर्यटकले वार्षिक पोखरा टेक्छन्। करिब ७५ हजार व्यक्तिले पर्यटनबाट प्रत्यक्ष रोजगारी पाएका छन्। यहाँका ७० प्रतिशत होटल रेष्टुराँहरू सन् १९९२ पछि नै खुलेको बताइन्छ।
रैथानेका धन्सार र झुप्राहरू विस्तारै होटलमा परिणत भए। अहिले पोखरामा पर्यटकलक्षित ५ सयभन्दा बढी होटलहरू छन्। नेपाल भित्रिने पर्यटकमध्ये लगभग ४० प्रतिशतले पोखरा भ्रमण गर्ने तथ्यांक छ। तीमध्ये अधिकांशको रोजाइ पदयात्रा पर्छ। पर्यटकलाई नै लक्षित गरी अन्नपूर्ण संरक्षण क्षेत्र र यसको पेरिफेरिमा पदमार्गहरू निर्माण गरिएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनास्लु संरक्षण क्षेत्र आयोजना, विभिन्न हिमालहरू, ढोरपाटन सिकार आरक्षलगायत क्षेत्रमा घुम्न पर्यटकको रुची बढी छ। ‘पोखरा आउने पर्यटक ट्रेकिङका लागि आउँछन्। मज्जासँग हिँडेर पसिना निकाल्छन्। स्वस्थ भएर स्वदेश फर्किन्छन्,’ ट्रेकिङ एजेन्सिज एशोसियनस नेपाल (टान) का पूर्वअध्यक्ष हरि भुजेल भन्छन्, ‘एक पटक आएका टुरिष्टहरू पटक पटक आइरहेका छन्। वास्तवमा पोखराको ब्राण्ड यही हो। पोखराले राम्रो आतिथ्य गर्छ। पर्यटकहरू सन्तुष्ट भएर फर्किन्छन्, फेरि आउने गरी।’
अध्येता तीर्थ श्रेष्ठले पर्वतारोहण र पदयात्राको कीर्तिमान पोखराले बनाएका कारण पर्यटकले रुचाएका बताए। ‘पोखराको प्राकृतिक सुन्दरताबारे जापानी भिक्षु इकाइ कावागुची, टोनी हागनदेखि लिएर बेलायती कवि बिल्फ्रेड न्वायसहरूले प्रशंसा गरेका छन्,’ उनले भने, ‘तिनैले लेखेका पुस्तक पढेर पोखरा घुम्न आएकाहरू धेरै छन्। निश्चय नै पोखराको पर्यटन खासै पुरानो होइन, तर यसको प्राकृतिक सौन्दर्य मोहक छ।’ पोखराको भविष्य पनि पर्यटनसँगै जोडिएका कारण व्यवस्थित योजना निर्माण गर्न ढिलाइ भैसकेको उनको तर्क छ।
मानव सिर्जित गतिविधि पनि कम छैनन्
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा।
कवि मुकुन्दशरण उपाध्ययाको कवितामार्फत पोखराको वर्णनमा भनिएजस्तो पोखरामा अभाव केही छैन। उनले भनेजस्तै पोखरा आफैमा सबै किसिमले पूर्ण सहर हो। जति प्राकृतिक सुन्दरता छ, त्यति मानव सिर्जित संरचना पनि उत्कृष्ट छन्।
सन् १९९६ मा बिरु बमजम र बेलायती नागरिक एडम हिलले पोखरामा प्याराग्लाइडिङको सुरुवात गरे। २००० मा नेपालकै पहिलो प्याराग्लाइडिङ कम्पनी खुल्यो। पछिल्ला वर्षहरूमा पोखरा टेक्ने पर्यटकको रोजाइमा प्याराग्लाइडिङ छ। बर्सेनि डेढ लाखभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गरेर रमाउँछन्। साहसिक खेलको गतिविधि सञ्चालन भएको २५ वर्षमा जिपलाइन, बन्जी जम्पदेखि स्काई साइक्लिङ, स्वीङसम्मका इभेण्टहरू थपिएका छन्। विभिन्न धार्मिक तथा सांस्कृतिक गन्तव्य र केबलकारसम्मका संरचना निर्माण भएका छन्। जाइरोकोप्टर र अल्ट्रालाइट यही अवधीमा आएको हो।
नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा ६४ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता छन्। करिब ४ सयजना स्वदेशी पाइलट र एक हजारभन्दा बढीले रोजगारी पाएका छन्। तर 'पोखरा अन्तर्राष्ट्रिय विमानस्थल'को उद्घाटनसँगै पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने लगभग निश्चित जस्तै छ।
अहिले साविकभन्दा करिब ५ किलोमिटर परबाट प्याराग्लाइडिङ उडान भर्ने गरिएको छ। सराङकोटमा जस्तो त्यहाँ पर्यटकको भीड छैन। ‘निश्चित समय छुट्याएर सराङकोटबाटै उड्न दिनुपर्छ। नत्र प्याराग्लाइडिङ सञ्चालन गर्न सक्ने अवस्था हुँदैन,’ भण्डारी भन्छन्, ‘प्याराग्लाइडिङलाई झिकेर यहाँको पर्यटन अधुरो छ। सरकारले ध्यान दिनुपर्छ।’
राजा महेन्द्रले हिउँदमा आराम गर्नका लागि रत्न मन्दिर बनाए। त्यसपछि हिमागृह बन्यो। २००८ सालको असोजमा पोखरामा पहिलो पटक विमान अवतरण भयो। पोखरेलीले गाडीभन्दा पहिले जहाज देखे, खुला चौरमा। २०२८ र २०५४ मा धावनमार्ग लम्ब्याइयो। सोही साल टावर टर्मिनल बन्यो। अहिले पोखरामा अन्तराष्ट्रिय मापदण्डको नयाँ विमानस्थल बनेको छ। काठमाडौं आउने पर्यटकलाई सिधै पोखरा झार्ने परिकल्पनासहित बनाइएको विमानस्थलमा अहिलेसम्म अन्तराष्ट्रिय उडान भने सुरु भएको छैन। जसका कारण पोखरेली व्यवसायी निराश छन्।
‘अन्तराष्ट्रिय विमानस्थल नाम मात्रैको भयो। हामीले त अन्तराष्ट्रिय उडान होला। कम्तिमा भारत र चीनबाट सीधै पर्यटकहरू पोखरा झर्लान् भन्ने आस गरेका थियौँ,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘हामीले सोचेजस्तो भएन। यही विमानस्थललाई हेरेर अरबौँ लगानी थपिएको छ। व्यवसायी डुब्ने भए।’
पर्यटकलाई लक्षित गरेर पोखरा आसपासमा धेरै होमस्टेहरू पनि निर्माण भएका छन्। पोखरा महानगरपालिकाले प्रदेश हुँदै संघ सरकारलाई ‘पर्यटनको राजधानी’ घोषणा गर्न पत्र पठाएको छ। वर्षौंअघि पठाइएको पत्र कार्यान्वयनमा भने अझै गएको छैन।
कहिलेदेखि प्रवर्द्धनमा लाग्यो पोखरा?
सन् १९९६ मा जर्मन उद्योग वाणिज्य संघ र पोखरा उद्योग वाणिज्य संघले गरेको एक अध्ययनअनुसार पोखरेली पर्यटनको बजारीकरणमा सबैभन्दा बढी योगदान घुमेर फर्किएका फिरन्तेहरूको छ। ६५ प्रतिशत पर्यटक घुमेर फर्किएकाहरूले गरेको वर्णनका आधारमा आउने गरेका छन्।
सन् २०१७ मा पोखराको पर्यटनबारे गरिएको एक शोधपत्रमा मौखिक रुपमा गरिएको वर्णनका आधारमा ५२ प्रतिशत पर्यटक आउने गरेको देखाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि यसको अध्ययन गरेको थियो। अध्ययनअनुसार साथीहरूबाट प्राप्त मौखिक वर्णन नै प्रभावकारी देखाएको छ। यसको अर्थ पोखरेलीले गर्ने आतिथ्यतालाई नै पर्यटकले मन पराएका छन्।
सुरुमा मुखामुखबाट प्रचार भएको पोखराको व्यवस्थित प्रवर्द्धन र बजारीकरण सन् १९९० पछि भएको देखिन्छ। अध्ययनहरूले पोखराको पर्यटन प्रवर्द्धनमा सञ्चार जगत् र इन्टरनेटको भूमिका न्यून देखाएको छ। तर सञ्चार क्षेत्रले गरेको सकारात्मक प्रचार पनि पोखरालाई ब्राण्ड बनाउन प्रमुख सहयोगी रहेको पर्यटन व्यवसायीहरू बताउँछन्। विदेशीहरू आएर फेवा छेउमा झुम्मिन थालेपछि बेदाम क्षेत्र महँगिन थाल्यो। हिजोको फेवा किनार त्यसपछि ‘लेकसाइड’ बन्यो।
पोखरा कसरी बन्यो ?
सन् ६० को दशकसम्म पोखरा गाउँ थियो। फेवातालको किनारतिर अलि कम पैसा हुनेहरू बस्थे। धनीहरू आर्वा, पुम्दी, निर्मलपोखरीतिर बस्थे (पोखराबाट देखिने डाँडाहरू)। औल लाग्ने भएका कारण गाउँलेको रोजाइमा पर्दैनथ्यो पोखरा।
जग्गाको किनबेच खासै नहुने र मूल्य पनि नपर्ने भएकोले फेवा क्षेत्रको नाम बैदाम थियो। अर्थात बेदाम। जनसंख्या बढ्दै जाँदा बस्तीहरू बाक्लिन थाल्यो। रैथानेहरू विस्तारै डाँडाबाट पोखरा झर्न थाले। सेनाका लाहुरेहरू सुविधाको खोजीमा पोखरा सरे। खासगरी गुरुङ र मगरहरू पोखरा झरेका लाहुर गएपछि नै हो। भारतीय पेन्सन क्याम्प र ब्रिटिश क्याम्प बनेपछि पोखरामा जनजातीको बाहुल्य बढ्यो।
नेवारहरूको बसाइ व्यापारले बढायो। सुरुमा सिद्धिनारायण शाहले सहर बसाउन भक्तपुरबाट केही नेवारहरूलाई पोखरा ल्याएको इतिहास छ। अर्काथरी चाहिँ पेरिफेरिबाट झरेका हुन्। पोखरामा व्यापारको सम्भावना भएकाले उनीहरू पर्वत, स्याङजा, बागलुङ, तनहुँतिरबाट आएका थिए। अहिले उनीहरू नै जमेका छन्, पोखरामा। बाहुन क्षेत्रीहरू धेरैचाहिँ कर्मचारी भएर आए। सरकारी कर्मचारी भएपछि ठूला तहका काठमाडौं गए।
अलि तल्लो तहका कम पैसा कमाउनेहरू पोखरामा बसे। पोखरा सस्तो थियो। पूर्वदेखि पश्चिमसम्मकै मान्छे विभिन्न बाहानामा पोखरा छिरेका छन्। विचरणका लागि पोखरा आएकाहरू पनि फर्किन चाहेनन्, यतै रमाउन थाले। करिब एकसय वर्षअघि मुश्किलले ५/७ हजारको बसोबास रहेको पोखराको जनसंख्या अहिले ५ लाख नाघिसकेको छ।