शुक्रबार, असोज ४ गते २०८१    
images
images

मध्यपहाडी राजमार्ग : १४ वर्षमा ६८ प्रतिशत काम, फेरि दुई वर्ष समय थपिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक १० २०७८
images
images
मध्यपहाडी राजमार्ग :  १४ वर्षमा ६८ प्रतिशत काम, फेरि दुई वर्ष समय थपिँदै

विगतमा सम्पन्न गर्न लिइएको लक्ष्य सारिँदै आएकामा पुनः दुई वर्ष थप गर्नुपर्ने आयोजनाले जनाएको छ। निर्माण सुरु भएको १४ वर्षमा ६८ प्रतिशत प्रगति भएकाले बाँकी काम दुई वर्षमा नसकिने देखिएको छ।

images
images

काठमाडौं- राष्ट्रिय गौरबको पुष्पलाल (मध्यपहाडी) राजमार्ग फेरि पनि तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। कोभिड सङ्क्रमणका कारण काममा पुगेको बाधा, बजेट अभाव र कतिपय स्थानमा अझै सडकको रेखाङ्कन टुङ्गो नलागेका कारण आयोजनामा ढिलाइ हुने देखिएको हो।

images
images
images

विगतमा सम्पन्न गर्न लिइएको लक्ष्य सारिँदै आएकामा पुनः दुई वर्ष थप गर्नुपर्ने आयोजनाले जनाएको छ। निर्माण सुरु भएको १४ वर्षमा ६८ प्रतिशत प्रगति भएकाले बाँकी काम दुई वर्षमा नसकिने देखिएको छ।

बूढीगण्डकी जलाशययुक्त आयोजनका कारण गोरखा र धादिङमा रेखाङ्कन पनि समस्या देखिरहेको छ। अहिलेको रेखाङ्कनमा सडक निर्माण गर्दा सो आयोजना निर्माण भइसक्दा डुबान हुने भएकाले सडकको रेखाङ्कन परिवर्तनको कुरा उठिरहेको आयोजना निर्देशनालयका प्रमुख अर्जुनप्रसाद अर्यालले बताए।

कास्कीमा अहिलेको रेखाङ्कनबाट जाँदा झण्डै नौ सय घर भत्काउनुपर्ने भएकाले परिवर्तनको माग भइरहेको छ। उनले भने, 'ती सबै घरको मुआब्जा दिन नसकिने हुँदा पनि रेखाङ्कन परिवर्तन गर्नैपर्ने छ।' राजमार्गमा ३७ पुल पहिले छुटेकामा निर्माणमा जानुपर्ने निर्देशनालका प्रमुख अर्यालले बताए। 

images

उनका अनुसार एउटा बाहेक अरु पुल कम लम्बाइको रहेकाले एक वर्षीय ठेक्काबाट नै सम्पन्न हुने खालका छन्। एक सय मिटरभन्दा लामो पुल प्रक्रियामा गइसकेको र बाँकी पुल पनि छिटै प्रक्रियामा जाने उनको भनाइ छ। 

सरकारले चालू आवको नीति तथा कार्यक्रममा अन्य आयोजनाबाट निर्माण भएका झण्डै ४६२ किमी सडक तथा पुल चौडा गर्ने बाहेक अरु काम अवको दुई वर्षमा सम्पन्न गर्ने उल्लेख छ। आयोजनाले भने अहिलेको अवस्था हेर्दा त्यो अवधिमा नसकिने हुँदा आगामी आवको नीति तथा कार्यक्रममा अवधि थप्नुपर्ने बताएको छ। 

राष्ट्रिय गौरबका आयोजनामा बजेट अभाव हुन नदिने सरकारको नीति भए पनि गतवर्ष यो राजमार्ग, हुलाकी राजमार्गलगायतमा बजेट अभाव भएको थियो। चाहिने समयमा बजेट विनियोजन नहुँदा समस्या हुने उनको भनाइ छ। 

अहिलेको अवस्थामा हेर्दा राजमार्ग तोकिएको अवधिमा सम्पन्न हुने नदेखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बताए। आयोजनाको अवधि बढाउनुपर्ने उनको धारणा छ। आयोजनाको सम्पन्न हुने लक्ष्य निर्धारण गर्दा मध्यमकालीन खर्च संरचनाका आधारमा गरिन्छ।

त्यसमा यसरी बजेट बढ्दै जान्छ भनेर उल्लेख भए पनि त्यहीअनुसार नबढ्दा रकमको अभाव हुने उनले बताए। कुनै पनि आयोजना समयमा सम्पन्न नहुनुमा मुख्य कारण बजेट रहेको उनले बताए। 

एउटा पुल बढीमा पाँच वर्ष नभए साना पुल भए दुई वर्षमा सम्पन्न हुने तर आवश्यकताअनुसार बजेट नहुँदा धेरै वर्ष लाग्ने श्रेष्ठले बताए।

उनका अनुसार २८/३० करोड रुपैयाँ बजेट चाहिनेमा कुनै एक वर्ष २५ लाख विनियोजन हुँदा सम्पन्न हुन लामो समय लाग्ने गरेको पाइन्छ। सडकमा लगानी राम्ररी बढाउन अहिले भइरहेकामध्ये एक चोथाइ मात्रै आयोजनालाई निरन्तरता दिनुपर्छ। उनले भने, 'जनताको सडकको माग धेरै भएकाले त्यो हुन सक्दैन।'

आयोजनामा असोज मसान्तसम्ममा भौतिक प्रगति ५८ दशमलव ३५ प्रतिशत र वित्तीय प्रगति ६३ दशमलव ८५ प्रतिशत छ। आयोजनामा यस वर्ष विनियोजित बजेटमध्ये छ दशमलव २८ प्रतिशत खर्च भएको छ। असोज मसान्तसम्ममा नै यो वर्षको लक्ष्यअनुसार आठ दशमलव ४३ प्रतिशत भौतिक प्रगति रहेको आयोजनाले जनाएको छ। 

राजमार्गमा जम्मा १३७ पुल निर्माण गर्नुपर्नेमा हालसम्म ९० पुल सम्पन्न भइसकेका छन्। हाल २० पुल निर्माणाधीन रहको र २७ वटाको ठेक्का व्यवस्थापन बाँकी रहेको छ। चालू आवमा भैँसे, छिप्पे, सिती र रुडी खोलामा पुलका लागि ठेक्का व्यवस्थापनको क्रममा रहेको छ। 

राजमार्गमा आयोजनाबाट ६६५ किमी र अरु आयोजनाबाट ४६२ किमी गरी जम्मा एक हजार १२७ किमी सडक कालोपत्र सम्पन्न भएको छ। त्यस्तै ५१६ किमी कालोपत्र सडक र २८ किमी ग्राभेल सडक निर्माणधीन रहेको छ। हाल २३६ किमी सडक स्तरोन्नति (कालोपत्र) गर्नका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहकेको बताइएको छ। 

असोज मसान्तसम्ममा थप १४ किमीमा कालोपत्र सम्पन्न भएको छ। राजमार्गमा भर्याग्भुरुङग १२ किमी, सेलेघाट ११ किमी र सुन्दरबजार आठ किमी गरी ३१ किमीमा ठेक्का व्यवस्थापनको क्रममा रहेको छ।

आयोजनाअन्तर्गत पाँचथर, काभ्रेपलाञ्चोक, गोरखा, पर्वत र दैलेख गरी पाँच योजना कार्यालय रहेका छन्। पूर्वपश्चिम राजमार्गको विकल्पका रुपमा रहेको सो राजमार्गको सुरु विन्दु पाँचथर जिल्लाको चियोभञ्ज्याङ र अन्तिम विन्दु बैतडीको झुलाघाट रहेको छ।

मध्यपहाडका २६ जिल्लालाई जोड्ने राजमार्गले विभिन्न स्थानमा नयाँ सहर निर्माण गर्नेछ । सो आयोजना आव २०६४/६५ मा सुरु भएको थियो । निर्माण सुरु हुँदा आव २०७३/७४ मा सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना हाल आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आयोजनाको सुरु लागत ३३ अर्ब ३६ करोड रहेकामा हालको संशोधित लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ।

राजमार्गको अझैसम्म पनि सीमा (राइट अफ वो) निर्धारण हुन बाँकी छ। हाल राजमार्ग दुई लेनमा निर्माण भइरहेको छ। राष्ट्रिय राजमार्ग भएकाले सडकको मध्य भागबाट २५/२५ मिटर भनिए पनि स्थानीयवासीले त्यो कम गर्नुपर्ने बताउँदै आएका छन्। रासस


प्रकाशित : बुधबार, कात्तिक १० २०७८१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend