काठमाडौं- स्लोभाकिया पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
ललितपुरको नख्खीपोट बस्ने पाँचथरका ४६ वर्षीय एकराज नेम्बाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
स्लोभाकियाको कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिने र मासिक २ लाख रूपैयाँभन्दा बढी तलब हुने भन्दै उनले प्रलाेभन देखाएका थिए। त्यहाँ जानका लागि १५ लाख लाग्ने उनले बताएका थिए।
पीडितले रकम १२ लाख बुझाएपछि फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।