बझाङ- सुदूरपश्चिम पछिल्लो समय 'सुन्दर पश्चिम'का नामले परिचित छ। यो नाममा तीनैलाई विश्वास छ, जसले आफ्नै आँखाले सुदूरपश्चिमको सुन्दरता नियालेका छन्। पछिल्लो समय सुदूरपश्चिमका गन्तव्यहरू एकपछि अर्काे गर्दै घुमन्तेहरूका आकर्षण बन्दै गएका छन्। सुन्दर भूगोल, जनजीवन, जैविक विविधता र कलासंस्कृतिले सुदूरपश्चिम पुग्नेहरूको मनमा मधुर सम्झनाको अमिट छाप छोड्ने गरेको छ।
पछिल्लो समय नयाँ वर्ष, दसैँतिहारजस्ता बिदाका अवसर पारेर घुमघाम गर्ने चलन बढ्दै गएको छ। जसका लागि सुदूरपश्चिममा यस्ता सुन्दर गन्तव्यहरू स्वागत गर्न तम्तयार छन्।
साइपाल हिमाल बेसक्याम्प
बझाङमा रहेको साइपाल हिमाल (७०३१ मि) हालसम्म कसैले पनि आरोहण गर्न नसकेको सुदूरको मुख्य हिमालमध्ये एक हो। यद्यपी यहाँको आधार शिविरसम्मको पदयात्रा भने अहिले धेरैको आकर्षणको केन्द्र बनिरहेको छ।
सबै मौसममा यहाँ पदयात्री आउने गरेको भए पनि बैशाखदेखि असोजसम्म आउँदा यहाँको प्रकृतिले फरक तरिकाले आगन्तुकको स्वागत गर्दछ। मार्गमा रहेका झरनाहरू, तालतलैया तथा नदीनालाहरू, रंगिविरंगी फूलले ढाकेका पाटनहरू र भौगोलिक तथा जैविक विविधताको अनुपम संयोजनले यो क्षेत्र पदयात्रीका लागिसमेत नौलो अनुभव दिलाउने खालको छ।
बझाङ सदरमुकाम चैनपुरबाट ३० किलोमिटर जिपको यात्रापछि लतीनदेखि चार दिनसम्मको पैदलयात्रामा साइपाल हिमालको आधार शिविरसम्म पुग्न सकिन्छ। समुुन्द्र सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको आधार शिविरबाट आँखै अगाडि साइपाल हिमाल र यो श्रृङ्खलामा रहेका दर्जनौँ साना चुचुराहरूको दर्शन पाइन्छ। उचाइका हिसाबले पनि धेरै नभएको र बाटो पनि निकै सजिलो भएको साइपाल बेसक्याम्प अहिले धेरैको रोजाइ बनेको छ।
सदरमुकाम चैनपुरदेखि साइपाल हिमालको आधार शिविरसम्म पुग्ने बाटोमा पाइने विभिन्न दर्शनीय ठाउँ र गन्तव्यहरू छन्। जिल्लाकै आर्कषक झरना मध्येको एक ढाँकी छडा झरना पनि यही बाटोमा पर्दछ। यसबाहेक किनाडा झरना, दोतले झरना, औलागाड झरना पनि यो पदयात्रा मार्गका आकर्षण हुन्।
डाँफे, मुनाल जस्ता चराचुरुङ्गी तथा नाउर र झारलका बथानहरूको प्रत्यक्ष अवलोकन गर्ने मौका यो बाटो हिँड्नेले सजिलै पाउने गरेको यस क्षेत्रका बासिन्दाहरू बताउँछन्। हिमाली क्षेत्रमा पाइने विभिन्न खालका जडिबुटी र वनस्पतिहरूले पनि यो यात्रालाई थप रोमाञ्चक बनाउँछन्।
सुर्मा सरोवर
एक डेढ किलोमिटरभन्दा छोटो दुरीमा हिमाल र जंगल। समुन्द्र सतहभन्दा ४ हजार मिटर माथिको उचाइमा पनि हजारौँ प्रजातिका बोट, विरुवा जडिबुटी फूलहरू। सयौँ प्रजातीका जीवजन्तु र चराचुरुङ्गी। हिमालै हिमालले वेष्ठित उपत्यकामा र बहुरंगी फूलहरूले शोभायमान पाटनहरूको अद्भूत विशालता। बान्कीयुक्त थुम्का, पहाड र पाटनहरू। हिमालको गर्भबाट छङछङ गर्दै ओरालो झर्दै गरेका स्वेत र निलवर्ण खोला र झरनाको मधुर संगीत। सुर्माको यो मायावी स्वरुपमा बशिभूत नहुने घुमन्ते को होला?
हजारौँ प्रजातिका फूलहरूले सुसज्जित यहाँका पाटनहरूमा भुइँ फूलको सुगन्धी हावा छातीमा भर्दै दम्स्याइलो उकालो चढ्दै गर्दा प्रकृतिको विराटतामा आफू हराएको पत्तै हुँदैन। यहाँ के पाइँदैन? जटिल रोगहरूको निर्मूल पार्न सक्ने क्षमता भएका यार्सागुम्बा, वन लसुन, पाँचऔँले लगायत सयौँथरी बहुमूल्य जडीबुटी पाइन्छ।
बझाङ सदरमुकाम चैनपुरवाट दुईघण्टा धुले सडकमा गाडीको यात्रापछि सुर्माको पैदल यात्रा सुरु हुन्छ। एक डेढ दिनको हिँडाइमा सुर्मा क्षेत्रमा पुगिने भए पनि यहाँको पूर्ण दर्शनका लागि भने हप्ता दिन छुट्याउँदा राम्रो हुन्छ।
एक दिनको पैदल यात्रा पछि पार्थी पाटन पुगिन्छ। चारैतिर देखिने मनोरम हिमशृङ्खलाहरू र फराकिला हरिया पाटनहरूको दृश्यसँगको पहिलो साक्षात्कार यहीँबाट सुरु हुन्छन्। पार्थीबाट पाटनै पाटन दुईघण्टा हिँडेपछि धानसेरा पुगिन्छ। किंवदन्तीअनुसार यो सुर्मा देवीले धान रोप्ने ठाउँ हो। धानसेरामा ठ्याक्कै धान रोपेजस्तै देखिने खेतहरू, धानका बोटहरू र रोपाइँ गरेर छोडेजस्ता फाँटहरू देखिन्छन्। पाटा-पाटा परेका हरिया गराहरू र पृष्ठभूमिमा देखिने ब्याँसीमारे हिमालको प्रतिबिम्ब अलौकिक दृश्य हेर्न भने मौसमले साथ दिन पर्छ। नजिकैको जंगलमा डाँफे, कस्तुरीलगायत पशुपक्षी भेटिने गर्छन्।
यहाँबाट गाइसेरा पुग्न तीन घण्टा लाग्छ। ठूलो रंगशाला जत्रो चौर। बीचमा विचित्रका नागबेली अर्धभूमिगत भइ बगेका कुलेसो। सामुन्नेमा उभिएको विशाल गाईसेरा हिमाल। वरिपरि फूलेका फूलहरूको मनोहर दृश्य यहाँ देख्न पाइन्छ। ४ हजार मिटरको उचाइमा तातोपानीको खोलामा नुहाउने सौभाग्य यस यात्राका दौरान मिल्छ।
डाँडामाथि हिउँले ढाकिएको हिमाल ठडिएको छ। तल फेदमा तातोपानीको खोला बगेको छ। बडो गज्जबको विरोधाभासपूर्ण लाग्ने प्रकृतिको चरित्र यहाँ देखिन्छ। तातोपानीमा स्नान गरेर पाँच घण्टाजति हिँडेपछि पुगिन्छ। सुर्मा सरोवर। यो सुदूरपश्चिमको प्रसिद्ध तिर्थस्थल पनि हो। यो तालको गहिराइ र क्षेत्रफलबारे आधिकारिक तथ्यांक छैन। हिमालको फेदमा रहेको यो ताल ४ हजार ३ सय ३३ मिटरको उचाइ अवस्थित छ। वरिपरि हिमशृंखलाहरूले झन् सुन्दरता थपेका छन्।
सूर्याेदयको पहिलो किरण पर्दा सुनखानी हिमालमा लालिमा पोतिन्छ। चाँदेशिखर चाँदी झै टल्किन्छ। त्यतिबेलाको दृश्य अलौकिक लाग्छ। हिमालबाट परावर्तन हुने चहकले तलतिरका हरिया, फराकिला, रंगीन फाँटहरूको भूदृश्यले कसको मनमुटुलाई घायल नपार्ला र? यो श्रृंखलामा दर्जनौँ साना ठूला हिमाल रहेका छन्। जसको उचाइ ५ हजार ८ सयदेखि ६ हजार ७ सयसम्म छन्। स्थानीयहरू यहाँ चाँदी र सुनको खानी रहेको विश्वास गर्छन्।
कैलालीका चार गन्तव्य
नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे पुल, कर्णाली नदीको अवलोकन स्वादिष्ट माछा स्वाद त धेरैले चाखिसक्नु भएको हुनसक्छ। तर यहाँ आउदा तपाईंले घुम्नै पर्ने केही ठाउँ छुटेका पनि हुन सक्छन्। जसमध्येको एउटा हो, राजकाँडा। कैलालीको लम्कीदेखि करिब १६ किलोमिटर उत्तरतर्फ मोहन्याल गाउँपालिकामा राजकाँडामा सूर्योदयको दृश्य नजिकैबाट देख्न सकिन्छ। यहाँ पुग्दा तराईको गर्मी छल्न पनि सहज हुनेछ।
लम्कीबाटै छुटिन्छ टीकापुर पुग्ने बाटो, जहाँ स्वागत गरिरहेको छ टीकापुर पार्कले। तत्कालीन राजा महेन्द्रले गृष्मकालीन विहारको लागि बनाएको यो पार्क स्वीट्जरल्याण्डको लक्साल सहरको नक्साअनुरुप तयार गरिएको छ। करिब ५ बिघा क्षेत्रमा फैलिएको यो पार्कभित्र ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवा पाइन्छन्।
टीकापुरबाट केही घण्टामै घोडाघोडी ताल पुग्न सकिन्छ। कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी ताल विश्व रामसार सूचीमा पनि सूचीकृत छ। यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ। हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन्। जैविक विविधताको अनुपम संग्राहलय मानिने करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धानलगायत यहाँ पाइन्छन्।
कैलालीमा नै राणाकालीन गर्वा दरबार छ। यो सुदूरपश्चिममै एक मात्र राणाकालीन दरबार हो। कैलाली जिल्लाको चुरे गाउँपालिकाको खैरालामा पर्ने यो दरबार पुग्न महेन्द्र राजमार्गमा पर्ने चौमालाबाट १८ किलोमिटर उत्तरतर्फ लाग्नु पर्छ।
कैलाली जिल्लाका कोइलाही कोइलहुवा ताल, जोगनिया ताल, महादेवा ताल, जाखौर ताल पनि घुम्नलायक ठाउँ हुन्। रैथाने स्वाद संस्कृतिको आनन्द लिनका लागि एक साँझ भादा होमस्टेमा बिताउन भने नभुल्नू होला।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
सुदूरपश्चिम भ्रमण गर्दै हुनु हुन्छ भने छुटाउनै नहुने अर्काे गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा पनि हो। यहाँ कृष्णसार र बाह्रसिंगेका बथान र अन्य जीव-जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ। जंगल सफारी, हात्ती सफारी र जंगल वाकको मजा लिन पनि यो गन्तव्य उपयुक्त छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ। जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन्। ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल र बाबाताल र यहाँको सुन्दर प्रकृतिले आल्हादित बनाउने छ।
कञ्चनपुरमा केही दिन थप बिताउने हो भने बेतकोट नगरपालिकामा रहेको लिंगा पनि पुग्न सकिन्छ। दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ शिवलिंगको स्वरुपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो।
बेतकोट ताल, दोधारा चाँदनीको पुल झिलमिला ताल पनि यहाँका मुख्य गन्तव्य हुन्।
हिमालदेखि वीरताको इतिहास हेर्न डडेल्धुरा
धनगढीबाट १ सय २८ किलोमिटर उकालो लागेपछि पुगिन्छ, डडेल्धुरा। साइपाल, अपि, जेठिबहुरानी लगायत हिमश्रृङखलाको अवलोकन गर्न र तराइको गर्मी छल्न यो गन्तव्य उपयुक्त हुन सक्छ। यहाँ प्रकृतिको सुन्दरतासँगै ऐतिहासिक महत्त्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ। डडेल्धुराका प्रसिद्ध मन्दिरहरूमा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान् परशुरामको मन्दिर हुन्।
डडेल्धुरा पुग्नु भयो भने यहाँ रहेको ऐतिहासिक अमरगढी किल्ला हेर्न नछुटाउनु होला। ब्रिटिस नेपाल युद्धताका निर्मित यो किल्ला पुर्खाको वीरताको निसानी हो। अमरसिं थापाले बनाएको यो किल्लाबाट डडेल्धुरा जिल्लाको मनोरम भुदृश्यवलोकन पनि गर्न सकिन्छ। यो किल्ला ६५०० फिटको उचाइमा छ।
डडेल्धुराको अजयमेरू गाउँपालिकामा रहेको अजयमेरूकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ।
यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ। यहाँको आलीताल गाउँपालिकामा पर्ने आलीताल र परशुराम नगरपालिकामा पर्ने पशुराम धाम पनि आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएका सुन्दर ठाउँहरू हुन्। जहाँ धार्मिक महत्त्वका साथसाथै प्रकृतिको सुन्दर रूप पनि देख्न सकिन्छ।
देवभूमि डोटी
डडेल्धुराबाट ६० किलोमिटरमा उत्तरतर्फ पर्ने डोटीमा घुम्नलायक ठाउँहरू धेरै छन्। जगदम्बा शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङाल गुफा पनि भनिन्छ।
शैलेश्वरी माताको मन्दिर डोटी जिल्लाअन्तर्गत सिलगढीमा अवस्थित छ। यो मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थलको रूपमा रहेको छ। यहाँ हरेक वर्ष जेठ र कात्तिक पूर्णिमाका दिन लक्षबहन महायज्ञ प्राचीनकालदेखि हुँदै आएको छ। यहाँ पनि धार्मिक आस्था बोकेका र प्रकृतिको सुन्दरताको आनन्द लिन आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।
मन्दिरको जिल्ला बैतडी
डडेल्धुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ। यहाँ रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङलाशैनी, मेलौली र डिलाशैनी, भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन्।
यसमा पनि जिल्लाको तल्लो स्वराड अन्तरगत पर्ने महाकाली नदी र सुर्नया नदीको मध्यमा एउटा दीपाकारजस्तै बनेको अति सुन्दर मैदानमा अवस्थित प्रसिद्ध मेलौलीको मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ।
यो प्राकृतिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक तथा हरेक दृष्टिकोणबाट उल्लेखनीय छ। मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोश टाढा अर्थात् एक दिनको पैदल दुरीमा पर्छ। यहाँको हावापानी बाह्रै महिना समशितोष्ण रहन्छ। यहाँ बाह्रै महिना आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्छ।
खप्तड
पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने क्षेत्र हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ।
सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मंसिरसम्मको समय उपयुक्त मानिन्छ। हिउँ खेल्न रुची छ भने पुस माघ तिर उपयुक्त हुन्छ। यहाँ पुग्नका लागि चारै जिल्लाबाट बाटो छ। यद्यपी बझाङको थलारा खप्तडछान्ना भएर जाने बाटो अन्य भन्दा छोटो छ।
अपि हिमाल बेसक्याम्प
सुदूरपश्चिमको उच्च हिमाली चुचुरामध्ये पर्छ, दार्चुलाको अपी हिमाल। उचाइ ७ हजार १३२ मिटर उचाइको यो हिमाल अपि गाउँपालिकामा नै पर्छ। सन् १८९९ मा पहिचानमा आई सन् १९६० मा पहिलो पटक आरोहण गरिएको अपी हिमालसम्म पुग्न दार्चुला सदरमुकामबाट ३ वटा रुट छन्। अपी हिमालसँगै ६ हजार ८५० मिटर अग्लो अर्को कापाचुली हिमाल अपी बेस क्याम्पबाट आधा घण्टामा सजिलै पुग्न सकिन्छ।
त्यसैगरी ५ हजार ३६८ मिटर अग्लो ठाडाढुंगा हिमाल पनि उत्तिकै रमणीय र आरोहणका दृष्टिकोणबाट उपयुक्त रहेको छ। सबैभन्दा छोटो रुट दार्चुला सदरमुकाम खलंगाबाट हुती, सुन्सेरा, राप्ला हुँदै व्यास भएर अपी हिमालसम्म पुग्न सकिन्छ।
पर्याप्त दृश्यावलोकन र रमणीय प्रकृतिसँगै यस रुटबाट अपी बेस क्याम्पसम्म पुग्न सकिन्छ। गोकुलेश्वरबाट बढीमा ४ दिन पैदल यात्रापछि अपी हिमाल बेस क्याम्पसम्म पुग्न सकिन्छ।
अपी नाम्पा संरक्षण क्षेत्रभित्र अपी हिमालबाहेक ६ हजार ७५७ मिटर उचाइमा रहेका नाम्पा हिमाल, ६ हजार ८५० मिटर रहेको कापाचुली हिमाल, व्यास हिमाललगायतका उच्च हिमश्रृखलाको दर्शन गर्न पाइन्छ। यस पदमार्गमा पर्ने मकरीकोट जाने जम्मा ८ हजार २४२ खुट्किलासहितको पदमार्गको यात्रा पनि तपाईंका लागि रोचक हुन सक्छ।
बाइसे र चौबिसे राज्य व्यवस्था रहेका बेला जातर सिंह (राजा)ले सिद्धमकरीमा कोट बनाएर राज्य चलाएका थिए। उक्त कोटलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र हिमाल आरोहीलाई सजिलो होस् भनेर गाउँपालिकाले उक्त खुट्किलासहितको पदमार्ग बनाएको हो। दार्चुलामै केही दिन बिताउने सोच्नु भएको छ भने सिद्धटोपी, मालिकार्जुन लगायतका ठाउँ घुमेर भरपुर आनन्द उठाउन सकिन्छ।
पर्यटक भित्र्याउन पूर्वाधार आवश्यक
यीबाहेक सुदूरपश्चिममा अन्य थुप्रै गन्तव्यहरू पनि छन् जुन अहिलेसम्म पनि प्रचार र पहुँचमा आउन सकेका छैनन्। उसो त चिनिएका गन्तव्यहरूमा पनि पूर्वाधारको अभावका कारण पर्यटकहरूको आगमन कमै छ।
पर्यटकीय स्थलको प्रचार प्रसारका लागि उल्लेख्य प्रयास नभएकै कारण विदेशी पर्यटकको रोजाइमा सुदूरपश्चिम पर्न नसकेको हो। यदि प्रदेशमा बाह्य पर्यटकहरू टीकाउने हो भने प्रदेश सरकारले पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू ल्याउनुपर्ने, प्रदेशका पर्यटकीय स्थलहरूको प्रचारप्रसार र पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने यस क्षेत्रका पर्यटनकर्मीहरू बताउँछन्।
बाटोको असुविधा, बसोबासको उचित व्यवस्था नहुँदा र यहाँका पर्यटकीय स्थलहरूको पहिचान नहुँदा कहाँ घुम्ने भन्ने अन्योलता हुने गरेकोले सरकारले पर्यटकीय पूर्वाधारमा लगानी बढाउन सके सुदूरपश्चिमको पर्यटनले देशकै अर्थतन्त्रलाई टेवा दिन सक्ने पर्यटन बोर्डका पूर्व सदस्यसमेत रहेका अग्रणी पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्।
(पत्रकार वसन्तप्रताप सिंह कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध छन्।)