काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन्। नेपालको समग्र अर्थतन्त्रलाई विश्लेषण गर्ने हो भने आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्री महतले बताए।
उनका अनुसार अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ सरकार केन्द्रित छ। ‘हामी सबैमा कमीकमजोरी छ। त्यसलाई सुधार गरेर अघि बढ्नुपर्छ। ऋण तिर्दिनँ भन्नु गलत हो’, अर्थमन्त्री महतले भने।
उनले अर्थतन्त्र सुधारको लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताएका छन्। उनले भने, ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ। केही अप्ठ्यारोहरु सिर्जना भएका छन्। सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएका छौँ। समग्रमा निराश हुनुपर्ने कारण छैन।'
बाह्य सञ्चिति, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले गर्दा आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए। 'यो परिवेशमा पनि ७ अंकभन्दा माथि आर्थिक वृद्धि छ। अन्तर्राष्ट्रिय परिस्थितिको आर्थिक विकास र रुपान्तरणको समस्या छ । उद्योग व्यवसायमा लगानीको समस्या छ', उनले भने, 'ती समस्यालाई हल गरेर एउटा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न हामी सक्षम छौँ भन्ने मलाई विश्वास छ।'
अल्पकालीन र दीर्घकालीन समस्याको कुरा आएको भन्दै उनले सरकारले पनि त्यही रुपमा सोच बनाइरहेको बताए। 'अल्पीकालन समस्यामा हाम्रो ध्यान आन्तरिक खर्चमा केन्द्रित हुनेछ। साधारण खर्चमा हामी अनावश्यक खर्चलाई निर्ममतापूर्वक हटाउने छौँ', उनले भने, 'साधारण खर्चभित्र तलबभत्ता मात्र छैन, सामाजिक दायित्वका कुरा छन्। शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकताका कुरामा लगानीको कुरा छ। यी कुरा हटाउन सक्दैनौँ।'
साधारण खर्चलाई हामी हदैसम्म कम गरेर समयमै खर्च गर्ने पद्धति अगाडि बढाएर राज्यको सेवा प्रवाह प्रभावकारी ढंगको बनाइने पनि उनले बताए। 'सरकारभन्दा पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छ। सरकारले मध्यस्थको भूमिका निर्वाह गर्छ, कानूनी अप्ठ्यारालाई हटाउने, प्रतिस्पर्धी वातावरण सुनिश्चित गर्ने, वैदेशिक लगानी सहज बनाउने, प्रशासनिक झन्झ्ट हटाउने सरकार तयार छ', अर्थमन्त्री महतले भने।