बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
images
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै बन्धक

मन्तोरिया रायले अस्पताललाई उपचारबापतको ६ लाख ६९ हजार तिर्न बाँकी छ।

images
images

धनुषा- मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ की मन्तोरिया राय उपचारबापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन्।

images
images
images

गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो। 

उपचार भएपछि उनलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने निर्णय गरेको थियो। तर अस्पतालमा उपचारबापतको खर्च तिर्न नसक्दा मन्तोरिया घर जान सकेकी छैनन्। उनी अस्पतामै तीन छोराछोरीसहित बन्धक छिन्।

images

उनले अस्पताललाई उपचारबापतको ६ लाख ६९ हजार तिर्न बाँकी छ। सो रकम तिर्न नसक्दा मन्तोरिया अस्पतालबाट घर फर्कन नपाएकी हुन्। उहाँसँगै वृद्ध ससुरा पनि अस्पतालमै छन्। 
 
'हमरा सभके खाइला नै पुगै है, अतेक रुपैयाँ तिरक घर केना जेबै, हमर बालबच्चाके केना पलेतै हौँ (हामीलाई खानै पुग्दैन। यति पैसा कहाँबाट तिरेर घर जानु, मेरो बालबच्चाको लालनपालन कसरी हुन्छ?)', मन्तोरिया रायले रुँदै भनिन्।

images

कान्छो छोराको बालपोषण भत्ता लिन गत माघ १२ गते मन्तोरिया सबैला बजारको एक बैंकमा खाता खोल्न गएकी थिइन्। बैंकमा खाता खोलेर पैदल फर्किरहेका बेला सत्तोखर गोविन्दपुर सडकखण्डमा बा६१प ६६३३ नंको मोटरसाइकलले उनलाई ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलको ठक्करबाट सडकमा लड्नुभएकी मन्तोरियालाई मोटरसाइकलले ४०-५० मिटर परसम्म घिसारेको थियो। यसरी सडकमा घिसारिएपछि उनको शरिरको विभिन्न भागमा चोट लाग्यो।

मोटरसाइकल धनुषाकै सहिदनगर नगरपालिका-१ बेमर्खी टोलका २५ वर्षीय दीपककुमार रायले चलाएका थिए । सोही ठाउँका ३५ वर्षीय गजेन्द्र यादव पछाडि सवार थिए। चालक राय तत्कालै समातिए। पछाडि बसेका यादव भने अहिलेसम्म फरार छन्। चालक रायको घरपरिवारको अवस्था दयनीय छ। उनी मन्तोरियालाई भेट्न अस्पतालसमेत आएनन्। दुर्घटनापश्चात मन्तोरियाका ससुरा रामप्रसादले प्रहरीमा मोटरसाइकलका चालक राय र पछाडि सवार यादवमाथि किटानी जाहेरी दर्ता गराएका थिए।

अंगभंग मुद्दामा चालक राय हाल जिल्ला अदालत धनुषाको आदेशमा सिन्धुली कारागारको थुनामा छन्। मन्तोरियाको परिवारले जसोतसो ऋण काढेर र समाजबाट चन्दा उठाएर पाएको झन्डै १० लाख रूपैयाँ अस्पताललाई तिरेको छ। तर बाँकी पैसो तिर्न उनीसित कुनै उपाय छैन। मन्तोरिया आफूलाई घर फर्किने वातावरण बनाइदिन हारगुहार गर्दै आएकी छन्। 

सुरुमा दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो। मधेस  स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको प्रादेशिक अस्पतालले यसरी नै गम्भीर प्रकृतिका बिरामी घाइतेलाई उपचार नगरी निजीमा सिफारिस गर्ने गरेका छन्।

अहिले ३० वर्षीया मन्तोरियासँगै दुई छोरा र एक छोरी पनि आमासँगै घर जाने दिनको प्रतीक्षामा छन्। मन्तोरियाको सम्पत्तिका नाममा केवल दुई धुर घडेरीमा छाप्रो छ। उनीसँगै आठ वर्षीया छोरी वर्षा, पाँच वर्षीय छोरा महेश्वर, तीन वर्षीय उमेश र ७१ वर्षीय ससुरा रामप्रसाद अस्पतालमामै बस्न बाध्य छन्। रामप्रसादले जसोतसो बुहारीको हेरचाह गरेका छन्, तीन नाति-नातिना सम्हालेका छ्न्। 

मन्तोरियाका पति रामबहादुर राय वैदेशिक रोजगारीका सिलसिलामा कतारमा छन्। गत कात्तिकमा रामबहादुर कतार गएदेखि मन्तोरियाले घर सम्हाल्दै थिइन् तर, दुर्घटनामा परेदेखि सारा परिवार नै नराम्ररी बिथोलिएको छ। पति रामबहादुरको पनि कमाइ छैन। उनी गएको कम्पनी बन्द भएर घर फर्किने अवस्था आएको मन्तोरियाले सुनाइन्।

अस्पतालका व्यवस्थापक सञ्जय मण्डलले मन्तोरिया अस्पताल भर्ना हुँदा बाँच्ने सम्भावना निकै कम भए पनि अस्पतालको समुचित रेखदेख र उपचारले उनलाई बचाएको बताए। मण्डलका अनुसार मन्तोरियाको पेटमा तीनवटा शल्यक्रिया भएको छ। केही भाग आन्द्रा काटेर हटाइएको छ। दुवै खुट्टाको घुँडादेखि पैतालाको बीचको भागको हाँड भाँच्चिएकाले शल्यक्रिया गरी दुवैमा स्टिल जडान गरिएको छ। दायाँ हात पनि भाँच्चिएको थियो।

अस्पतालका व्यवस्थापक मण्डलले भने, 'जुन अवस्थामा मन्तोरिया भर्ना हुनुभो। बाँच्ने अवस्था न्यून थियो । तर हामीले भरपुर प्रयास गरेर सबै शल्यक्रिया सफल पार्‍यौँ । दुई महिनापछि उहाँ अलिअलि हिँड्ने, बोल्ने अवस्थामा आउनुभएको छ। ठक्कर दिने र घरपरिवारले उपचार खर्च तिर्न नसक्दा उनको उपचारमा अस्पताल नराम्ररी फसेको छ।'

मन्तोरिया देवीको विषयमा थाहा पाएर सबैला नगरपालिकाका प्रमुख कारीराम यादव सोमबार अस्पताल पुगेर अवस्था बुझेका छन्। उनले दुई दिनभित्र मन्तोरियालाई अस्पतालबाट मुक्त गराएर लग्ने आश्वासनसमेत दिएका छन्। नगरप्रमुख यादवले भने, 'यस विषयमा सबैला कार्यपालिकाको बैठक राखेर छलफल गर्छौँ, उपचार खर्चबारे के गर्न सकिन्छ उचित निर्णय गर्छौँ। यो घटनालाई गम्भीरतापूर्वक लिएका छौँ।'

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रशासकीय अधिकृत किरण मिश्रको नेतृत्वमा टोली सोमबार मन्तोरिया बन्धक भएको घटनाबारे बुझ्न अस्पताल पुगेको थियो। टोलीले अस्पतालको अनुगमनसमेत गरेको छ। रासस 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०७:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend