काठमाडौं- अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाले अमेरिका बाहिर आफ्नो पहिलो कार उत्पादन प्लान्ट चीनमा खोलेको थियो। बेइजिङले टेस्लालाई रातो कार्पेटसहित स्वागत गरेको थियो। चीनमा विद्युतीय कारको प्रयोग बढ्दै गएको र त्यहीँ लिथियम आयन ब्याट्रीको सबैभन्दा बढी उत्पादन हुने भएकाले पनि टेस्ला आकर्षित भएको थियो।
टेस्लाले चीनको सांघाईमा अर्बौं डलर लगानी गरेर कार उत्पादन गरी बिक्री गर्दासम्म अमेरिकाले खासै चासो देखाएको थिएन। तर जब आइतबार टेस्लाले चीनको सांघाईमै ब्याट्री उत्पादन प्लान्ट खोल्ने निर्णय गर्यो त्यसलगत्तै अमेरिकी अधिकारीहरुले यसमा गम्भीर चासो देखाएका छन्।
टेस्लाको उक्त घोषणालगत्तै चीनमा रहेका अमेरिकी अधिकारीले विद्युतीय कार उत्पादक टेस्ला इंक चीनप्रति निर्भर हुन खोजेको देखिएको बताएका छन्। टेस्लाले सांघाईमा मेगाप्याक ब्याट्री फ्याक्ट्री खोल्ने योजना रहेको बताएको थियो। टेस्लाले ब्याट्री प्लान्ट खोल्ने घोषणा ट्वीटरमार्फत आइतबार गरेको थियो।
चीनको सरकारी समाचार संस्थाका अनुसार टेस्लाले सांघाईमा बन्ने प्लान्टबाट सुरुवाती चरणमा वार्षिक १० मेगाप्याक युनिक ब्याट्री उत्पादन गर्नेछ। यो भनेको करिब ४० गिगावाट आवर ऊर्जा क्षमता हो। यो क्षमता हाल सांघाईमा हाल उत्पादन भइरहेको क्षमतामा ठूलो विस्तार हुनेछ।
टेस्लाका सीईओ एलन मस्कले टेस्लालाई अमेरिका सरकारले गरेको सहयोग र उसको चिनियाँ विस्तारलाई कसरी सन्तुलन मिलाउँछन् भन्ने बुझ्न चाहेको अमेरिकी प्रतिनिधि माइक गालागेरले बताएका छन्। रोयटर्सले यसबारे राखेको जिज्ञासामा उनले भनेका छन्, ‘यसबारे मेरो चासो छ।’
अमेरिका सरकारले टेस्लालाई दिएको सहुलियत र चिनियाँ बजारमा गरिरहेको विस्तारबारे स्पष्ट नभएको गालागेरले बताएका छन्। टेस्लाको कदमले ऊ अमेरिकाभन्दा चीनप्रति निर्भर हुने लागेको जस्तो देखिएको उनको भनाइ छ।
‘यो विषयलाई सीईओ मस्कले कसरी सन्तुलन गर्छन् भन्ने विषय मलाई निक्कै चाख लागेको छ,’ गालागेर भने।
टेस्लाले भने गालागेरको भनाइप्रति कुनै प्रतिक्रिया दिएको छैन। यता मस्कले भने ट्वीटरमै उनको आलोचना गर्दै टेस्लालो अमेरिकाको टेक्सस, क्यालिफोर्निया र नभाडामा उत्पादन बढाउँदै गएको लेखेका छन्।
सांघाई प्लान्टबाट टेस्लाले २०२२ मा विश्वभरका कार उत्पादकले गरेको विद्युतीय कार उत्पादनको करिब आधा त्यहीँबाट उत्पादन भएको थियो। त्यस्तै टेस्लाले २०२२ मै चीनबाट १८ अर्ब १५ करोड डलर आम्दानी गरेको थियो। यो टेस्लाको कुल आम्दानीको पाँच भागको एक भाग हो।
अमेरिका र चीनबीच तनाव बढ्न थाल्दै गार्द टेस्लाको मेगाप्याक ब्याट्री प्लान्ट खोल्ने घोषणाले टेस्लालाई नै प्रभाव पर्न सक्ने अनुमान गरिएको छ। बेइजिङका लागि भने कोरोनापछिको अर्थतन्त्र सुधारका लागि टेस्लाको उक्त घोषणाले सहयोग नै पुर्याउने छ।
गालागेरले गएको साता क्यालिफोर्निया पुगेर प्रविधि तथा मनोरञ्जन कम्पनीहरु एप्पल, अल्फाबेट, गुगल तथा डिजनीका प्रतिनिधिलाई भेटेका थिए। उक्त भेटमा उनले उनीहरुको चिनियाँ व्यापार विस्तारका बारेमा सोधीखोजी गरेका थिए। यी सबै कुराले टेस्लाको आक्रामक चिनियाँ बजारमा विस्तारको योजनामा प्रभाव पार्ने देखिएको छ।
चीन टेस्लाका लागि राम्रो बजार हो। टेस्लाले चीनमा उत्पादित कार चीनसहित युरोप तथा एसियाली बजारमा बिक्री गर्दै आएको छ। टेस्लाको कार उत्पादन लागत अमेरिकामा भन्दा चीनमा करिब आधार सस्तो रहेको कम्पनीले बताएको छ। त्यसैले पनि टेस्ला सीईओ मस्क चीनमा उत्पादन प्लान्ट विस्तारमा केन्द्रित रहेको छ।
टेस्लाले २०३० सम्म वार्षिक २ करोड कार उत्पादन गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। त्यसका लागि पनि उसले आफ्नो उत्पादन दायर रकेट कतिमा बढाउनुपर्ने छ।
टेस्लाले पछिल्लो पटक मेक्सिकोमा प्लान्ट स्थापना गर्ने घोषणा गरेको थियो।