कर्णाली- भौगोलिक रुपमा कर्णाली प्रदेश नेपालको सबैभन्दा ठूलो प्रदेश हो। भूगोलमा ठूलो भए पनि यहाँको जनसंख्या भने सबैभन्दा सानो छ। विकास निर्माण र आर्थिक क्रियाकलापमा पनि अन्य प्रदेशको तुलनामा निकै पछाडि छ।
न यहाँ ठूला व्यापारिक केन्द्र नै छन् न औद्योगिक क्षेत्र नै। सोही कारण पनि यहाँ रोजगारीका लागि कि त सरकारी सेवा, कि विदेश यात्राबाहेक अन्य विकल्प छैन। भौगोलिक क्षेत्र ठूलो भए पनि अधिकांश जिल्लाहरू उच्च पहाड र हिमाली क्षेत्रमा अवस्थित रहेकाले उत्पादन पनि त्यति हुँदैन।
मागभन्दा केहीमात्र धेरै उत्पादन हुने भए पनि वितरण प्रणाली र खाने बानीका कारण यहाँ हरेक वर्ष खाद्यान्न अभावको समस्या देखिँदै आएको छ। स्वास्थ्य, पूर्वाधार, शिक्षा र अन्य विकासका सूचकांकमा कर्णाली प्रदेश सबैभन्दा पछि छ।
यी यावत् समस्याहरू हुँदाहुँदै पनि कर्णालीमा आर्थिक समृद्धिका सम्भावना भने फिटिक्कै नभएको होइन। यद्यपि सरकारले प्राथमिकताका साथ लगानी गर्न सके सिंगो देशलाई नै पाल्नसक्ने क्षमता कर्णाली प्रदेशसँग छ। कृषि, पशुपालन, पर्यटन, जडीबुटी, खेलकुद र जलविद्युत उत्पादनका लागि सबैभन्दा सम्भावनायुक्त भूमि हो कर्णाली।
पर्यटनका लागि कर्णाली 'भर्जिनल्याण्ड' नै हो। सबैभन्दा सहज र सस्तो तरिकाले अर्थोपार्जनको माध्यम पर्यटन नै बन्न सक्छ। यहाँका हिमाल, पहाड, तालतलैया र धार्मिक क्षेत्र पर्यटनका लागि मुख्य क्षेत्र हो। देशमा बाहिरबाट घुम्न आउने पर्यटकमध्ये १० प्रतिशतमात्र पनि कर्णालीमा पुर्याउन सक्ने हो भने कर्णालीमा हजारौँ युवालाई रोजगारी दिन सकिन्छ।
प्राकृतिक स्रोतसाधनले धनि यो प्रदेशमा अहिलेसम्म यसको उपभोग न राज्यले गर्न सकेको छ, न व्यवसायी न त यहाँका स्थानीयले नै।
आर्थिक समृद्धिको लागि भरपर्दो माध्यम बन्न सक्छ पर्यटन। गत वर्षको तथ्यांक हेर्ने हो भने पर्यटन क्षेत्रबाट ४८ लाख रूपैयाँ राजश्व संकलन भएको थियो। कोभिडपछि विस्तारे उठ्दै गरेको पर्यटनमा यो राजश्व आन्तरिक र बाह्य पर्यटकबाट संकलन भएको हो। तर यहाँका पर्यटकीय गन्तव्यलाई हेर्दा यो रकम केही प्रतिशत मात्र हो।
पर्यटनलाई नै प्रदेश समृद्धिको आधार बनाउन कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली पर्यटन वर्षका रुपमा घोषणासमेत गरेको थियो। त्यसबेला प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘रारा-कर्णाली पर्यटन वर्ष-२०७५’ आयोजना गरिएको थियो।
त्यसबेला समग्र देशको ध्यान कर्णालीमा तान्नका लागि प्रदेश सकारको मन्त्रिपरिषद् बैठक पनि रारामै राखियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखियो। त्यसबेला लक्ष्य भेटाउन नसके पनि हाराहारीमा पर्यटक भित्रिएका भने थिए। चार लाख ५४ हजार ८६४ जना आन्तरिक र २१ हजार २९१ बाह्य पर्यटक भित्रिएका थिए।
कर्णालीका विभिन्न पर्यटकीय स्थानमा वार्षिक ५ लाख हाराहारीमा पर्यटकको भ्रमण हुने गरेको छ। तर तीमध्ये बाह्य पर्यटकको संख्या केहीसयमा मात्र छ। बाह्य पर्यटकको चहलपहल नबढाउँदासम्म पर्यटनलाई समृद्धिसँग जोड्न समस्या देखिन्छ। आन्तरिकमा भने स्थानीयहरू नै अधिकांश हुन्छन्।
पछिल्ला समय चैत्र-बैशाख र दसैँ-तिहारको बेला कर्णाली घुम्ने पर्यटकहरूमा वृद्धि भए पनि पूर्वाधार अभावका कारण एकपटक कर्णाली घुम्न गएको पर्यटक फेरि फर्किन चाहँदैनन्। रारा ताल कर्णालीको मुख्य पर्यटकीय स्थल हो। तर त्यहाँसम्म पुग्नै कम्ति सकस छैन। एकतर्फी मात्र कच्ची सडक त्यसमा पनि कतिबेला कहाँ दुर्घटना हुने हो भन्ने त्रासले एकपटक गएको पर्यटक नै फेरि फर्किने आँट गर्दैनन्।
भएका पर्यटकीय स्थलमा पनि बस्न खानाको लागि राम्रो सुविधा छैनन्। केही दिन भुलौँ भन्ने अर्को कुनै उपाय अपनाइरहेका देखिँदैनन्। गन्तव्यसम्म पुग्ने र फर्किने क्रम चलिरहेको छ। जसका कारण प्रस्थानस्थल र गन्तव्यस्थलबाहेक अरु कुरामा पर्यटकले खर्च गर्ने परिपाटी बनेको छैन।
जल, जंगल र जडीबुटीका साथै प्राकृतिक रमणीय स्थानको खानी नै रहेको कर्णालीबाट आर्थिक लाभ तीनैतहका सरकारले लिन सकेका छैनन्। न त त्यसको लाभ लिनका लागि पूर्वाधार तयार पार्ने कुरामै ध्यान दिएका छन्। कर्णालीका हरेक जिल्लामा एक न एक ऐतिहासिक महत्वपूर्ण क्षेत्र छन्। जहाँ घुम्न मात्र होइन, अध्ययनका लागि समेत महत्त्वपूर्ण मानिन्छन्। तर सरकारले त्यहाँसम्म पुग्ने सुरक्षित बाटोसमेत बनाउन सकेको छैन।
अलिअलि चहलपहल हुने क्षेत्रमा निजी क्षेत्रले पनि लगानी गरेका छैनन्। जसका कारण त्यहाँसम्म पुग्ने पर्यटकले प्रस्थान गर्नुअघि नै सीमित समय छुट्याउँछन्। सरकार र निजी क्षेत्रले नै लाभ लिन नसकेको क्षेत्रमा स्थानीयले लिनसक्ने कुरै भएन। सम्भावना हुँदाहुँदै पनि पूर्वाधार अभाव र महत्त्व नबुझ्नाले कर्णालीले आफ्नो सबैभन्दा धेरै आर्थिक लाभ लिन सकेको क्षेत्रबाटै उपेक्षित हुनुपरिरहेको छ।
कर्णालीका पर्यटकीय स्थल
सुर्खेत, शे-फोक्सुण्डो र राराताल यी चर्चित क्षेत्र हुन्। जो सबैलाई कण्ठस्थ नै छन्। तर यीबाहेक पनि कर्णालीमा घुम्नलायक एक से एक क्षेत्र छन्। जहाँ जाँदा केही दिन बिताउन अवश्य मन लाग्छ।
सुर्खेत
सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर रहेको जिल्ला हो। यो कर्णाली प्रदेशको प्रवेशद्वार पनि हो। पर्यटनका लागि यो जिल्ला पनि सम्भावनायुक्त क्षेत्र हो। राजनीतिक, प्रशासनिक र प्रदेशकै सबैभन्दा बढी आर्थिक क्रियाकलाप हुने जिल्ला पनि सुर्खेत र त्यसमध्ये पनि यसको सदरमुकाम वीरेन्द्रनगर हो।
सुर्खेतका सबैभन्दा चर्चित क्षेत्र हुन् बुलबुले ताल, काँक्रेबिहार, देउती बज्यै, गोठीकाँडा, पूर्वी सुर्खेतको भेरीगंगा उपत्यका। बुलबुले ताल वीरेन्द्रनगरसँगै जोडिएको छ। बजारभन्दा दक्षिणतिर रहेको फाँटमा बुलबुले ताल छ। यहाँ दैनिक हजारौँको संख्यामा पर्यटक पुग्छन्। विशेषगरी गर्मी सिजनमा यहाँ नुहाउन जानेहरूको भीड नै हुन्छ। पिकिनिक स्पटका रुपमा समेत परिचित बुलबुले ताल क्षेत्रमा पछिल्लोसमय पूर्वाधार विकासको काम पनि तीव्र गतिमा भइरहेको छ।
सुर्खेतमै अवस्थित काँक्रेबिहारलाई दोस्रो लुम्बिनीका रुपमा पनि चिनिन्छ। अहिले यहाँको भौतिक संरचना पुनर्निर्माणपछि त पर्यटकको घुँइचो नै लाग्छ। यसलाई प्रचारप्रसार गर्न सकेको खण्डमा लुम्बिनीसम्म पुगेका बाह्य पर्यटक काँक्रेबिहारसम्म पुग्न सक्छन्।
यस्तै कर्णालीको प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रुपमा देउतीबज्यैलाई लिइन्छ। प्रशासनिक या अन्य कुनै कामले वीरेन्द्रनगर पुग्ने हरकोही देउतीबज्यै नपुगेको सायदै होला।
साथै सुर्खेत उपत्यकाको अवलोकनका लागि पुरानो सदरमुकाम गोठीकाँडा पनि प्रमुख गन्तव्यस्थल हो। पश्चिम सुर्खेतमै बराहताल अवस्थित छ। जंगलभित्र रहेको यो ताल प्रचारप्रसार अभावले खासै पर्यटकको रोजाइमा पर्न सकेको छैन।
मुगु
मुगु जिल्लाका नामले भन्दा पनि त्यहाँस्थित रारा तालका नामले बढी परिचित छ। नेपालकै सबैभन्दा ठूलो रारा ताल देश विदेशका पर्यटकको प्रमुख रोजाइमा पर्छ। यहाँ अधिकांश आन्तरिक पर्यटकहरू पुग्ने भए पनि विदेशी पर्यटको रोजाइमा पर्ने कर्णालीका गन्तव्यस्थलमध्ये रारा पहिलो हो।
समुद्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको रारा ताल पाँच किलोमिटर लामो र ३ किलोमिटर चौडा छ। यसको गहिराई भने १६७ मिटर र क्षेत्रफल ११ वर्गकिलोमिटर रहेको छ। छिनछिनमा रंग परिवर्तन गर्ने ताल कचौरा आकारको रहेको छ।
यसको अवलोकनका लागि अझ तालभन्दा उत्तर पश्चिममा रहेको मुर्माटप सबैभन्दा उपयुक्त स्थान हो। पछिल्लो समय दसैँ-तिहारको बीचमा काठमाडौं लगायतका क्षेत्रबाट युवायुवतीहरू मोटरसाइकलमै रारासम्म पुग्ने गर्दछन्।
ऋणमोक्ष दह धार्मिक क्षेत्र भए पनि भौगोलिक कठिनाइका कारण घुम्नकै लागि भने पर्यटक जाने गरेका छैनन्। वर्षमा धार्मिक कार्यका लागि जानेहरूबाहेक यहाँ अन्य यात्रुको गन्तव्यस्थल बन्न सकेको छैन।
हुम्ला
भौगोलिक कठिनाइ र पूर्वाधार विकास अभावले हुम्लामा जनजीवन कष्टकर छ। तर यहाँ पर्यटनका सम्भावना भने धेरै छन्। राज्यले उचित ध्यान दिन सके सबैभन्दा धैरै पर्यटनबाट आम्दानी लिन सक्ने ठाउँ हो।
हिन्दूहरूको प्रमुख तिर्थस्थल अझ भन्नुपर्दा भगवान महादेवको बासस्थान कैलाशसम्म जाने मार्ग हुम्ला हुँदै हो। वार्षिक हजारौँ पर्यटक हुम्लाहुँदै मानसरोवर र कैलाश दर्शनका लागि जान्छन्। लिमी उपत्यका पनि हिमाली क्षेत्रको मनमोहक क्षेत्र हो। हुम्ला सदरमुकाम सिमकोट समुद्री सतहबाट २ हजार ९ सय मिटरको उचाइमा छ।
हवाई मार्ग सस्तो र सुलभ भए यहाँ पर्यटकीय गतिविधि बढ्ने देखिन्छ। सांस्कृतिक, धार्मिक र जडीबुटीका हिसाबले भरिपूर्ण जिल्ला हो हुम्ला। सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ। यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ।
जुम्ला
वरपर हिमाल, बीचको समथर भू-भागमा अवस्थित छ जुम्ला सदरमुकाम खलंगा। सदरमुकामको मध्यस्थानमा छ बाबा चन्दननाथ भैरवनाथको मन्दिर। पशुपतिनाथपछिको सबैभन्दा ठूलो हिन्दूहरूको आस्थाको केन्द्रका रुपमा चन्दननाथ मन्दिरलाई लिइन्छ। तर यसको उचित प्रचार प्रसार हुन नसक्दा यहाँ अपेक्षाकृत पर्यटक पुग्न सकेका छैनन्।
जुम्ला संसारकै उच्च स्थानमा धान फल्ने जिल्ला पनि हो। साथै खस सभ्यताको विकास भएको सिञ्जा उपत्यका पनि यहिँ छ। धार्मिक र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण जिल्ला हो। रारा ताल जाने प्रमुख स्थल पनि जुम्ला नै हो। उत्तरतिर पातारासी र काञ्जिरोवा हिमालका शिर छन्।
विराट दरबार, कनकासुन्दरी, तातोपानी, पाण्डुगुफा, ठाकुरज्यू, गिडीदह लगायतका दर्जनौं तालतलैया र धार्मिक मठमन्दिर यहाँका घुम्न लायकका ठाउँ हुन्।
डोल्पा
डोल्पामा सबैभन्दा गहिरो शे-फोक्सेन्डो ताल छ। डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ। शे-फोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ। माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ।
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ। त्यस्तै, शे फोक्सेन्डो रारा पदयात्राका लागि राम्रो सम्भावना बोकेको क्षेत्र हो।
जडीबुडीका लागि पनि नेपालकै प्रमुख स्थल हो। वार्षिक करोडौंको बहुमूल्य यार्सागुम्बा यही डोल्पाकै पाटन क्षेत्रमा पाइन्छ। हजारौँ नागरिकको वर्षभरीको खर्च जोहो गर्ने माध्यम यार्सा गुम्बा नै हो। यार्साका लागि सबैभन्दा धेरै स्थानीयहरू डोल्पाकै पाटनमा आउँछन्।
दैलेख
कर्णाली धार्मिक, सांस्कृतिक र ऐतिहासिक क्षेत्र हो। दैलेखको दुल्लूमा नेपाली भाषाको पहिलो अभिलेख छ। शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र दैलेख आउने पर्यटकका लागि पहिलो रोजाइमा पर्दछन्। पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न नेपालीका साथै भारतीय आउँछन्।
यहाँ अहिले नेपाल सरकारले चिनियाँ सहयोगमा पेट्रोलियम पदार्थ भण्डार रहरनरहेको अनुसन्धानसमेत गरिरहेको छ। दुल्लू क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ। पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त देख्न सकिन्छ। कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुँरासे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन्।
दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेख आउनै पर्दछ। त्यस्तै, विभिन्न ३६ जातजातिको उद्गम थलोका रुपमा चिनिन्छ कर्णाली क्षेत्र।
सल्यान
सल्यान नेपालकै उत्कृष्ट खुकुरी निर्माणका रुपले प्रख्यात जिल्ला हो। जातीय हिसाबले पनि यहाँ विविधता रहेको पाइन्छ। विशेषगरी बाहुन, क्षेत्री, मगर, कामी, दमाई तथा नेवार समुदायको बहुल्यता यस क्षेत्रमा रहेको छ। कुपुण्डेदह यहाँको धार्मिकस्थलको रुपले प्रसिद्ध रहेको छ। अहिले यहाँ स्कुले विद्यार्थीहरूको प्रमुख पिकनिकस्थलसमेत बनेको छ।
यसका साथै खैरावाङ भगवती मन्दिर र छत्रेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन्। यसका अतिरिक्त अन्य पर्यटकीय एवं धार्मिकस्थलहरू यहाँ प्रशस्त मात्रामा रहेका छन्। अदुवा खेती, अमिलो जातका फलफूल खेती तथा बाख्रापालन व्यवसायका साथै अन्य कृषिजन्य व्यवसाय नै यस जिल्लाको प्रमुख व्यवसायको रुपमा रहेको पाईन्छ।
जाजरकोट
जाजरकोट प्राकृतिक स्रोत-साधनले धनी जिल्ला हो। तर, प्रचार-प्रसारको अभावमा अहिले पनि यसले पुरानै सशस्त्र द्वन्द्वले थिलथिलो भएको र विपन्न जिल्लाको परिचय संगाली रहेको छ। प्राकृतिक विविधता मात्र नभएर कला-संस्कृतिको जीवन्त क्षेत्र हो, जाजरकोट।
अमूल्य जडीबुटी, निरन्तर बगिरहेको भेरी नदी, ऐतिहासिक दरबारले जाजरकोटको परिचय थेगिरहेको छ। तर, भएका स्रोतको उचित सदुपयोग हुन सकेको छैन। खुँडा, दमाहा, मयुरजस्ता मौलिक नाचको विरासत मानिने हो कि भन्ने चिन्ता पनि उस्तै छ। भेरी नदी हुँदै कर्णाली चिसापानी पुलसम्मको साहसिक जलयात्रा निकै रोमाञ्चकारी हुने देखिए पनि त्यसले व्यावसायिक रुप लिन अझै लामो समय लिनेछ।
कालिकोट
कर्णाली राजमार्ग मुख्यनाका रहेको कालिकोटको क्षेत्रफल १७४१ वर्ग किमी रहेको छ। कालिकोट जैविक विविधता, जडीबुटी तथा पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र हो। भौगोलिक रुपमा निकै कठिन यो जिल्लाको नाम तत्कालीन मुग्राहा गाविसको कालीकागाँउमा अवस्थित रहेको कालीदेवीको मन्दिर ९माडु० बाट नै कालीकोट रहन गएको हो। यहाँका देवल तथा मष्टका थानहरूका धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण रहेका छन्।
यहाँको चिलखाया जिउलो निकै प्रख्यात रहेको छ। दैलेखको सीमानामा रहेको महावै गाथ, पचाल झरना लगायतका ठाउँ प्रमुख पर्यटकीय स्थल हुन्। तर त्यहाँसम्म पुग्ने सडक मार्ग नभएका कारण मौसमी पर्यटकमात्र पुग्छन्।
मौसमी पर्यटकबाट लाभ लिन मुस्किल
कर्णालीमा एकसे एक घुम्नलायक स्थानहरू रहेका छन्। तर यी अधिकांश मौसमी गन्तव्य स्थलका रुपमा मात्र सीमित रहेका छन्। पर्यटनका लागि केन्द्र र प्रदेश सरकारबाट बजेट विनियोजन पर्याप्त मात्रामा नभए पनि केही छुट्याइएको हुन्छ। तर त्यस्ता बजेटहरू यस्ता आर्थिक लाभ लिन सकिने पर्यटकीय क्षेत्रको पूर्वाधार विकास भन्दा पनि स-साना थान बनाउनमा खर्च गरिन्छ। जसका कारण उपलब्धि हासिल भएको देखिँदैन।
पर्यटकीय स्थल मात्रै होइन दैनिक आवतजावत गर्ने अत्यावश्यक क्षेत्रमा समेत सडक पुग्न सकेको छैन। पुगेको ठाउँमा पनि सुरक्षित छैनन्। एकमात्र कर्णाली राजमार्गसमेत मृत्युमार्गका रुपमा परिचित छ। जसका कारण कर्णाली राजमार्ग हुँदै जानुपर्ने पर्यटकीय क्षेत्रमा पनि पानी नपर्ने समयमा बाहेक अरुबेला पुग्न सम्भव छैन।
केही दिनका लागि जाने र पर्वविशेषमा देखिने पर्यटकबाट धेरै आर्थिक गतिविधि हुन सक्दैनन्। यहाँ पहिलो त सरकारले सडकलाई सुरक्षित र सहज बनाउनुपर्छ। यदि सडक मार्ग सुरक्षित भयो भने मात्र निजी क्षेत्रले लगानी गर्नेछन्। नत्र सुक्खा मौसममा मात्र आउने पर्यटकले एक दुई तस्बिर खिच्नेबाहेक धेरै समय बिताउन चाहँदैनन्। साँच्चै यहाँका पर्यटकीय स्थलबाट आम्दानी बढाउन चाहने हो भने बाह्रैमास गन्तव्यमा पुग्नसक्ने वातावरण बनाउनु पर्छ।