काठमाडौं- नेपाल साहसिक पर्यटनको आर्कषक गन्तव्य हो भन्नेमा दुईमत छैन। नेपालको पर्यटनमा साहसिक पर्यटनसँगै धार्मिक पर्यटनको नयाँ सम्भावनामा बहस भइरहेको पाइन्छ। नेपाल धार्मिक पर्यटनको राम्रो गन्तव्यका रूपमा विकास हुन सक्नेमा सरोकारवालाहरू एकमत छन्। जसले नेपालको पर्यटनमा सकारात्मक संकेत गरिरहेको छ।
धार्मिक दृष्टिले वार्षिक हजारौँको संख्यामा पर्यटकहरू नेपाल आउने गरेका छन्। नेपालमा हिमाल आरोहण र ट्रेकिङपछि सबैभन्दा बढी धार्मिक पर्यटक नै आउँछन्।
२०७१ सालमा काठमाडौंमा सम्पन्न भएको सार्क शिखर सम्मेलनमा बुद्धिस्ट सर्किटका माध्यमले दक्षिण एसियालाई जोड्न सकिने मन्तव्य दिएपछि नेपालको धार्मिक पर्यटनमा नयाँ आशा पलाएको थियो। त्यसअनुसार उल्लेख्य कामहरू भने भएनन्। विस्तारै शिव सर्किटको पनि चर्चा सुरु भयो। जसले विश्वका हिन्दुको गन्तव्य नेपालमा अझ वृहत रुपमा जोड्ने देखिन्छ।
नेपालमा ट्रेकिङ र हिमाल आरोहणपछि सबैभन्दा बढी धार्मिक पर्यटक आउने गरेकोले पनि धार्मिक पर्यटन नेपालको थोरै लगानीमा धेरै फाइदा लिन सकिने क्षेत्र बन्दै गएको व्यवसायीहरू बताउँछन्। काशी, विश्वनाथ, पशुपतिनाथ र मुक्तीनाथलाई जोडेर शिव सर्किटका विषयमा चर्चा जति भइरहेका छन् त्यसअनुसार धार्मिक पर्यटक ल्याउने निश्चित खाकाको भने अभाव देखिन्छ।
जसका लागि नेपालबाट बुद्ध एयरले बनारस-काठमाडौं उडान गरेर नयाँ पर्यटक जोड्न विशेष सहयोग गर्यो। नेपालमा बुद्धिष्ट सर्किट र शिव सर्किटलाई सँगै अगाडि बढाउन सके धार्मिक पर्यटनमा नेपालले छलाङ मार्ने सरोकारवालाहरू पनि स्वीकार गर्छन्।
नेपालमा हिन्दु आराध्यदेवालयहरूमध्ये पनि महत्वपूर्ण स्थानहरू रहेको छ। धार्मिक पर्यटनको हिसाबले पनि पशुपति, जनकपुर, मुक्तिनाथलगायत क्षेत्रलाई जोड्ने बताउँछन् पशुपनि क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टन्डन।
नेपाल बहुल हिन्दु धर्मावलम्बीहरूको देश भए पनि यहाँका जातजाति र संस्कृति संसारकै अनुपम छ। यो विविधताका कारणले मात्र नभइ बुद्ध जन्मस्थलका कारणले पनि धार्मिक पर्यटनका क्षेत्रमा नेपालको भविष्य उज्ज्वल छ। काठमाडौंसहित मुलुकका विभिन्न भू-भागमा रहेका मठ मन्दिरहरूमा जान चाहनेको संख्या अत्यधिक छ तर, त्यहासम्म पुग्ने बाटो भने सजिलो छैन। त्यसका लागि सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने देखिन्छ।
संसारभर बुद्धका अनुयायीहरू बढिरहेका बेला नेपालले भारतसँग मिलेर बुद्धिष्ट सकिर्टको प्रवर्द्धन गर्न सके हामी अब युरोपेली पर्यटकमा भर पर्नुपर्ने अवस्था रहँदैन। एसियाली क्षेत्रमा बढिरहेको बुद्धिजमको प्रभावले नेपाली पर्यटनको समेत भविष्य निर्धारण गर्नेछ। थाइल्यान्ड, म्यानमार, श्रीलंका, भुटानजस्ता बुद्धिष्ट राष्ट्रहरू मात्र नभइ भारत र चीनमा समेत बुद्ध धर्मालम्बीहरूको संख्या करोडौँ छन्।
संसारका सबै बुद्धमार्गीहरू जीवनमा एकपटक बुद्ध जन्मस्थल लुम्बिनीसहित उनले ज्ञान प्राप्त गरेको क्षेत्रमा पुग्न चाहन्छन्। यसबाहेक बुद्ध आफ्नो जीवनकालमा पुगेका क्षेत्रसम्म पुगेर अध्ययन अनुसन्धान गर्न चाहने बुद्धमार्गी मात्र होइन अन्य अन्वेषकहरूको संख्या पनि ठूलै छ। भुटानी नागरिकको त कुलदेवता नै पूर्वी नेपालमा छ। यसकारणले पनि नेपालले अबको पर्यटन व्यवसायलाई धार्मिक पर्यटनतर्फ केन्द्रित गर्नु जरुरी भइसकेको छ।
भारतबाट मात्र नेपालका हिन्दु धार्मिक तीर्थस्थलमा बर्सेनि लाखौँको संख्यामा पर्यटकहरू आइरहेका छन्। तर, अहिलेसम्म पशुपतिसहित काठमाडौंका अन्य तीर्थस्थल र उपत्यका बाहिरका जनकपुरलगायतका केही सीमित स्थानमा मात्र उनीहरूको धार्मिक यात्रा सीमित छ। नेपालका प्रायः भौगोलिक क्षेत्रहरूमा धार्मिक तीर्थस्थलको कुनै कमी छैन। हरेक मन्दिरहरूको आफ्नै पहिचान पनि छ। पूर्वको पाथीभरा, चतरा होस् वा हलेसीदेखि पश्चिमको मुक्तिनाथ, स्वर्गवारीदेखि, खप्तड बडिमालिकासम्म यी क्षेत्रमा भारतीय पर्यटकको निकै आर्कषण पाइन्छ। मनकामना, गढीमाई, रामजानकी मन्दिर, पलाञ्चोक, कालिञ्चोक लगायतका क्षेत्रमा समेत धार्मिक पर्यटनको प्रचुर सम्भावना छ।
धार्मिक पर्यटनले नेपालको सन्तुलित विकासमा समेत योगदान पुर्याउन सक्छ। प्रायः मठ-मन्दिरहरू दुर्गम क्षेत्रमा रहेकाले यसको प्रवर्द्धनका लागि लगानी बढी नै भए पनि प्रतिफलका हिसाबले आर्कषक मान्न सकिन्छ। 'धार्मिक पर्यटनले आन्तरिक पर्यटनको समेत विकास गर्ने भएकाले सांस्कृतिक एकता तथा अपनत्व वृद्धि गर्ने काम गर्दछ,' पर्यटन व्यवसायी बसन्त मिश्रले भने। यसकारणले पनि नेपालले अबका दिनमा धार्मिक पर्यटनका क्षेत्रमा लगानी गर्दै यसको बृहत् प्रर्वद्धन गर्न सक्नुपर्ने मिश्रको तर्क छ।
पर्यटन क्षेत्रलाई धर्ममा जोड्नेवित्तिकै व्यवसायिकता देखिने भएकोले दिगो विकासका लागि सरकारले पूर्वाधार निर्माणमा जोड दिनु अपरिहार्य भइसकेको छ। धार्मिक पर्यटनका लागि सबैभन्दा महत्वपूर्ण आवश्यकता भनेको नै पहुँच मार्ग हो र सडक यातायात सम्भव नहुने क्षेत्रमा केबलकार भरपर्दो विकल्प बन्न सक्छ भने हवाई मार्गमार्फत विभिन्न क्षेलाई जोड्न सकिन्छ।
सरकारले पूर्वाधार निर्माण गरिसकेपछि सेवामूलक उद्योग खोलेर व्यवसायिकता दिने काम पर्यटन व्यवसायीको भएको तर्क मिश्रको छ। मनकामना केबलकार, कालिञ्चोक केबलकार र चन्द्रागिरि केबलकार जस्ता पूर्वाधारले अन्य पर्यटकका साथै धार्मिक पर्यटकलाई पनि जोड्ने काम गरिरहेको छ। यसका साथै पर्यटकको संख्या बढ्दै जाँदा अन्य क्षेत्रमा लगानी गर्ने अवसर पनि बढ्दैछ।