काठमाडौं- सगरमाथा। कञ्चनजंघा। लोत्से। मकालु। चोयु। धौलागिरि। मनासलु। अन्नपूर्ण। यस्ता धेरै नाम छन् जसले हिउँको कथामा उचाइको गर्व गर्ने मुहार देखाएको छ। देशको नाम पहिलोपटक यसैले हो पर्यटनमार्फत विश्वसामु उज्याल्याएको।
हिमालले आत्माश्लाघा नगरे पनि यसको बखानमा लेखिन र भनिन बाँकी सायदै होला। पौँठेजोरी खेलेर हिमालसँग पीडाको मुस्कान र बाँच्नुको रहस्य धेरैले साटे। जीवनको आभास हराउने हिउँका अनकन्टारमा ‘मृत्यु खोज्दै’ मानिस किन जाँदो हो? साहसको कथा भन्न?
यस्तै कर्ममार्फत हिमालसँगको मित्रतामा छिन्, पूर्णिमा श्रेष्ठ। साहसको कथा भनिरहेकी छिन्। उचाइलाई चुनौती दिइरहेकी छिन्। मृत्युबाट फर्केर जीवनको मोल देखेकी छिन्। गरे सकिन्छ भन्ने विश्वासको आड बनिरहेकी छिन्।
हिमाल टाढाबाट जसले पनि हेर्छ। कसलाई पो मन नपर्ला। तर टाढाबाट देखेको आहा! र नजिक पुग्दा मनमा लाग्ने छुवाइको भिन्नता गहिरो छ। पूर्णिमाको हिमाल अनुभव प्रश्नोत्तरले निकाल्न सकिने अन्तर्वार्तामा अट्न सक्दैन। न त निबन्ध र कथाका परिक्रममा त्यसलाई उतार्न सकिन्छ। मात्र बुझ्न सकिन्छ वाह! यस्तो पो जीवनको अनुभव।
सन् २०१७ सेप्टेम्बरमा पहिलोपटक ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमालको चुचुरोमा पुगेकी हुन् पूर्णिमा। पहिलो सफल आरोहणले थप हौसिएकी उनले २०१८ मेमा सर्वोच्च शिखर सगरमाथा चढिन्। २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम हुँदै २०२२ मेमा मकालु चढिन्। पहिलोपटक हिउँका बाटा पहिल्याएर उचाइ भेटेको सात वर्षमा उनले आठ हजार मिटर अग्ला सात हिमालको शिर भेटिसकिन्।
‘जिन्दगीमा आतुरी मान्छे हुँ म, हिमाल चढ्छु भनेर पहिलोपटक सोचेको छोटो समयमा यतिका हिमाल चढिसकेँ’, अब ८ हजार मिटर अग्ला अरू सबै हिमाल चढिसक्ने योजनामा लागिरहेकी उनले विगत फर्किंदै भविष्यतिर संकेत गरिन्।
एकपछि अर्को हिमाल चढ्दै जाँदा धेरैले पूर्णिमाको विगत खोज्छन्। उनी भने वर्तमानको मीठो कर्ममा भविष्यतिर पाइला बढाउनमै खुसी हुन्छिन्। हिमालसँगको उनको सपना सानैदेखिको होइन। गोरखा आरुघाटमा जन्मिएकी पूर्णिमाको विगत गाउँबाट उठेका हरेक नेपालीको जस्तै हो। उच्च शिक्षा र सम्भावनाको खोजीमा सहर पस्ने। साधारण। तर सहरको भिडबाट उनको सम्भावना एकलासे हिमालतिर पुग्यो।
‘मेरो बाआमाले भोलि अरूको घरमा जानुपर्छ राम्रोसँग काम सिक, सुख पाउँछस् भनेर भनिरहनुहुन्थ्यो। त्यो सुनेर हुर्किएकी हुँ, त्यस्तोमा एकपछि अर्को हिमाल चढ्छु होला भन्ने कुरा कल्पनामा पनि कसरी आउनु र! मेरो दिमागमा त्यो कुरा कहिल्यै पनि थिएन’ पूर्णिमाले विगतको चित्र एकैपटक बुझाइन्।
जीवनमा केही राम्रो गर्नुपर्छ भन्ने सोच र सपना भने उनमा थियो। तर त्यो सपना हिमाल नै हो भन्ने यकीन थिएन। गोरखाबाट काठमाडौं पसेपछि त पढाइको समयका आवश्यकता पूरा गर्ने र नियमित काममा ध्यान दिनेबाहेक अरू बाटा भेटिएको थिएन। ‘साथीहरू विदेश जान थालिरहेका थिए। आफूले पढाइ सकेर के गर्ने भन्ने योजना पनि थिएन। मेरो सपना के हो र के गर्नसक्छु भन्ने सोच कहिल्यै आएन त्यो समयम’ उनले भनिन्।
फोटोग्राफीलाई कर्म बनाइरहेकी उनी जब पहिलोपटक सगरमाथा बेसक्याम्प पुगिन् तब हिमालसँगको नजानिदो आकर्षणले तानिइन्। अब के गर्ने भन्ने बाटो देखिन थाल्यो। ‘हिमालमा विदेशीहरू आएको देखेर उनीहरू कहाँकहाँदेखि आइरहेका छन्, म त यहीँ नेपालकै छोरी हो भन्ने सोच आयो। धेरै नेपालीहरू हिमालबाट किन पर छन्? यसको महत्व बुझेनन् कि जस्तो पनि लाग्यो’, तब उनले ठानिन् हिमाल अझ नजिकबाट बुझ्छु।
हिमालले तानेर आइरहेका विदेशीहरूले के देख्छन् र नेपालीहरूले नै त्यसमा के देख्न नसकेको हो भन्ने पूर्णिमालाई लाग्यो। त्यही उत्सुकताले सपना देखिन् र सुरू भयो हिमालसँगको जीवन। ठानिन्, अब हिमाल नै चिन्छु। हिमाल नै पढ्छु।
अहिले त हिमालको बारेमा कुरामात्रै सुरू गर्दा पनि पूर्णिमामा खुसी थपिन्छ। हिमाल शब्दले नै अनुहारको भावभङ्गी फेरिन्छ। मनमा एकदमै उथलपुथल हुँदै उचाइमा पाइला टेकेपछिको त्यो उत्साह देखिन्छ।
हिमाली शिखरहरू
हिमालमा पाइला टेक्दा पूर्णिमा एक्ली हुँदिनन्। उनीसँगै हुन्छ अरू सयौँको सपना। हिमालसँग जोडिएकाहरूको सपना। हिमाललाई कर्म बनाइरहेकाहरूको सपना। यसैले त एकजनाले हिमाल चढ्नु, चुचुरामा ऊमात्रै पुग्नु होइन।
अगाडि देखिनेबाहेक धेरैले शिखरसम्मका लागि मेहनत गरिरहेका हुन्छन्। आरोहीलाई चुचुरामा पुर्याउन धेरैको हात हुन्छ। ‘भान्सामा काम गर्नेदेखि लिएर टेन्ट गाड्ने, भारी बोक्ने र बाटोमा सँगै हिँड्नेहरू अरू धेरै हुन्छन्। उनीहरू नभएको भए एक्लै त कसले पो हिमाल चढ्दो हो। यो सामूहिक काम हो’ पूर्णिमाले सुनाइन्।
म सक्छु भन्ने एक्लैको सपनामात्रले हिमाल चढिँदैन। चढिँदो हो त एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पाको साथ खोज्ने थिएनन् होला। यसैले आरोहीसँग काम गरिरहेका हरेकको सपना हुन्छ आरोहण सफल होस्। आरोही शिखर पुग्दा उनीहरू सबैको काम र सपना पूरा हुन्छ।
पूर्णिमा पनि भन्छिन्, ‘हिमालमा सयौँ मानिस जोडिएका हुन्छन्। आफ्नो टिममा रहेकामात्र होइन जाँदै गर्दा भेटिएका कसैले पानीको बोतल दिँदा त्यो आरोहण उसको पनि सफलता हो। त्यसको समेत साह्रै ठूलो भूमिका हुन्छ।’
नेपाली पर्यटनमा महत्वपूर्ण पक्ष हो यहाँका मानिस। हिमालसँगका मानिसहरू नै हुन् जसले आरोहीलाई सहयोग गर्नेमात्र होइन मीठो आतिथ्यले उनीहरूलाई फर्केर आउने बनाइरहन्छन्।
‘उनीहरूले गरेको हेरचाहदेखि सबै कुरा निकै राम्रो हुन्छ। कहिल्यै लाग्दैन कि अरू कोहीले त्यसरी याद गरेर, माया गरेर, चिन्ता गरेर सहयोग गरिरहेको होस्’, पूर्णिमा भन्छिन्, ‘उनीहरूलाई नै छ कि यसले हिमालमा राम्रो गरोस्, राम्ररी चढेर फर्कन सकोस्। हामी चढ्न जाँदा तल बसेर पूजा प्रार्थना गर्नेहरू धेरै हुन्छन्। उनीहरूको मन कहिल्यै पनि नराम्रो हुँदैन।’
नेपालको हिमाली पर्यटन राम्रो हुनुमा त्यहाँका मानिसको मानवीय सहृदयी व्यवहारको भूमिका ठूलो छ। नेपाली जाती धेरैतिर उनीहरूको व्यवहारले चिनिइरहेका छन्। उनीहरूको इमान्दार सच्चापनले सबैको शिर उचो भएको छ। बरू हिमालकै भर हुँदैन, कतिबेला के भइदेला तर हिमालसँग रहेका मानिसहरूको भर हुन्छ, उनीहरू सधैँ राम्रो गर्छन्। हिमालजस्तै त्यहाँका सच्चा शिखरहरू उनीहरू नै हुन्।
पूर्णिमाले पनि हिमाली मान्छेको त्यस्तै व्यवहार र आत्मीयता देखेर ‘ओहो! यी कस्ता मानिसहरू हुन्’ भन्ने सोच्दै धेरैपटक आँसु झारेकी छिन्।
हिमालले नेपालमा हजारौँ मानिसको रोजीरोटी दिएको छ। हिमालसँगको आर्थिक सम्बन्ध हुँदैन थियो भने त खाडी जानेहरु अझ बढ्ने थिए होलान्। हिमाले ठूलो सहयोग गरिरहेको छ। हिमालका मानिसहरूलाई भरोसा दिएको छ।
हिमाल पुग्ने चुनौती
जसरी हरेक मानिसका आफ्नै कथाहरू छन् उसैगरी हरेक हिमालका भिन्नभिन्नै। एउटा हिमाल चढ्नु अर्को चढ्नका लागि अनुभव त बनिदिन्छ तर त्यसले गाह्रो र सजिलोलाई परिभाषित गर्न सकिँदैन। हरेक हिमालमा आफ्नै चुनौतीहरू छन्।
‘कुनै हिमाल गाह्रो र कुनै सजिलो भनेर ठ्याक्कै भन्न मिल्दैन। यो हिमालमा मौसमको कठिनाइ बढी हुन्छ, यसमा हिम पहिरोको जोखिम बढी छ भन्नेजस्ता कुरा त हुन्छन् तर हिमाल सजिलो गाह्रो हुँदैन’ पूर्णिमाले भनिन्, ‘मलाई अरू हिमालको तुलनामा मनासलु तुलनात्मक रुपमा सजिलो लागेको थियो। तर दोहोर्याएर अर्कोपटक जाँदा मौसमकै कारण मनासलु चढ्न सकिनँ।’
हिमालको आआफ्नै तरिका छ। आआफ्नै कथा छ। त्यसैले त पूर्णिमाले सबै हिमाललाई उत्तिकै श्रद्धा र तयारी गरेर चढेकी छिन्। सफल भइरहेकी छिन्।
मानवीय अप्ठ्यारा र प्राकृतिक चुनौतीसँग जुध्न सके पनि हिमाल चढ्ने चाह भएका धेरैका लागि बाधा छ हिमालको महँगी। हिमाल चढ्नु एकदमै महँगो काम हो। हिमालकै काखमा जन्मिहुर्किएका धेरैले हिमाल चढ्ने सपना त बनाइरहेकै हुन्छन् तर आर्थिक रुपमा सक्षम हुँदैनन्। पैसाकै कारणले रोकिने भइरहेका हुन्छन्। पूर्णिमाले जस्तैगरी प्रायोजक र दाताहरू खोज्ने र ऋण गरेरै भए पनि शिखर जाने आँट सबैलाई आउँदैन।
नेपालमा हिमाल चढ्नका लागि आर्थिक रुपमा सहयोग गर्ने व्यापारिक क्षेत्रहरू पनि खासै छैनन्। धेरैले त पूर्णिमालाई पनि हिमाल चढेर के हुन्छ? भनेर प्रश्न नै सोध्ने गर्छन्। ‘म ८ हजार मिटर अग्ला सातवटा हिमाल चढेर त हिमालमा के हुन्छ भनेर बुझ्न सक्दिनँ भने अरू मान्छेलाई के कसरी बुझाउनु र! यो त बिजनेस होइन। तिम्रो सपना हो हामीले सहयोग गरेर के हुन्छ र भन्नेहरू हुन्छन्’ पूर्णिमाले सुनाइन्।
‘सगरमाथा चढ्न त ३०/३५ लाख नै लाग्छ नेपालीका लागि। विदेशीका लागि अझ बढी छ। एउटा जुत्ताकै लाखौँ पर्छ। सानो सानो पिकहरू चढ्दा नै पनि ५०/६० हजार रूपैयाँ खर्च गर्नुपर्छ। त्यत्रो पैसामा हिमालको छेउ पुगेर आउनु महँगो नै हो नेपालीका लागि। मान्छेले महँगो र गाह्रो छ भन्ने सोचेर मात्र बढ्यो भने त ऊ पहिले नै ब्याक हुन्छ। त्यो कुरालाई आफूले कसरी सहज बनाएर जाने भनेर सोच्ने हो। मेहनत गर्ने हो’ उनले भनिन्।
आर्थिक असहजता र अन्य चुनौतीहरूलाई पार लाउने पनि मेहनतले नै हो। इच्छाशक्ति भयो भने सकिन्छ भन्ने लाग्छ पूर्णिमालाई।
‘हिमालको देशमा जन्मेका मान्छे हामीले एकपटक नजिकबाट हिमाललाई हेर्नुपर्छ भन्ने लाग्छ। हिमालसँगको सामिप्य साच्चै अद्भुत हुन्छ। हिमालको बारेमा थाहा नै नभएर पनि त्यसमा हुनुपर्ने कामहरू नभइरहेको होला। पछिल्लो समय हिमालछेउ ट्रेकिङ जानेहरू नै पनि बढिरहेका त छन्। तर नेपालीहरू जति हिमालतिर गइरहेका छन् त्यो निकै कम संख्या हो’ उनले भनिन्।
नेपालमा व्यापार व्यवसायमा लागिरहेकाहरूले हिमाल चढ्ने जाने कुरालाई सहयोग गर्न उतिसाह्रो इच्छा गरेजस्तो उनलाई लाग्दैन। भन्छिन्, ‘गर्दै नगरेका होइनन् गर्नेहरू छन् तर त्यो पर्याप्त होइन। स्पोन्सर पाउन धेरै कठीन छ। अहिले के टू जान पनि सहयोगहरू खोजिरहेको छु। उनीहरूले फाइदा नदेखेर सहयोग नगरीरहेका होलान्। यो ह्वात्त बढ्ने व्यापार पनि होइन। एउटा ब्रान्डिङ न हो।’
हिमालले फेरेको बाटो
नेपाली पर्यटनको मुहारसँगै हिमालले धेरैको बाटो फेरेको छ। जसरी हिमालमा तस्बिर खिच्न गएकी पूर्णिमा अरूले उनको तस्बिर खिच्न बोलाउनेगरी सफल आरोही बनेकी छिन्।
यही सिजन सगरमाथा चढ्नका लागिमात्रै विभिन्न आरोही समूहका दुई सयभन्दा बढीले अनुमति लिइसकेका छन्। त्यसमा जोडिन्छन् अरू सयौँ। हिमालले रोजीरोटीसँगै धेरैलाई आफ्नो परिचय दिने अवसर दिइरहेको छ।
तर अझ पनि हिमालसम्म जाने धेरैजसो ठाउँमा त राम्रो बाटो र होटलहरू पनि छैनन्। यस्तोमा पनि विदेशी पर्यटकहरू पूर्णिमालाइ यति फुर्क्याउँछन् कि तिमी त स्वर्गमै छौ भनेजसरी खुसी बनाइदिन्छन्। ‘उनीहरू यहाँ आउनका लागि कति समय र कति पैसा खर्च गरिरहेका हुन्छन्। हिमाल हेर्नलाई कति आतुर हुन्छन्। तैँले त चाहिस् भने सधैँ हेर्न पाउँछस् भनिरहेका हुन्छन्। त्यो सबै कुराले म त यहिँ जन्मिएँ भनेर खुसी लाग्छ’ उनले भनिन्।
‘मेरो जीवनमा हिमाल जानु पहिले र अहिले त धेरै नै भिन्नता आएको छ। अरूले गरेको व्यवहारले नै फरक महसुस हुन्छ। आफूमा मैले गर्न सक्छु भन्ने आत्मविश्वास पनि बढेको पाएको छु। हिमाल चढ्ने मान्छे हो यति वटा हिमाल चढेको छ भन्ने थाहा पाएपछि मान्छेले गर्ने सम्मान नै भिन्दै पाएको छु। मेरो अनुहारको हाँसो र खुसीमा त्यसको छुट्टै स्थान छ।’
हिमाल जानुअघि समस्या त पूर्णिमासँग पनि हुन्छन्। पहिले पनि थिए। तर त्यसमामात्र समस्या छ भनेर उनी चिन्तामा बसिरहिनन्। आफूले सक्ने मेहनत र काम गरिन्। शिखरमा पुगिन्।
अब यसैगरी कहिलेसम्म हिमाल चढिरहने त? यो प्रश्न पूर्णिमाका लागि खास राम्रो होइन। जसले आरोहणको विश्राम लिनेबारे सोचेकीसम्म छैनन् उनलाई ‘अब त पुग्यो होला नि’ भनिदिनु अन्याय हुन्छ।
हिमालमा यतिवटा यतिसमयभित्र चढिसक्छु भन्ने उद्देश्यले बढेकी होइनन् पूर्णिमा। जबजब हिमालको बोलावट आउँछ उनी साहस गरेर शिखरतिर जान्छिन्। ‘ममिले त मलाई अब हिमाल पुग्यो, बिहे गर भनेर नै टीका लगाउँदा आशिर्वाद दिनुहुन्छ। अरू कसैले ममिसँग तिम्रो छोरीले कतिवटा हिमाल चढिसक्यो हैँ भन्यो भने पनि के गर्नु बिहे गरेको छैन भनेर दु:खी हुनुहुन्छ। यो किसिमको समाजबाट अघि बढिरहेकी छु म’ उनले सुनाइन्।
पूर्णिमामा उत्साह र हिम्मत यति छ कि ‘तिमी बुढी हुँदासम्म हिमाल चढ, मन लाग्दासम्म हिमाल चढ’ भनिदिउन् जस्तो लाग्छ। कसैले नभनिदिउन्, ‘अब पुग्यो हिमाल चढ्न कति स्पोन्सर खोजिरा बरू बिहे गर म पैसा दिन्छु! हिमाल चढेर अनुहार बिगारेर के पाउँछस् र?’
उचाइमा टेकेकी छिन्, हिम्मतको कथा रचिरहेकी छिन् तर कहिलेकाहिँ त पूर्णिमा पनि त निराश हुन्छिन्। केही कुराले दिक्क हुन्छिन्। उत्साह कतैबाट थपियोस्, कसैले हौसला देओस् भन्ने उनलाई पनि लाग्छ। चुचुराबाट मृत्यु जितेर आएजस्तै उत्साह र जोशले सहरका गल्लीहरूमा जीवनका चुनौती छल्न कहाँ सहज छ र! हिमालको उज्यालोले उनी यी निराशा र दिक्कादी पनि लुकाइदिन्छिन् र हिमालजस्तै उज्यालिएर हाँसिदिन्छिन्।
आरोहण सफल हुँदा के सोचिन्छ?
एउटा आरोही हिमालको चुचुरोमा हुँदा र तल फर्केपछि के सोच्दो हो? खुसीले नाचेका, दु:ख र पीडापछिको आनन्दले रोएका तस्बिर भिडियोहरू त देखिन्छ नै तर त्यसले त्यो भोगाइको कति प्रतिशत देखाउन सक्दो हो?
यसमा यस्तो छ पूर्णिमाको अनुभव-
चुचुरोमा पुग्दा आधि मरिसकेको हुन्छु। आधि मरेकै अवस्थामा छु जस्तो लाग्छ। त्यो समयमा अरू के पो सोच आउनु र! खुसी हुने हो कि दु:खी भएर रुने हो कि। म बाँचेर तल गएर के सुनाउने हो कि केही कुरामा पनि ध्यान हुँदैन। म बाँच्न पाए भन्ने मात्र लाग्छ। अरू केही सम्झिएको हुँदिन। आफ्नो शक्ति बढोस् भन्ने लाग्छ। हिमालको चुचुरोमा म अहिलेसम्म हाँसेको छैन। चुचुरो आधि न सफलता हो, आखिर झर्नु पनि त छ।
हिमाल त जहिले पनि त्यहीँ नै छ। फेरि पनि जान सकिन्छ तर जिन्दगी त फेरि छैन। मलाई त बाँच्नु छ। बाँचेर फेरि हिमाल चढ्नु छ। म मृत्युदेखि कति डराउँछु मलाई मात्र थाहा छ।
जाने बेला के-के योजना बनाएको हुन्छु। कस्तो हुन्छु होला जस्तो लाछ तर हिमालमा पुगेपछि त्यस्तो केही सोच नै हुँदैन। म बाँचे भन्ने लाग्छ। अरू केही लाग्दैन। केही गर्न मन लाग्दैन। खुसी लाग्छ। जीवन देखेजस्तो लाग्छ। जीवन बुझेजस्तो लाग्छ। मानिसले खुसीसाथ कसैलाई दु:ख नदिइ बाँच्नुपर्छ भन्ने भावना आउँछ। तेरो मेरो भन्ने के छ र जस्तो लाग्छ। कति संघर्ष गरेर सास बचाएर आएको छु भन्ने लाग्छ।
तपाईं म बाँचे भनेर रमाएर ‘सेलिब्रेसन’ गर्नुभएको छ? … तर मैले छ। बाँचे भन्ने सोचेर धेरैपटक रमाएकी छु।