मंगलबार, मंसिर २५ गते २०८१    
images
images

पर्यटन व्यवसायमा आङछिरिङको उदाहरणीय साम्राज्य

images
बिहीबार , चैत ३० २०७९
images
images
पर्यटन व्यवसायमा आङछिरिङको उदाहरणीय साम्राज्य

खुम्जुङ गाउँबाट उठेर अघि बढेका आङछिरिङले सायद सोचेका थिएनन् कि उनी एकदिन पर्वतीय पर्यटनको बादसाहका रूपमा चिनिनेछन्।

images
images

खुम्जुङवासीको एउटा साझा सपना थियो- आफ्नै गाउँको कोही डाक्टर बनोस्। स्वस्थ रहन झकझकाइरहोस्। सामान्य बिमारीले अकालमा कसैले जीवन नगुमाओस्, समयमै उपचार पाइयोस्।

images
images
images

यसका लागि पहिले त गाउँमा विद्यालय खोल्नु थियो। शिक्षाको ज्योतिले सन्तानलाई संसार देखाउनु थियो। चिनाउनु थियो। बुझाउनु थियो। आफू बन्न नसकेको छुट्टै विशेष केही बनाउनु थियो। 

images

त्यतिबेला खुम्जुङका लागि ‘ढुंगा खोज्दा देउता भेटिए’झैँ भए एडमण्ड हिलारी। 

images

सन् १९५३ मा हिलारी नेपाल घुम्न आएका थिए। थामीबाट खुम्जुङमा बसाइ सरेर आएका तेन्जिङ नोर्गे शेर्पा र हिलारीले सोही वर्षको मे २९ मा विश्वकै अग्लो ८ हजार ८ सय ४८ मिटर (हाल ८८४८.८६) उचाइको सगरमाथाको सफल आरोहण गरे। सगरमाथाको चुचुरो चुम्ने उनीहरू नै पहिला थिए। त्यसमा अप्रत्यक्षरुपमा सहयोग रह्यो तेन्जिङका साथी अर्थात् खुम्जुङ गाउँका तालुकदार कोन्जुछुम्बी शेर्पाको। आरोहणको सबै बन्दोबस्त कोन्जुछुम्बीले नै मिलाइदिएका थिए।

सगरमाथा आरोहणको झण्डै ६ वर्षपछि यतीको रिसर्चका लागि हिलारी पुनः नेपाल आए। यसै सिलसिलामा सोलुखुम्बुको खुम्जुङ गाउँ पुगेका उनले गाउँलेलाई भेला पारेर सोधे - तपाईंहरूलाई केही आवश्यक छ कि? म के सहयोग गर्न सक्छु? 

‘हाम्रा छोराछोरी आँखा भएर पनि नदेख्नेजस्ता छन्। एउटा विद्यालय बनाएर उनीहरूको आँखा खोलिदिनुपर्‍यो।’

भिडबाट एकै स्वर आएपछि हिलारीले पनि हत्तपत्त आफ्नो सर्त अघि सारिहाले, 'खुम्जुङ गुम्बामा रहेको यतीको खप्पर र अस्थिरपञ्जरहरूलाई विश्वका विभिन्न देशमा लगेर त्यसबारे अनुसन्धान गर्न चाहन्छु। यदि यसमा तपाईंहरूले मलाई सहयोग गर्नुभयो भने फर्केर आएर खुम्जुङमा म एउटा विद्यालय खोल्ने छु।'

त्यहाँका तालुकदारलाई साथै लिएर जाने र यतीका अस्थिरपञ्जरलाई सुरक्षितसाथ फिर्ता ल्याउने सर्तमा मात्रै उनीहरू त्यसलाई पठाउन राजी भए। हिलारीले पनि यसमा सहमति जनाए। त्यसपछि १९६० को नोभेम्बर/डिसेम्बरतिर हिलारी र कोन्जुछुम्बी यतीका अस्थिरपञ्जर बोकेर युरोप, अमेरिका, जापानलगायतका देश पुगे। त्यहाँ हिलारीले विद्यालय बनाउने कुरा पनि उठाए र सहयोग ल्याएर खुम्जुङमा विद्यालय निर्माणको काम अघि बढाए।

कार्पेन्टर, इन्जिनियर सबै हिलारी नै थिए, उनले आफ्नै हातले स्कूल बनाए। उनलाई क्यानडा, न्यूजिल्याण्ड र नेपालमा आफूले जोडेका केही शेर्पा साथीले सघाएका थिए। खुम्जुङवासीले पनि यसमा साथ दिए। 

सन् १९६१ को मार्चतिर स्कूल तयार भयो। त्यहाँ पढ्न ८ देखि १६ वर्ष उमेरसमूहका ६०/७० जना बालबालिका जम्मा भए। जसमध्ये एक थिए आङछिरिङ शेर्पा। ८ वर्षको उमेरदेखि विद्यालय जीवन सुरु गरेका आङछिरिङले त्यहाँ कक्षा पाँचसम्म अध्ययन गरे।

सदरमुकाम धाएर ८ पास गरे। त्यतिबेला सोलुमा एसएलसी थिएन, ओखलढुंगा पुग्नुपर्थ्याे। उनका परिवारले आफूबाट टाढै राखेर भए पनि छोरालाई उच्च शिक्षा पढाउने निधो गरे र त्यतै पठाए। एसएलसीको नतिजा निकै राम्रो आयो।

पढाइमा अब्बल सावित भएका आङछिरिङलाई ‘आङछिरिङ’ होइन, अब ‘ भावी डाक्टर’ देख्न थाल्यो खुम्जुङ। 

आफ्नो सपना पूरा गर्न ‘खुम्जुङ गाउँ’ले आङछिरिङलाई चुन्यो। उनको परिवार पनि यही चाहन्थ्यो। 

अनि आङछिरिङ नि? खै! दिमाग भन्थ्यो 'तेरो पढाइ राम्रो छ, तँ डाक्टर नै बन्नुपर्छ'। मन नि? मन थियो अन्त कतै अल्झिएको! कता? उनले कहिल्यै झाँकेनन् अन्तरमनमा। सोधेनन् कहिल्यै न स्वयमले बुझ्ने प्रयत्न गरे। 

मात्र होमा हो मिलाए, खुम्जुङवासीको हुन्छमा हुन्छ मिलाए अनि सबैको सपनाको जिम्मेवारी काँधमा लिएर काठमाडौं आए र स्वयम्भूस्थित अनन्तकोटी साइन्स कलेजमा आइएससी सुरु गरे। अध्ययन सुरू गरेको एकवर्ष नबित्दै सो कलेज टेक्निकल इन्सिच्युटमा परिणत भयो। त्यसपछि उनले अस्कल क्याम्पसबाट आइएससी दिए। आइएससीमा पनि उत्कृष्ट नम्बर आयो।

यसैबेला भारतबाट नेपालका लागि १७ सिट छात्रवृत्ति आयो। त्यहाँ छात्रवृत्ति पाउन ठूलै मान्छेको भनसुन चाहिन्छ भन्ने उनले सुनेका थिए। त्यतिबेला शेर्पा समुदायबाट न राजनीतिमा पहुँच भएका कोही थिए न त कोही सरकारी जागिरे नै थिए। धेरैले 'तपाईंले त बेकारमा आवेदन गर्नुमात्रै हुन्छ, पढाइ राम्रो भए पनि तपाईंलाई त्यहाँ छात्रावृत्ति पाउन गाह्रो पर्छ' भने। झिनो आशा राखेर उनले डाक्टर पढ्न आवेदन दिए।

खुम्जुङ स्कूलको पढाइ उत्कृष्ट थियो। न्युजिल्याण्ड, क्यानडा, दार्जिलिङतिरका शिक्षकहरू आएर पढाउने भएका कारण त्यतिबेलै अंग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो त्यहाँ। यसकारण उनलाई लिखितमा गाह्रो भएन, राम्रो गरे। अन्तर्वार्ताका लागि छनोट पनि भए। लिखितबाट छानिएकाको अन्तर्वार्ता लिने नेपालको शिक्षा मन्त्रालयका सहसचिव थिए। ३५ मिनेटको अन्तर्वार्तापछि उनी निस्किन लाग्दैगर्दा सहसचिवले जुरुक्क उठेर उनको काँधमा धाप मारे। उनलाई लाग्यो - ‘अहो! अन्तर्वार्ता पनि गजब गरेछु। अब मैले पनि डाक्टर पढ्न पाउने भएँ।’

रिजल्ट आयो, नाम पनि आयो १७ सिटबाट घटेर १२ सिटका लागि मात्रै आएका कारण फेरि अन्तर्वार्ता दिनुपर्ने भयो। पहिलेकै नौ जनाको टिमबाट सबैको १५/१५ मिनेटको अन्तर्वार्ता भयो। अब भने उनी पनि छनोट भए र सुरू भयो ‘डाक्टरी खुड्किलो’...

सन् १९७३। डाक्टर बन्ने सपनाको दोस्रो खुड्किलो चढ्न सुरू गरेको वर्ष। छात्रवृत्तिमा भारतको विहारस्थित दरभंगा मेडिकल कलेजमा अध्ययन गर्न पाउँदा उत्साहित थिए आङछिरिङ। दंग थियो खुम्जुङ।

तर दुर्भाग्य, आङछिरिङलाई त्यहाँको हावापानी फापेन। उनी जन्मिएको ठाउँ झण्डै चार हजार मिटरको उचाइमा थियो। दरभंगा मेडिकल कलेज भने समुद्र सतहदेखि केहीमिटर मात्रै उचाइमा थियो। हाई अल्टिच्युडको मान्छेलाई लो अल्टिच्युडमा बस्न गाह्रो भयो। स्वास्थ्यमा समस्या देखिन थाल्यो। उनी धेरै बिरामी भए। गालाहरू सुन्निन थाले। चिम्नीमा राखेजस्तो महसुस हुन्थ्यो उनलाई त्यहाँ।

कलेजकै एक प्रोफेसरले उनको दुई पटक अप्रेशन गरे। तेस्रो वर्ष भर्खरै पूरा भएर चौथो वर्षको पढाइ चलिरहेको थियो। जसोतसो एडजस्ट गरेर बसिरहेका थिए उनी। एकदिन युनिभर्सिटीका मुख्य प्रोफेसरले उनलाई आफ्नो चेम्बरमा बोलाए। निकैबेर छिरिङलाई नियाले र भने- ‘यहाँको मौसम तिमीलाई अनुकुल भएन। थप समय (लामो समय) बस्यौ भने तिमी डाक्टर त बन्छौ होला तर रोगी हुन्छौ। रोगी डाक्टर भएर बाँच्नुभन्दा स्वस्थ मानिस भएर बाँच्नु ठीकजस्तो लाग्छ मलाई। यो युनिभर्सिटीको म मुख्य प्रोफेसर हुँ। मेरो यो सामान्य सुझाव हो। बाँकी तिम्रो इच्छा।’

उनलाई के भनौँ कसो गरौँ भयो। चुपचाप आफ्नो कक्षामा गए र अध्ययन जारी राखे। स्वास्थ्यस्थिति भने उही थियो - बिमार।

दिन बित्यो, साता बित्यो, महिना बित्यो, वर्ष बित्यो अहँ सुध्रिएन आङछिरिङको स्वास्थ्य। स्वास्थ्यमा सुधार नदेखिएपछि अर्को पटक प्रोफेसरले फेरि बोलाए र भने, 'तपाईं अध्ययन पूरा गर्ने नै हो भने हिन्द मेडिकल कलेजमा जानूस्।'

भारतमा पनि त्यतिबेला युनिभर्सिटी/कलेजहरू न्यून थिए। मेडिकल कलेज एउटा मुसुरीमा थियो अर्को चन्द्रिगढमा। त्यहाँ आफ्नो पहुँच नभएपछि उनले प्रोफेसरलाई सहयोग मागे। प्रोफेसरले नसक्ने बताएपछि उनी कलकत्तामा रहेका बुबाका ब्रिटिश साथीकहाँ पुगे र बेलिविस्तार लगाएर सोधे - पहाडी भेगको मेडिकल कलेजमा ट्रान्सफर गर्न सक्नुहुन्छ? 

उनले सक्छु भने। उनैको सुझावअनुरूप आङछिरिङ काठमाडौं आएर बसे। ६/७ महिना बित्यो तर चाँजोपाँजो मिलाएर बोलाउँछु भनेका बुबाका साथीको कुनै खबर आएन। झण्डै ८ महिनापछि बल्ल टेलेक्स म्यासेज आयो- ‘भोलि २ बजे कम्युनिकेसन अफिसमा गएर बस्नू।’

टेलिफोन सुविधा जहाँतहीँ नभएका कारण सर्वसाधारण कम्युनिकेसन अफिस पुग्नुपर्थ्यो। दुई बज्नुअघि नै उनी त्यहाँ गएर बसे, खबर सुन्न आतुरी जो थियो। तीन बजेतिर फोन आयो। ‘मसुरीमा मिल्यो तर पहिलो वर्षदेखि नै सुरू गर्नुपर्ने भयो।’

जीवनमा केही नयाँ गर्ने हुटहुटी भएकाहरू एउटै बाटो दोहोर्‍याएर हिँड्न खासै मन गर्दैनन्। आङछिरिङलाई पनि सुरुदेखि सुरु गर्न, उही बाटो दोहोर्‍याउन मन लागेन। तीनवर्ष खेर फाल्नुभन्दा बरु बाटो नै परिवर्तन गर्नु उचित ठाने उनले। तर खुम्जुङ गाउँ र उनको परिवार भने अझै पनि उनी डाक्टर नै बनेको हेर्न चाहन्थ्यो। उनलाई हार नमान्न, फेरि प्रयास गर्न भनिरहेको थियो। तर खुम्जुङले यो पटक मनाउन सकेन। आङछिरिङले अरूको सुनेनन्, मनको सुने यतिबेला।

आङछिरिङको खास झुकाव पर्यटनमा थियो। दसैँ/तिहार लगायत विद्यालय बिदाको समयमा उनी पर्यटकसँगसँगै हिँड्थे। उनीहरूलाई घुमाउँथे। संसारभरका मान्छेसँग हेलमेल हुन पाइने, राम्राराम्रा नयाँ कपडाहरू लगाउन पाइने, मीठामीठा खानेकुरा खान पाइने, नयाँ ठाउँहरू घुम्न पाइने भएका कारण पनि उनी यस क्षेत्रतिर आकर्षित थिए। भारतबाट डाक्टरी अध्ययनबारे खबर नआउँदासम्म उनको लत अझ गाढा गरी यतै बसिसकेको थियो। त्यसैले पनि मोडिएको जीवनको बाटो सँगसँगै सहजै मोडिन तयार भए उनी। पर्यटनमै केही गर्ने अठोट लिएर अघि बढे।

xiring.jpeg

माउन्टेन ट्राभलको म्यानेजरदेखि एसियन ट्रेकको मालिकसम्म

नेपालको पहिलो ट्रेकिङ एजेन्सी माउन्टेन ट्राभलमा म्यानेजर भएर काम गर्दैगर्दा आङछिरिङले सायद सोचेका थिएनन् कि उनी एकदिन पर्वतीय पर्यटनको बादसाहका रूपमा चिनिनेछन्। 

माउन्टेन ट्राभलबाट लुक्ला चार्टर फ्लाइट मात्रै चल्थ्यो। उनी लुक्ला गएर फ्लाइट ह्याण्डिल गर्थे। शेर्पा कोअपरेटिभमा पनि उनले म्यानेजर भएर काम गरे। एक ट्रेकिङ एजेन्सीमा सेयर होल्डर भएर संलग्न रहे भने हिमालयन रोबो ट्रेकमा पनि उनले काम गरे।

बिस्तारै बिस्तारै उनको व्यावसायिक क्षेत्र बढ्दै गयो। उनले हात नहालेको सायद कमै उद्योग थियो त्यतिबेला। 

उनका अनुसार नेपालमा पहिलो पटक कार्पेट उद्योग सञ्चालन गर्ने पनि उनकै समूह थियो। उनको उद्योगबाट विदेशमा समेत कार्पेट निर्यात हुन्थ्यो। त्यसै सिलसिलामा युरोप लगायत धेरै देश घुमे। त्यतिबेला युरोपतिर प्लटिङ मौलाएको थियो, त्यहाँबाट फर्किएर उनी प्लटिङमा पनि जोडिए। गार्मेन्ट उद्योगमा पनि उनी राम्रैसँग जमेका थिए। 

यतिबेलासम्म उनले सफलताको स्वाद राम्रैसँग चाखिसकेका थिए। 'जहाँ छोयो त्यहीँ सुन फलेसरी भयो त्यतिबेला त। कार्पेट, प्लटिङ, ट्रेकिङ, ट्राभल, होटेल, गार्मेन्टबाट पैसा त कति कमाइयो कमाइयो, हिसाबै भएन। जहाँजहाँ मेरो प्रत्यक्ष संलग्नता रह्यो त्यो व्यवसाय माथि पुग्यो, अरूको भरमा छाडिएका व्यवसाय भने कति घाटामा गए त कति बन्द भए,' आङछिरिङले भने। 

एकदिन छिरिङका एक साथीले एसियन ट्रेकिङ बिक्रीमा रहेको सुनाए। पञ्चायतका सदस्य स्याङ्जाका पिताम्बर थापा र राप्रपाका तत्कालीन महामन्त्री चन्द्रबहादुर गुरुङको संस्था थियो त्यो। पर्यटन क्षेत्र नबुझेका कारण पनि हुन सक्छ, उनीहरूले चलाउन सकेनन् त्यो संस्था र बेच्ने निधो गरे।

त्यतिबेला लाइसेन्स लिन निकै कठिन थियो। दर्ता भएको संस्था बिक्रीमा रहेको सुनेलगत्तै उनले थापालाई उनैको घरमा गएर भेटे। दुवै पक्षबीच कुरा मिलेपछि १९८२ को सेप्टेम्बरमा करिब दुई लाख २५ हजार तिरेर आङछिरिङले एसियन ट्रेकिङ किनेका हुन्।

त्यतिबेला लाइसेन्सको पेपरबाहेक संस्थाको अरु केही उपकरण तथा सामग्रीहरू थिएनन्। धेरैले उनलाई 'त्यत्रो पैसा हालेर किने किनेको?' भन्दै कराए पनि। तर उनी कति पनि निराश भएनन्। किनकी उनीसँग त्यसबारे ज्ञान थियो। धैर्यता थियो। लगनशीलता थियो। उकास्न सक्छु भन्ने आत्मविश्वास थियो। निरन्तरको साधना र लगनशीलताले एसियन ट्रेकिङ ५१ वर्षदेखि निरन्तर सेवामा छ। एसियन ट्रेकिङपछि उनले होटल गौरीशंकर पनि सञ्चालनमा ल्याए।

फापेन एयरलाइन्स : तीन वर्षमा तीनवटा हेलिकप्टर दुई जहाज दुर्घटना, अर्बौँ क्षति

नेपालमा प्रजातन्त्र आइसकेपछि खुला आकाश नीति सरकारले अवलम्बन गर्‍यो। एसियन एयरलाइन्स, नेपाल एयरलाइन्स र आङछिरिङको निकोन एयरले सँगसँगै पहिलो पर्यटन एयरलाइन्सको लाइसेन्स पाए। 

नेपालमा पहिलो प्राइभेट एयरलाइन्स सञ्चालन गरेको आङछिरिङको समूह एयरक्राफ्ट र हेलिकप्टर (एसियन एकेडेमिज) ल्याउनेमा भने तेस्रो भयो। उनको समूहले रसियन फ्याक्ट्रीबाटै दुईवटा हेलिकप्टर बनाउन अर्डर दियो, जसको निर्माण पूरा भएर सञ्चालनमा ल्याउन ठ्याक्कै दुईवर्ष लाग्यो। 

आङछिरिङका साथीहरूले स्काइ एयरलाइन्स पनि खोलेका थिए। तर उनीहरूलाई चलाउन गाह्रो भइरहेको थियो। एकदिन साथीहरूले सेयरसहित उक्त संस्थाको चेयरम्यान भएर त्यसलाई अगाडि बढाउन सहयोग गर्न अनुरोध गरे। त्यसपछि उनी त्यसमा पनि संलग्न भएर काम गरे। तर उनलाई एयरलाइन्स फापेन, सबै दुर्घटना भएर सकिए। डुब्यो कम्पनी। 

सन् २००३ देखि नै दुर्घटना सुरू भएको हो। त्यो वर्ष सुर्खेतमा पार्किङमा राखेको एउटा हेलिकप्टर लोडसेडिङको मौका छोपेर माओवादीले बम ब्लास्ट गरिदिए। त्यसको क्षतिपूर्ति न उनले सरकारबाट पाए न त इन्स्योरेन्सले बेहोर्‍यो।

'त्यही बेलुकी नै माओवादीको एक समूहले दाङको एक आर्मी क्याम्पमा आक्रमण गरेछ। आक्रमणमा १८/१९ जना आर्मी मारिए। ९/१० जना माओवादीको पनि ज्यान गयो', उनले बीमाबातको रकम नपाउनुको कारण खुलाउँदै भने, 'त्यसको भोलिपल्ट सरकारले माओवादीलाई आतंकवादी घोषणा गर्‍यो। आतंकवादीसम्बन्धी बीमा नभएका कारण क्षतिपूर्ति पाएनौँ।'

xiring1.jpeg

अर्को एउटा हेलिकप्टर दुर्घटना भयो या हरायो अत्तोपत्तो भएन। उक्त हेलिकप्टरको एक टुक्रासमेत अहिलेसम्म फेला नपरेको उनी बताउँछन्। 'मकालु बेसक्याम्पबाट पहिलो लटमा पर्यटकहरू लुक्ला लिएर आयो। दोस्रो लटमा सामान र कामदारहरू लिएर आउँदै गर्दा मकालु बेसक्याम्पबाट उडेको खबर आयो तर अवतरण हुन पाएन,' उनले भने, 'दुर्घटना भएको अनुमान गरी सबैतिर खोजी गरियो तर त्यसको एउटा पार्टपुर्जा समेत भेटिएन।'

उक्त हेलिकप्टर खोज्नलाई झण्डै तीन करोड ५० लाख रुपैयाँ खर्च भएको उनले बताए। उनका अनुसार त्यतिबेला 'माओवादी बोलेको, तपाईंको हेलिकप्टर हाइज्याक गरेर फलानो ठाउँमा राखेका छौँ' भन्दै बारम्बार फोन आउने तर उनीहरूले भनेको ठाउँमा खोज्न जाँदा नभेटिने अवस्था थियो। 'उनीहरूले भनेका धेरै ठाउँमा मान्छे लगाएर खोज्न पठाइयो तर पाइएन। फोन गरेर यसरी हैरान बनाएपछि प्रचण्ड अथवा हाइ कमाण्डसँग भेटाइदिन पदमरत्न तुलाधरसँग आग्रह र्गयौँ। पछि प्रचण्डले आफूहरूको अधिनमा हेलिकप्टर नभएको घोषणा गरे। अनि हामीले खोज्न छाडिदियौँ।'

उनले परिवारलाई भने एयरलाइन्समा जोडिएको कुरा सुनाएका थिएनन्। लामो समयपछि उनले दिदीलाई एयरलाइन्स चलाउन लागेको सुनाए, जबकि उनले थालिसकेका थिए। दिदीले एक लामालाई हेराएर मात्रै सुरू गर्न सल्लाह दिइन्। एकदिन दिदीभाइ ती लामाकहाँ जोखाना हेर्न गए। लामाले आङछिरिङलाई फलाम (मेशिनरी) नफाप्ने भन्दै सुरु नगरेको भए हात नहाल्न भने। 

आङछिरिङलाई पनि हो कि जस्तो भयो। यता एसियन ट्रेक फस्टाइरहेको। उता एयरलाइन्स, हेलिकप्टर दुर्घटनाले घाटामा लगिरहेको। तर उनी अन्योलमा थिए, बन्द गर्ने या चलाउने निर्णय लिन सकिरहेका थिएनन्। 

यो बिचमा लुक्लामा पार्किङ गरेर राखेको अर्को एउटा सानो हेलिकप्टरमा क्षति पुग्यो। अर्को एउटा जहाज भट्टेडाँडामा दुर्घटना भयो भने एउटा सुर्खेतको माथि डाँडामा रुखको हाँगामा ठोक्किँदा दुर्घटना भयो।

तीन वर्षमा तीनवटा हेलिकप्टर, दुई वटा जहाज दुर्घटना भएपछि अब भने आङछिरिङले एयरलाइन्सबाट हात झिक्ने निर्णय लिए। 'एयरलाइन्समा धेरै घाटा भएपछि लामाले भनेको कुरामा विश्वास लाग्यो। भएको प्लेन बेचिदिएँ। लिजमा लिएको पनि फिर्ता गरिदिएँ। हेलिकप्टरबाट पनि हात झिकेँ', उनले भने, 'यदि लामाले त्यसो नभन्दिएको भए म अहिलेसम्म पनि चलाउँथेँ होला।’

एयरलाइन्स बन्दा गर्दा उनले पाइलट, कर्मचारी लगायतको तलब र कम्पन्सेसनसहित एकैदिन २२ करोड रूपैयाँ बाँडे।

000

देश विदेशका दर्जनौँ टाकुरा, पर्वत आरोहण गरेका आङछिरिङलाई अझै पनि खट्कन्छ - 'धौलागिरीको १७ मिटर उचाई पार गर्न सकेको भए आज ८ हजार मिटर माथिको हिमाल चढेँ भन्न पाइन्थ्यो।' सगरमाथाको ८ हजार मिटरसम्म पुगेका उनी बेल्जियमका टोली लिएर धौलागिरीको ८ हजार एकसय ५० मिटरसम्मको उचाईमा पुगे। तर अचानकको ठूलो हुरीबतासले बेल्जियमका नागरिक आत्तिए र ‘बाँचिएछ भने अर्को पटक चढौँला’ भन्दै फर्किने निर्णय गरे। आङछिरिङलाई भने चुचुरोसम्मै पुग्ने इच्छा थियो। तर उनीहरूलाई सकुसल फर्काउनु आफ्नो जिम्मेवारी भएका कारण उनी पनि सँगसँगै फर्किए। 

त्यो एक घण्टा र १७ मिटरको थकथकी उनलाई अझै छ। सगरमाथाको उचाई चुम्न नसके पनि पर्यटन व्यवसायमा भने आङछिरिङ शिखरमै छन्। समस्या र चुनौतीका बतासले उनलाई उचाईसम्म पुग्नबाट वञ्चित गराउन सकेन, उनी निरन्तर अगाडि बढिरहे, बढिरहे र यहाँसम्म आइपुगे।

उनलाई डाक्टर नबनेकोमा पछुतो कहिल्यै भएन। एयरलाइन्समा करोडौँ डुब्दासमेत उनी दुःखी भएनन्।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्षसमेत रहेका आङछिरिङ उमेरले ७० पुग्नै लागे, अझै पनि सक्रिय भएर पर्यटन प्रवर्द्धनमा लागिरहेका छन्। हिमालसम्बन्धी आर्टिकलहरू सकेसम्म छुटाउँदैनन्। उनी निन्द्रालाई भन्दा अध्ययन र ज्ञानलाई प्राथमिकतामा राख्छन्। उमेरले उनकाे लगनशीलतामा कुनै प्रभाव पारेकाे छैन। उनी एसियन पर्वतारोहण महासंघ (जसमा २६ वटा एसियन कन्ट्रीहरू आबद्ध छन्) का निवर्तमान अध्यक्ष पनि हुन् भने विश्व पर्वतारोहण महासंघको मानार्थ सदस्य छन्। 

विश्व पर्वतारोहण महासंघको ९० वर्षको इतिहासमा एसियाबाट मानार्थ सदस्य जापान पहिलो थियो भने जापानपछि दोस्रोमा छिरिङ मानार्थ सदस्य भएका हुन्। हिलारीको निधनपछि रिक्त रहेको स्थानमा विश्वभरका ८७ प्रतिस्पर्धीबाट उनी छानिएका हुन्।

‘मसँग व्यवसाय कसरी चलाउने ज्ञान छ, क्षमता छ। मेरो दूरदृष्टि नपुग्ने ठाउँमा पो म असफल भएँ। तर मेरो दृष्टि पुग्ने क्षमता भएको ठाउँमा त म सफल भएको छु। म त्यही पोजिसनमा आउन सक्छु भन्ने विश्वास र हिम्मत थियो मसँग। त्यसकारण पनि एयरलाइन्स डुब्दा समते विचलित भइनँ’, उनले भने, ‘डुबे पनि म उकासिन सक्छु भन्ने आत्मविश्वास हुनुपनर्‍यो आफू लागेको क्षेत्रको ज्ञान हुनुपर्‍यो। हिम्मत र आँट हुनुपर्याे। विश्वसनीयता हुनुपर्‍यो। हिम्तत नहारी इमानन्दार र लगनशील भएर लागियो भने जुनसुकै क्षेत्रमा पनि सफलता हासिल गर्न सकिन्छ।’

उनकै लगनशीलता र इमानदारीताका कारण पनि एसियन ट्रेक आजसम्म टिकिरहेकाे छ। 'अफिस खोल्नु ठूलो कुरा होइन, त्यसलाई निरन्तरता दिनु ठूलो कुरा हो', उनले भने, 'इमानदार र लगनशील मानिस सधैँ ढिलो चाँडो सफल हुन्छ नै।'

पर्यटनमा आङछिरिङको ६० वर्ष : नेपालले चिनेन हिमाल 

आङछिरिङ शेर्पाले सन् १९६३ देखि नै पर्यटनबारे बुझ्ने मौका पाए। सो वर्ष भएको पहिलो अमेरिकन एभरेस्ट एक्सपिडिसनको मुख्य संयोजकमा उनका काका थिए भने बुवा इक्वीपमेन्ट इन्चार्ज थिए। आयोजकलाई अंग्रेजीमा हिसाबकिताब बुझाउनुपर्ने भएका कारण उनलाई विवरण टिप्ने कामको जिम्मेवारी दिइएको थियो। त्यतिबेला हिलारी स्कूल पढेकाबाहेक अरुले अंग्रेजी जान्दैन थिए। त्यसकारण आङछिरिङका बुवाले उनलाई आफूसँगसँगै लिएर हिँडे। 

त्यतिबेला काठमाडौंबाट बनेपासम्म मात्रै गाडी गुड्ने बाटो थियो। एक्सपिडिसनका लागि सामान जुटाउन उनका बुवा, काका र उनीसहित खुम्बुबाट २ सय ५० जना भरिया, क्लाइम्बिङ शेर्पाहरू १६ दिन लगाएर बनेपासम्म हिँडेर आए। त्यहाँबाट ट्रकमा उनकाे परिवार र केही भरियाहरू काठमाडौं आए। तीन दिनमा सबै सामान जुटाए र नौसय ७ जना भरियाहरूलाई सामान बाेकाएर उनीहरूकाे टाेली २३ दिन हिँडेर एभरेष्ट बेसक्याम्पसम्म पुग्यो। 

होटलहरू पनि खासै थिएनन् यहाँ, असुविधा थियो बस्न। निकै सकसपूर्ण तरिकाले एक्सपिडिसन सम्पन्न भयाे। त्यतिबेला आङछिरिङले छुट्टै पैसा भने पाएनन् काम गरेबापत। उनले पहिलो पटक पर्यटन क्षेत्रबाट कमाएको सन् १९६६ मा हो। त्यतिबेला जापानका एक ठूला डाक्टरलाई एभरेष्ट बेसक्याम्पसम्म लिएर गएबापत उनले एक सय चानचुन कमाएका थिए।

पर्यटनमा ६ दशक बिताएका आङछिरिङ पूर्वाधार, प्रविधि लगायत सेवासुविधाका हिसाबले केही परिवर्तन भए पनि अपेक्षाकृत प्रगति भने हुन नसकेको बताउँछन्। हिमाली पर्यटन चुनौतिपूर्ण भएका कारण पर्यटकलाई आकर्षित गर्न पर्यटनमैत्री पूर्वाधारहरूको निर्माण र विकास हुनुपर्नेमा उनको जोड छ। 

‘कुनै नयाँ ठाउँ, देश घुम्न जानुअघि पर्यटकले त्यहाँको पूर्वाधार, सुरक्षा, सम्भावित दुर्घटना, उद्धार र उपचारको अवस्थाबारे अध्ययन गर्छन्, अनि मात्रै उनीहरू आउने हुन्’, उनले भने, ‘त्यसकारण पर्यटक तान्न पर्यटनमैत्री पूर्वाधार तयार गर्नुपर्छ। सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्छ। नयाँनयाँ गन्तव्यकाे खोजी र सेवासुविधाका विषयमा पनि ध्यान दिन सके पर्यटक आवागमन बढाउन सकिन्छ। अहिलेकै अवस्था रहिरहने हाे भने पर्यटन क्षेत्र अझ खस्किन सक्छ।’

असमान पर्यटन नीतिकै कारण अन्नपूर्णमा पर्यटकको भिड लाग्दा मनासलु सुनसानजत्तिकै हुने गरेको उनले बताए। 'मनासलु र अन्नपूर्ण भौगोलिक हिसाबले दुवै उत्कृष्ट गन्तव्य हो। तर सरकारले अन्नपूर्णलाई खुला क्षेत्र घाेषणा गर्दा मनासलु नियन्त्रित क्षेत्र बनायाे। २०१९ मा अन्नपूर्णमा एक लाख ९१ हजार पर्यटक पुग्दा मनासलुमा १६ हजार पर्यटक पनि पुगेनन्', उनले भने, 'मनासलु त काठमाडाैंबाट अन्नपूर्णभन्दा नजिक हाे। तर पनि मनासलु ५० वर्षअगाडि जस्तो थियो अहिले पनि त्यस्तै छ, दुरबिन लगाएर पर्यटक हेर्नुपर्ने अवस्था छ। जबकि अन्नपूर्णमा रुम पाउनसमेत गाह्रो पर्ने गरी पर्यटक पुग्छन्।'

लुक्ला एयरपाेर्टलाई पनि गलत तरिकाले व्याख्या गर्दा पर्यटक जान डराउने गरेकाे उनी बताउँछन्। 'लुक्ला एयरपोर्ट संसारको खतरायुक्त एयरपोर्ट भनेर नकारात्मक तरिकाले प्रचार हुँदा पर्यटक त्यहाँ जान डराउने अवस्था छ। न त बाटोको अवस्था नै राम्रो छ', उनले भने, 'सरकारले आम्दानीकाे प्रचुर सम्भावना भएकाे पर्यटनलाई प्राथमिकतामा नराख्दा याे क्षेत्र उँभाे लाग्न सकेन।'

अस्थिर राजनीति, अपरिपक्व नेतृत्वका कारण पनि पर्यटन क्षेत्रकाे विकास हुन नसकेकाे उनकाे भनाइ छ। 'सरकार न आफू जान्दछ न अरुले भनेको नै मान्छ। न कुनै भिजन छ, न विकासकाे अठाेट। यसरी कसरी प्रगति हुन्छ?', उनी भन्छन्, '‘हाम्रोभन्दा गरिब देशहरू कहाँ पुगिसके, हामी पुग्न नसक्ने भन्ने हुँदैन। क्षमतावान नेतृत्व आउने हो र याेजना बनाएर मिसनका साथ अघि बढ्ने र बढाउन सक्ने खालकाे नेतृत्व आउने हो भने हाम्रो देश र पर्यटन क्षेत्र दुवै माथि उकास्न सकिन्छ।'


प्रकाशित : बिहीबार , चैत ३० २०७९१८:१६
  • सम्बन्धित विषय:

  • # nepalitourism
  • # nepaltourism
  • # tourismspecial
  • # visitnepal


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend