शनिबार, वैशाख ८ गते २०८१    
images
images

आरआर पाण्डे : पर्यटन क्षेत्रमा एउटा इमान्दार मेहनत

'पर्यटन विकासमा किन महत्वपूर्ण छ एयरलाइन्स?'

images
images
आरआर पाण्डे : पर्यटन क्षेत्रमा एउटा इमान्दार मेहनत

'सपना देख्नुपर्छ र त्यो सपना पूरा गर्न काममा मेहनत गर्नुपर्छ। सामान्य परिवारबाट अघि बढेका आरआरले त्यही ठूलो सपना पूरा गर्ने मेहनतले नै आफ्नो उदाहरणीय कर्मको कथा रचिरहेका छन्।'

images
images

काठमाडौं- 'दिल्लीबाट विमान आइसक्यो लौ चिया खाने बेला भइसकेछ।' एक समय थियो उपत्यकामा मानिसहरू विमान देखेर नै समयसमेत अन्दाज गर्थे। काठमाडौंबाट बेलुका पाँच बजे दिल्ली गएर भोलिपल्ट बिहान काठमाडौं फर्किएको विमान देखेपछि उपत्यकावासी चियाको समय भएको बुझ्थे। 

images
images
images

त्यसबेलाको रोयल नेपाल एयरलाइन्स समयमा कति ख्याल गर्थ्यो भन्ने बुझाउन प्रयोग गरिएको उदाहरण देख्ने भोग्नेहरू अहिलेसम्म सुनाउँछन्। त्यसमा पनि रोयल नेपालमै रहेर काम गरेकाहरूको अनुभव वृहत छ। नेपालको पर्यटन क्षेत्रको विकासमा सन् १९५८ मा सुरू भएको रोयल नेपाल एयरलाइन्सको भूमिका पर्यटकलाई मीठो आतिथ्यसहित देशसँग जोड्नमा विशेष रह्यो। 

images

नेपाल भित्रिएका पर्यटकहरूको कथामा ती दिनहरूको सम्झना गहिरो छ। अझ त्यससँगै जोडिएर आफ्नो ऊर्जावान समय खर्चिएका रविन्द्र राज पाण्डेसँग त पुराना दिन सम्झिने कथाहरू कति होलान्? अनगिन्ति। सम्झनाका पत्रे तरेलीहरूमा उनका यस्ता यादहरू छन्, यस्ता भोगाइहरू छन् जसलाई नियाल्दा नेपालको पर्यटनको लगभग चित्र देखिन्छ। 

images

रविन्द्र राज पाण्डे, उनलाई चिन्नेहरू सजिलोगरी आरआर भनेर बोलाउँछन्। उनै आरआर अहिले ७६ वर्षको उमेरमा कमलादीस्थित एभरेस्ट एक्सप्रेस टुर्स एण्ड ट्राभल्समार्फत निरन्तर कर्ममा छन्। पर्यटनको कर्ममा। देशलाई पाहुनासँग जोड्ने माध्यममा। नेपाल चिनाउने सत्कर्ममा। रोयल नेपाल एयरलाइन्सबाट सुरू भएको उनको पर्यटन क्षेत्रको उडानले धेरै पखेटा थपिसक्यो। अझै अनवरत उडानमा रहिरहनेगरी।  

images
images
RR pandey (3).jpg

नेपाली पर्यटन क्षेत्र विकासको सुरुवातदेखि नै सँगसँगै अघि बढिरहेका छन्, आरआर। सन् १९६५ जनवरी ३ मा रोयल नेपालमा जोडिएर १६ वर्ष काम गरेका आरआरले अहिलेसम्म आइपुग्दा पर्यटन क्षेत्रमा उदाहरणीय योगदान गरेका छन्। देशको चित्र देखेका छन्। आउने पुस्ताका लागि कर्म गर्न सक्ने बाटोहरू खोलिदिएका छन्। सम्भावनाको क्षितिज देखाएका छन्। 

रोयल नेपालको समयको ख्याल उनै आरआरले पनि सँगै बसेर देखे। त्यसलाई सधैँ कायम राख्न भूमिका खेले। उनले रोयल नेपालकै लागि बैंककमा बसेर चार वर्ष मेनेजरको काम गरे। त्यसबेला बैंककमा भइरहेको दुईवटा उडानलाई बढाएर चारवटासम्म बनाए।  

बैंककबाट नेपाल फर्किएर काम गर्ने बेलामा रोयल नेपाल व्यवस्थापनसँग केही मतभेद भएपछि उनले राजीनामा गरे। त्यसपछि नै हो उनले सन् १९८० मै एभरेस्ट एक्सप्रेस टुर्स एण्ड ट्राभल्स सुरु गरेको। आफ्नै कम्पनीको काममा ध्यान दिन थाले। विभिन्न देश गएर नेपालमा पर्यटक ल्याउनका लागि काम सुरू गरे। जसले एक समय एभरेस्ट एक्सप्रेस टुर्समा १ सय २५ जनासम्मले रोजगारी गर्थे।

आफूले सुरू गरेको कम्पनी राम्रो हुँदै गएपछि उनले यही क्षेत्रका लागि केही गर्नुपर्छ भन्ने सोच्न थाले। भविष्यलाई हेरेर संगठित काममा ध्यान दिए। त्यसपछि नै हो उनी 'नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल नाटा'मा अध्यक्ष भएको। त्यसपछि पाटा नेपाल च्याप्टरको प्रमुखका रूपमा पनि काम गरे।

RR pandey (2).jpg

पाटा नेपालमार्फत आरआरलाई एसिया प्यासिफिकका राम्रा मान्छेहरूसँग संगत गर्ने मौका मिल्यो। उनीहरूलाई नेपालका बारेमा जानकारी गराउने काममा आरआरको भूमिका विशेष छ। त्यसबेला नेपालमा नै पाटाको बोर्ड बैठक पनि आरआरकै सक्रियतामा भयो। बैठकमा आएकाहरूलाई हेलिकप्टरमा स्याङबोचे र थ्याङबोचेसम्म पुर्‍याउँदा धेरैले नेपालको अथाह सम्भावना एकैपटक देखे। 

आफू संलग्न भएको क्षेत्रमा मात्रै होइन आरआरले नेपाली पर्यटनको अरू दृश्यहरू पनि नजिकबाट बुझेका छन्। लाजिम्पाटको स्नो भ्यू होटलदेखि पोखराको फिस्टेल लजसम्मका पर्यटकसँगको कथा उनले देखेका छन्। नेपाली पर्यटन कसरी अघि बढ्यो, त्यसमा सँगसँगै हिँडेका छन्। 

आरआरले साथीहरूसँग मिलेर एभरेस्ट एयर पनि सुरू गरेका थिए। जुन सात वर्षजति चल्यो। साथीहरूसँगै गोर्खा ब्रुअरीमा पनि लागे। काठमाडौं मेडिकल कलेजको प्रमुख भएर पनि १० वर्ष काम गरे। फाइनान्स कम्पनी पनि चलाए। अवसर पाएअनुसार आरआरले विविध क्षेत्रमा काम गरे। त्यसमा उनी अनवरत छन्, पर्यटन क्षेत्रमा नै। 

एबिलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपालमार्फत साथीहरूसँग मिलेर सामाजिक काम पनि गरिरहेका आरआर जीवनमा सकारात्मक ऊर्जाका पर्याय बनिरहेका छन्। बेथिति र नाकामीको भीडमा पनि उनी बारम्बार दोहोर्‍याइरहन्छन्, 'अझै समय टरेको छैन, राम्रो गर्न सकिन्छ। बिग्रिएका कुराबाट सिकेर अघि बढ्ने हो।'   

उनलाई लाग्छ, सपना देख्नुपर्छ र त्यो सपना पूरा गर्न काममा मेहनत गर्नुपर्छ। सामान्य परिवारबाट अघि बढेका आरआरले त्यही ठूलो सपना पूरा गर्ने मेहनतले नै आफ्नो उदाहरणीय कर्मको कथा रचिरहेका छन्। ७६ वर्षमा उसैगरी युवावयको जोशमा काम गरिरहेका छन्। भन्छन्, 'मुख्य कुरा नै समय हो। च्याँ भएर जन्मिन्छ मान्छे, फ्याँ भएपछि त सकियो। त्यही च्याँ र फ्याँ बीचको समय अवरिवर्तनीय छ, त्यो समयलाई खेर फाल्नु हुँदैन।'

RR pandey (4).jpg

नेपालको पर्यटनमा पाण्डेको 'नजर' : विगतदेखि वर्तमान

पहिले त विदेशीका लागि नेपाल खुला थिएन। सन् १९५१ तिरमात्रै विदेशीलाई नेपालमा आउनका लागि अनुमति दिइयो। हुन त पहिले नै अरनिकोहरू आएको कुरालाई अलि भिन्दै मानेर हेरौँ। त्यसलाई पूर्वऐतिहासिक विषयका रुपमा हेरौँ। अहिले नजिकैको इतिहासलाई हेर्ने हो भने नेपालमा आउने पहिलो पर्यटक टोनी ह्यागनलाई नै लिइन्छ। टोनी ह्यागन नेपाललाई एकदमै माया गर्ने व्यक्ति हुन्।

सन् १९५८ मा रोयल नेपाल एयरलाइन्स सुरू भयो। हुन त त्यसअघि भारतको जाम एयर, नेपालीहरूले सुरु गरेको हिमालयन एभिएसनहरू पनि थिए। सरकारी तवरबाटै रोयल नेपाल एयलाइन्स सुरू हुनुको अर्थ वृहत थियो। त्यो सुरू भएपछि पर्यटनका विषयमा कुराहरू आउन थाल्यो। रोयल नेपालले सुरूमा त डोमेस्टिक उडानमात्रै गरेको थियो।

पछि विस्तारै भारत र ढाकामा पनि उडान भयो। त्यसबेला ढाका इस्ट पाकिस्तान थियो। विमान दिल्ली, कोलकाता र पटना पनि गयो। त्यसबेला विश्वयुद्धको समयको डीसी थ्रीहरू कुनै अस्ट्रेलियन, कुनै अमेरिकन सरकारले सहयोग गरेका विमानहरू थिए। त्यसैबाट रोयल नेपाल चल्थ्यो।

रोएल नेपाल उड्न थालेपछि नै पर्यटकहरूको आगमन पनि अलि देखिने गरी हुन थाल्यो। सँगसँगै इन्डियन एयरलाइन्स पनि आउन थालेको थियो। त्यसरी सुरू भएको पर्यटनमा थाई इन्टरनेशनल पनि निकै सहयोगी भएर आयो। थाईले सुरूमै जेटबाट सेवा सुरू गरेको थियो। उसको क्याराभल भन्ने विमान थियो। हाम्रो एयरपोर्टमा रनवे जम्मा ६६ सय फिट थियो। त्यो जहाज ल्यान्ड गर्दा अडाउनका लागि पछाडि प्यारासुटसमेत राखेर गति विचार गरेर अडाउन सहयोग गर्ने गरिन्थ्यो। त्यस्तो कुरा अहिले त सुन्नेलाई अचम्म लाग्न सक्छ। 

पछि अन्य उडानहरू पनि बढ्दै गयो। एयरलाइन्सहरूले विस्तारै मान्छे ल्याउँदै गएपछि अब आएका पाहुनाका लागि होटल पनि त चाहिने भयो। पर्यटकलाई सहयोग गर्ने गाइडहरू चाहियो। दृश्यावलोकनका लागि ठाउँहरू चाहियो। त्यो बेला डिमार्टमेन्ट अफ टुरिजम भनेर श्री ५ सरकार अन्तर्गतको कार्यालय बसन्तपुरमा थियो। रहिन बसेरा भन्ने भवनमा थियो। नेपालको पहिलो टुरिजम डिरेक्टर धर्मनारायण प्रधान हुनुहुन्थ्यो। 

त्यसबेला टुरिस्टका लागि देखाउने कुरा के त? नेपालमा हामीसँग तीन कुरा छन् भनिन्छ। यहाँको प्राकृतिक सुन्दरता, पुर्खाले छाडेर गएका कला र सम्पदाहरू। तेस्रोमा चाहिँ यहाँका मानिसहरू। नेपाली जात। नेपाली स्वभाव र मानवीय भावना पनि हाम्रो सम्पत्ति नै हो। जसले पर्यटकलाई आकर्षित गरिरहेको हुन्छ। 

यसैले त्यसबेला नेपाल आउने पर्यटकका लागि देखाउने कुराहरूमा उपत्यकाका सम्पदा धरोहर नै भइहाले त्यससँगै उपत्यकानजिका डाँडाहरू पनि केही विकास भए। नगरकोट, ककनी र अर्को चाहिँ दामनमा भ्यू टावर बनाइएका थिए। जसमार्फत पर्यटकहरूले हिमालको दृश्यावलोकन गर्थे। त्यही नै पहिलो पर्यटकीय 'प्रोडक्ट' बन्यो। 

त्यसबेला सुरूमा उपत्यकामा तीनवटा होटल थिए। रोयल होटल भन्ने थियो। जुनमा अहिले निर्वाचन आयोगको कार्यालय रहेको छ। अर्को लाजिम्पाटमा स्नो भ्यू होटल भन्ने थियो। तेस्रो पारस होटल भन्ने थियो। जुन जुद्ध शालिक भएको उत्तरपट्टी थियो। 

काठमाडौंबाहिर जानुपर्दा राम्रा होटलमा पोखरामा फिस्टेल लज भन्ने थियो। न्यू किस्टल होटल भन्ने पनि थियो। त्यसबेलासम्म चितवन त खुलेकै थिएन। पोखरा र काठमाडौं मात्र नै थियो। त्यसपछि पछि मात्रै राष्ट्रिय निकुञ्जहरू थपिँदै गए। पर्यटकका लागि अलि भिन्नखाले अनुभव गराउन सकिने ठाउँहरू थपिँदै गयो। 

पर्यटकलाई घुमाउन गाइडको तालिमहरू पनि सुरू भयो। त्यो काम डिपार्टमेन्ट अफ टुरिजममार्फत नै भएको थियो। त्यसपछि होटल म्यानेजमेन्ट एण्ड टुरिजम ट्रेनिङ सेन्टर भनेर रबिभवनमा सुरू भयो। जसले होटलमा आवश्यक म्यानपावर उपलब्ध गराउन थाल्यो। यसरी विस्तारै पर्यटन क्षेत्र अघि बढ्दै गयो। 

नेपालका लागि मात्रै होइन विश्वभर नै पर्यटन क्षेत्रको विकासका लागि एयरलाइन्सको भूमिका प्रमुख हुन्छ। नेपालमा त्यसका लागि रोयल नेपाल एयरलाइन्समार्फत नै काम सुरू भएको हो। रोयल नेपालले राम्ररी नै काम गरिरहेको थियो। त्यसबेला प्रतिस्पर्धा इन्डिएन एयरलाइन्स र थाई इन्टरनेशनलसँग नै थियो। बीचमा ६० को दशकको अन्त्यतिर युनियन अफ बर्मा एयरवेज पनि आउन थालेको थियो। उनीहरूले तीन/चार वर्ष नेपालमा काम गरे जस्तो लाग्छ। 

यस्तोमा पनि नेपाल एयरलाइन्सले आफ्नो छुट्टै परिचय बनाउन सकिरहेको थियो। त्यही बेलामा सरकारले नेपाल एयरलाइन्सलाई माथि लान बाहिरको एयरलाइन्सको सहयोग चाहिन्छ भनेर एयर फ्रान्ससँग सहयोग लिएको थियो। त्यसबेला एयर फ्रान्सको टिम काठमाडौं आएर पनि काम गरेको थियो। 

एयर फ्रान्सले टर्बोमात्र चलाएर माथि जान सकिँदैन जेट चाहिन्छ भनेर विश्वस्त बनाएको थियो। सन् १९७२ मा पहिलोपटक जेट विमान पनि रोयल नेपालमा आयो। त्यससँगै नेपालको भौगोलिक स्थितिमा नेपालीका लागि सबैभन्दा सहज हवाई मार्ग नै हो भन्ने कुरा पनि भयो। अब ठूला विमान नेपालको पहाडमा जान सम्भव थिएन। त्यस्तोमा एयर फ्रान्सले नै नेपालमा सर्ट टेकअफ र ल्यान्डका लागि काम गरे। त्यसका लागि सबैभन्दा उपयुक्त क्यानडाले बनाएको एउटा विमान थियो। डिह्याबीलान ट्वीनअटर डीएचसी सिक्स भन्ने थियो। त्यसले नेपालको टुरिजममा ठूलो भूमिका खेल्यो। 

त्यसबेला प्रतिस्पर्धीका रुपमा हेरिएको इन्डियन एयरलाइन्सभन्दा नेपाल एयरलाइन्स निकै अघि थियो। फ्लाइटमा त्यहीबेला नै ड्रींक्सहरू सर्भ गर्न थालिसकेको थियो, खानाहरू खुवाउन थालिसकेको थियो। त्यसमा सबैभन्दा महत्वपूर्ण भनेको ठीक समयको उडान अवतरणका लागि नेपाल एयरलाइन्स चिनिएको थियो। समयमा उड्ने र अन्य सेवाका लागि पनि नेपाल एयरलाइन्सलाई धेरैले राम्रो मान्थे।

विस्तारै रोयल नेपाल बैंकक र हङकङ पनि जान थाल्यो। उडानहरू थपिँदै गए। आजको दिनसम्म आउँदा नेपाल एयरलाइन्सको अवस्था त सबैलाई थाहै छ। अब धेरै नकारात्मक कुरातिर नजाऔँ। त्यसबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। सकारात्मक हुनुपर्छ। 

त्यसबेलादेखि नै हामी सबैले एयरलाइन्सको विकासका लागि नेपाली विज्ञहरूको कामले मात्र पुग्दैन बाहिरबाट बरू पार्टनर नै पनि ल्याउनुपर्छ भनिरहेको हो। त्यसमा नेपालको ५१ प्रतिशत नै स्वामित्व राखेर पनि राम्ररी काम गर्दै बढ्न सकिन्थ्यो। धेरै कुरा उठेर धेरै कार्यदल बने, धेरै रिपोर्ट बने तर त्‍यो कार्यान्वयनमा जान सकेन। त्यसको फल त अहिलेको अवस्थाले देखाइरहेकै छ। नेपालको टुरिजमलाई ठूलो साथ दिनसक्ने क्षेत्र कमजोर देखिएको छ। अझै पनि सबै बिग्रिसकेको छैन, सुधारमा जान सकिन्छ। 

अब विगतका कुराबाट थोरै नजिक आऔँ। त्यसमा कोरोनाका कारण सिर्जित परिस्थितिले गएका तीन वर्षबारे कुरा नगरौँ। त्यो अवस्थाका बारेमा सबैलाई राम्रोसँग नै जानकारी छँदैछ। त्यसअघि पर्यटक आवागमन निकै राम्रो हुँदै गइसकेको थियो। २८ वटा एयरलाइन्सहरू नेपालमा आउन थालिसकेका थिए। अब विस्तारै हामी त्यो अवस्थामा पुगिहाल्छौँ। किनभने यहाँ अवसर छ। अवसर छ, व्यापार हुन्छ भन्ने भएपछि त जो पनि त्यसमा संलग्न हुन इच्छुक भइ नै हाल्छन्।

त्यो अवसर लिन नेपाल एयरलाइन्स चुकिरहे पनि अरूले त छाड्ने वाला छैनन्। राम्रो हुन्छ भने अरू पनि आइ नै हाल्छन्। दुईवटा उडानबाट नेपालमा जोडिएको सिंगापुर एयरलाइन्स अहिले सातामा ९ उडान गरिरहेकै छ। कतारलगायत अन्य एयरलाइन्स पनि अघि बढिरहेकै छन्। यी सबैले गर्दा नेपालको पर्यटन क्षेत्रमा योगदान भइरहेको छ। कोरोनाअघि वार्षिक १२ लाख पर्यटक भित्र्याउन त सफल भइएकै हो नि। 

कोभिडको बेलामा त्यत्रो दु:ख हुँदा पनि, सबै ठप्प हुँदा पनि अहिले आएर त सबै काममा फर्किन थाले नि। त्यो बेला धेरैले कर्मचारी कटौती गरे, कतिले बन्द गरे पनि उनीहरू नफर्कने गरि गएनन्। धेरै त मुस्किलमा पनि अडिरहे। अहिले विस्तारै सुधारतर्फ गइसक्यो। अहिले गएको मार्च महिनामा एक लाख पर्यटक आउनुले पनि राम्रोतिर नै संकेत गरिरहेको छ। यदि सबै ढोका बन्द गरेर अब सकियो भन्ने ठानेको भए त यति छिटै फर्कन पनि गाह्रो नै हुन्थ्यो। 

देशमा धेरै विषय पर्यटन क्षेत्रसँग जोडिएको छ भने सरकारले त्यसका लागि विशेष ध्यान त दिनैपर्छ। यो पर्यटन उद्योगले जुन सहयोग र समर्थन पाउनुपर्ने हो सरकारले त्यो दिने हो भने धेरै अघि बढ्न सकिन्छ। पर्यटन क्षेत्र विकास त भएरै नै छाड्छ। अहिले निजी क्षेत्रले यसमा लगाइरहेको लगानी हेर्दा पनि त्यो कुरा पुष्टी हुन्छ। पाँचतारे होटलमा भइरहेको लगानीमात्र हेर्ने हो भने पनि निजी क्षेत्रको विश्वास त देखिन्छ नै। उद्योगी व्यवसायीहरूले घाटा हुने ठाउँमा पैसा लगानी त पक्कै पनि गर्दैनन्। 

पर्यटन क्षेत्रमा लागिरहँदा कस्तो ज्ञान भयो भने यो निजी क्षेत्रले नै नेतृत्व लिएर अगाडि बढाइरहेको क्षेत्र हो। सरकारको साथबिना सम्भव त छैन, सरकारी साथहरू मिलिरहेको छ तर पनि यसको विकासमा अगाडि चाहिँ निजी क्षेत्र नै देखिन्छ। सरकारमा हुनेहरूले पनि नेपालमा पर्यटनको सम्भावनाबारे राम्ररी नै बुझेका छन्। उनीहरू आफ्नो भाषणमा त्यसबारे बारम्बार भनिरहेकै हुन्छन्। कृषि, जलस्रोत र पर्यटनकै कुरा त हाम्रा प्रमुख विषय हुन्। 

नेपालमा ८० को दशकमा नै यूएनडीपीसँगको सहकार्यमा पब्लिक प्राइभेट पार्टनसिप फर क्वालिटी टुरिजम  भनेर पर्यटन क्षेत्रमा काम गरेको थियो। क्वालिटी भर्सेस क्वानटिटीको बहस विश्वभर नै भइरहेकै हुन्छ। नेपालमा पनि भइरहेकै थियो। हामीजस्तो सानो देशमा पनि त्यसबारे कुराकानी भइरहेकै हुन्थ्यो। त्यसैले त्यो प्रोजेक्टमार्फत सरकार मातहतको टुरिजम डिपार्टमेन्टलाई पनि पब्लिक प्राइभेट पार्टनरसिपसँग किन नजोड्ने त भन्ने कुरा आयो। सरकार र यूएनडीपीले पनि त्यसमा राम्रो हुने नै देख्यो। जसले गरेर नेपाल टुरिजम बोर्डको परिकल्पना गरेर त्‍यो स्थापना भयो। 

टुरिजम बोर्डमा चारजना निजी क्षेत्रबाट, चारजना सरकारबाट र एकजना सीईओ पनि निजी क्षेत्रकै रहने गरी संरचना बनाइयो। त्यो निकै राम्रो थियो। सुरूका केही वर्ष नीतिनियमतिर ध्यान दिँदा नै बित्यो। अब अहिले राम्ररी काम गर्ने बेला बोर्डको अवस्था के छ सबैलाई थाहै छ। पहिलेको सही मार्ग छाड्दा हामीले टुरिजम बोर्डको कामबाट जे फाइदा लिन सक्थ्यौँ त्यसमा चुकिरहेका छौँ। तर अझै अबेला भएको छैन। 

नयाँ नयाँ होटलहरू आइरहेकै छन्। नयाँ एडभेन्चरका क्षेत्रहरू पनि आइरहेकै छन्। अझै पनि गर्न सक्ने काम धेरै छ। नयाँ नयाँ क्षेत्रहरू विकास गर्दै जानुपर्छ। सम्भावना धेरै नै छ। सहज नीति नियमहरू ल्याएर निजी क्षेत्रलाई अझ लगानीका लागि आत्मबल दिनु आवश्यक छ। 
हामीले सपना र सोच ठूलै राख्नुपर्छ। सरकारले अब सन् २०३३ सम्म पुग्दा वार्षिक ५० लाख पर्यटक ल्याउने योजनामा काम गर्दैछ। काम गर्ने हो भने त्यो सम्भव छ। गर्न सकिन्छ। तर परिकल्पना गरेर त्यसलाई कागजमा मात्र सीमित राखेर भने हुँदैन। त्यसको कार्यान्वयनमा पनि उति नै ध्यान दिनु जरुरी छ। मेहनतसाथ त्यसमा काम गर्नुपर्छ। त्यसमा लेखेका कुराहरूलाई हरेक वर्ष कार्यान्वयन गर्दै पनि जानुपर्छ। त्यसका लागि चाहिने बजेट छुट्याउनु पर्‍यो, चाहिने म्यानपावरहरू ल्याउनुपर्‍यो। काममा मेहनत हुनुपर्‍यो।

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # tourismspecial
  • # nepaltourism
  • # visitnepal


  • प्रतिक्रिया दिनुहोस