बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ऋणको माग नहुँदा प्रणालीमा थुप्रियो पैसा, २ खर्ब ऋण प्रवाह गर्नसक्ने अवस्थामा बैंकहरू

सोमबार, चैत २७ २०७९
ऋणको माग नहुँदा प्रणालीमा थुप्रियो पैसा, २ खर्ब ऋण प्रवाह गर्नसक्ने अवस्थामा बैंकहरू

काठमाडौं- अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग नै ठप्प भएको छ। जसका कारण बैंकमा पैसा थुप्रिएको छ। बैंकको ब्याजदर उच्च भएको भन्दै उद्योगी, व्यवसायी आन्दोलित हुँदै आएका छन्। बैशाखदेखि ऋणको ब्याजदर घट्ने अनुमानबीच पनि ऋणको माग नबढेको हो। कर्जाको ब्याजदर घटाउने माग पनि हुँदै आएको छ।

एकवर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो तर अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम हुँदा पनि माग भने नभएको हो। नेपाल राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा आइतबार साँझसम्म कुल निक्षेप ५४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४८ खर्ब २४ अर्ब रुपैयाँ छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैत २१ सम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७१ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ८ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह गरेका छन्।

करिब १ खर्ब ६३ अर्ब रुपैयाँ लगानीयोग्य रकम वित्तीय प्रणालीमा रहेको राष्ट्र बैंकले जनाएको छ। तरलता र पुँजी जोड्दा चैत तेस्रो सातासम्म करिब २ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको राष्ट्र बैंकको तथ्यांक छ।

गत माघमा वाणिज्य बैंकहरूमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत थियो। यो एक दशकअघिकै हाराहारी हो। २०७९ असारमा कर्जाको औसत ब्याजदर १३.६० प्रतिशत थियो। यस अवधिमा ब्याजदर सबैभन्दा कम ८.४३ प्रतिशतसम्म पनि झरेको थियो।

यस अवधिको निक्षेपको ब्याजदर र अन्य खर्च पनि बढेकाले बैंकको आधारदर वृद्धि भएको बैंकहरूको दाबी छ। राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको सीडी रेसियो ८५.४५ प्रतिशत रहेको छ। भने अन्तरबैंक ब्याजदर ७ प्रतिशत रहेको छ।


प्रकाशित : सोमबार, चैत २७ २०७९०३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend