मंगलबार, वैशाख ११ गते २०८१    
images
images

हवाई पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण

images
images
images
हवाई पूर्वाधार निर्माणमा आक्रामक प्राधिकरण

'पूर्वाधार खडा भएपछिमात्रै प्रतिफल आउने छ। अबको १० वर्ष भनेको पूर्वाधार खडा गर्ने हो। त्यसपछि प्रतिफलको अपेक्षा गर्ने हो।'

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार निर्माणलाई तीब्रताको साथ अगाडि बढाएको छ। प्राधिकरणले देशभरका आन्तरिक विमानस्थलमा रहेका पुराना टर्मिनल भवनकोसट्टा सुविधासम्पन्न आधुनिक टर्मिनल भवन निर्माणको काम गरिरहेको छ।

images
images
images

प्राधिकरणले टर्मिलन भवनसँगै कालोपत्र नभएका विमानस्थल कालोपत्र गर्ने, रनवे विस्तार, ट्याक्सी वे निर्माण लगायतको काम गरिरहेको छ। यसैगरी प्राधिकरणले केही नयाँ आन्तरिक विमानस्थल निर्माणको कामसमेत थालेको छ।

images

त्रिभुवन र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय टर्मिलन भवन निर्माणको कामलाई समेत अगाडि बढाएको छ। अहिले प्राधिकरण एरोड्रोम इन्जिनियरिङ विभागले साढे एक दर्जनभन्दा बढी पूर्वाधार निर्माणको काम गरिरहेको छ।

images

कहाँ कस्तो पूर्वाधार?

images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण सुरु

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा पूर्वाधार निर्माणको काम थालेको छ। आगामी तीनवर्षमा काम सम्पन्न गर्ने गरी आयोजनाले ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण काम सुरू छ। यो काम सम्पन्न भएसँगै विमानस्थलमा सुविधासम्मपन्न ह्याङगर निर्माण हुने छ। जसबाट विमानस्थलको बढ्दो हवाई ट्राफिकको समस्या व्यवस्थापनमा समेत सहयोग पुग्ने प्राधिकरणको दाबी छ। 

आयोजनाले ट्याक्सी वे निर्माणको जिम्मा गाङ्छू मेकानाइज इन्जिनियरिङले पाएको छ। यो कामका लागि प्राधिकरणले सवा ४ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो। यसैगरी ह्याङगर एप्रोनका लागि एभिक केडीएन-सीसीईसीसीले पाएको छ। दुईवटै कम्पनीले निर्माणको काम ३ वर्ष भित्रै सम्पन्न गर्नुपर्ने छ। यो काममा लागि पहिलो पटक २०२० को डिसेम्बरमा टेन्डर भएको थियो। तर टेन्डर पछि विभिन्न प्राविधिक कारणले गर्दा कम्पनी छनोटका काम अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द भएको थियो।

एकवर्ष अगाडि प्राधिकरणका महानिर्देशको जिम्मेवारीमा आएका इन्जिनियर प्रदीप अधिकारले काम अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसपछि आयोजनाले पनि लामो समयदेखि रोकिएको काम अगाडि बढाएको थियो। अब निर्माणको क्रममा कुनै अवरोध नभएको अवस्थामा र निर्माण कम्पनीले समयमा काम गरेको अवस्थामा ३ वर्षभित्रै विमानस्थलमा ८ अर्ब भन्दा बढीको लागतमा ह्याङगर एप्रोन र ट्याक्सी वे निर्माण हुनेछ। यो काम सम्पन्न भएपछि विमानस्थलको उडान तथा अवतरण क्षमता बढ्ने महानिर्देशक अधिकारी बताउँछन्।

नेपालगञ्ज विमानस्थलमा ३ अर्बको लागतमा टर्मिनल भवन

यसैगरी एरोड्रोम इन्जिनियरिङ विभागले  विराटनगर, नेपालगञ्ज, महेन्द्रनगर, रामेछाप विमानस्थलमा पनि भवन निर्माणको काम थालेको छ। सोही क्रममा प्राधिकरणअन्तर्गतको नेपालगञ्ज विमानस्थलमा तीन अर्ब रूपैयाँको लागतमा नयाँ भवन निर्माणको काम सुरु भएको छ। नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार अहिले निर्माण कम्पनीले टर्मिनल भवन निर्माणको फाउन्डेसनको काम थालेको छ।

टर्मिनल भवन निर्माणको जिम्मा शर्मा एण्ड कम्पनीले पाएको छ। कम्पनीले अहिले टर्मिनल भवन निर्माणका काम थालनी गरिसकेको छ। विमानस्थल कार्यालयका अनुसार निर्माण कम्पनीले एउटा भवनको फाउन्डेसन निर्माणको काम ८० प्रतिशत गरिसकेको र २ वटाको भने फाउन्डेसनको काम सम्पन्न गरिसकेको छ।

फाउन्डेसन निर्माणको काम सकिएको भवनमध्ये एउटामा डण्डी कस्ने काम भइरहेको छ। निर्माण कम्पनीले तीन वर्षमा भवन निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने छ।नयाँ बन्ने भवनको क्षमतामा पिक आवरमा प्रतिघण्टा १६ सय यात्रु क्षमताको हुने छ। भवनमा बालबालिकाका लागि खेल्ने ठाउँसमेत निर्माण हुनेछ। भवन कुल १३ हजार १ सय ४४ वर्गमिटरमा निर्माण हुनेछ।

साथै पार्किङ, पहुँच मार्ग र ल्यान्ड स्केपिङ आदिको संरचना निर्माण हुने छ। आयोजनाको कुल लागत करसहित ३ अर्ब १ करोड रहेको छ। भवनमा व्यवसायिक प्रयोजनका लागि धेरै स्पेस गरिएको छ। भवन मूलतः आन्तरिक हवाई यात्रुका लागि डिजाइन गरिए तापनि क्रस बोर्डर उडान अवतरणको सम्भावनालाई समेत मध्यनजर गरेर आन्तरिक तथा अन्तराष्ट्रिय हवाइ यात्रुलाई समेत सोही भवनबाट सुविधा दिन सकिने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

नेपालगञ्ज विमानस्थल खजुराबाट सन् १९६१ देखि सञ्चालनमा आएको थियो। सन् १९८० मा राँझामा सारी हाल कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा तथा पोखरा विमानस्थलमा समेत हवाई सेवा दिँदै आएको छ। हाल विमानस्थलको धावनमार्ग १५०० मिट बाट २०० मिटर थप गरि १७०० मिटर बनाइएको छ। रन-वे लाइट र ओभर-ले समेत सम्पन्न भएको छ भने ६ वटा एटीआर वा सोसरहको जहाज पार्क गर्नको निमित्त रिजिट एप्रोनको निर्माणसमेत सम्पन्न भइसकेको छ। 

आन्तरिक विमानस्थलमा सबैभन्दा ठूलो टर्मिनल विराटनगरमा निर्माण हुने 

प्राधिकरणले नेपालको आन्तरिक विमानस्थलहरु मध्ये सबैभन्दा ठूलो टर्मिनल भवन निर्माणको काम थालिसकेको छ। विमानस्थलमा यात्रु चाप बढ्दै गए पनि साँघुरो टर्मिनलका कारण सेवा राम्रो नभएको भन्दै प्राधिकरणले नयाँ टर्मिनल भवन निर्माणको काम थालेको हो।

विराटनगर विमानस्थलमा अहिलेको टर्मिनल क्षेत्रफल ८२५ वर्गमिटर छ। अब नयाँ बन्ने टर्मिनल ८ हजार ९ सय ७७ वर्गमिटरको हुनेछ। यो अहिले नेपालका डोमेस्टिक (आन्तरिक उडान) टर्मिनलमा सबभन्दा ठूलो हुनेछ। काठमाडौं विमानस्थलको डोमेस्टिक टर्मिनलको क्षेत्रफल ६ हजार वर्गमिटर छ।  विराटनगरमा टर्मिनल बनाउन ३ अर्ब रूपैयाँ भन्दा बढी खर्च हुने छ।

प्रतिघन्टा नौ सय यात्रुलाई सेवा दिनसक्ने नयाँ टर्मिनलले आगामी ३० वर्षसम्मको ट्राफिक थेग्‍ने प्राधिकरणको प्रक्षेपण छ। टर्मिनलसँगै विमानस्थलमा धावनमार्ग विस्तार तथा ट्याक्सी-वे निर्माण गर्न भन्दै प्राधिकरणले  १२६ विघा निजी जमिन अधिग्रहण गर्ने  गरिसकेको छ। 

बि.स. २०१५ सालमा बनेको यो विमानस्थलको हाल १२० बिघामा फैलिएको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्। धावनमार्गदेखि स्ट्रिपको दुरी १६५ मिटर चाहिन्छ। तर अहिले जम्मा १४० मिटर छ। यो मापदण्ड पूरा गर्न विमानस्थलको एक भागमा मात्र पर्याप्त छ, अर्कोतिर छैन। यसका लागि पनि थप जग्गा लिइएको प्राधिकरणले जानकारी दिएको छ। 

भोजपुर विमानस्थलमा टर्मिनल भवन निर्माणसँगै मेघौली विमानस्थलको रनवे पनि मर्मत गरिँदै

भोजपुर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रोम इन्जिनियरिङ विभागले टर्मिनल भवन निर्माणका लागि भन्दै टेन्डर गरेको छ। विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि ७ करोड रुपैयाँको लागत अनुमान गरिएको छ।

यसैगरी प्राधिकरणले सिमरा विमानस्थलमा पनि १० करोड रुपैयाँ खर्चेर आसपाल्ट ओभरले  लगायको काम गर्ने भएको छ। यसैगरी प्राधिकरणले मेघौली विमानस्थलको समेत स्तरोन्नतिका काम गर्ने भएको छ। प्राधिकरणले रवे मर्मत  लगायतको कामका लागि टेन्डर गरेको छ। मेघौली विमानस्थलको स्तरोन्नतिमा १ करोड ४० लाख रुपैयाँको लागत अनुमान सहित टेन्डर गरिएको हो।

१ अर्ब ९२ करोड लागतमा भरतपुर विमानस्थलमा आधुनिक टर्मिनल बन्दै

चितवनको भरतपुर विमानस्थल सञ्चालनको ६५ वर्षपछि सुविधासम्पन्न आधनुनिक टर्मिनल भवन निर्माण हुने भएको छ। टर्मिनल भवनको  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले शिलान्यास गरिसकेका छन्। विमानस्थलमा अहिले प्रयोगमा रहेको टर्मिनल भवन २२ वर्ष अगाडि बनेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले टर्मिलन भवन पुरानो भइसकेको र यात्रुको चापु थेग्न नसक्ने भएपछि नयाँ टर्मिलन भवन निर्माण गर्न लागिएको हो। टर्मिनल भवन निर्माणका लागि प्राधिकरणले सोमबार मात्रै निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। प्राधिकरणले करबाहेक एक अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माणका लागि सम्झौता गरेको हो। निर्माणको जिम्मा केसी क्षमा देवी प्रतिष्ठा जेवीले पाएको छ।

विमानस्थलमा सिवानी एयरको ह्याङगर रहेको ठाउँमा टर्मिनल भवन निर्माण हुनेछ। ४ हजार ८ सय स्क्वायर मिटर क्षेत्रफलमा २ तले भवन निर्माण हुनेछ। टर्मिनल भवनको कुल स्पेस भने ८ हजार स्क्वायर वर्ग मिटरभन्दा बढी हुनेछ। साथै यो विमानस्थलको रनवे विस्तारको काम समेत हुने भएको छ।

रनवे विस्तारका लागि प्राधिकरण काम अगाडि बढाइसकेको छ। रनवे विस्तारका लागि नेपाली सेनाको घोडा प्रजन्नन केन्द्र सार्ने विषयमा समेत सहमति भइसकेको छ। यो विमानस्थलमा ७२ सिटको एटीआर जहाज अवतरण गर्न सकिने गरी रनवे विस्तारको काम गर्न लागेको हो। निर्माण कम्पनीले ३ वर्षभित्र भवन निर्माण गरिसक्नु पर्ने गरी सम्झौता भएको छ। 

अन्यत्र पनि हुँदैछ तीब्र काम

प्राधिकरणले भक्तपुरको नलिनचोकमा सुविधासम्पन्न हेलिप्याड निर्माणको काम अगाडि बढाएको छ। 

प्राधिकरण इन्जिनियरिङ विभागले सगरमाथा विमानस्थल निर्माण क्षेत्रमा रहेको रुख कटानीको काम समते आंशिक रुपमा सम्पन्न गरिसकेको छ। यसैगरी ताप्लेजुङ र इलाम विमानस्थलमा समेत स्तरोन्नतिलगायतको काम गरिरहेको छ। 

राजविराज विमानस्थलमा चेनलिंक फेसिंग र दाङ विमानस्थलमा सुदृढीकरण कार्य अन्तर्गत टावर तथा अन्य विमानस्थल विस्तारको काम प्राधिकरणले अगाडि बढाएको छ।  

यसैगरी प्राधिकरणले जोमसोम विमानस्थलमा नदी नियन्त्रणको काम र कालिकोट विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन कालोपत्र तथा ड्रेनेज निर्माणको काम गरिरहेको छ। 

प्राधिकरणले विमानस्थल सुदृढीकरण कार्य पनि गरिरहेको छ। प्राधिकरणले दिएको जानकारीअनुसार अर्घाखाँची धवानमार्ग, ट्याक्सी वे, एप्रोन विस्तारको काम समेत गरिरहेको छ। साफेबगर, बैतडीको पाटन विमानस्थल र तुम्लिङटार विमानस्थलमा समते नयाँ टर्मिनल भवन तथा टावर निर्माणको काम भइरहेको छ। 

'विमानस्थल चाहिँ पुरानो भए पनि हुने नयाँ बनाउनै नहुनेगरी भाष्य निर्माण भइरहेको छ। नयाँ घर चाहिने, नयाँ फोन टिभी चाहिने सबै अत्याधुनिक चाहिने तर विमानस्थल चाहिँ पुरानो भए पनि हुने? पहिलेको सफा गर्दा पनि सफा नहुने ट्वाइलेट जस्तो चाहिने? यस्तो भाष्य निर्माण गरेर समाजलाई कता लैजान खोजिरहेका छौँ? हुलाकका कार्यालय जस्ता छन् तराईका विमानस्थलहरू। अब सबै चिज नयाँ चाहिन्छ भने टर्मिलनल भवन पनि नयाँ चाहिन्छ। अहिले हामीले धमाधम धावनमार्ग र अत्याधुनिक टर्मिलन भवन बनाउने र तराईका सबै विमानस्थलमा रात्रीकालीन उडान हुने गरी निर्माणको काम अगाडि बढाएका छौँ', प्राधिकरण महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले भने।

विमानस्थल पूर्वाधार दीर्घकालका लागि बन्नेसमेत अधिकारी बताउँछन्। नाफाघाटा नहेरी विकास निर्माणका काम अगाडि बढाउनु पर्ने अधिकारीको तर्क छ।

'पूर्वाधार खडा भएपछिमात्रै प्रतिफल आउने छ। अबको १० वर्ष भनेको पूर्वाधार खडा गर्ने हो। त्यसपछि प्रतिफलको अपेक्षा गर्ने हो। विकासलाई बुझेर व्यक्तिगत लहडमा नभएर सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश भएर विमानस्थलहरू बनेका हुन्,' उनले भने, 'यात्रु आइसकेपछि विमानस्थल बनाउने होइन। भविष्य हेरेर अब हवाई पूर्वाधार खडा हुनेछन्। निजगढ विमानस्थल पनि अब सोही अवधारणाअनुसार निर्माण हुनेछ। हामीसँग समुन्द्र जोडिएको छैन। सोही कारण पनि विमानस्थल र सडक पूर्वाधारलाई जोड्न राज्य रोकिनु हुँदैन। भोलिको पुस्ताले गाली नगर्ने गरी काम गर्नुपर्दछ। त्रिभुवन विमानस्थलका लागि पेप्सीकोलाको जग्गा किन नलिएको भनेर अहिले गाली गरिरहेका छन्। सोहीकारण पूर्वाधार भनेको भविष्य हो। सोहीअनुसार सबै क्षेत्र लाग्नु पर्दछ।'

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # nepalitourism
  • # nepaltourism
  • # visitnepal
  • # tourismspecial


  • प्रतिक्रिया दिनुहोस