बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पदयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन फेरिचे र मनाङ गाउँमा चिकित्सक टोली

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २६ २०७९
पदयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन फेरिचे र मनाङ गाउँमा चिकित्सक टोली

वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको संघले हरेक वर्ष  हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ।

काठमाडौं- हिमालयन उद्धार संघले स्वदेशी तथा विदेशी पर्वतीय पदयात्रीको उपचारका लागि तीन ठाउँमा चिकित्सकसहितको टोली खटाएको छ।

वसन्त ऋतु सुरु भएसँगै हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्रका लागि उक्त टोली खटाइएको हो।

संघका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा प्रदान उपलब्ध गराउन स्वयम्सेवी चिकित्सक परिचालन गरिएको जानकारी दिए। उनका अनुसार सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक, फेरिचेमा दुई विदेशी र एक नेपाली चिकित्सक र मनाङ गाउँमा दुई विदेशी र एक नेपाली चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्नेछन्। ती टोलीमा संघका कर्मचारीसमेत खटाइएका छन्।

वसन्त र शरद ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको संघले हरेक वर्ष  हजारौँ स्वदेशी तथा विदेशी आरोहीलाई सेवा दिँदै आएको छ। ‘गोसाइँकुण्डमा जनैपूर्णिमाको मेला भर्न गएका तीर्थयात्रीलाई लक्ष्य गरी हरेक वर्ष स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने।

संघका अध्यक्ष हरि धरेलले स्वयंसेवी चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको जानकारी दिए। स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै आएको संघले विदेशी पदयात्रीसँग भने थोरै शुल्क लिँदै आएको उनले बताए।

संघले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको छ। कार्यक्षेत्रमा जाने चिकित्सक ‘माउण्टेन मेडिसिन’ मा दक्ष हुन्छन्। संघले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही, आरोहणमा सहयोग गर्ने कर्मचारी ताथ अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ।

फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आइएको संघका अध्यक्ष धरेलले जानकारी दिए। लेकका बारेमा सूचना दिन होर्डिङ बोर्ड राख्ने, पर्चा छपाइ गरी वितरण गर्ने, पर्यटन सम्बद्ध पत्रिकामा सूचना छपाउने, स्कूल, कलेजका विद्यार्थीलाई तालिम प्रदान गर्नेलगायत काम गर्दै आएको संघले जनाएको छ।

सरोकारवालासँगको सहकार्यमा पर्यटक गाइड एवं पर्यटक सहयोगीलाई तालिम दिने तथा नेपाली सेनासँगको सहकार्यमा सफा हिमाल अभियानसमेत सञ्चालनसमेत संघले गर्दै आएको छ। रासस 


प्रकाशित : आइतबार, चैत २६ २०७९१०:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend