शुक्रबार, वैशाख २८ गते २०८१    
images
images

सम्झौताको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइँदै

images
बिजनेस न्युज
images
images
सम्झौताको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढाइँदै

सन् २०१८ मा सो सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो।

images
images

काठमाडौं- सम्झौता भएको झण्डै पाँच वर्षपछि स्याफ्रुबेँसी-रसुवागढी सडक निर्माण अघि बढ्ने भएको छ। 

images
images
images

सडक निर्माण अघि बढाउन निर्माण कम्पनी अप्रिलमै आउने तय भएको गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाका प्रमुख ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।

images

केही समय पहिले चिनियाँ दूतावासका प्रतिनिधि निर्माणस्थल पुगेका थिए। सो अवसरमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, आयोजना प्रमुख र दूतावासका दुईजना प्रतिनिधिबीच सडक निर्माण अघि बढाउने विषयमा छलफल भएको उहाँको भनाइ छ। उक्त बैठकमा चिनियाँ पक्षले नेपाल सरकारले काम अघि बढाउनुपर्ने भनेको जानकारी गराएको थियो। उक्त सडक खण्डमा अहिले कतिपय स्थानमा बिजुलीको पोल स्थानान्तरणको समस्या रहेको योजना प्रमुख श्रेष्ठको भनाइ छ।

images

सरकारले सन् २०१८ मा सो सडक चीन सरकारको सहयोगमा निर्माण गर्ने गरी सम्झौता भएको थियो। कोभिडभन्दा पहिले निर्माण कम्पनी निर्माणस्थल पुगेको थियो। त्यतिबेला चिनिँया नयाँ वर्षको कारण उनीहरु चीन गएको र त्यसपछि नफर्किएको उनले बताए। 'तत्कालीन समयमा चिनियाँहरु नयाँ वर्ष मनाउने चीन गएपछि कोरोना महामारी सुरु भयो र उनीहरु समयमै फर्कन पाएनन्', उनले भने।

images
images

विसं २०७२ मा नाकाबन्दीपछि चीनतर्फको नाका खोल्नका लागि सरकारले सो योजनालाई प्राथमिकतामा राखेको थियो। भारत र चीन जोड्ने द्विदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको योजनाले जनाएको छ। 

पहिले रसुवाबाट चीन जोड्न धुन्चेको बाटो प्रयोग हुने गरेको थियो। रसुवाको सदरमुकाम धुन्चे पुग्न बढी उचाइमा जानुपर्ने र साँघुरो, घुम्ती बढी भएकाले नयाँ सडकको अवधारणा ल्याइएको प्रमुख श्रेष्ठको भनाइ छ। 

बेत्रावतीबाट माथिल्लोतर्फ लाग्दा धुन्चे पुगिने र देब्रे लाग्दा त्रिशूलीको किनारैकिनार मैलुङहुँदै स्याफ्रुबेँसी गएर पुरानो बाटोमा भेटिन्छ। यो सडक खोलाको किनारै किनार जाने र साँघुरा घुम्ती नरहेको उनले बताए। लम्बाइका हिसाबले पनि सडक झण्डै २५ किमी छोटो हुनेछ। उनले भने, 'तुलनात्मक रुपमा छोटो छ र उकालो ओरालो पनि कम रहेको छ।'  

रसुवागढीसम्म पुग्ने सडक पृथ्वी राजमार्गको गल्छीबाट सुरु हुन्छ। गल्छीबाट नारायणगढ हुँदै वीरगञ्जको थोरी हुँदै रक्स्यौल नाका जोड्न सकिन्छ। गल्छीबाटै सङ्घीय राजधानी काठमाडौँ वा पश्चिमतर्फ पोखरा वा बुटवल जान सकिन्छ। कोभिडको समयमा कुनै पनि काम नभएकामा अहिले निर्माण अघि बढाउने उद्देश्यले दातृ निकाय आउन थालेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताए।

स्याफ्रुबेँसी-रसुवागढी सडकमा निर्माण कम्पनी ठेक्का सम्झौता गरेर गएपछि नआएकोमा अहिले स्थलगत भ्रमण भएको श्रेष्ठले बताए। महाशाखाले यसबीच निर्माण अघि बढाउन इमेलमार्फत सम्पर्क गरिरहेको प्रमुख डा जैसीको भनाइ छ। उनीहरुले पहिले कोभिडका कारण आउन नसकेको भनेका थिए। कोभिडका कारण अघि बढ्न नसकेका आयोजना विशेष गरी चिनियाँ परियोजनामा गति लिने देखिएको छ।

चीनसँग जोड्ने छोटो मार्गका रुपमा रहेको गल्छीबाट स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्मको सडक व्यापारिक हिसाबलेसमेत महत्वपूर्ण छ। विसं २०७२ मङ्सिर १७ गते मन्त्रिपरिषद्को बैठकले यो सडकलाई सहायक मार्ग तोकी राष्ट्रिय गौरवको मान्यता दिएको थियो। दुई देशबीचको छोटो दूरीको व्यापारिक मार्गका रुपमा स्थापित गर्ने सरकारको योजना थियो।

योजनाले खासगरी धादिङ, नुवाकोट र रसुवा गरी तीन जिल्लालाई जोड्छ। चितवनको भण्डारालाई सुरु बिन्दु मान्दा भने चार जिल्लापर्छ। भण्डाराबाट गल्छीसम्मको सडक भने डिभिजन सडक कार्यालयले हेरिरहेको छ। 

सरकारले यसलाई उत्तर-दक्षिण राजमार्गका रुपमा सूचीकृत नगरे पनि भण्डाराबाट रसुवागढीसम्मको सडकले भारतको सीमा हुँदै चीनको सीमासम्म पुग्नेछ। गल्छीबाट मैलुङसम्मको सडकको लम्बाई ४६ किमी, दोस्रो खण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्मको सडकको लम्बाइ १९ किमी रहेको छ। स्याफ्रुेबँसीबाट रसुवागढी झण्डै १७ किमी लम्बाइ छ। गल्छीबाट नै रसुवागढीसम्मको सडक ८२ किमी छ। रासस 

images

प्रकाशित : आइतबार, चैत २६ २०७९०९:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend