शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

चेन होटलहरू नेपाल प्रवेश हुनु पर्यटनका लागि सुखद

images
images
images
चेन होटलहरू नेपाल प्रवेश हुनु पर्यटनका लागि सुखद

उदाहरणका लागि सन् २०२५ वा २०२६ सम्ममा लक्ष्य लिएर नेपाल एउटा एडभेन्चर पर्यटनको गन्तव्य हो भनेर चिनाउने गरी एउटा नारा दिएर अन्तर्राष्ट्रिय मेघा कार्यक्रम चाहिन्छ भनेर राज्यसँग भनिरहेका छौँ।

images
images

होटल उद्योग तथा होटलले दिने सेवामा पछिल्ला दिनहरूमा आमूल परिवर्तन आएको छ। कोभिडपछिको अहिलेको समयमा नेपाल भ्रमणमा आउने पर्यटकहरूले आफूले लिने सेवामा स्वास्थ्यसम्बन्धी विषयलाई विशेष ख्याल गर्न थालेका छन्। 

images
images
images

पर्यटकका लागि अन्य विषय भन्दा स्वास्थ्य नै प्रमुख भएको छ। विशेषत: कोभिडपछाडि होटलहरूले स्वास्थ्य मापदण्ड कसरी पालना गरेका छन्? होटलको सरसफाइ के छ? पर्यावरण के छ? भन्नेलगायतका पाटोबाट हेर्ने क्रम विकास भएको छ। यो पर्यटन क्षेत्रका लागि पनि सुखद हो। यसलाई हामीले आत्मसात गर्नै पर्छ। होटल भनेको त सेवा र सुरक्षाका हिसाबले संसारभर एउटै हुनुपर्छ।

images

अमेरिका तथा युरोपका होटलको गुणस्तर २० अंकमा मापन गरिएको छ भने नेपालमा २० नै नभए पनि १९ त हुनै पर्छ। अब होटलको त्यो अवस्था १७/१८ तिर भएर चल्ने स्थिति छैन। यसमा व्यवसायी आफै सचेत हुनुपर्ने दिन आएको छ।

images

अहिले फेरि संसारभर होटलको चेन विकास भएको छ। नेपालमा पनि अहिले धेरै नै चेन होटलहरू प्रवेश भइसकेका छन्। चेन होटलहरूले एउटा स्टान्डर्ड सेट गरेको हुन्छ। जस्तै र्‍याडिसन, क्राउन प्लाजा, मेरियट नेपाल आउँदा अन्य ठाउँमा रहेकोभन्दा फरक भएको अवस्था भयोभने मैले किन नेपाल नै रोज्ने भने प्रश्न उठ्छ। सेवाग्राहीले खोजेको र रोजेको त पाउनु पर्‍यो नै।

images
images

पैसा खर्च गरेअनुसारको सन्तुष्टी त पाउनुपर्छ भन्ने भावना विकास भएको छ। यो स्वभाविक पनि हो। यसलाई मूल केन्द्रमा राखेर हामीले हेर्नु पर्ने दिन आएको छ। कोभिडमा सबै क्षेत्र शिथिल भयो। तर होटलको लगानी शिथिल भएन। निरन्तर लगानी, योजना तथा निर्माण चलिरहे। नेपालमा अहिले २० वटाभन्दा बढी पाँचतारे होटल छन्। अर्को एक/दुई वर्षभित्रमा २० वटा थपिँदै छन्।

काठमाडौंमा नै ९ वटा ठूला होटल तयार हुने चरणमा पुगेका छन्। होटलको विकास बढ्दो छ। यसरी होटलमा लगानी बढ्नुको कारण हामी चीन र भारतको बीचमा छौँ। चीनबाट २० करोड र भारतबाट १० करोड घुम्न जाने मान्छे छन्। त्यसको केही प्रतिशत मात्रै अर्थात १ प्रतिशत पनि नेपाल ल्याउन सकेको अवस्थामा नै होटल सहज रुपमा नै चल्ने अवस्था छ। यही देखेर अन्तर्राष्ट्रिय चेन होटल तथा हाम्रो व्यापारिक घरानाहरूले होटलमा लगानी गरिरहेका छन्। आजको दिनमा हामीकहाँ होटलको सप्लाइ बढी छ। डिमाण्ड भन्दा सप्लाइ झन्डै ३ गुणा बढी छ।  

यसअघिकै सरकारले २०३२/०३३ मा पुग्दा ३५ लाख पर्यटक नेपाल आउँछन् भनेर अनुमान गरेको छ। होटल उद्योगले आजको दिनमा नै ३५ लाखलाई सेवा दिन सक्छौँ। २०३३ सम्मलाई कुर्नु नै पर्दैन। संघीयता पछाडि त सातै प्रदेशमा होटलहरू विस्तार भइरहेको छ। ठूला-ठूला पाँचतारे होटल आइरहेका छन्। 

आजको दिनमा झण्डै-झण्डै एकसयको हाराहारीमा पर्यटकीय स्टान्डर्डभन्दा माथिका होटलहरू आउने चरणमा छन्। होटलको आपूर्ति बढिरहेको छ।

तर होटलमात्रै बढेर त हुँदैन। यसका लागि अब डिमाण्ड कसरी बढाउने भन्ने एकदम अहम प्रश्न खडा भएको छ। डिमाण्ड बढ्नका लागि सबैभन्दा पहिले पूर्वाधारको विकास हुनुपर्छ। हाम्रो विमानस्थलहरूले थेग्न पर्‍यो। सडक सञ्चालन पनि राम्रो हुनुपर्छ। तर यो तुरुन्तै हुनेवाला छ त? यसको सम्भावना कम छ। किनकि हाम्रो देश राजनीतिबाट बाहिर निस्कन नै सकेको छैन। अर्थनीति धेरै नै पछाडि छ। अहिले हामी यस्तो अवस्थामा अगाडि बढिरहेका छौँ। कोभिडका कारण होटल क्षेत्रको व्यवसाय शून्यको अवस्थामा नै झर्‍यो। 

आजको दिनमा पनि होटल व्यवसायी समस्यामा नै छन्। अहिले हामी बैंकसँग पौठेजोरी गरेर बसिरहेका छौँ। बैंकले हामीलाई पैसा तिर्न आउन भनेर पेलिरहेको छ। हामी तिर्न सक्दैनौँ भनिरहेका छौँ। अहिलेको मुख्य समस्या नै यही हो। तर राज्यले विभिन्न व्यक्तिले गरेको कामको संयोजन त गरेको छैन।

हामीले गरेको काममा राष्ट्रिय नीति, राष्ट्रिय दिशा तथा कार्यक्रम त जोडिएको छैन। जस्तै पूर्ववती सरकारले कमसेकम ३५ लाख पर्यटक ल्याउँछु भनेर ७३ वटा कार्यक्रम घोषणा गरेको थियो। यसका लागि २०२३ देखि २०३३ भनेको थ‍ियो। आज जनवरीको ३ महिना बितिसक्यो तर यसका लागि न बजेट छ न त सचिवालय नै खडा भएको छ। त्यो विषय तुहिएको छ। अहिले अब ह्वाट नेक्‍ष्ट भन्ने नै छ। हामीले बारम्बार भनिरहेका नै छौँ- हामीलाई एउटा राष्ट्रिय कार्यक्रम चाहियो। कार्यक्रम गर्नका लागि कम्तिमा दुई वर्ष चाहिन्छ। 

उदाहरणका लागि सन् २०२५ वा २०२६ सम्ममा लक्ष्य लिएर नेपाल एउटा एडभेन्चर पर्यटनको गन्तव्य हो भनेर चिनाउने गरी एउटा नारा दिएर अन्तर्राष्ट्रिय मेघा कार्यक्रम चाहिन्छ भनेर राज्यसँग भनिरहेका छौँ। २०२० कोभिडले खाइदियो। त्यो बेला केही काम त भएका छन्। तीनदर्जन जति लाइफटाइम एक्स्पिरियन्स भनेर योजनाहरू त बनेका छन्। त्यसलाई समयसापेक्षिक परिमार्जन गरेर आधामा मात्रै भए पनि त हामीले लगानी गर्न सक्छौँ। यसरी अगाडि बढ्नु पर्ने समयमा काम भइरहेको छैन। अझै पनि हामी आगमी जेठ १५ गते आउने बजेटमा यस्ता नयाँ कार्यक्रम आउँछ कि भनेर आशावादी छौँ। 

दशवर्ष पछिको होटल

जसरी अहिले होटल चलिरहेको छ त्यसमा आमूल परिवर्तन हुन्छ। परिवर्तन हुनु स्वभाविक पनि हो। विस्तारै पुराना होटल बन्द हुन्छ। किन कि पुराना होटलको सञ्चालन खर्च बढी छ। पुराना होटललाई नयाँ होटलले रिप्लेस गर्ने देखिन्छ। यसको छनक देखिन थालेको छ।

नयाँ होटल ब्रान्ड न्यू हुन्छ। सञ्चालन लागत कम हुन्छ। हामीकहाँ त अहिले पनि ५० वर्ष पुराना होटल छन्। त्यसको त सञ्चालन खर्च तथा मर्मत खर्च बढी छ। अर्को ब्रान्डिङमा नयाँ जति पुरानाले गर्न सक्दैन। जसका कारण पुरानो होटलको ठाउँमा नयाँ होटल आउने हुन्छ। योसँगै व्यवसाय गर्नेले त व्यवसाय पनि हेर्छ।

उदाहरणका लागि शेर्पा तथा नारायणी होटलहरूलाई अहिले सपिङ कम्प्लेक्सले गर्दा बढी फाइदा भएको छ। यसको सम्भावना बढी देखिन्छ। जग्गा नै बेच्दा बढी रकम आउने अवस्था भएको छ। तर सञ्चालन गर्दा बढी घाटा हुने हुन्छ। साथै नयाँ परिवेश तथा प्रविधिको आगमन भएको कारण पनि पुराना होटल बन्द हुँदै जाने र नयाँ थपिने हुन सक्छ। हामीले समयसापेक्षिक काम गर्नसक्नु पर्छ। 

नयाँ कुरा त अबको दश वर्षमा विश्वमा अधिकांश चर्चित चेन होटल नेपाल आइसकेका हुन्छन्। हामीलाई अहिलेको परिवेशमा चाहिएको पनि यही हो। लगानी गर्न त हामीकहाँ बैंक तथा वित्तीय संस्था र ठूला घरानाहरू नै सक्षम छन्। अहिलेको समस्या चाहिँ जग्गा खरिदमा छ। जग्गा अति नै महँगो भएको छ। 

कतिपय प्रदेश सरकारले त अहिले हामी जग्गा लिजमा दिन्छौँ, तपाईंहरू आएर होटल सञ्चालन गरिदिनु पर्‍यो भनिरहेका छन्। उदाहरणका लागि रारा लगायतका ठाउँबाट यस्तो प्रस्ताव आइरहेको छ। अहिले जग्गा खरिद गरेर छिटो विकास सम्भव छैन। जग्गा खरिद गरेर काम गर्दा लागत अति नै बढी हुन्छ। अहिले बनिरहेका होटलमा पनि सबैभन्दा बढी लगानी जग्गामा नै भइरहेको छ।

उनीहरूले भनेजस्तै १०/१२ अर्बको लगानीमा त्यसको १० प्रतिशतमात्रै ब्याजदर लिने हो भने पनि प्रतिरुम ५ सय डलरमा बिक्री गर्नु पर्छ। अबको दश वर्षमा होटलको प्रगतिमा कम हुँदैन। हामी चीन र भारतको बीचमा रहेका कारण नै उहाँहरूलाई मन पर्ने विषय र उहाँहरूले गर्ने खर्च अनुपातमा पाउने सेवा सुविधा जति पनि छन्। जसका कारणले पनि होटलको प्रगति अवश्य पनि हुन्छ। तर व्यवस्थापनको चुनौती चाहिँ हुन्छ।

जसरी हामीकहाँ चेन होटल आइरहेका छन् यसले हाम्रो देशको पर्यटनलाई माथि लैजान्छ। चेन होटल आउँदै गर्दा पर्यटकहरूमा अमेरिकामा मेरियटले दिने सुविधा नेपालमा पनि पाइन्छ भने विश्वास हुन्छ। तर नेपाली ब्रान्डमा आउँदा उनीहरू शंकाकै घेरमा हुन्छन्। 

नेपाललाई धेरैले गरिबको हिसाबमा मात्रै चिन्छन्। नेपाललाई सस्तो गन्तव्य भन्दिने गरेका छन्। अर्को हाम्रो एक ठाउँबाट अर्को ठाउँमा जाने सडक सञ्जाल पनि राम्रो छैन। तर चेन होटल भएपछि त पर्यटकमा विश्वास बढी हुन्छ। योसँगै हाम्रो लोकल रैथाने खाना लगायत रहसहन र सजावटहरू त अहिले निकै नै बढेको छ। चेनसँगै हाम्रो मौलिकता हराउने कुरा पनि नहोला भनेमा हामी पूर्ण आशावादी नै छौँ।

अर्को विषय अहिले नेपालमा गन्तव्य विकास भरहेको छ र दश वर्षमा धेरै नै विकास भइसकेको हुन्छ। जसले गर्दा होटलको विकास सहरमा मात्रै नभएर हिमाल तथा पहाडको कुनाकाप्चामा समेत हुन्छ। उदाहरणका लागि मुस्ताङमा शिन्तामणी जस्तो विश्वको महँगो र चर्चित ब्रान्ड आइसकेको छ। यस्तो आउनु भनेको खर्चालु पर्यटकको नेपाल भ्रमण सम्भावना बढी हुन्छ।

तर यसका लागि जति होटलमा लगानी भएको छ, होटलमा रुम तयार भएको छ, त्यसमा सत प्रतिशत नै अकुपेन्सी नभए पनि ७५ प्रतिशतसम्मको अकुपेन्सीका लागि पर्यटक आउने पूर्वाधार निर्माण हुनपर्छ। आउने बाटो नै सहज भएन भने त लगानी गरेर मात्रै हुनेवाला केही छैन। तयार भएका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल त सञ्चालन हुन सकेको छैन।  

सरकारी तवरबाट पूर्वाधार बनाइसकेपछि हुनुपर्ने मार्केटिङ समेत भएको छैन। सरकारी संयन्त्रबाट जबसम्म अन्तर्राष्ट्रिय मार्केटिङ हुँदैन तबसम्म विमानस्थल सञ्चालन हुन सक्दैन। विदेशी एयरलाइन्सले उडान गर्न त केही सुनिश्चितता खोज्छन्। नेपाली एयरलाइन्सहरूबाट नै उडान नभएको अवस्थामा विदेशी त आउँदैनन्। त्यही भएर यसका लागि त अन्तर्राष्ट्रिय मार्केटिङ गर्नुपर्छ। यसको अर्थ पूर्वाधार विकास सँगसँगै व्यवस्थापन चुनौती हो। मार्केटिङ व्यवस्थापन नै हामीकहाँ चुस्तदुस्त हुन सकिरहेको छैन। यसका लागि राष्ट्रियताको मात्रै नारा खोजेर हुँदैन विदेशबाट व्यवस्थापन ल्याएर भए पनि काम गर्नु पर्छ।

लगानी तथा क्षमता

तथ्यांक संकलनका लागि बल्ल अहिले केही काम सुरु भएको छ। स्याटलाइट एकाउन्टिङ बल्ल सुरु हुँदैछ। सही तथ्यांक आउने मेकानिजम अहिलेसम्म हामीकहाँ छैन्। तर पनि हामीले बेलाबेला अध्ययन गरिरहेका हुन्छौँ। हाम्रो पछिल्लो अध्ययनअनुसार मार्केट भ्यालुमा हेर्दा देशभरका होटलमा भएको लगानी राष्ट्रिय बजेटभन्दा बढी छ।

अहिले होटलमा १८ खर्ब रूपैयाँभन्दा बढीको लगानी छ। सबैथरीका गरी ११ लाख कर्मचारी छन्। अहिले होटलमा वार्षिक २१ प्रतिशतको दरले लगानी बढेको छ। यो सधैँ नहोला। पर्यटक नआए पनि लगानी कम भएको छैन। लगानी बढिरहेको छ।

आजको दिनमा हामी वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा छौँ। हामीकहाँ १० हजार बेड छन्। यसको अर्थ दैनिक आन्तरिक तथा बाह्य गरी १० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता छ। अहिले बनिरहेको होटल सञ्चालनमा आउँदा वार्षिक ५० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमतामा पुग्छौँ।

लगानी विस्तार भइरहेको छ। लगानील गर्नेले केही अध्ययन गरिरहेका हुन्छन्। लगानीअनुसारको प्रतिफल आउने अवस्था देखेर नै काम गरिरहेका हुन्छन्। तुरुन्तै लगानीको प्रतिफल खोजेका हुँदैनन्। सरकारले ल्याउने नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउने हो भने कुनै समस्या हुँदैन। हुने र सक्ने राम्रा कुरा मात्रै कार्यान्वयनमा लैजाँदा हुन्छ। नहुने कुरा नगरे पनि हुन्छ। योसँगै सडक पूर्वाधारलगायतमा सरकारले अहिलेदेखि नै काम गर्नुपर्छ। यति भए नेपालको पर्यटनको भविष्य राम्रो छ। 

images

प्रकाशित : बिहीबार , चैत ३० २०७९०६:१६
  • सम्बन्धित विषय:

  • # nepalitourism
  • # visitnepal
  • # tourismspecial
  • # nepalihotel


  • प्रतिक्रिया दिनुहोस