सरकारले सन् २०२३ देखि २०३३ सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसका लागि बजारीकरणको मुख्य जिम्मा नेपाल पर्यटन बोर्डको हुने गर्दछ। निजी क्षेत्र र सरकारी निकाय जोड्ने माध्यम नेपाल पर्यटन बोर्ड हो।
साढे ३ वर्ष बोर्डको नेतृत्व सम्हालेका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी नेपालको पर्यटन विकासको बाधक नै अस्थिर कर्मचारी प्रशासन रहेको बताउँछन्। आफ्नो अधिकांश कार्यकाल कोरोना महामारीमा गए पनि पछिल्लो समय भने सुधारको संकेत देखिएको बताउँदै केही पूर्वाधार र नीतिगत सुधार गरेमात्रै पनि वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने दाबी गर्दछन्। नेपालको पर्यटनको सम्भावना र सुधारको बाटोका विषयमा केन्द्रित रहेको गरिएको कुराकानीको सार -
तपाईं नेपाल पर्यटन बोर्डको नेतृत्वमा आएसँगै विश्वभर कोरोना महामारीले छोप्यो, यसको असर पर्यटन क्षेत्रमा परेको छ। यसपछि पर्यटन क्षेत्रको पुनर्उत्थानमा कसरी काम भइरहेको छ?
कोरोना महामारीले नेपालको पर्यटनमा पनि ठूलो असर पार्यो। महामारीबाट निस्कँदा पनि अहिले असरहरू बाँकी नै छन्। सन् २०२३ सँगै नेपालमा पर्यटक आगमन बढ्दो ट्रेण्डमा रहेको छ। तथ्यांकमा हेर्ने हो भने ६९ प्रतिशतले रिकभर भइसकेको छ। गत महिनामात्रै १ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्याले पर्यटन क्षेत्रलाई केही राहत दिँदै उत्साहित बनाएको छ। आउने सिजनमा ८५ प्रतिशतभन्दा बढी रिकभर हुने अपेक्षा रहेको छ। सन् २०१९ कै अवस्थामा सन् २०२३ को अन्तिमसम्म पुग्न सक्ने पनि संकेत देखिएको छ। चीन खुलेको अवस्था रहेको छ। अब उडान संख्या बढ्नेवित्तिकै डिसेम्बरसम्म सन् २०१९ कै हाराहारीमा पर्यटक आउने संकेत देखिएको छ।
चीनबाट सडकमार्ग हुँदै पर्यटक ल्याउन भने कठीन रहेको छ। तर पनि मे, जुन जुलाई तीनवटा महिनामा लासामा हाराहारी ३० लाख पर्यटक आउने गरेका छन्। सबै चिनियाँहरू गाडी लिएर आउने गरेका रहेछन्। लामो बिदा मनाउन लासासम्म चिनियाँहरू आउने गरेकाले उक्त पर्यटकको केही हिस्सा ल्याउने गरी नयाँ क्याम्पेनिङ गर्ने तयारी गरेका छौँ। केरुङसम्म ल्याउने र त्यसपछि हेलिकप्टरमार्फत ल्याउनेगरी नयाँ प्याकेज बिक्री गर्न सकिन्छ कि भनेर पर्यटन बोर्ड, निजी क्षेत्र र पर्यटन मन्त्रालयमार्फत तयारी सुरु गरेका छौँ। तीनै पर्यटकहरू धेरै खर्च गर्ने खालका रहेकाले नयाँ प्याकेज बनाउने गरी काम गरिरहेका छौँ। अहिले नयाँ सेल्स मिसन पनि चलाउन लागेका छौँ। अहिलेसम्म हामीले लासामा केन्द्रित भएका रहेनछौँ।
अर्को कुरा पर्यटक गन्तव्यमा उडान नै मुख्य कुरा हो। अहिले पनि नेपाल वायुसेवा निगमले श्रम गन्तव्यमा मात्रै केन्द्रित रहेको छ। श्रम बजारमा जानुभन्दा पर्यटन गन्तव्य हुनु आवश्यक छ। बजार अहिले चीनमा निगमको उडान गर्नुपर्ने अवस्था रहेको छ। त्यसमा केन्द्रित हुन सकेमा धेरै पर्यटक बढ्ने देखिएको छ। यता भारततर्फ सडकमार्फत बढी केन्द्रित गर्न सक्यौँ भने राम्रो हुने देखिन्छ। यति मात्रै गर्दा पनि २०१९ को संख्या हामीले छिट्टै भेट्ने छौँ।
युरोपबाट परिवर्तन भएर एसियातर्फ केन्द्रित भएको हो नेपालको पर्यटन बजार?
नेपालको पर्यटनमा तीनवटा गन्तव्यका मानिस मुख्य देखिन्छन्। अमेरिकिन, युरोपियनहरू अहिले त्यति धेरै घुम्ने अवस्थामा छैनन्। सोही कारण अहिले चीन पहिलो हाम्रो पर्यटन बजार बन्न सक्छ। अहिले चीनले सामूहिक भ्रमणको सूचीमा नेपाललाई पहिलो नम्बरमा राखेको थियो। विगतमा पनि चिनियाँ राष्ट्रपतिले नेपालमा ५ लाख पर्यटक पठाउनुको साथै चिनियाँ मन पराउने गन्तव्य पहिलो नेपाल भएको विज्ञप्ती नै दिनु भएको थियो। यी विषयलाई अहिले मार्केटिङ गर्न सकियो भने अवश्य पनि हामी सहज अवस्थामा हुने छौँ। दोस्रो भनेको भारत नै हो।
अहिले भारतबाट हवाईसँगै सडकबाट ल्याउन सकियो भने पनि ठूलो संख्यामा भारतीयहरू नेपाल आउने छन्। भारतीयको सबैभन्दा मनपर्ने पोखरा हो। पोखरामा विमानस्थल समेत बनिसकेको अवस्था रहेको छ। भारतका विभिन्न सहरबाट पोखरा उडान गर्न सकियो भने भारतीयको संख्या धेरै वृद्धि हुने देखिन्छ।
तेस्रो पर्यटन गन्तव्य भनेको बुद्धिस्ट मार्केट रहेको छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनेको अवस्थामा भैरहवामा बुद्धिस्ट मार्केटबाट सिधा उडान गर्न सकियो भने धेरै पर्यटक आउने देखिन्छ।
अहिले हामीले 'जाऔँ है लुम्बिनी' भन्ने अभियान नै चलाउन लागेका छौँ। बुद्ध जयन्तीको दिनमा म्यानमारबाट सिधा भैरवा उडानको समेत तयारी भइरहेको छ। अन्य बुद्धिस्ट मार्केटहरू कोरिया, श्रीलंकालगायत देशबाट उडान गर्न सकियो भने बुद्धिस्ट पर्यटक नेपालमा बढ्ने देखिन्छ। म्यानमार, जापान, कम्बोडिया, म्यानमार, श्रीलंकालगायत देशमा 'जाऔँ है लुम्बिनी' भन्ने विशेष क्याम्पेन चलाउने तयारी गरेका छौँ। लुम्बिनीको बारेमा सोही देशको भाषामा बुद्धिस्ट मन्त्रहरू बनाएर सोही देशमा उक्त देशका सेलिब्रेटीहरूलाई टिकटक, फेसबुक, युट्युवमा केन्द्रित गर्न लागेका छौँ।
बंगलादेश पनि हाम्रो नयाँ गन्तव्य हो। बंगलादेशका धेरै नागरिकहरू पहाडी र हिमाली क्षेत्र मन पराउँछन्। बंगलादेशका धेरै पर्यटकहरू पछिल्लो समय नेपाल आउने गरेका छन्। सबैभन्दा मुख्य कुरा हवाई गन्तव्यमा जोडिनु नै पर्ने हो। अहिले मध्य एसिया र खाडी मुलुकहरूलाई पर्यटकको रुपमा भित्र्याउन विगतदेखि नै नेपालले चासो दिएको छैन। साउदीका राजकुमार आएपछि साउदीबाट आउने पर्यटकको संख्यासमेत बढेको छ। ठूलो सम्भावना मध्य एसिया नै हो। जहाबाट नेपालमा सिधा हवाई उडान रहेको छ। यसलाई हामीले क्यास गर्न सकेका छैनौँ। अहिले पर्यटन बोर्डले आफ्ना कामहरू मध्य एसियामा समेत केन्द्रित गरेका छौँ।
नेपाल सरकारले सन् २०३३ सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। पर्यटन बोर्डको मुख्य भूमिका देखिन्छ। सम्भव छ?
पर्यटक ल्याउने माध्यम भनेको विमानस्थल र एयरलाइन्स हो। दुवै कुरा चुस्त हुनु आवश्यक छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ९२ लाख भनिएको छ। सन् २०१९ मा १४ लाख पर्यटक आएका थिए। बाँकी सबै नेपालीले नै प्रयोग गर्ने हुन्। १४ लाख पर्यटक आउँदा नै हम्मे हम्मे परेको थियो।
पहिलो कुरा विमानस्थल र एयरलाइन्स जोड्न सकियो भने पर्यटक नेपालमा आउन समस्या छैन। २४ सै घण्टा चलाउँदा पनि १६ लाखभन्दा बढी विदेशी पर्यटक ल्याउन सकिने अवस्था छैन। पोखरा र भैरहवामा विमानस्थल संचालनमा आए पनि उडान भएका छैनन्। हवाई रुटका कुराहरू आइरहेका छन्। परराष्ट्र मन्त्रालयले हेर्ने हो कि कसले हो? यसमा समस्या समाधान गरेर पहल गरिदिन आवश्यक छ।
आन्तरिक उडानले विदेशी पर्यटक बढ्ने होइन। यसका लागि विदेशी एयरलाइन्सहरूको सिधा उडान आवश्यक रहेको छ। पर्यटन बोर्ड, नागरिक उड्डयन प्राधिकरण, मन्त्रालय र निजी क्षेत्र एक भएर जाँदा असम्भव छैन। वार्षिक ५० लाख पर्यटक ल्याउन सकिन्छ। हिमालयन र नेपाल वायुसेवा निगमका जहाज धेरै पर्यटक गन्तव्यमा गएर पर्यटक ल्याउने अवस्था ल्याउन सकियो भने पर्यटक आउनेछन्।
पूर्वाधारमा निजी क्षेत्र तयार भएको जस्तो देखिन्छ। होटलहरू थपिइरहेका छन्। पर्यटक नआउने हो भने लगानी डुब्ने पनि खतरा होला?
सन् २०२० मा नेपाल भ्रमण वर्षसहित २० लाख पर्यटकको लक्ष्य राखिएको थियो। तर कोरोना महामारीले सम्भव भएन। सन् २०११ मा पर्यटन वर्ष मनाउँदा पछि गएर पर्यटक संख्या बढेको थियो। यसका लागि राष्ट्रिय अभियान फेरि चलाउने समय आएको छ।
अहिले एयरलाइन्सहरू पनि थपिइरहेका छन्। विमानस्थल पनि आएका छन्। अहिले पनि ३० लाखभन्दा बढी पर्यटक धान्ने अवस्था रहेको छ। पर्यटक आउने संकेत देखिएर नै लगानी आइरहेका छन्। जोखिम केही भए पनि पर्यटक आउँछन्, समस्या हुँदैन।
तपाईं पर्यटन बोर्डमा आएसँगै नेपालको पर्यटनमा समस्या के पाउनु भयो? गर्नुपर्ने के रहेछ?
पर्यटनका विषयमा सरकारको पञ्चवर्षीय योजना पनि रहेको छ। गुरुयोजना पनि रहेको छ। लेखियो तर कार्यान्वयन गर्ने काम भएन। नीतिगत रुपमा भने काम भएका छैनन्। बजेटमा पनि केन्द्रित भएका छैनन्। सरकारको अस्थिरता नै हो।
मन्त्रीहरूभन्दा पनि सचिव नै महिनैपिच्छे परिवर्तन हुँदा सबैभन्दा बढी समस्या देखियो। एउटा सचिवलाई कुरा बुझाएपछि अब काम सुरु हुनै लाग्दा सरुवा हुन्छ। मन्त्रीसँगै विषय नै फेरिने गरेको छ।
पर्यटन पूर्वाधार बनाइएका छन्। तर कुन मार्केटलाई केन्द्रित गरिएको भन्ने कोही पनि जानकार छैनन्। डाँडामा यसो टावर बनाउने खर्च गर्ने गरिएको छ। पर्यटनमा सरकारले गर्न पर्ने धेरै काम छैनन्। निजी क्षेत्रले पहिलेदेखि गरिरहेका छन्। भविष्यमा गर्ने पनि निजी क्षेत्र नै हो। सोही कारण मैले पटक पटक भन्दै आएको विषय हिल स्टेशन नै हो। विकास नभएका तर सम्भावना भएका क्षेत्रमा पूर्वाधार खडा गर्ने सबै संरचना बनाउने गरी काम गर्न सक्नु पर्दछ। बजेटमा पनि आए तर केही काम भएनन्।
सात प्रदेशमा पहिलो चरणमा ७ वटा हिल स्टेशन बनाउनु पर्छ। यो सरकारले होइन निजी क्षेत्रले बनाउने हो। सरकारले बाटो, बिजुली र पानीको व्यवस्था मात्रै गरिदिए हुन्छ।
निजी क्षेत्रले उक्त स्थानमा स्थानीयलाई समेत जोडेर गन्तव्य बनाउनेगरी काम गर्नुपर्दछ। सरकारले नीतिगत निर्णयहरूमा यो स्थानमा जानेलाई यति वर्षसम्म कर छुट भन्न सक्छ। हिल स्टेशन बनाएर एकै ठाउँमा केबलकार, होटल क्यासिनोलगायत बनाउन सकियो भने धेरै भारतीयहरू आउने देखिन्छ। बनाउनका लागि सरकारी जग्गा पर्न सक्छन्, वन क्षेत्र हुनसक्छ। यी विषयहरू सल्टाउन सकियो भने धेरै चाडो नेपालको पर्यटनले फड्को मार्ने देखिएको छ।
यहाँ निजी क्षेत्र जानका लागि तछाडमछाड हुनेछ। विदेशी लगानी पनि यसमा आउने देखिन्छ। माल्दिभ्सको मोडलमा जानुको विकल्प छैन। त्यहाँका आइल्यान्डले आफ्नो-आफ्नो मार्केटिङ गर्छन्। हामीले यसरी जान सक्यौँ भने कम्तीमा ७ वटा हिलस्टेशनले बजारीकरण गर्छन्। पर्यटनको विकास त्यहि मोडलबाट सम्भव छ।
भिडियोमा हेर्नुहोस्