काठमाडौं- नेपाल समुद्रपार निकासी पैठारी संघ र नेपाल बैंकर्स संघबीच बैंकिङ र व्यवसायिक क्षेत्रका चासोका विषयमा छलफल भएको छ।
संघको सचिवालयमा बुधबार भएको छलफलमा निकासी पैठारी संघका अध्यक्ष विनोदकुमार सेठियाले बैंक र व्यवसायी एकअर्काका परिपूरक भएको बताउँदै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए।
उनले कतिपय बैंकहरुले बढी लिएको ब्याज अझसम्म फिर्ता नगरेको गुनासो समेत गरे। उनले चालुपुँजी कर्जाका व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्न पनि बैंकर्स संघलाई आग्रह गरे।
छलफलमा सहभागीले बैंक चार्जका विषय पनि उठाएका थिए। ठूला व्यवसायीले सौदाबाजी गरेर कुनै चार्ज नतिर्ने तर सौदाबाजी गर्न नसक्ने मझौला र साना व्यवसायीले भने चार्ज तिरिरहेको व्यवसायीको गुनासो छ।
अध्यक्ष सेठियाले भारतीय मुद्रामा व्यापार बढाउनुपर्ने आवश्यकता औँल्याउँदै बैंक ग्यारेन्टीको मिति तोक्नुपर्नेमा पनि बताए। चालुपुँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसायका आकारअनुसार फरक प्रावधान राखे पनि बैंकहरुले सबैलाई एउटै भन्ने गरेको गुनासो व्यवसायीबाट आइरहेको गुनासो पनि व्यवसायीले राखेका छन्।
व्यवसायीले मार्जिन कल, कोल्याटरल, चेक बाउन्स, कालोसूची, एलसी कमिसनलगायतका विषय उठाएका थिए।
कार्यक्रममा बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुति दिएका थिए। बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपाली अर्थतन्त्रको संरचनागत समस्याले गर्दा एकातिर सुधार्न खोज्दा अर्कोतिर
बिग्रने स्थिति रहेको भन्दै संरचनागत परिवर्तनको आवश्यकता औँल्याए।
अहिलेको अवस्थामा तत्कालै ब्याजदर घट्न सक्ने सम्भावना नरहे पनि स्प्रेड रेटका कारण थोरै घट्न सक्ने पनि उनले बताए। तरलताको समस्या समाधान हुन प्रत्यक्ष विदेशी लगानी आउनुपर्ने उनले बताए।
कर्पोरेट क्षेत्रले विदेशबाट रकम ल्याउन सकेको खण्डमा पनि समस्या समाधानमा बल पुग्ने अध्यक्ष केसीको भनाइ छ ।
छलफलमा संघका अध्यक्ष विनोदकुमार सेठिया, निवर्तमान अध्यक्ष सुनिलकुमार वंशल, प्रथम उपाध्यक्ष शिवकुमार अग्रवाल, प्रथम सचिव गौरव शारडा, कोषाध्यक्ष प्रभातकुमार सर्राफलगायतको सहभागिता थियो।