काठमाडौं- नेपाली सेनाले निर्माणाधीन काठमाडौं तराई द्रुतमार्गका लागि विज्ञ टोली (प्यानल अफ एक्सपार्टस) मागेको छ। विभिन्न विषयमा ज्ञान हासिल गरेका राष्ट्रिय स्तरका विज्ञहरूको समूह तयार गर्न सेनाले सूचना निकालेको छ।
नेपाली सेनाको व्यवस्थापनमा बनिरहेको काठमाडौं तराई द्रुतमार्गको परियोजनाको बहुआयामिक पक्ष्यको डिटेल इन्जिनियरिङ डिजाइन तयार गरेर क्रमिक रुपमा काम गर्दै जाने सेनाले जनाएको छ। परियोजनाको विडिङ डकुमेन्ट, ड्रइङ, डिजाइन तथा स्पेसिफिकेसन बारे विज्ञको रिभिउ आवश्यक भएकाले विज्ञ टोली बनाउन लागेको सेनाले उल्लेख गरेको छ।
विज्ञ टोली बनाउनुको मुख्य उद्देश्य हाल द्रुतमार्गमा भइरहेको र भोलीका दिनमा हुने कामको गुणस्तर कायम गर्न र तोकिएको समयमा काम गर्नका लागि उनीहरूबाट रायसल्लाह लिनु रहेको छ। काठमाडौं तराई/मधेश द्रुतमार्गको विज्ञ टोलीमा रहन इच्छुक विज्ञहरूले १५ दिनभित्र आफ्नो शैक्षिक योग्यता तथा अनुभवसहितको काजगात आयोजनाको कार्यालयमा पेश गर्नुपर्नेछ।
विज्ञ टोलीमा हाइवे डिजाइन, पेभमेन्ट डिजाइन, सिनियर सर्भेयर, गियोटेक्निकल/स्लोप स्टेबलाइजेसन तथा रिइनफोर्सड अर्थ(आरई) वाल, टनेल/जियोटेक्निकल, हाइड्रोलिक/वाटर रिसोर्सेसका विज्ञ माग गरिएको छ।
त्यसैगरि स्ट्रक्चरल इन्जिनियर(पुल), इन्जिनियरिङ गियोलोजिस्ट, कन्ट्राक्ट म्यानेजमेन्ट, आर्बिट्रेटर, क्यालिटी कन्ट्रोल/मटेरियल इन्जिनियर, इन्भारोमेन्टल, सोसियोलिजिस्ट, नान-लाइफ इन्स्योरेन्स एडभाइजर, इलेक्ट्रिकल इन्जिनियर(ट्रान्समिसन एन्ड डिस्ट्रिब्युसन सिस्टम), कम्युनिकेसन इन्जिनियर(अप्टिकल फाइबर) र बायो इन्जिनियरिङ क्षेत्रका विज्ञले आवेदन दिन सक्ने छन्।
सेनाले १७ विषयका विषयविज्ञ राखेर विज्ञ टोली बनाउन लागेको छ।