बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उखु किसानलाई भुक्तानी दिन अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगको आलटाल

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
images
उखु किसानलाई भुक्तानी दिन अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगको आलटाल

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्चसमेत धान्न नसक्ने अवस्था आएको उखु उत्पादक किसान राजकरण यादवले बताए।

images
images

सर्लाही- सर्लाहीका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका छन्। उखु क्रसिङ सकेर बन्द भएका जिल्लाका दुईवटा चिनी उद्योगले किसानहरुको भुक्तानी दिन आलटाल गरेका हुन्।

images
images
images

अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहलाई उखु दिएका किसानहरुले मिल बन्द भएको एक महिनासम्म पनि भुक्तानी नपाएको गुनासो गरेका छन्। यी दुवै चिनी उद्योगबाट महिनौँसम्म भुक्तानी नपाउँदा किसानहरुले बर्सेनि आन्दोलन गर्दै आइरहेका गोडैता नगरपालिका-९, का किसान सीताराम यादवले बताए। उनका अनुसार सुरुमा केही किसानलाई भुक्तानी दिएर यी दुवै चिनी उद्योगका सञ्चालक अहिले आफूहरुसँग सम्पर्कभन्दा बाहिर रहेका हुन्।

'सुरुमा केही किसानहरुलाई भुक्तानी दिइयो, त्यसपछि बाँकी किसानहरुको पैसा दिन चिनी उद्योगहरुले वास्तै गरेनन्', गोडैताका अर्का किसान रामकिरण यादवले भने। चिनी उद्योग बन्द भएको एक महिनासम्म पनि उद्योगी सम्पर्कमा नआउँदा आफूहरुलाई व्यवहार धान्न गाह्रो परिसकेको किसान यादवले बताए।

images

उद्योगले उखु बेचेको पैसा नदिँदा बालबालिकाको विद्यालयमा शुल्क बुझाउन मात्र नभई आफ्नो घरखर्चसमेत धान्न नसक्ने अवस्था आएको अर्का उखु उत्पादक किसान राजकरण यादवले बताए। 'उखु खेतीबाटै व्यवहार चलाउने आफू जस्ता दर्जनौँ उखु उत्पादक किसानहरु उद्योगबाट पैसा नपाउँदा साहुमहाजनबाट ऋण लिन बाध्य भएका छन्', राजकरणले गुनासो गरे।

images

उखुको पैसा नपाउँदा उखु काट्ने, ढुवानी गर्ने ट्र्याक्टरको पैसा तिर्न नपाएको धनकौल गाउँपालिका-३, का उखु किसान रामस्वार्थ साहले गुनासो गरे। 'उखु फलाउँदादेखि उद्योगसम्म लगेर बुझाउँदासम्मको उधारो छ तर उद्योगले कहिले पैसा दिन्छ भन्ने अन्योल छ', उखु किसान साहले भने।

बेलैमा भुक्तानी नदिने समस्याका कारण पछिल्ला वर्षमा जिल्लाका किसानहरुले अन्यत्र ठाउँका चिनी उद्योग र सख्खर बनाउने उद्योगलाई उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताए। उनका अनुसार पछिल्लो समय जिल्लाका उखु उत्पादक किसानहरु उखुभन्दा अन्य खेतीतर्फ समेत आकर्षित हुन थालेका छन्। 

जिल्लाका तीनवटा चिनी उद्योगमध्ये इन्दुशंकर चिनी उद्योग हरिवनबाट भने उखु किसानले भुक्तानी पाइरहेका भएपनि अन्नपूर्ण चिनी उद्योग धनकौल र महालक्ष्मी चिनी उद्योग बगदहले हरेक वर्ष उखु उत्पादक किसानलाई पैसा दिन आलटाल गरेको उत्पादक किसान महासंघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए। 

जिल्लाका अन्य उद्योगले किसानको  भुक्तानी समयमै नगर्दा उखु खेती घटेको र त्यसको प्रत्यक्ष प्रभाव इन्दुशंकर चिनी उद्योगलाई परेको उद्योगका प्रबन्धक योगनारायण रजकले बताए। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend