शनिबार, असोज १९ गते २०८१    
images
images

हराउँदै भकारी र कोठी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २१ २०७९
images
images
हराउँदै भकारी र कोठी

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खट्किएको छ।

images
images

महोत्तरी- चैतेबाली धमाधम भित्र्याउन थालेपछि भंगाहा नगरपालिका-६ स्थित पर्सा टोलका किसान दीपलाल सिंह थारू बाली कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले परोलिएका छन्। गहुँ, रहर, चना, मसुरोसहित चैते बाली काटेर चुट्ने, दाइँ गर्न चटारो भइरहेका बेला यी फसल सुरक्षित राख्ने चिन्ताले उनलाई सताएको हो। 

images
images
images

चाँडै घुन लाग्ने चामल, गहुँ, मुसुरो, चना (बदाम) र  रहरलगायत खाद्यान्न भण्डारणका लागि चाहिने माटाका कोठी र भकारी अब बन्न छाडेपछि थारूसहितका यस भेगका किसानलाई उत्पादित फसल सुरक्षित भण्डारण गर्ने सामानको अभावमा चिन्ता देखिएको हो।

'प्रत्येक घरमा माटाका कोठीमा बाली राखेपछि घुन लाग्दैनथ्यो', बर्दिवास नगरपालिका-९ की नथुनी महताले भनिन्, 'अब पुराना कोठी फुटेर गए अब नयाँ कोठी बन्न छाडेपछि चैतेबाली सुरक्षित कसरी राख्ने भन्ने चिन्ता छ।'

images

लिसाइलो माटो मुछेर बनाइने कोठीमा राखिने बालीमा घुन नलाग्ने भएकाले पाका किसानलाई यसको अभाव खड्किएको छ। 'माटाका कोठीमा बाली राखेपछि ढुक्क भइन्थ्यो, न घुनले खाने डर न पोखिने चिन्ता १', भंगाहा-४ की रामसुनरदेवी थारूले भनिन्, 'अब त घरमै आफैँ खान राखिने खाद्यान्न घुनबाट सुरक्षित राख्न पनि जानाजान थरीथरीका औषधि मिसाउनु पर्नेभयो।' 

images

'हेर्नोस् न जानाजान विष खान तयार भएका छौँ', उनले थपिन्, 'माटाका कोठीमा यी खाद्यान्न राखेर माटाकै ढकनले छोपेपछि वर्षाैँसम्म जस्ताको त्यस्तै रहन्थ्यो, खै अहिलेका छोरी, बुहारीले त के हो कोठी भन्या भनी सोध्न थाल्याछन्, खै के भनौँ!'

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा खासगरी थारू समुदायमा माटाका कोठी बनाउनु कौशलका रूपमा लिइन्थ्यो। माटाका कोठी खाद्यान्न सुरक्षाका लागि भरपर्दो हुनाका साथै यसलाई कौशल र थारू संस्कृतिसँग जोडिएकाले विगतमा बुहारी छनोट गर्नुपूर्व यो सीपबारे सोधपुछ गर्ने गरिएको भंगाहा-८स्थित धर्मपुरका वृद्ध मोती बछार थारूले बताए।

'हाम्रो जातिमा दुई दशक पहिलेसम्म जतिसुकै सम्पन्न भए पनि कन्या खोजिँदा तिनले माटाका कोठी बनाउन, काँस (एक प्रकारको वनस्पति) को गुवोबाट ढकी बनाउन जानेका छन् कि छैनन् भनेर सोधिन्थ्यो', उनले भने, 'अब त ती सबै कुरा हराइसके, अनि के कोठी देखिनु? माटाका कोठी बनाउन छाडेपछि आफ्नो जातीय संस्कृति र पहिचानको कुरा पनि ओझेलमा परेको छ।'

कोठी बन्न छाडेपछि यहाँका थारूले पनि अब खाद्यान्न थन्क्याउन प्लास्टिकका डोल, बाल्टिन र ड्रम प्रयोग गर्न थालेका छन्। 'के गर्नु बाबु, आफ्ना नाडी बसिहाले', भंगाहा बस्तीकी पारोवती चौधरी थारूले भनिन्, 'अबका छोरी, बुहारीले यसो सिकौँ भन्ने चासो नै देखाउँदैनन्, अबका केही वर्षपछि त कोठी भनेर देखाउने कुरा के रहला र?'

पछिल्लो पुस्ताको अरुचिले अब हस्तसीपको खास नमूना मासिन लागेकामा  पाको उमेरका थारूमा चिन्ता थियो। विगतमा तराई क्षेत्रमा थारू महिलाकै सामीप्यले अन्य जातजातिका महिलाले पनि माटाका कोठी बनाउन सिक्ने गरे पनि थारू समुदायमै यो कुरा हराउन थालेपछि अन्त के खोज्नु? भन्ने बूढापाकाको प्रतिक्रिया हुने गरेको छ।

विगतमा कस्का कस्ता कोठी भनेर सामाजिक प्रदर्शन र चर्चा हुने गरेकामा अब पछिल्लो पुस्तालाई कथा बन्न पुगेको गौशाला-२ निगौलका पूर्वशिक्षक विचारी चौधरीले बताए। प्रत्येक दिनको फुर्सदको क्षणमा तयार गरिने कलात्मक कोठी हेर्न बस्तीमा हल्लीखल्ली नै हुने गरेको विगत सम्झँदै सोही स्थान निवासी शान्तिदेवी सिंह दनुवारले भनिन्, 'अब यो कुरा नातिनातिनालाई सुनाउने कथा मात्रै भयो।'

विगतमा तराईमा बिघौंबिघा जग्गाका मालिक हुँदा एउटै घरमा निकै गहुँ, चना, रहरलगायत फसल  हुने र चामल पनि निकै थन्क्याउनु पर्ने भएकाले त्यतिबेला घुनबाट खाद्यान्न बचाउन कोठी बनाउने चलन थियो।  पछिल्ला वर्षहरुमा जग्गा पनि घट्दै गएकाले कोठी प्राथमिकतामा पर्न छाडेको बताउने पनि छन्। 'नयाँ पुस्तामा  कोठी बनाउने सीपबारे चासो नहुनु त मुख्य कुरो छँदैछ', साहित्यकार डा. राजेन्द्रप्रसाद विमलले भने, 'अब जग्गाको स्वामित्व खुम्चँदै गएर चैतेबालीको उत्पादन पनि कम हुन थालेपछि यसको आवश्यकता महसुस नभएजस्तो छ।' 

पछिल्ला दिनमा मौसमअनुसार उत्पादित फसल बेच्ने र पछि आफूलाई चाहिने बेला बजारबाट किनेर चलाउने चलन बढेको उनको भनाइ थियो। यो चलनले बाली थन्क्याउने झन्झट पनि हटेको छ।

स्थानीय परम्परा, संस्कृति, कला र साहित्य आफ्नो विशिष्ट पहिचान भएकाले लोप हुँदै गएको माटोको कोठी बनाउने परम्परालाई जोगाउन नयाँ पुस्ताले चाख देखाउनुपर्ने पशुपतिनगरस्थित राष्ट्रिय माविका प्रधानाध्यापक हरिदेव महतोको भनाइ थियो। यसका लागि आफूले साप्ताहिक एउटा अतिरिक्त कक्षामा सीप जानेकाहरुबाट माध्यमिक तहका छात्रालाई अभ्यास गराउन चाहेको उनले बताए।

यसैगरी भकारी पनि अब बन्न, देखिन छाडेको छ। तराईका डोम र बिन समुदायको जातीय सीप मानिने भकारी बनाउने सीप पनि अब माग हुन छाडेपछि हराउँदै गएको छ। भकारीलाई बाहिरबाट लिसाइलो माटोले पोतेर माथि खरको छाना लगाएपछि वर्षौं वर्षसम्म धान सुरक्षित रहने गर्थ्याे। अब किसानले भकारीको माग गर्न छाड्नाका साथै पछिल्ला पुस्ता पनि अन्य वैकल्पिक काममा लाग्दा यो सीप र पेसा हराउँदै गएको भंगाहा-५स्थित सिद्धपुर स्टेसनटोलका प्रगाश मरिक (डोम) ले बताए।

माटाका कोठी र भकारीमा कुनै विषादी प्रकारका औषधि नमिसाई खाद्यान्न सुरक्षित राख्न सकिने भएकाले कोठी र भकारीको प्रचार र प्रवर्द्धन गराउनुपर्नेमा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जोड दिए। रासस 


प्रकाशित : मंगलबार, चैत २१ २०७९०८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend