काठमाडौं- वर्तमान सत्ता समीकरणमा आएको फेरबदलसँगै अर्थ मन्त्रालयको राजनीतिक नेतृत्वमा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत आएका छन्। यसअघि दुईपटक क्याबिनेट मन्त्री र एकपटक राज्यमन्त्री भइसकेका महत अर्थशास्त्रमा विद्यावारिधि गरेका नेता हुन्। तर अर्थतन्त्रको ड्राइभिङ सिटमा पहिलोपटक उनी विराजमान छन्।
रुखो स्वभाव र सीमित घेराभित्र रमाउने महत आफ्नो निर्णय जसरी पनि लागु गर्न पछि नहट्ने स्वभावले परिचित छन्। विगतमा सचिवमाथि नै हातपातमा समेत उत्रिन तयार भएका उनले विद्यमान सङ्कटमा अर्थतन्त्रको नेतृत्व गर्न कुन कौशलता प्रदर्शन गर्छन् हेर्न बाँकी छ।
राजनीतिक नेतृत्व परिवर्तन भएसँगै अर्थ मन्त्रालयको उच्च प्रशासनिक नेतृत्व फेरिने अड्कल गर्न थालिएको छ। निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले भित्र्याएका दुवै सचिव र केही महत्त्वपूर्ण महाशाखा प्रमुख फेरिने अनुमान सुरु भएका छन्। अर्थ मन्त्रालय प्रवेश गर्न चाहेका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरू गच्छे अनुसारको लबिङमा लागेका छन्।
अहिलेका कस्ता?
प्रशासन समूहबाट निजामती सेवामा प्रवेश गरेका हालका अर्थसचिव तोयम राया लेखा समूहका उपसचिव हुन्। सहसचिव भएपछि अर्थ मन्त्रालय अन्तरगतको कर र भन्सार कार्यालय प्रमुख भएका उनी वित्तीय क्षेत्र र संस्थान समन्वय महाशाखा प्रमुख भए। विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि भएका उनी वाणिज्य सचिवबाट अर्थ आउने 'भाग्यमानी' ठहरिए।
अर्थ मन्त्रालयको 'कोर फङ्सन' बाहिर रहे पनि सहसचिव भएपछि उनले मन्त्रालयको संरचना बुझ्न भने भ्याएका थिए। यद्यपि बजेट, वैदेशिक सहायता समन्वय जस्ता क्षेत्र उनका लागि नितान्त नौलो रह्यो। जसको असर अहिले उनको निर्णय क्षमतामा परिरहेको छ। 'सीडीओ भएको मान्छे, अर्थसचिव भएपछि जुन आँट देखाउनुपर्ने हो फाइलमा त्यो देखिएन,' मातहतका सहसचिवहरू टिप्पणी गर्छन्।
'स्वच्छ छविका' सचिवका रूपमा चिनिएका हालका राजस्व सचिव रामप्रसाद घिमिरे पनि राजस्व प्रशासन चलाउन काबिल नरहेको टिप्पणी उनकै सहकर्मीहरूले गर्न थालेका छन्। राजस्व प्रशासन र प्रणाली दुवै सञ्चालन उनीबाट नहुने मातहतकै कर्मचारीहरूले बताउने गरेका छन्। 'लेखपढ गर्ने निकायहरू वित्त आयोग, योजना आयोग जस्ता ठाउँमा उहाँ असाध्यै कामयावी बन्न सक्नुहुन्छ,' अर्थका एक सहसचिव भन्छन्।
यसअघि केसम्म भयो
पछिल्लो समयका सर्वाधिक विवादित अर्थमन्त्री जनार्दन शर्माले अर्थसचिव 'जस्तो भए पनि चल्छ' भन्ने मानक स्थापित गरिदिएका छन्। अर्थतन्त्रको सामान्य जानकारी र व्यवस्थापकीय ज्ञान शून्य भएका व्यक्ति पनि अर्थसचिव बन्न सक्छन् भन्ने मानक शर्माले स्थापित गरिदिए। त्यसैको फलस्वरूप महत्त्वपूर्ण जिम्मेवारीमा आइपुगे कृष्णहरि पुष्कर।
कुनै निर्णय गर्न प्रक्रिया पुग्दैन वा कानूनले मिल्दैन भनेर सहसचिव बोल्दा 'प्रक्रिया र कानून मिलाएको भए जनयुद्ध हुन्थ्यो?' भन्ने अर्थमन्त्री शर्मा र 'हुँदैन थियो नि हजुर' भन्ने सचिव पुष्करको जोडी अर्थ मन्त्रालयमा राम्रै जम्यो। निश्चित व्यापारिक समूहलाई मात्रै फाइदा हुने गरी राजस्व नीति बनाउनेदेखि ९/९ महिनामा कर र भन्सारका उपसचिव हेरफेर गर्न यो 'जोडी'ले निकै महेनत गर्यो।
पुष्कर मात्रै होइन, उनी अघिका अर्थसचिव मधुकुमार मरासिनीले पनि अर्थसचिवमा आफ्नो क्षमता देखाउन सकेनन्। एकैदिन अधिकृत भएका बैकुण्ठ अर्याललाई रोक्दै महालेखा नियन्त्रकबाट अर्थ छिरेका उनले मन्त्री शर्मालाई सक्दो साथ दिए। बजेट बनाउँदा सचिवको कलम खोस्न अवकाशप्राप्त सुब्बा गोप्य कोठामा छिर्दा 'नो' भन्न सकेनन्, गभर्नर हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाए र आर्थिक वर्ष सुरु भएको ४५ दिनमा बजेट फेर्न मन्त्रीलाई भरपुर साथ दिए।
आफ्ना लागि अवसर सिर्जना गर्न सक्ने ल्याकत थियो मरासिनीमा। तर उनको यो काबिलता शर्माको अगाडि केही लागेन। अन्तत: अपमानजनक बहिर्गमन सहन बाध्य भए। अहिले नै मरासिनी पनि विगतमा 'ग्रेसफुल एक्जिट' नभएको भन्दै फेरि अर्थ फर्किन लागिपरेका छन्।
विशिष्ठ श्रेणीका सबै अधिकृत अर्थसचिव बन्न योग्य छन्?
निजामती सेवामा प्रशासन समूहमा रहेका सचिवमध्ये एकजना अर्थसचिव हुन सक्छन्। यो नितान्त प्राविधिक कुरा भयो।
तर अर्थ सचिव हुन केही क्षमता चाहिन्छ। 'अर्थसचिवले अर्थतन्त्रको मुटु छाम्न सक्नुपर्छ, ढुकुटीको धड्कन बुझ्नुपर्छ,' अवकाशप्राप्त एक अर्थसचिव भन्छन्, 'पछिल्ला अवस्था हेर्ने हो भने टिप्पणी गर्न लाज हुने अवस्था आइसक्यो।'
अर्थ मन्त्रालयलाई 'सुपर मिनस्ट्री' भनेर अहिले पनि भनिन्छ। त्यसको एउटै कारण हो, अन्य मन्त्रालयबाट आउने जस्तासुकै फाइलमा पनि 'नो' लेख्न सक्ने ल्याकत। तर अहिले जसरी कर्मचारी प्रशासनलाई कमजोर बनाइएको छ, त्यसले मन्त्रालयको यो क्षमता कमजोर बनाउँदै लगेको छ। मन्त्री र प्रधानमन्त्रीको चाहनाका अगाडि सबै कुरा गौण बनिरहेका छन्।
'रामेश्वर खनाल अर्थसचिव हुँदा यहाँ अधिकृतले पनि अन्य मन्त्रालयका सचिवका अगाडि अर्थ मन्त्रालयले यो काम गर्न सक्दैन हजुर, अर्थ मन्त्रालय यसमा सहमत छैन भन्ने आँट गर्थ्यो,' अर्थका एक सहसचिव भन्छन्, 'अहिले अरू मन्त्रालयका अधिकृतले अर्थ सचिवलाई मन्त्रीज्यूले यसो भन्नुभएको छ, छिटो गरिदिनुपर्यो भन्न थालेका छन्।'
त्यति मात्रै होइन, राजस्व सङ्कनल, बजेट व्यवस्थापन, दातृ निकायसँगको समन्वय, निजी क्षेत्र र वित्तीय क्षेत्रसँगको सहकार्य र नियमनकारी निकायको स्वतन्त्रता संरक्षणमा अर्थ सचिवको भूमिका हुन्छ। सार्वजनिक वित्त व्यवस्थापनबारे जानकार व्यक्ति अर्थसचिव नहुने हो भने ढुकुटी रित्तिँदै जान्छ।
'प्रशासन समूहका कर्मचारीले नेतृत्व गर्ने प्राविधिक पद हो यो, हरेक विषयको गहिराइमा पुगेर आवश्यक निर्णय लिनुपर्नेमा जो पायो त्यही लैजाँदा गरिमा बच्दैन, देश पनि डुब्छ,' अर्थका अधिकारीहरू भन्छन्।
अब कस्तो अर्थसचिव?
सरकारको आम्दानी र खर्चको अनुपात ऐतिहासिक रूपमा ऋणात्मक हुने अवस्थामा छ। गठबन्धन सरकार भएका कारण अर्थमन्त्री धेरै दबाबमा रहने भएकाले मन्त्रालय व्यवस्थापनको जिम्मा बलियो अर्थसचिवलाई दिनुपर्ने मत सार्वजनिक क्षेत्रबाट उठ्न थालेको छ।
'बजेट र योजना बारे बुझेको, राजस्व प्रशासन चलाउन सक्ने, अन्तर्राष्ट्रिय क्षेत्र र नियमनकारी निकायसँग समन्वय गर्न सक्ने स्वच्छ छविको अर्थसचिव अहिलेको आवश्यकता हो,' अर्थ मन्त्रालयका एक सहसचिव भन्छन्, 'धेरैवटा दल सत्तामा हुँदा अर्थमन्त्रीले गलत कुरामा सम्झौता गर्नुपर्ने बाध्यता आइलाग्छ, सचिवले त्यसलाई रोक्न सक्नुपर्छ।'
अर्थ मन्त्रालयको छवि कमजोर भएको र मातहतका कर्मचारीको मनोबल पनि कमजोर भएकाले यस्तो अवस्थामा राम्रो सार्वजनिक छवि भएको कठोर व्यक्तिलाई अर्थसचिव बनाइनुपर्ने सुझाव उनीहरूको छ।