काठमाडौं- २०७० मंसिरमा दोस्रो संविधानसभाको निर्वाचन भयो। ठूलो पार्टीका रुपमा कांग्रेस र दोस्रो ठूलो पार्टीका रुपमा तत्कालीन नेकपा एमाले देखियो। कांग्रेस सभापति सुशील कोइराला नेकपा एमालेको समर्थनमा २०७० माघ २८ गते प्रधानमन्त्री बने। तत्कालीन समयमा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री झलनाथ खनाल थिए।
सरकार गठनमा एमालेको कोटाबाट भीम आचार्यलाई झलनाथ खनालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाए। आचार्य खनालको सबैभन्दा प्रिय पात्र थिए। नाताले आचार्य उनका बहिनी ज्वाइँ पनि हुन्। तर अहिले नेकपा एमाले विभाजन भएर खनाल नेकपा समाजवादी (एस)का वरिष्ठ नेता भएका छन्। आर्चायले भने खनाल छोडेर एमालेमै छन्।
खनालका प्रिय पात्र आचार्य ६ महिना पनि मन्त्री हुन पाएनन्। उनले जेठ २०७२ मा गएर राजीनामा दिए। भिम आचार्यलाई खनाल आफैले मन्त्रीबाट फिर्ता बोलाएका थिए।
आफ्नै नाता पर्ने लामो समयदेखिको राजनीतिक विश्वास पात्र आचार्यलाई मन्त्रीबाट बोलाउने खनालको एउटै कारण थियो- नेपाल एयरलाइन्समा आफूले भनेअनुसारको नियुक्ती नगरेको।
खनालकै निर्देशन र जोडबलमा नेपाल एयरलाइन्सको बोर्ड अध्यक्षमा स्व. शिवशरण न्यौपानेलाई नियुक्त गरिएको थियो। अध्यक्षलाई कार्यकारी अधिकार दिनका लागि खनालले आचार्यलाई दबाब दिए।
तर आचार्यले मरे मानेनन्। खनालले भनेअनुसार न्यौपानेलाई कार्यकारी बनाउन नसकिने अडान लिए।
अन्तत: खनालले प्रधानमन्त्री सुशील कोइरालालाई आचार्यलाई पर्यटन मन्त्रीबाट हटाउन आग्रह गरे। सत्ता साझेदार दलको अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको आग्रहमा आचार्यलाई राजीनामा दिन लगाइयो।
आचार्यको राजीनामापछि नेकपा एमालेको पार्टी संरचनामा खनाल वरिष्ठ नेता मात्र थिए। जेठमा आचार्यले राजीनामा दिए, असारमा एमालेको महाधिवेसन भयो। त्यही ९ औँ महाधिवेसनबाट केपी ओली अध्यक्षमा निर्वाचित भए।
अध्यक्ष ओली भए पनि पर्यटन मन्त्रालयको भाग भने वरिष्ठ नेता भएका खनालको भागमा थियो। त्यसपछि खनालले आफ्नै स्वकीय सचिव दीपकचन्द्र अमात्यलाई मन्त्री बनाउन सिफारिस गरे।
राजनीतिक सहकर्मीहरूलाई छाडेर आफ्नै स्वकीय सचिवलाई पर्यटनमन्त्री बनाएको भन्दै खनालको खुबै आलोचना पनि भयो। तर त्यस्ता आलोचनाप्रति खनाल मात्र होइन नेकपा एमालेलाई कुनै पनि वास्ता भएन।
खनाल भने आफ्नो एक सुत्रीय अडानमा थिए। उनको अडान थियो नेपाल एयरलाइन्स आफ्नो मान्छे कार्यकारी ल्याउने। त्यसका लागि पहिले नै बोर्ड अध्यक्ष रहेका स्व. न्यौपानेलाई कार्यकारी बनाउने। जुन काम त्यस पहिलेका मन्त्री आचार्यले गर्न मानेका थिएनन्।
खनालको शर्त मानेरै मन्त्री बनेका अमात्यले न्यौपानेलाई कार्यकारी बनाउन चाहेनन्। न्यौपानेलाई कार्यकारी बनाउन अमात्य नमान्नुका पछाडिका कारण धेरै थिए। पहिलो कुरा, पार्टी सत्तामा खनालभन्दा केपी ओली शक्तिशाली थिए। अमात्यले ओलीसँग लागेर खनालको एजेन्डा कार्यान्वयन गरिदिएनन्।
त्यसपछि फेरि दीपकचन्द्र अमात्यले पर्यटनमन्त्रीबाट राजीनामा दिए।
आफ्नै स्वकीय सचिव मन्त्री हुँदा पनि कार्यकारी बनाउन नसकेपछि खनालले हार स्वीकार गरे। उनले पार्टी अध्यक्ष केपी ओलीसँग एउटा सम्झौता गरे- 'मन्त्री मलाई चाहिएन तर नेपाल वायुसेवा निगममा मेरो मान्छे नियुक्त हुनुपर्छ।' खनालको प्रस्ताव ओलीले स्वीकार गरे।
खनालको प्रस्ताव त्यस्तो बेला गएको थियो जतिबेला निगममा महाप्रबन्धक पद खाली थियो। बोर्ड अध्यक्ष न्यौपानेसँगको टसलमा तत्कालीन महाप्रबन्धक मदन खरेलले राजीनामा दिएका थिए। महाप्रबन्धक पद खाली थियो।
खनालले आफ्नो मान्छे महाप्रबन्धक हुनुपर्ने सर्त राखेका थिए। ती पात्र थिए सुगतरत्न कंसाकार।
अध्यक्ष ओलीले कृपाशुर शेर्पालाई पर्यटन मन्त्री बनाए। मन्त्री पदसँग महाप्रबन्ध साटेका खनालले दोस्रो पटम निगममा कंसाकारलाई ल्याए। खनाले विदेशमा रहेकै समयमा ओलीलाई फोन गरेर निगम महाप्रबन्धकमा कंसाकारलाई नियुक्त गनुपर्ने गरी पार्टीबाट सिफारिस गर्न ओलीलाई दबाब दिए।
ओलीले पनि खनालले भनेअनुसार प्रधानमन्त्री कोइरालालाई निगममा सुगतरत्न कंसारकारलाई नियुक्त गर्ने सिफारिस गरे। तर केही प्राविधिक समस्या थियो, कंसकार नियुक्ति गर्नेमा। कंसाकारले निगममा राम्रो काम गर्ने सक्ने आँकलनमा तत्कालीन अर्थमन्त्री रामशरण महतले केही विषयमा सहजता गरिदिए। यसरी खनाल पहिलो पटक निगममा सफल भएका थिए।
एमालेको अध्यक्ष तथा प्रधानमन्त्रीसमेत भइसकेका खनालको नेपाल वायुसेवा निगमप्रतिको आशक्ति अनौठो छ। उनले आफ्ना निकट दुईजना मन्त्री नै फेरे भने आफ्नो भागको मन्त्री पदसँग निगमको महाप्रबन्धकको नियुक्ति साटेका थिए।
उनको यो आशक्ति अहिले आएर फेरि प्रकट भएको छ। यतिबेला पर्यटनमन्त्रालयको जिम्मा नेकपा एसले पाएको छ। यही मौकमा खनालकै निर्देशन र दबाबमा आफ्नै जिल्लावासी युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ।
तीन दशक निगममा जागिर खाएर अवकाश पाएका अधिकारी तीनै व्यक्ति हुन् जसलाई खनालले विभागीय सरुवाका लागिसमेत दबाब दिएका थिए।
निगममा अर्थ विभाग प्रमुखमा सरुवाका लागि खनालले कंसाकारलाई दबाब दिएका थिए। खनालकै दबाबमा अधिकारीलाई उक्त विभागीय प्रमुख बनाइएको थियो।
सोही विभागमा प्रमुख भएपछि अधिकारी अनैतिक कामतिर लागे। महिला कर्मचारीमाथि यौन हिंसा गर्न थाले। महिला कर्मचारी महिला आयोगसम्म पुगे। उनीहरू उजुरी लिएर राष्ट्रिय मानवअधिकार आयोग हुँदै अदालतसम्म गए। विषय कडा भन्दै गएपछि कंसाकारले अफिसभित्रै मुद्दा मिलाउनु सुरु गरे।
यौन हिंसाको मुद्दा मिलाउन पनि खनालले नै कंसाकारलाई दबाब दिएका थिए। कंसाकारले अधिकारीलाई निलम्बनसमेत गरेका थिए। तर पछि एउटा कर्मचारीलाई नेतृत्वबाट केही सहयोग गर्दा समस्या समाधान हुन्छ भने किन नगर्ने भनेर हिंसामा परेका कर्मचारीसँग राखेर वार्ता गराए। अधिकारीले गल्ती स्वीकार गर्दै माफी मागे। अदालत पुगेको मुद्दा गुपचुप पारेर मेलमेलाप भयो।
यसरी मुद्दा मेलमिलाप भएपछि अधिकारीलाई अर्थ विभागबाट हटाइएको थियो। फेरि केपी ओली नेतृत्वको सरकारले २०७५ असोजमा मदन खरेललाई निगम महाप्रबन्धक सुगतरत्न कंसाकारको अधिकार खोस्दै खरेललाई कार्यकारी अध्यक्ष बनायो।
खरेल कार्यकारी अध्यक्ष भएपछि फेरि खनालको दबाबमा खरेलले अधिकारीलाई अर्थ विभाग प्रमुख बनाएका थिए। कोभिड सुरु हुनभन्दा अगाडि अधिकारीको अवकाश भएको थियो।
यसरी विवादित बनेका अधिकारीलाई सत्ता गठबन्धनमध्यको एक नेकपा समाजवादी दलको वरिष्ठ नेताको हैसियतमा खनालले देउवालाई दबाब दिएर नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेका हुन्।
यो पनि पढ्नुहोस्- यौन दुराचारीलाई नेपाल वायुसेवा निगमको जिम्मा